संसदीय अंकगणितमा सरकार बनाउन चाहिने निर्णायक संख्यालाई ‘सत्ताको चाबी’ भन्ने गरिन्छ । सत्ताको चाबी सामान्यतः संसदभित्रको तेस्रो वा चौथो दलसँग हुने गर्दछ । त्यो दलको समर्थन र सहभागिता भएको समीकरणले सरकार बनाउने गर्दछ । त्रिशंकु संसदभित्र सत्ता समीकरणका विभिन्न विकल्प एकसाथ उपस्थित हुन्छन् । तर, सरकार कस्को र कस्तो बन्ने भन्ने कुरा अन्ततः चाबी बोकेर बसेको दलको निर्णयमा भर पर्दछ ।
संसदभित्र कुनै एक दलको प्रष्ट बहुमत हुँदा यस्तो स्थिति आउँदैन । नेपालमा वि.सं. २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले एक्लै दुईतिहाईको बहुमत प्राप्त गरेको थियो । २०४८ सालको आम निर्वाचनमा भने कांग्रेसले सामान्य बहुमत प्राप्त गर्यो । त्रिशंकु संसदको अभ्यास २०५१ सालको मध्यावधि निर्वाचनपछि मात्र हुन थालेको हो ।
त्यतिखेर सत्ताको चाबी राप्रपासँग थियो । यो दलसँग संसदभित्र १९ सीट थियो । राप्रपाको समर्थन जतातिर गयो, कांग्रेस र एमालेमध्ये त्यसैको सरकार बन्थ्यो । यो अवसरको राप्रपाले खुबै प्रयोग, सदुपयोग वा दुरुपयोग गर्यो । राप्रपाका दुई नेताहरू लोकेन्द्रबहादुर चन्द र सूर्य बहादुर थापा प्रधानमन्त्री भए । राप्रपाको सबै सांसदले त्यो अवधिमा मन्त्री खाए । निक्कै ठूलो र बलियो तेस्रो दलको रुपमा उदित भइसकेको राप्रपा त्यही अवधिका वाञ्छित/अवाञ्छित समीकरणको कारणले बदनाम हुँदै गयो ।
त्यो अवधिलाई ‘संसदीय विकृतिको युग’ भन्ने गरिन्छ । त्यस अवधिमा सरकार बनाउने र गिराउने क्रममा अनेक प्रकारका संसदीय जालझेल, तिकडम र षडयन्त्रहरू भएका थिए । सांसद किनबेच हुने गर्दथे । संसदमा मतदान हुने दिनको सेरोफेरोमा सांसदहरूलाई विभिन्न होटलहरूमा थुन्ने गरिन्थ्यो । भारत वा बैंककतिर भगाइने गरिन्थ्यो । को कतिखेर कुन पक्षमा लाग्छ, कस्को सरकार कहिले गिर्छ, कहिले बन्छ, टुंगो हुँदैन्थ्यो ।
धेरैको बुझाई वा विश्लेषण के रह्यो भने त्यो अवधिमा संसदीय लोकतन्त्र जसरी बदनाम भयो, माओवादी जनयुद्धप्रति जनाकर्षण बढ्नुको एउटा मुख्य कारण त्यो वितृष्णा पनि थियो । यही अवधिमा ‘मुसा प्रवृत्ति’ भन्ने शब्दावली व्यापक प्रयोगमा आयो । मुसा प्रवृत्तिको कथा पहिलोपटक राप्रपा नेता तथा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले हालेका थिए ।
मुसा प्रवृत्ति भनेर उनले ती आफ्नै पार्टीका मन्त्रीहरूलाई संकेत गरेका थिए, जसले उनको सरकारभित्रै रहेर सरकार ढाल्ने र सूर्यबहादुर थापा नेतृत्वको सरकार बनाउने भूमिका गरेका थिए । यस प्रवृत्तिका मुख्य पात्र आजका राप्रपा नेता कमल थापा थिए । तसर्थ ‘मुसा प्रवृत्ति’ भन्नाले ‘कमल थापा प्रवृत्ति’ पनि बुझिन्छ ।
कथाअनुसार पानीजहाजमा मुसाहरू लुकेर बसेका हुन्छन् । यस्तै मुसाहरूले कुनै युगमा संसारभरि प्लेगको महामारी पुर्याएका थिए । मुसाको प्राकृतिक स्वभाव नै हो कि कुनै न कुनै चिज टोक्नै पर्छ । कुनै चिज टोक्न नपाए मुसाका दाँतहरू खपिनसक्नु गरी चिलाउन थाल्छन् । पानीजहाजमा यात्रा गर्दा तिनले जहाजको भुई कोतर्दछन् । कोतर्दै जाँदा कहिलेकाही जहाजमा दुलो पर्दछ । त्यही दुलोबाट पानी छिर्छ र जहाजमा भरिन्छ । मुसाहरूको यस्तो स्वभावले संसारमा ठुल्ठूला पानीजहाज दुर्घटना गराएका छन् ।
Clik here to view.

जब जहाज डुब्न लाग्छ– मुसाहरू भाग्न खोज्छन्, तर कहाँ भाग्ने ? समुन्द्रमा उनीहरूसँग भाग्ने कुनै उपाय हुँदैन । मुसा पनि जहाजसँगै डुबेर मर्छन् । ‘कमल थापाहरू’लाई इंगित गरिएको लोकेन्द्रबहादुर चन्दको यो कथा अन्ततः सही सावित भयो । मुसाहरूको कारण राप्रपाको जहाज नराम्ररी डुब्यो । २०५६ सालको आम निर्वाचनमा पुग्दा राप्रपा नराम्ररी हार्यो ।
संसदीय लोकतन्त्रमा त्रिशंकु संसद बन्नु कुनै अस्वभाविक हैन । संसारभरि नै यस्तो भइरहेको हुन्छ । संसदीय व्यवस्थाको जननी भनिएको बेलायत मै बारम्बार ‘हङ पार्लियामेन्ट’ बन्ने गरेको छ । तर सत्ताको चाबी प्राप्त दलहरूले त्यसको कस्तो प्रयोग गर्दछन्, त्यसका अभ्यास भने फरकफरक छन् । बेलायतको संसदमा प्रारम्भमा दुई दल मात्र हुन्थे– टोरी र ह्वीग । टोरीलाई अहिले कन्जर्भेटिभ पार्टी भनिन्छ र ह्वीगलाई ‘लिवरल डेमोक्र्याटेस’ ।
सन् १९००–१९२१ को बीचमा लेवर पार्टीको चमत्कारिक उदय भएको थियो । लेबरको उदयपछि ह्वीङ तेस्रो स्थानमा धकेलियो । करिब १०० वर्ष पुग्न लाग्यो पहिलो वा दोस्रो हुन सकेको छैन । त्यो अवधिको त्रिशंकु संसदमा लेवर रणनीतिलाई सफल र ह्वीङ रणनीतिलाई असफल मानिन्छ । जसले लेवरलाई प्रमुख दुई दलभित्र ल्यायो र ह्वीङलाई पछाडि धकेलेको धकेल्यै बनायो ।
भारतमा ठीक यस्तै भाजपा, कम्युनिष्ट र लोहिया–नारायण समाजवादी धारका दलहरूको तुलना गर्न सकिन्छ । त्यहाँ कांग्रेस लामो समयसम्म ठूलो पार्टी रह्यो । तर भाजपासँग भन्दा कम्युनिष्ट र समाजवादीहरूसँग अक्सर सत्ताको चाबी धेरै हुन्थ्यो । कम्युनिष्ट र समाजवादीहरूले सत्ताको चाबीको सही सदुपयोग गर्न सकेनन् । फलतः ती कमजोर भएर गए । भाजपाको उदय हुने आधार बन्यो ।
नेपालमा राप्रपा र कमल थापा मात्र हैन, मुसा प्रवृत्तिको शिकार भएका नेता र दलहरू अरु पनि थुप्रै बने । २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि यो प्रवृत्तिको शिकार त्यतिखेरको चौथो ठूलो दल मधेसी जनाधिकार फोरम भयो । विजय गच्चेदार, जयप्रकाश गुप्तालगायतका नेताहरूले सत्ता र मन्त्रीपदका लागि फोरमलाई बारम्बार विभाजित गरे । २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि कमल थापाको राप्रपाले फेरि पुरानै प्रवृत्ति दोहोर्यायो ।
आज यी कुनै नेताको राजनीतिक जीवन सुखद देखिन्न । नेपालको राजनीतिमा सबैभन्दा बढी मन्त्रीपद खाने नेता सायद कमल थापा र विजय गच्छदार नै हुन् । तर, आजको विन्दूमा आइपुग्दा उनीहरूको राजनीतिक जीवनले कुनै मौलिक सार्थकता पाएको देखिन्न । उनीहरूको पछिल्लो अवस्था निक्कै निरिह र ठिटलाग्दो छ ।
यहाँ केही त्यस्ता नेताहरू पनि छन्, जसले मौका पाउँदा पनि सत्ता र मन्त्रीपदका लागि मरिहत्ते गरेनन् । मोहनविक्रम सिंह, चित्रबहादुर केसी, नारायणमान बिजुक्छे, मोहन वैद्यजस्ता नेताहरू यस मानेमा फरक धारमा छन् । मन्त्रीपदका लागि महिरत्ते गर्ने र दर्जनौंपटक मन्त्री खानेहरूको भन्दा यी नेताहरूको सार्वजनिक प्रतिष्ठा अहिले पनि निक्कै उच्च छ । पार्टी जे जत्रो भए पनि, विचार र एजेण्डाप्रति मतभेद रहे पनि, जनताको हृदयमा उनीहरूप्रति सम्मानको भावना गहिरो छ ।
राजनीतिमा सरकारमा जानु, मन्त्री हुनु वा पद पाउनु मात्र कुनै ठूलो कुरा हैन । संसारमा त्यस्ता धेरै उच्च नैतिक जीवन भएका नेताहरू पाइन्छन्, जसले पदलाई कुनै महत्व दिएनन्, आफ्नो मिसनलाई मात्र ध्यान दिए । गान्धी र मण्डेला यस अर्थमा सर्वाधिक पुजनीय छन् । हाम्रै गणेशमान सिंह एक ओजस्वी उदाहरण हुन् । रामराजा प्रसाद सिंह राज्यको कुनै ठूलो पदमा कहिल्यै पुगेनन् तर उनको इतिहास गौरवले भरिएको छ ।
यसको अर्थ राजनीतिमा लाग्नेहरूले सरकार र मन्त्रीपदमा जानै हुँदैन भन्ने हैन । गान्धी र माण्डेला, गणेशमान र रामराजा फरक ओज र हैसियत भएका नेताहरू थिए, सबै नेता त्यस्तो हुन सम्भव छैन । सत्तामा जाने नेताहरू सबै फटाहा, बदमास र जनविरोधी हुन्छन् भन्ने हैन । नेहरू, देङ, लि क्वान, महाथिरजस्ता नेताहरूले सत्तामा गएर नै आफ्नो देश, राष्ट्र र समाजका लागि उल्लेखनीय योगदान गर्न सके ।
आज फेरि एकपटक देशमा त्रिशंकु संसद बनेको छ । सत्ताको चाबी असमयमै जनता समाजवादी पार्टीको हातमा आइपुगेको छ । गत आम निर्वाचनमा कम्युनिष्ट पार्टी झण्डै दुईतिहाईको प्रष्ट बहुमत पाएको थियो । बीचैमा कम्युनिष्ट पार्टी विभाजित होला र संसद फेरि त्रिशंकु बन्ला भनेर कसैले कल्पना गरेको थिए । फाल्गुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा–माओवादी केन्द्र) फरक भए, संसद आकस्मिक रुपमा त्रिशंकु बन्न पुग्यो ।
अहिले सबैको ध्यान जसपातिर छ । जसपाले के भन्छ ? जसपाले के गर्छ ? जसपाले के कस्तो निर्णय लिन्छ ? भनेर देश र दुनियाँले हेरी रहेको छ ।
Image may be NSFW.
Clik here to view.
राजनीतिमा अवसर आयो भन्दैमा फुर्किन, अहंकार गर्न हुँदैन । अप्ठ्यारो आयो भन्दैमा निराश हुन पनि मिल्दैन । राजनीति उद्देश्य र लक्ष्यप्रतिको निरन्तर साधना हो । अवसर र चुनौति दुबै अवस्थामा साक्षीभावले चल्न सकियो भने मात्र राजनीति साधना बन्छ । अन्यथा यो व्यापार बन्छ । जब राजनीति व्यापार बन्छ, ढिलोचाँडो मात्र हो, पतन हुनबाट कसैले रोक्न सक्दैन ।
जसपालाई आज इतिहासले ठीक त्यस्तै बिन्दूमा ल्याइ दिएको छ । बेलायतको लेवर पार्टी जस्तो हुने कि ह्वीङजस्तो । भारतको भाजपाको जस्तो रणनीति अख्तियार गर्ने कि कम्युनिष्ट र समाजवादीहरूको जस्तो । कमल थापाको राप्रपा वा विजय गच्छदारको लोकतान्त्रिक फोरमजस्तो भएर सकिने कि आफ्नो भिन्नै मौलिक स्थान र सार्थकता हासिल गर्ने ?
आज जसपाका प्रत्येक नेता, कार्यकर्ताहरूले गम्भीर भएर सोच्नु पर्ने क्षण आएको छ । जसपा मात्र इतिहासको निर्ममताबाट मुक्त दल हैन । इतिहासले जसपालाई मात्र माफी गर्दैन । इतिहासको दण्ड जसकसैका लागि निर्मम हुन्छ । जसपा आज यस्तो विन्दूमा आइपुगेको छ– यदि यसले ठीक निर्णय गर्न सक्यो भने आउँदा केही वर्षभित्र यो देशकै सबैभन्दा ठूलो वा पहिलो दल हुन सक्दछ । यदि यसले गलत निर्णय गर्यो भने यही बिन्दूबाट यसको पतन हुन सक्दछ ।
यसका लागि यो दलले आफ्ना उद्देश्य र लक्ष्यसँग आफ्नो रणनीतिक कदमलाई मिलाउन सक्नु पर्दछ । त्यो भनेको ‘प्रतिगमन’ र ‘प्रतिगमन विरोधी’ कित्ताबीचको भेदलाई आजका यथार्थहरूमा बुझ्न सक्नु हो । शासकीय स्वरुप, निर्वाचन प्रणाली, प्रदेशको सिमांकन परिवर्तन गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ ठोस, मूर्त र जिवन्त बनाउने, बहुसांस्कृतिकतावादको सिद्धान्तमा आधारित भएर नेपाललाई भाषिक, सांस्कृतिक अधिकारको प्रत्याभूति र समावेशितासहितको बहुराष्ट्रिय–राज्यमा रुपान्तरण गर्ने, देशमा सुशासन, समृद्धि, सामाजिक न्याय र समान्यायिक वितरण हासिल गर्ने दीर्घकालीन लक्ष्य र उद्देश्यका लागि आज मुख्य दुश्मन शक्ति कुन हो ? यो प्रश्न अहम् छ ।
जसपाले जुन विचार वा ध्रुवको नेतृत्व गर्दछ, त्यसको प्रतिध्रुव निःसन्देह ‘ओलीतन्त्र’ हो । यसको अर्थ यो हैन कि कांग्रेस वा देउवा, माके वा प्रचण्ड, माधव–झलनाथ वा एमाले जसपासँग सहमत मित्र शक्ति हुन् । आजको यथार्थमा ओलीभन्दा नरम र प्रतिगमन विरोधी कित्ताका दलहरूसम्म हुन भने ओली गुट प्रतिगमनको केन्द्र हो । विगत ३ वर्षका अनेक गलत क्रियाकलाप, भ्रष्टाचार र कुशासनका लागि ओलीतन्त्र जिम्मेवार छ । ओलीतन्त्रलाई समर्थन गर्नु भनेको ती सबै कुकर्मलाई अनुमोदन गर्नु हो । इतिहासको यो मोडले जसपालाई ओलीगुटसँग गठबन्धन बनाउने एक इञ्च पनि सुविधा दिएको छैन ।
त्यसो भए के जसपा निरपेक्ष बस्न मिल्छ ? विल्कुल मिल्दैन । किन ? किनकी त्यसो भए प्रतिनिधिसभा पुनःस्थापनाको राजनीतिक औचित्य पुष्टि हुन सक्दैन । हिजो ओलीतन्त्रले प्रतिनिधिसभा विघटन गर्दा किन त्यसलाई प्रतिगमन भनेको ? किन त्यसको विरुद्ध आन्दोलन गरेको ? सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दैमा यसको राजनीतिक सार्थकता पुष्टि हुँदैन । यदि पुनस्थापित संसदले वैकल्पिक सरकार दिन नसक्ने हो भने ओलीतन्त्रको पुस ५ गतेको कदम राजनीतिक रुपमा सही सावित हुन्छ र ओलीले फेरि संसद विघटन गरी आफ्नै नेतृत्वमा अर्को चुनाव गराउने आधार तयार हुनेछ ।
जसरी इतिहासले जसपालाई ओलीसँग गठबन्धन बनाउने कुनै सुविधा दिएको छैन, त्यसरी नै तटस्थ बस्ने पनि कुनै सुविधा दिएको छैन । तटस्थ बस्नुको अर्थ प्रकारान्तले ओलीलाई नै सहयोग गरे सरह हो । ओलीतन्त्रको बिदाई आजको प्रमुख आवश्यकता हो भन्ने कुरामा जसपा नेता/कार्यकर्तामा कुनै भ्रम रहनु हुँदैन । राजनीतिमा प्रहारको निशानामा सर्वथा प्रमुख ‘प्रतिध्रुब’ हुन्छ, हुनुपर्दछ । यो राजनीतिशास्त्रको सामान्य ज्ञान र कौशलको बिषय हो । यति सामान्य कुरामा पनि चुक्ने हो भने त्यो निक्कै ठूलो दुर्भाग्य हुनेछ ।
ओलीतन्त्रले अहिले राज्यका सबै अंगहरूमा कब्जा जमाउँदै गएको छ । गुटको हितका लागि राज्यशक्ति र स्रोतसाधनहरूको असीमित दोहन गरेको छ । यहाँसम्मकी संवैधानिक व्यवस्था विपरित संवैधानिक अंग र निकायहरूमा मनपरी नियुक्ति गरी त्यसलाई समेत कब्जा गरेको छ । ओलीलाई सत्तामा रहेर चुनाव गाउन दिने हो भने उनले गुटस्वार्थका लागि राज्यशक्तिको असीमित दुरुपयोग गरी ‘हुन सेन पथ’ को यात्रा तय गर्ने निश्चित छ । यस्तो गल्तीको भागिदार जसपा बन्न मिल्दैमिल्दैन ।
चाबीको अर्थ हुन्छ कि त्यो तालासँग मिल्नु पर्छ । ताला एकखालको चाबी अर्को खालको भयो भने ताला खुल्दैन चाबीको पनि कुनै अर्थ हुँदैन । विद्यमान राजनीतिक गतिरोधको ताला खोल्न नसक्ने हो भने जसपासँग रहेको चाबी आफै अर्थहीन हुनेछ ।
चाबी छ भनेर जसपाले धेरै फुर्किन जरुरी छैन । यसको गलत उपयोग भएमा त्यो आत्मघाती हुनेछ । जसपा अर्को राप्रपा, अर्को लोकतान्त्रिक फोरम हुन सक्दछ । पाएको चाबी प्रयोग गर्न नै नसक्ने हो भने त्यो स्वतः अर्थहीन हुन्छ । चाबी हुनु नहुनुको कुनै मतलब नै हुँदैन ।
यहाँनेर अर्को महत्वपूर्ण कुरा जसपाले जे निर्णय लिन्छ, एकमुष्ट लिन जरुरी छ । फुटेर लिएको निर्णयको कुनै सार्थकता हुने छैन । ओलीतन्त्रलाई माधव–झलनाथ पक्षको बलियो साथ नहुने कुरा स्वभाविक हो ।
सत्ताको लोभमा मानौं कि कसैले जसपा फुटाएर ओलीतन्त्रसँग मिल्ने आप्राकृतिक, अवाञ्छित सपना देख्यो, त्यो ‘गाठ भी गवाना, बेकुफ भी बन्ना’ भन्ने हिन्दी उखानजस्तो हुनेछ । ती मानिसको राजनीतिक जीवन पनि समाप्त हुनेछ, अर्कोतिर ओली सरकार टिक्नेवाला पनि हुने छैन । माधव–झलनाथ पक्षसँग करिब ४० सांसद भएको अनुमान गरिंदैछ, उनीहरूको समर्थन विना जसपाको कुनै समूहले काँध हाले पनि ओलीतन्त्र टिक्ने हैन ।
The post दुरुपयोग नगरौं ‘सत्ताको चाबी’ appeared first on Sajha Post.