Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

राजनीतिमा व्यक्ति–पूजाको प्रवृत्ति  

$
0
0

‘व्यक्ति–पूजा’ शब्द पहिलोपटक सोभियत अधिनायक जोसेफ स्तालिनको सम्मानमा प्रयोग भएको थियो भन्ने ठानिन्छ । दुई दशक बढी सत्तामा रहेर सन् १९५३ मा स्टालिन बिते । त्यसको ३ वर्षपछि सोभियत कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनलाई सम्बोधन गर्दै उनका उत्तराधिकार निकिता ख्रुश्चेभले ‘स्टालिनको व्यक्ति पूजा’ ले पार्टी र देशलाई कसरी दुस्प्रभावित गर्‍यो भनेर बोलेका थिए ।

ख्रुश्चेभको धारणा थियो– ‘मार्क्सवाद–लेनिनवादलाई आत्मसात गर्ने हो भने कुनै एउटा व्यक्तिलाई सर्वोच्च स्थान दिनु, भगवानजस्तो अलौकिक गुणहरू भएको उच्च मानव ठान्नु, उसलाई सबै कुरा थाहा हुन्छ, सबै कुरा देख्छ, सबैका लागि सोच्छ, सबै कुरा गर्न सक्दछ, उसको सबै व्यवहार अचुक छ भनेर मान्न सकिँदैन ।’

शब्दकोषमा यो शब्द सन् १९५६ मा प्रवेश गरेको भए पनि स्टालिनभन्दा नै अगाडि व्यक्ति पूजाको प्रचलन थियो । इटालीका मुसोलिनी र जर्मनीका हिटलरले आफ्ना प्रचार संयन्त्रमार्फत् आफूलाई जनता र आफ्ना राजनीतिक सहकर्मीहरूभन्दा माथि भगवानजस्तो देखाउने प्रयास गर्दथे । हिटलर र मुसोलिनीले असीमित शक्तिको उपयोग गरे । आफ्नो आवश्यकता र इच्छाअनुसार आफूलाई निरपेक्ष शक्ति भएका व्यक्तिको रुपमा प्रचारित गरे ।

स्टालिनभन्दा अघि व्यक्ति पूजा अधिकांशतः दक्षिणपन्थी तानाशाहहरूको हुन्थ्यो । स्टालिनपछि यो वामपन्थी तानाशाहरूको अनिवार्य चरित्रजस्तो बन्यो । यसै श्रृंखलामा क्युबामा फिदेल क्यास्त्रो, भियतनाममा हो ची मिन्ह, चीनमा माओत्से तुङ र भेनेजुएलामा ह्युगो चाभेजको व्यक्ति पूजालाई समावेश गर्न सकिन्छ ।

उनको देशको आकार र प्रभावको कारण माओको व्यक्ति पूजाको गौरवगाथा अरुको भन्दा धेरै गुणा बढी थियो  । करोडौं चिनियाँहरू श्रद्धापूवर्क माओको अगाडि शिर झुकाउथे । उनका हरेक वचनलाई परमेश्वरको वचनजस्तो गरीकन श्रवण र पालना गर्दथे ।

जस्तो कि पेकिङ लिवरेशन आर्मीले डेलीको सन् १९६७ को अगस्ट १३ को अंकमा घोषणा गरिएको थियो– ‘अध्यक्ष माओ संसारकै सबैभन्दा उल्लेखनीय र सबैभन्दा महान प्रतिभा हुन् । उनका विचार चीन र विश्वकै सर्वहारा वर्गको अनुभवको सार र अटुट सत्य हो । अध्यक्ष माओका निर्देशनहरू लागू गर्दा ती ठीक छन् कि छैनन् भनेर सोच्न जरुरी पर्दैन । हामीले बुझ्यो कि बुझेनौं भन्ने प्रश्न मात्र उठ्छ । क्रान्तिकारी संघर्षको अनुभवले के बताउँछ भने हामी शुरुवातमा अध्यक्ष माओका निर्देशनहरू बुझ्न कहिले आंशिक र कहिले पुरै गल्ती गर्दछौं । तर, विस्तारै बुझ्न थाल्दछौं । जब लागू गर्दै जान्छौं, बुझ्दै जान्छौं, कतिपय त लागू गरेको केही वर्षपछि मात्र बुझ्दछौं । तसर्थ अध्यक्ष माओका निर्देशनहरू हामीले बुझे पनि, तत्काललाई नबुझे पनि लागू गर्दै जानु पर्दछ ।’

ख्रुश्चेभले स्टालिनको व्यक्ति पूजाको कारण सोभियत संघ र त्यहाँको पार्टीले क्षति बेहोर्नु परेको ७ वर्ष अगाडि नै डा. भीमराज अम्बेडकरले भारतमा व्यक्ति पूजाका बेफाइदाहरूबारे चेतावनी दिइसकेका थिए । उनले भारतीयहरूले व्यक्ति पूजालाई आशंका गर्नुपर्ने बताएका थिए ।

लोकतान्त्रिक गणतन्त्र भारतको संविधान जारी गर्दा बखतको उनको यो वाक्यलाई सम्झना गरिहेरौं– ‘धर्ममा भक्ति आत्ममोक्षको बाटो हुन सक्दछ । तर राजनीतिमा निःसन्देह भक्ति वा नायकत्ववाद पतन र अन्ततः तानाशाहीतिरको बाटो हुनेछ ।’

सन् १९७० तिर भारतीयहरूले अम्बेडकरको यो चेतावनी बिर्सिसकेका थिए । उनीहरूले आफ्नो स्वतन्त्रता र विवेकलाई इन्दिरा गान्धीको चरणमा समर्पण गरे । उनीहरूले आफ्ना संस्था र संस्थागत प्रक्रियालाई क्षति पुर्‍याउने शक्तिलाई विश्वास गरे ।

यहाँसम्मकी कांग्रेस पार्टीका अध्यक्षले खुलेआम ‘इन्डिया भनेकै इन्दिरा हो, इन्दिरा भनेकै इन्डिया’ हो जस्तो मनोविषादग्रस्त भाषण गरे । उनले यो कुरा उनको निजी विचारका रुपमा मात्र हैन, सारा भारतीयहरूको तर्फबाट बोलेका थिए ।

अम्बेडकरले भविष्यवाणी गरेझैं त्यसपछि राजनीति अपरिहार्य पतन र अन्ततः तानाशाहीमा पुग्यो ।

हिटलर, मुसोलिनी, स्टालिन, क्यास्त्रो र माओले मृत्यु अगाडिसम्म असीमित राज्यशक्तिको आनन्द उठाए । तर यी भारतीय तानाशाह इन्दिराले भने २ वर्षपछि आफैंले लादेको आपतकाल आफै अन्त्य गरिन र नयाँ निर्वाचनमा गइन् । निर्वाचनमा उनी र उनको पार्टी हार्‍यो ।

त्यसपछिका दशकहरूमा भारतमा लोकतान्त्रिक तथा संवैधानिक संस्थाहरूले विस्तारैविस्तारै आफ्नो स्वतन्त्रता उपयोग गर्न थाले । आफ्नो अस्तित्वको औचित्यलाई पुनर्प्राप्ति गरे । प्रेस अझ स्वतन्त्र भयो । न्यायपालिका अझ स्वतन्त्र भयो । नागरिक समाज अझ बलियो र क्रियाशील हुँदै गयो ।

आपतकाल अन्त्य भएको करिब २० वर्षपछि मैले आफ्नो किताब इन्डिया आफ्टर गान्धी लेख्न थालेको थिए । सन् २००७ मा यो प्रकाशित भयो । मैले त्यो बेला भारतीय लोकतन्त्रलाई ‘आधाआधी लोकतन्त्र’ भन्न उपयुक्त ठानेको थिए । त्यसको ७ वर्षपछि नरेन्द्र मोदी प्रधानमन्त्री भए । हाम्रो लोकतान्त्रिक विश्वासनीयता फेरि हराउन थाल्यो ।

मोदी शासनले प्रेसलाइ दमन र नियन्त्रण गर्न, न्यायपालिका दुस्प्रभावित गर्न, स्वतन्त्र नागरिक समाज र संगठनहरूलाई सताउन र तर्साउन थाल्यो । कतिपय सार्वजनिक संस्थाहरू जो यसअघि सधै गौरवपूर्ण ढंगले स्वायक्त रहँदै आएका थिए, जसलाई इन्दिरा गान्धीले समेत इच्छामुताबिक झुकाउन सकेकी थिइनन्, जस्तो कि सेना, निर्वाचन आयोग र रिजर्भ बैंक आदि सत्तारुढ पार्टी र प्रधानमन्त्रीका औजारका रुपमा देखिन थाले ।

संस्थाहरूको बढ्दो ध्वंस बढ्दो व्यक्ति पूजासंग तादम्य हुन्छ । सन् २०१४ को मेदेखि यता राज्यको विशाल स्रोतसाधन प्रधानमन्त्रीको विज्ञापन, कार्यक्रम र पोष्टरका लागि समर्पित छन् । व्यक्त होस् वा अव्यक्त– ‘मोदी नै भारत हुन्, भारत नै मोदी हुन्’ को भावना भारतीय जनता पार्टीभित्र व्यप्त छ । चाहे प्रधानमन्त्री आफैं हुन् वा पार्टीका नेता र सांसद वा एक विन्रम र सामान्य पार्टी कार्यकर्ता सबैमा यस्तो भान पर्दै गएको छ ।

जब कोभिड–१९ शुरुवात भयो, यो महामारी प्रधानमन्त्रीको व्यक्ति पूजा गर्ने थप अवसर बन्यो । सञ्चार माध्यममा उनका कोरियोग्राफ भाषणहरू सघनीकृत हुँदै गए । आफूलाई स्वतन्त्र भन्न रुचाउने प्रसार भारतीले आइपिएल हेर्नेभन्दा बढी स्रोताले मोदीका भाषण सुनेको भनेर सार्वजनिक गौरव नै गर्‍यो ।

दोस्रो र सायद अर्को सबैभन्दा खतरनाक विस्तृति नयाँ प्रधानमन्त्री केयर फण्ड थियो । सन् १९४८ यता भारतमा दैविप्रकोप र नागरिक उद्धारका लागि राष्ट्रिय उद्धार कोष अस्तित्वमा थियो । यसले युद्ध, अनिकाल, भुकम्प, सामुन्द्रिक आाधी र महामारीको बेला नागरिकलाई सहयोग गर्दथ्यो । जब कोरोना महाव्याधी शुरुवात भयो, यो कोषमा करिब ८००० करोड रुपैयाँ थियो । प्रत्येक प्रदेशमा मुख्यमन्त्री राहत तथा उद्धार कोष छँदै थिए । यिनै कोषहरूबाट यस अघिका प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले काम गर्थे ।

मोदीले नयाँ प्रधानमन्त्री उद्धार कोष बनाउने बाटो रोजे । जसलाई ‘पिएम कियर’ भनियो । यो एकप्रकारले वैयक्तिककरण गरिएको कोष थियो । यसको वेबसाइटमा उनैको फोटो बढो जबरजस्त तरिकाले राखिएको छ । यस कोषसँग जोडिएका सबै प्रचार सामग्री, विज्ञान, स्वास्थ्य सामग्री खरिद र वितरणमा ती फोटोहरू प्रयोग हुन्छन् । महामारीजस्तो राष्ट्रिय त्रासदी मोदीलाई ब्रान्डिङ गर्ने अर्को साधन बनेको छ ।

रामचन्द्र गुहा

पार्टी, जनता र राष्ट्रमा मोदीको व्यक्ति पूजा स्टालिनको व्यक्ति पूजासंग मिल्दोजुल्दो देखिन्छ । राष्ट्रिय सञ्चारमाध्यमबाट नेताको ज्ञान र सर्वज्ञताको प्रचार गर्ने सन्दर्भमा हिटलर र मुसोलिनीको सिको गरिएको छ । उत्तराधिकारीहरू बीच मोदीको व्यक्ति पूजाको कुरा गर्दा त्यो त झनै धेरै माओत्से तुङको भन्दा पनि धेरै देखिन्छ ।

महान छलाङको अवधिमा माओले फलामले बनेका सबै परम्परागत घरेलु हतियार पगाल्न आदेश दिएका थिए । मोदीको विमुद्रीकरण आदेश त्यसभन्दा खासै फरक थिएन, जसले अर्थतन्त्रलाई बर्बाद गर्‍यो । माओजस्तै मोदी आफ्ना सहकर्मीभन्दा माथि उक्लेर बेरोजगार युवाहरूलाई आफैं सम्वोधन गर्दछन्, जो उनका कट्टर अनुयायी बनेका छन् । माओले यस्तै युवाहरूमार्फत् रेडगार्ड चलाउँथे, जसले अनेक उपद्रो गर्थ्यो ।

माओजस्तै मोदी सरकारी सञ्चारमाध्यममार्फत् आफूलाई सर्वज्ञ र सर्वव्याप्त व्यक्ति भनेर प्रचार गराइरहेका हुन्छन् । माओका निर्देशन बुझे पनि, नबुझे पनि लागू गर्न भनेजस्तै मोदीका वचन बुझे पनि, नबुझे पनि पालना गर्न नागरिकलाई अर्तिउपदेश दिइरहेको हुन्छ ।

ख्रुश्चेभले मार्क्सवाद–लेनिनवादको मर्ममुताबिक व्यक्ति–पूजा निरर्थक भएको बताए जस्तै भारतीय जनता पार्टी सिद्धान्ततः व्यक्ति भक्तिको सधै विरुद्धमा रहँदै आएको थियो ।  भाजपाले कांग्रेसमा भएको परिवारवाद र व्यक्ति भक्तिको सधैं विरोध गर्‍यो । नेहरू, इन्दिरा, राजिव र सोनिया गान्धीप्रतिको भक्तिलाई भाजपाले कहिल्यै मन पराएन ।

अटलबिहारी बाजपेयी प्रधानमन्त्री हुँदा इन्दिरा गान्धीले जस्तो आफ्न सहकर्मी र समकक्षीहरूलाई कहिल्यै पनि ओचिल्दो र अपमानजनक व्यवहार गरेनन् । पार्टीको दृष्टिकोणमा उनी त्रिमुर्ती थिए । त्यो बेला भाजपाले बाजपेयी, अड्बानी र मुरलीमनोहर जोशीलाई त्रिमुर्ति भन्थ्यो ।

यी तीन नेताहरू केन्द्रमा मिलेर काम गर्थे । यहाँसम्म कि उनीहरू राज्यमा स्वतन्त्रतापूर्वक काम गरिरहेका मुख्यमन्त्रीहरूलाई पनि उत्तिकै आदर गर्थे । आज बिल्कुलै फरक स्थिति छ । मोदीको सरकार र भाजपा आज त्यस्तो बनेको छ, जस्तो कुनै जमानामा सरकार र उनको सोभियत कम्युनिष्ट पार्टीको पोलिटब्युरोभित्र स्टालिनको स्थिति थियो ।

महामानवका रुपमा मोदीपूजा होस् वा महामानवीका रुपमा इन्दिरापूजा, अम्बेडकरले भबिष्यवाणी सही सावित हुन्छ कि धर्ममा हुनेजस्तो अन्धनायकत्ववाद वा भक्ति राजनीतिमा भारतीय लोकतन्त्रका लागि खतरनाक हुनेछ ।

व्यक्ति पूजाको इतिहासले हामीलाई यो बताउँछ कि जतिखेर कुनै देशमा यसको बढ्दो लहर हुन्छ त्यस बेला त्यसले निर्माणभन्दा बढी ध्वंस नै गरेको छ । नरेन्द्र मोदी कुनै दिन अवश्य प्रधानमन्त्री रहने छैनन् । तर, भगवानलाई नै थाहा होला कि मोदी पूजाको कारणले क्षतिग्रस्त भएको अर्थतन्त्र, संस्था, सामाजिक जीवन र नैतिक रेसाहरूको पुनः स्थापना कहिले र कसरी होला ?

द टेलिग्राफबाट ।

The post राजनीतिमा व्यक्ति–पूजाको प्रवृत्ति   appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles