नेपालका ‘कम्युनिष्टहरू’ यतिखेर इतिहासकै सर्वाधिक संकटग्रस्त क्षणमा छन् । यो संकट कुनै एउटा पक्ष वा पाटोमा मात्र छैन । सैद्धान्तिक, वैचारिक, राजनीतिक, संगठनात्मक तथा नैतिक– सबै हिसाबले संकटग्रस्त छन् ।
ओली, माधव, झलनाथ, प्रचण्ड, बादल, नारायणकाजी वा विप्लव सबै गुट, समूह वा नेताहरू सकंटग्रस्त छन् । यो संकट यति धेरै गहिरो वा बाक्लो छ कि यो विन्दू सधैंका लागि उनीहरूको ओरालो यात्राको पानी ढलो हुन सक्दछ । नेपालमा ‘पोष्ट–कम्युनिष्ट इरा’ को प्रारम्भ विन्दू हुन सक्दछ ।
कम्युनिष्ट गुटहरूबीचको सत्ता, अस्तित्व वा शक्तिसंघर्ष कुन हदसम्म निर्मम, क्रुर, अनैतिक र गैरलोकतान्त्रिक हुन सक्दछ भन्ने बुझ्न अब स्टालिनको सोभियत संघ, ग्याङ अफ फोरको चीन, मार्सल टिटोको युगोस्लाभिया, किम परिवारको उत्तर कोरिया र चाउचेस्कुको रुमानियासम्म पुग्नु पर्ने छैन । नेपाल हेरे, नेपाल पढे, नेपाल भोगे पुग्ने भएको छ ।
घटनाक्रमले नागरिक सार्वभौमसत्ता, लोकतन्त्र, संविधानवाद, विधिको शासनआदिको मात्र हैन, स्वयं कम्युनिष्टहरूको प्रिय सिद्धान्त ‘लेनिनवादी जनवादी केन्द्रियताको सिद्धान्त’ लाई समेत अर्थहीन सावित गर्दिएको छ । कम्युनिष्ट राजनीतिको केन्द्रमा ‘सत्ता’ हुन्छ र सत्ता–स्वार्थ खातिर सबै सिद्धान्तहरू अर्थहीन हुन्छन् भन्ने पुष्टि भएको छ ।
संकटको यो बहुआयामिक पासोबाट फुत्किन उनीहरूले अनेक उपायहरू खोज्ने नै भए । सम्भावित एउटा उपायको चर्चा हुँदैछ– जसपाको शिकार गर्नु । ओलीनिकट केही विश्लेषकहरू यो उपाय बहुतै सजिलो गरी अर्थ्याउँदैछन् । उनीहरू भन्दैछन् कि ओली राजनीतिका निक्कै चतुर, धूर्त वा माहिर खेलाडी हुन् । ओली सजिलै हार मान्ने मुडमा छैनन् । राजीनामा दिने मुडमा छैनन् । राजनीतिक संकटको कुनै निकास दिने मुडमा छैनन् । कुनै नैतिक उत्तरदायित्व बहन गर्ने मुडमा छैनन् । उनको आगामी कदम हो– जसपालाई ‘हन्ट’ गर्नु ।
यहाँनेर ‘हन्ट’ शब्द यसरी प्रयोग गरिंदैछ कि मानौं ओली त्यसमा सफल भए त्यो उनको अर्को पराक्रम हुनेछ । बहादुरी वा पुरुषार्थ हुनेछ । कुनै निर्लज्जता, षडयन्त्र वा निकृष्ट कार्य छैन । लोकतन्त्रको स्वच्छता र पवित्रतामाथि अर्को आघात हुने छैन ।
‘हन्ट’ शब्दको अर्थ त्यही होला कि उनी जसपा फुटाउन चाहन्छन् । यसअघि पनि उनले यो धृष्टता गरिसकेका थिए । असफल भएका थिए । कोरोना लकडाउनमा आफ्ना निकट सहयोगीहरूबाट अपहरणसम्मको निकृष्ट हर्कत गर्दा/गराउँदा पनि उनी रित्तो हात हुनु परेको थियो । स्वयम् उनको बदनामी भएको थियो । ‘शिकारी खुद यहाँ शिकार हो गया’ भने जस्तो अवस्था आएको थियो । जसपा एकीकृत भएको थियो, स्वयं ओलीकै पार्टी नेकपा बरु फुटेको थियो ।
नेकपाको ओली समूह र उसको सरकारले जसपाको एकमुष्ठ समर्थन हासिल गर्न सक्ने कुनै सम्भावना छैन । जसपाले त्यस्तो समर्थन दिनुपर्ने कुनै राजनीतिक तथा नैतिक कारण पनि छैन । ओली सरकारलाई संसदमा विश्वासको मत दिनुको अर्थ हुन्छ– विगत ३ वर्षका सबै कुकर्महरू ठीक थिए भनेर अनुमोदन गर्नु । यहाँसम्म कि अध्यादेश ल्याएर आफैंलाई फोड्न, अपहरण गर्न खोजेको पनि सही थियो भनेर ल्याच्पे लगाइ दिनु ।
जसपा पार्टी, कार्यकर्ता र समर्थक पंक्तिका लागि यो भन्दा ‘मर्नु’ अरु केही हुने छैन । यदि त्यसो भए राजनीतिको मैदानमा यो पार्टीको औचित्य सिद्ध गर्न सायद कसैका लागि सम्भव हुने छैन ।
मान्छेहरूको भनाई छ कि उनी दोस्रो ‘एटेम्ट’ गर्न खोज्दैछन् । यसक्रममा जसपाको चित्रण यसरी गरिंदैछ कि मानौं कि यो पार्टी कसैबाट ‘हन्ट’ हुन आतुर प्रतिक्षामा छ । यो मिडियाले निर्माण गरेको एक जबरजस्त कृत्रिम छवि मात्र हो कि यसभित्र कुनै सत्य पनि छ, त्यो समयले नै प्रष्ट गर्ला । मेरो बुझाईमा यो एक कृत्रिम र पूर्वाग्रहपूर्ण छवि निर्माणको प्रयत्न मात्र हो । कुनै पार्टीको ‘संस्थागत चरित्रहत्या’ को प्रयत्न । त्यसमाथिको ‘हल्का रमाइलो’ ।
यदि म गलत सावित भएछु भने त्यतिखेरै स्वीकार गरौंला । जसपा हन्ट गर्ने ओलीतन्त्रको प्रयत्न फेरि एकपटक असफल हुनेछ भन्ने मेरो दृढ विश्वास छ ।
मानौं कि साँच्चै हन्ट भयो, यो पार्टी र नेताहरूलाई इतिहासले माफी गर्ला जस्तो लाग्दैन । तुरुन्तै जसपासँग जोडिएको वैकल्पिक विचार र शक्ति निर्माणको प्रश्न असान्दर्भिक हुनेछ । नेकपाका जुन नैतिक, राजनीतिक, सैद्धान्तिक र वैचारिक संकटहरू छन्, ती जस्ताको जस्तै जसपामा संक्रमति भए जसपा आन्दोलन ‘कम्युनिष्ट–भाइरस’ को शिकार हुने निश्चित छ ।
त्यो सामान्य महामारी (इपिडेमिक) मात्र नभएर महाब्याधी (पेन्डेमिक) सरह हुनेछ । यो भाइरस र महाब्याधीले राजनीतिक ध्रुवीकरणको भिन्नै कोर्स ल्याउन सक्ने छ । कोरोनाकालपछिको विश्वजस्तै ।
इतिहासले कसैलाई केही सिक्न बाध्य गर्दैन, नसिके दण्ड मात्र दिने छ भन्ने उक्ति फेरि एकपटक नेकपा र जसपा दुवैका लागि आकर्षित हुनेछ । इतिहासको शिक्षाबाट विरत हुन जति सजिलो हुन्छ, इतिहासको दण्डबाट मुक्त हुन कसैका लागि पनि त्यति सजिलो हुँदैन ।
सन् १९९३ मा प्रकाशित अमेरिकी अर्थशास्त्री रोबर्ट हेल्ब्रोनरको किताब ‘एक्काइशौं शताब्दिको पुँजीवाद’ त्यो बेला सर्वाधिक चर्चामा थियो । चर्चाका थुप्रै कारणहरू थिए । ती मध्ये मुख्य कारण सोभियत संघको पतनपछि आगामी शताब्दिमा अर्थशास्त्रीय दृष्टिकोणबाट पुँजीवाद कति सफल रहला वा नरहला भन्ने थियो । किताबमा उनले ‘सोभियत साम्यवाद’ को अन्त्य हुँदैमा पुँजीवाद स्वतः सफल नहुने निष्कर्ष निकालेका थिए ।
यथार्थमा त्यो कुनै संगतिबद्ध किताब थिएन । हेल्ब्रुनरका अर्थशास्त्रीय प्रवचनहरूको श्रृंखलाबद्ध र सम्पादित संकलन थियो । भाषा सरल थियो । उदाहरणहरू जिवन्त थिए । निष्कर्षहरू दमदार लाग्थे ।
हेल्ब्रुनरले त्यस किताबमा एक रुसी उखान टिपेका थिए । उनको भनाईमा त्यो उक्ति रुसका मध्ययुगीन इतिहास तथा संस्कृतिविद भासिली क्लिउचेस्कीको हो । क्लिउचेस्कीले भनेका थिए–‘इतिहासले कसैलाई केही सिकाउँदैन, इतिहासबाट पाठ नसिक्नेहरूलाई दण्ड मात्र दिन्छ ।’
नेकपालाई अहिले इतिहासले त्यस्तै दण्ड दिँदैछ । निःसन्देह मेरो प्रयास र कामना हुन्छ कि जसपा इतिहासको त्यस्तो कोपभाजन दण्ड र सजायबाट बचोस् ।
मानिस इतिहासदेखि स्वतन्त्र प्राणी हैन । तर इतिहास चेतलाई ग्रहण गर्ने मानिसको तरिका, चाहे त्यो व्यक्तिगत होस वा सामुहिक, समान हुँदैन । इतिहासप्रतिका फरक धारणाहरूले फरक विकल्पहरू निर्माण गर्दछन् । फलतः सामाजिक विकासक्रम चरणगत, नियमबद्ध र पूर्वअनुमानित नै हुन्छ भन्ने छैन । फरक फरक समाज र राष्ट्रले आआफ्नो प्रकारको बाटो तय गर्दछ ।
जसपा गठनको उद्देश्य देशमा राजावादी, कांग्रेस र कम्युनिष्टभन्दा फरक देशका सबै समुदायको पहिचान, अधिकार र समावेशितालाई सुनिश्चित गर्न सक्ने एक वैकल्पिक शक्ति निर्माण गर्नु हो ओलीतन्त्रको शिकार हुनु हैन ।
नेकपाको आज जे हालत छ, त्यो अनेक फरक विकल्पमध्येको सबैभन्दा खराब विकल्प हो । यति चाँडै, यति छिटै, यति खस्ता हाल, यति दुर्दान्त, यति निकृष्ट स्थितिमा पुग्न यो पार्टी अभिशप्त थिएन । तर पुग्यो । किन पुग्यो ? किनकी इतिहासबाट उसले कुनै शिक्षा लिएन । इतिहासले नेकपालाई अहिले दण्ड दिँदैछ ।
तर, नेकपाको असफलता अरु पार्टीहरूको स्वतः सफलता हुन सक्दैन ।
जस्तो कि हेल्ब्रुनरको किताबको सन्दर्भ थियो कि त्यो समय जहाँ साम्यवाद असफल हुन्छ त्यहाँ उदार लोकतान्त्रिक पार्टीहरूले विकास गर्ने छन् । जहाँ उदार लोकतन्त्र असफल हुनेछ, त्यहाँ साम्यवादी पार्टीहरूले विकास गर्ने छन् भन्ने सोच थियो । तर एक्काइशौं शताब्दिका दुई दशकमा यो सोच सही सावित भएन ।
रुस र पूर्वी युरोपेली देशहरू जहाँ साम्यवाद पतन भएको थियो, त्यहाँ आज पनि लोकतन्त्र संकटमा नै छ । रुसमा पुटिन, हंगेरीमा अर्वान र बेलारुसमा लुकाशेन्कोजस्ता नयाँ तानाशाहहरू जन्मिएका छन् जो कम्युनिष्ट हैनन्, तर त्यो बेलाका कम्युनिष्ट शासकभन्दा कम बदमास र निरंकुश छैनन् । थुप्रै पूर्व सोभियत देशहरूको हालत पनि त्यस्तै छ । अर्थात् साम्यवाद पतन हुँदैमा लोकतन्त्र सुनिश्चित नहुने रहेछ ।
अर्कोतिर उदार लोकतान्त्रिक पार्टीहरू संकटमा परेका देशहरूमा साम्यवादी पार्टीहरूको विकास हुन सकेको विगत २ दशकमा कुनै गतिलो उदाहरण छैन । अमेरिकी लोकतन्त्रको शुद्धतामा आज मानिसहरू उत्तिकै विश्वस्त छैनन्, जसले ट्रम्प जन्माएको थियो । छिमेकी भारतकै उदाहरणमा भन्ने हो भने पनि भारतीय राष्ट्रिय कांग्रेसको अलोकप्रियतापछि त्यहाँ कम्युनिष्ट पार्टी बलियो र शक्तिशाली हुन सकेन बरु त्यो ठाउँ भाजपाले लियो ।
आखिर किन यस्तो भयो ? दार्शनिक तहमा यसको निष्कर्ष हुन्छ कि इतिहासले मानिसको सोच वा समाजको दिशालाई आकारित गर्दैन । खाली ठीक दिशा लिन नसकेको समाजलाई असफल मात्र बनाइ दिन्छ ।
जसरी आज नेकपा असफल भएको छ- त्यसरी नै जसपाले असफलताको बाटो रोज्नु हुँदैन । यदि त्यो बाटो रोज्नु नै छ भने त्यो यात्रा शुरुवात नै नगरेको भए हुन्थ्यो ।
विश्लेषक युग पाठक अचेल ‘आइ टाइम अवधारणा’ बारे कक्षा लिन्छन् । उनको ‘विचार–समय अवधारणा’ (आइडिया–टाइम कन्सेप्ट) बारे मैले पनि दुई पटक सुनेको छु ।
उनको निष्कर्ष छ कि विचार र समयको सम्बन्ध केवल ‘स्पेश’ आधारित हुँदैन । भौतिक स्पेश र वैचारिक स्पेशबीचको भिन्नता के हो भने भौतिक स्पेश पूर्ववत् उपलब्ध हुनु पर्दछ, जस्तो कि घर बनाउन जग्गा हुनु पर्दछ । तर विचारले आफ्नो स्पेश आफैं बनाउन सक्दछ । उनले भारतमा भाजपाको उदयलाई इतिहासको वस्तुतताभन्दा बाहिर विचारले स्पेश लिएको अर्थमा व्यक्त गरेका छन् ।
नेपालमा ‘कम्युनिष्टहरू’ नियति देख्दा मलाई एक साथ हेल्ब्रुनर, क्लिउचेस्की र युग पाठकको ‘विचार–समय अवधारणा’ को सम्झना हुन्छ ।
कम्युनिष्ट पार्टीका लागि नेपाली जनताले जुनस्तरको माया र समर्थन दिएका थिए, जुनस्तरको लगानी गरेका थिए, जुन खालको मोह देखाएका थिए, के यसको कुनै ‘विचार–समय’ थियो कि यो इतिहासले कुनै दिन दण्डित गर्ने, एउटा युग र समयखेर गएको अर्थमा राष्ट्रलाई नै पछुतो हुने कर्म मात्र थियो ?
करिब ७ दशक लामो संघर्षपछि नेकपाले एउटा बहुमत हासिल गरेको थियो । मानौं कि यो कुनै इतिहासबद्ध चेत थियो, सायद ७ दशकको मेहनतबाट आएको उपलब्धि ३ वर्षमै यसरी ‘हावामा हुत्याइने’ थिएन । त्यो बहुमतसंगै कुनै कल्पनाशिलता, दायित्वबोध र समूहभावना पनि जोडिएको हुने थियो । कुनै योजना, लगाव र तीव्र मानसिक आवेगको संगति हुने थियो । यतिका ठूलो संघर्ष मेहनत र बलिदान त्यसै खेर फाल्नु हुँदै भन्ने भावना हुने थियो ।
आखिर त्यस्तो किन भएन ? बितेका ३ वर्ष नेपालका कम्युनिष्टहरूले जुन तमासा देखाए, जुन नाटक र नौटङ्की गरे, कुन आरोपप्रत्यारोप र टुटफुटको श्रृङ्खला रचे, जुन भ्रष्टाचार र आर्थिक अनियमितता गरे, मार्क्सेली ‘इतिहासको वस्तुता’ अवधारणासंग यसको कुनै संगति थिएन नत युग पाठकको ‘विचार–समय अवधारणा’ संग नै मेल थियो । उनीहरूसँग ‘टाइम’ थियो कुनै ‘आई–टाइम’ थिएन ।
जसपालाई इतिहासले भिन्नै माया, मोह देखाउने छैन । ओलीतन्त्रको शिकार हुने गल्ती गरेमा जसपासँग कुनै ‘आई–टाइम’ हुने छैन, त्यसो भएमा यसको टाइम मात्र हैन, ‘स्पेश’ पनि स्वतहः खण्डित हुने छ । जसपाले आफनै ‘आई–टाइम’ निर्माण गर्ने कि हन्ट हुने ? यो प्रश्न कटु छ तर सामुन्ने छ । सामुन्ने उभिएको प्रश्न जति नै कटु भए पनि सामना गर्नैपर्छ ।
कुनै पनि दल, पार्टी वा नेताको ‘आई–टाइम’ का मुख्य ४ वटा तत्वहरू हुन्छन् ।
पहिलो– विचार/सिद्धान्त/एजेण्डाप्रतिको प्रष्टता र समर्पण । तदनुरुपको रणनीति र कार्यनीति ।
दोस्रो– नेतृत्व, नेतृत्व समूहको समूह भावना र संगठन । नेतृत्व समूहको एकता र दुरदृष्टि ।
तेस्रो– स्पेश हस्तक्षेपका लागि जनस्तरमा क्रियाकलापको तीव्रता र संगति ।
चौथो– यो यावत अभियानलाई जीवन्त र प्रभावकारी बनाउन आन्तरिक व्यवस्थापन क्षमता । आर्थिक, सुचना प्रणाली, प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, कार्यालय तथा अभिलेख, द्वन्द्व, समय र व्यक्तित्व व्यवस्थापनको कौशल ।
मानौं कि जसपा हन्ट भयो, पहिलो चरणमै अस्तित्व संकटको परिबन्ध आउने छ । विचार, एजेण्डा र सिद्धान्तसँग रणनीतिको तालमेल हुने छैन । नेतृत्वको समूह र एकता र दुरदृष्टि रहने छैन ।
कतिपयले भन्लान्, संसदीय लोकतन्त्रमा गठबन्धन बनाउनु कुन ठूलो कुरो हो र ? यसलाई पनि दार्शनिक, वैचारिक तहमा यसरी बुझ्न जरुरी छ ? ओलीले नै जसपाका मागहरू पुरा गर्दछन् भने उनैसंगको गठबन्धनलाई किन सहज नमान्ने ? यस्तो विश्लेषण अल्पदृष्टि हो ।
ओलीले जसपाका एजेण्डा यो जीवनमा सायदै स्वीकार गर्नेछन् । किनकी त्यो नै उनको स्पेश हो । उनी आफ्नो स्पेश रक्षाका लागि आफ्नै कमरेडहरूलाई कोखमा छुरा रोप्न तयार छन् भने के जसपालाई उनले माया गर्लान् ? किमार्थ गर्ने छैनन् ।
मानौं कि ओली जसपालाई नेतृत्व दिन तयार छन्, त्यसो भए किन राजीनामा गरिरहेका छैनन्, त्यो ठाउँ खाली नै नभइकन त्यहाँ अरु कोही कसरी जान सक्दछ र ? जब ओली जसपाको समर्थन चाहन्छन त्यो त ठाउँ नछोड्ने कुरा भयो । साविक ओली सरकारलाई समर्थन दिने बित्तिकै त जसपाको नैतिक संकट शुरुवात भइहाल्छ ।
The post जसपा कुनै हालतमा ओलीतन्त्रको शिकार बन्न हुँदैन appeared first on Sajha Post.