चीनले ‘एक बच्चा नीति’ लाई ‘दुई बच्चा नीति’ ले प्रतिस्थापन गरेको छ । यो नीतिसँगै छिट्टै जनसङ्ख्या नियन्त्रणको असर अन्त्य हुने आशा गरिएको छ । तर, चीनको अर्थव्यवस्था, समाज, राजनीति र राष्ट्रिय मानसिकतामा ‘एक बच्चा नीति’ को असर लामो समयसम्म कायमै रहनेछ ।
यदि चीनको अर्थतन्त्रलाई जहाजसँग तुलना गर्ने हो भने सन् १९७९ को सुधार नीति उद्घाटन गर्ने इन्धन युवा कामदारहरू थिए, जसले अर्थतन्त्रलाई भुइँ छोड्न सक्ने बनाए र चार दशकसम्म तीव्र गतिमा उडाए ।
तर, एक बच्चा नीतिले त्यो आर्थिक इन्धन कटौती गरिदियो । सन् २०१२ सम्म १८–५९ बीचको मुख्य श्रमशक्ति खुम्चियो । जसले गर्दा सन् २०११ सम्म १० प्रतिशत रहेको कुल ग्राहस्थ उत्पाद वृद्धि सन् २०१९ मा आइपुग्दा ६ प्रतिशतमा सुस्त भयो ।
चीनको जनसांख्यिक संरचना २०३५ सम्म जापानको सन् २०१८ को जस्तै हुनेछ । जसको अर्थ चीनको आर्थिक वृद्धि निरन्तर ओरालो लाग्ने छ । पर्याप्त इन्धन विना उच्च गतिमा उड्नु चीन र विश्व अर्थतन्त्र दुवैका लागि जोखिमपूर्ण हो । दूर्भाग्यको कुरा– पाइलटले यो यथार्थ बुझ्न सकिरहेको छैन किनकी तथ्याङ्क अधिकारी तथा जनसङ्ख्याविदहरू जनसंख्या आङ्कडालाई अतिशयोक्तिकरण गरिरहेका छन् ।
उत्तरपूर्व चीनका हाइलोङजियाङ, लाओनिङ र जिलिन प्रदेशहरूमा जन्मदर औसत राष्ट्रिय जन्मदरभन्दा पनि तल तीव्रत्तर ढंगले खस्दैछ, त्यहाँ अर्थतन्त्रको इन्जिन नै ठप्प भएको छ । आधिकारिक तथ्यांकहरूले ५ प्रतिशत जिडिपी वृद्धि भएको अहंकार गरेपनि चौथो राष्ट्रिय आर्थिक सर्वेक्षणले त्यो क्षेत्रको जिडिपी आकार सन् २०१२ र सन् २०१९ मा बराबर रहेको देखिएको छ, जसको अर्थ हो विगत ७ वर्षमा वृद्धि शून्य छ ।
एक बच्चा नीतिले परिवारको सदस्य संख्यामा मात्र हैन, आवश्यकतामा पनि कमी ल्यायो । त्यसले गर्दा चीनको पारिवारिक उपभोग घट्दै गयो जबकी बचत भने बढ्दै गयो । अन्य लगानी अवसरको अभावमा त्यस्तो बचत सम्पत्तितिर बग्यो । जसले गर्दा घरजग्गाको मूल्य उच्च भयो । सन् २०१८ मा चीनको पारिवारिक उपभोग दर जिडिपीको ३९ प्रतिशत मात्र थियो जबकी यस्तो दर भारतमा ५९ र अमेरिकामा ६८ प्रतिशत थियो ।
घरेलु उपभोग र माग अपर्याप्त भएपछि चिनियाँ अर्थतन्त्र तीव्र रुपले घरजग्गा कारोबार र सरकारी लगानीमा निर्भर हुन थाल्यो । तर जनसंख्या घट्न थालेपछि धेरै नयाँ घर बनाउनु पनि आवश्यक रहेन । यसको अर्थ, घरजग्गा कारोबारको फोका फुट्न थाले । यसले वित्तिय संकटको घोडी दाब्यो । अर्थतन्त्र सुस्त भएपछि स्थानीय सरकारले कर्जा संकटको समस्या सामना गर्नु पर्यो ।
एक बच्चा नीतिले चीनको परम्परागत पारिवारिक मूल्य प्रणालीमा बदलाब ल्यायो । बच्चा हेरचाह गर्ने दृष्टिकोण नै बद्लियो । एक पुस्ता बच्चाहरू बिना सहोदर हुर्किए । उनीहरूमा अनुभव आदानप्रदान र सम्झौताको सोच नै विकास भएन । अहिले त्यस्ता बच्चाहरूको सम्बन्धविच्छेद दर निक्कै उच्च छ । सन् २००२ यता चीनको सम्बन्धविच्छेद दर ३ गुणाले बढेको छ र जापानको भन्दा २ गुणा बढी छ ।
चिनियाँहरूलाई किन्डरगार्डेनदेखि नै एकभन्दा धेरै बच्चा जन्माउनु हुन्न भन्ने शिक्षा दिइएको हुन्छ । दुई बच्चा नीति सन् २०१६ देखि लागू गरिएको हो । सन् २०१८ सम्म जन्मदर उच्च हुने अपेक्षा गरिएको थियो । तर, सन् २०१८ को स्वास्थ्य तथ्यांकको बार्षिक पुस्तिकाअनुसार जीवित जन्मदर १३ करोड ६० लाख मात्र भयो । जबकी सन् २०१४ मै ५० करोड र २०१६ मा २२ करोड जन्मको अपेक्षा गरिएको थियो । चीनमा अरु सबैथोको वृद्धि छ केवल बच्चाको सङ्ख्या बाहेक ।
सन् १९८० को दशकमा चीनको जनसंख्या वृद्धि ताइवान र दक्षिण कोरियाको जत्तिकै तीव्र थियो । त्यो चीनको राजनीतिक परिवर्तनका लागि एक मोड हुन सक्ने भ्रम पश्चिमा राजनेताहरूले पालेका थिए । उनीहरूलाई निरास बनाउँदै चिनियाँ मानसिकता त्यसपछि झनझन निस्क्रिय र अन्तर्मुखी हुँदै गयो ।
यो कुरा चिनियाँ प्रशासनले कडा सेन्सरसीप गरेको कारणले मात्र भएको थिएन । त्यहाँ अर्को प्राकृतिक कारण थियो- जनसंख्याको औसत उमेर–वर्ष उच्च हुनु । सन् १९८९ मा त्यस्तो औसत २५ वर्ष थियो जबकी सन् २०२० मा ४२ वर्ष पुगेको छ । उत्तरपूर्वी प्रदेशहरूमा मान्छे झनझन बुढो हुँदैछन्, साथसाथै उत्तिकै निस्क्रिय र अन्तमुर्खी पनि हुँदैछन् ।
उमेर धेरै भएका नागरिकको संख्या बढ्दै गएपछि बेलायतदेखि राज्य कोषबाट पेन्सन पाउँने उमेर ६५ बाट बाट ६८ वर्षमा सारेको छ । चीनको राज्य कोषबाट पेन्सन पाउँने उमेर विगत ४ दशकदेखि स्थीर छ । पुरुषका लागि ६० वर्ष र महिलाका लागि ब्लू कलर भए ५० वर्ष र ह्वाइट कलर भए ५५ वर्ष कायम गरिएको छ ।
अहिले चीनमा बुढ्यौली जनसंख्याको समस्या बेलायतमा भन्दा धेरै विकराल हुँदैछ । पेन्सन पाउने उमेर बढाउनै पर्ने, त्यो पनि उल्लेखनीय रुपमा बढाउनु पर्ने देखिँदैछ । यस्तो गर्दा जनप्रदर्शनहरू हुने र सामाजिक अस्थिरता सृजना हुने सम्भावना छँदैछ ।
मेरो अनुमानमा एक बच्चा नीतिले चीनमा करिब ४० करोड अविवाहित सृजना गरेको छ । उनीहरूका दम्पत्ति र बालबच्चा छैनन् । उनीहरूलाई आफ्नो जीवन, करिअर र सामाजिक दायित्वप्रति खास कुनै रुचि छैन । अविवाहितहरुको यो संख्याले केवल सामाजिक स्थायित्वमा असर पारेको मात्र छैन, वित्तिय बजारको जोखिम समेत बढाएको छ । छिमेकी देशहरूबाट चीनमा दुलहीहरू आयात हुन थालेका छन् । अविवाहितहरूको संकट जताततै देख्न सकिन्छ ।
चीनको एक बच्चा नीतिले विश्व अर्थतन्त्रलाई समेत पुनर्आकारित गरेको छ । चीनमा युवा उपभोक्ताको अभावले कयौं युवाजन्य वस्तुको उत्पादन घटेको छ । चिनियाँ अभिभावकहरू बुढेशकालमा त्यो एक बच्चाले राम्रो हेरचाह गर्लान् भनेर विश्वस्त हुँदैनन् । उनीहरू पनि उमेर छँदै उपभोग कटौती गर्न र बुढेशकालका लागि बचत गर्न थाल्दछन् ।
बालबच्चाजन्य उत्पादन खेलौना, शैक्षिक सामग्री, आवासजस्ता उत्पादनहरूले विश्व अर्थतन्त्रमा एक व्यापक औद्योगिक श्रृङ्खलालाई बढावा दिन सक्थ्यो । दोस्रो विश्वयुद्धपछि अमेरिका र बेलायतको आर्थिक समृद्धिमा यस्ता उत्पादनहरूको ठूलो भूमिका थियो ।
आज चीनको अमेरिकासँग अनुकूल व्यापार सन्तुलन छ । त्यसपछि युरोपियन युनियनसँग । सन् २०१८ मा चीनको जिडिपी प्रतिव्यक्ति आय ९ हजार ७८० अमेरिकी डलर थियो । यदि चीनले जनसंख्या नियन्त्रण नीति लागू नगरेको भए, अमेरिका चीन व्यापार झनै सन्तुलित हुन्थ्यो । चिनियाँ उपभोक्ताले अमेरिकामा लाखौं रोजगारी सृजना गर्न सक्दथे ।
साउथ चाइना मोर्निङ पोष्टबाट साझापोस्टले गरेको भावानुवाद ।
The post कस्तो छ चीनको ‘एक बच्चा नीति’ को प्रभाव ? appeared first on Sajha Post.