आधुनिक लोकतान्त्रिक, समतामूलक र समृद्ध राज्य निर्माणको महायज्ञ कहिँकतै सहज पाइँदैन । यो निक्कै कठिन, कठोर र निर्मम प्रक्रिया हो । यो प्रक्रियामा धेरै ‘भलाद्भी पल्टिएर’ सतही माहौल र भावनाबाट प्रभावित हुने गल्ती कसैले गर्नु हुँदैन । त्यस्तो गल्ती ‘गम्भीर भूल’ सावित हुन सक्दछ । आत्मघाती सावित हुन सक्दछ ।
म्याग्नाकार्टादेखि गौरवमय क्रान्तिसम्मको बेलायत होस् वा स्वीट्जरल्याण्डको दशकौं लामो गृहयुद्ध, मुसोलिनीको फासिष्ट शासन हुँदै गुज्रेको इटाली होस् वा विश्वयुद्धहरूको चपेटा, नाजीवादको शिकार पूर्व र पश्चिममा विभाजित तथा पुनर्एकीकृत जर्मनी, फ्रान्समा बारम्बार भएका गणतान्त्रिक क्रान्ति र प्रतिक्रान्ति हुन् वा रुसका फेब्रुअरी र अक्टोबर क्रान्तिहरू, अमेरिकी स्वतन्त्रता संग्राम होस् वा भारतको स्वाधिनता आन्दोलन– यी सबैले दिने साझा पाठ र शिक्षा छन्, न्याय, समानता, स्वतन्त्रता, समावेशिता, सहभागिता, विकास, सुशासन र समृद्धिको यात्रा सहज छैन ।
यो असहजताका अरु धेरै कारण छैनन् । कारण– मानवीय प्रवृत्तिहरूबीचको भिन्नता, सोच र अवधारणाहरू बीचको संघर्ष नै हो । कसैले यसलाई ‘वर्ग–संघर्ष’ भन्लान्, कसैले यसलाई ‘धर्म–संघर्ष’ भन्लान्, कसैले यसलाई ‘सभ्यता–संघर्ष’ भन्लान्, कसैले यसलाई ‘शक्ति–संघर्ष’ भन्लान्, कसैले ‘अस्तित्व–संघर्ष’ वा ‘स्वार्थ–संघर्ष’ भन्लान्, प्रकारान्तले सार एउटै हो– स्वभावैले मानिस फरक सोच भएको प्राणी हो । राज्य निर्माण प्रक्रियामा मान्छेका फरक सोच र स्वार्थहरू टकराउँछन् नै ।
हरेक मानिसलाई लाग्दछ कि उसको सोच वा अवधारणा ठीक छ । निरपेक्ष रुपमा संसारमा कुनै चिज ठीक वा बेठीक छैन पनि । मानवीय प्रवृत्तिका हिसाबले आफ्नो सोच आफूलाई ठीक लाग्नु स्वभाविक छ । तर, मान्छेले ठीक ठानेका सबै सोच, धारणा वा परिकल्पनाहरू ठीक हुने ग्यारेन्टी छैन । मान्छेलाई ठीक लाग्न पाउँछ, तर ठीक लाग्दैमा ती ठीक हुन्छन् भन्ने छैन ।
‘ठीक लाग्नु’ भिन्नै कुरा हो, ‘ठीक हुनु’ भिन्नै कुरा हो । यो अन्तर्विरोध जब व्यवहारमा मुखरित हुन्छ, तर्क र ज्ञान मात्र राज्य निर्माणका लागि अपर्याप्त हुनु पुग्दछ । राजनीतिमा बहसले मानिसलाई ‘कन्भिन्स’ गर्न नसकिने हैन, तर यसको सीमा हुन्छ । जबसम्म यो लचकता तन्किन्छ, यही बाटो अबलम्बन गर्नु पर्दछ, जब आधारभूत सोच मै भिन्नता आउँछ, त्यो विन्दूमा अलिक कठोर हुनै पर्दछ ।
यदि यस्तो हुँदैनथ्यो त राजनीति सधैं सहज र शान्तिपूर्ण बाटोमा हिंड्थ्यो होला । तर कुनै पनि देशको इतिहासमा त्यस्तो भएको पाइन्न । हरेक देश, राज्य, समाज र समुदायले जेजति प्रगति, उन्नति गरेका छन्, संघर्ष कै बीचमा गरेका छन् । बिन्ती, कृपा, दया, अनुकम्पा, आर्शिवाद, तथाकथित भलाद्मीपन वा तटस्थताले भनेको ‘लोकतान्त्रिक राज्य’ र ‘समृद्ध समाज’ संसारमा कहिँ छैन ।
हामी मान्छे, हाम्रो जीवनको सीमा छ । तर, सृष्टि अनन्त छ । हाम्रो आयु छोटो छ । करोडौं वर्षको सृष्टि र लाखौं वर्षको मानव सभ्यतामा मुश्किलले सय वर्षको आयु नभएको ‘व्यक्ति’ को कति नै स्थान, महत्व र भूमिका होला ? सबैलाई थाहा छ– कुनै दिन हामी सबै मर्छौ, त्यसपछि पनि सृष्टि रहन्छ । सभ्यता रहन्छ । आज हामी जे चीज स्थापित गर्न खोजिरहेका हुन्छौं, भोलि त्यो रहन्छ भन्ने छैन ।
पृथ्वीनारायण शाहलाई लागेको थियो होला, शाहवंश स्थापना गरेँ, ठूलो पराक्रम गरेँ तर त्यो त गयो । जंगबहादुरलाई लागेको थियो होला, राणाशासन स्थापना गरेँ, ठूलो विजय हासिल गरेँ, तर त्यो त रहेन । महेन्द्रलाई लागेको थियो होला, पञ्चायत स्थापना गरेँ, कति न ठूलो काम गरेँ, तर त्यो पनि गयो । लेनिनलाई लागेको थियो होला, सोभियत संघ स्थापना गरेँ, बढो बहादुरी गरेँ, आखिर त्यो पनि रहेन ।
एकातिर जीवन छोटो छ, अर्कोतिर छोटो जीवनमा गरेका पराक्रमहरूको स्थायीत्वको कुनै ग्यारेन्टी छैन । फेरि पनि मान्छे किन जीवनभरि झगडाउँछ, लड्छ,, केही गर्ने हुँ भन्छ, फुर्ती लगाउँछ ? त्याग र बलिदान गर्न, मर्न र मार्न राजी हुन्छ ? जेल जान र पारिवारिक वा व्यक्तिगत जिन्दगीमा जोखिम निम्त्याउन राजी हुन्छ ? यसको रहस्य के होला ? यथार्थमा यो सृष्टिको गुण हो, मान्छेको मात्र गुण हैन । सृष्टिको गुण मान्छेमा आरोपित मात्र भएको हो । सृष्टिको गति द्वन्द्व र मान्छेको जीवन संघर्षबाट निर्धारित हुन्छ । ‘गतिशील द्वन्द्व’ प्रकृतिको सार हो । ‘अनवरत संघर्ष’ मानव जीवनको सार हो ।
गणतन्त्रविरुद्ध पहिलो हमला स्वयं सत्तासीनहरूले गर्दैछन् । सत्तारुढ पार्टी नेकपाको अन्त्यहीन र निर्लज्ज विवाद ‘गणतन्त्र’ वा ‘लोकतन्त्र’ माथिको पहिलो हमला हो । ओली सरकारको सोच, कार्यशैली र ‘डेलिभरी’ विनाको सत्तामा रजगज ‘गणतन्त्र’ वा ‘लोकतन्त्र’ माथि वितृष्णा सृजना गर्ने मुख्य कारण बनेको छ ।
‘गणतन्त्र’ वा ‘लोकतन्त्र’ स्वंयसिद्ध तथ्य हैनन् । एकपटक ल्याएर यी पूर्ण हुँदैनन् । यिनीहरूको ‘रक्षा’ गर्नु पर्दछ, ‘विकास’ गर्नु पर्दछ । एकचोटी लोकतन्त्र ल्यायो पुग्यो, एकचोटी गणतन्त्र ल्यायो पुग्यो भन्ने हुँदैन । गणतन्त्रमै गणतन्त्रका शत्रुहरू जन्मिन्छन् । लोकतन्त्रमै लोकतन्त्र विरोधीहरूको उदय हुन सक्दछ । हिटलर र मुसोलिनीको जन्म बहुदलीय व्यवस्थाभित्रैबाट भएको थियो । स्टालिनदेखि मुगाबेसम्मको उदाहरण पनि दिनसकिन्छ । क्रान्तिकारी आन्दोलनभित्रैबाट प्रतिक्रान्तिकारी र तानाशाहहरूको जन्म भएको दर्जनौं उदाहरण छन् ।
नेपाल यतिखेर ठीक त्यस्तै विन्दू आएको छ । ‘गणतन्त्र’, ‘लोकतन्त्र’ ‘संघीयता’ र ‘धर्मनिरपेक्षता’ माथि अनेक कोणबाट हमला हुँदैछ, जो हाम्रो ७० वर्ष लामो संघर्ष, आन्दोलन, बलिदान र क्रान्तिका सारतत्व हुन् । आधारस्तम्भ हुन् । यी मूल्यमान्यतामाथि जुन कुनै कोणबाट चुनौति किन नआउन्, त्यतिखेर धेरै ‘भलाद्मी पल्टेर’ हुँदैन, निर्मम वैचारिक तथा व्यवहारिक संघर्षका लागि राजी हुनै पर्दछ ।
यी अवधारणामाथि अहिले विशेषतः ३ वटा कोणबाट हमला हुँदैछ । पहिलो हमला स्वयं सत्तासीनहरूले गर्दैछन् । सत्तारुढ पार्टी नेकपाको अन्त्यहीन र निर्लज्ज विवाद ‘गणतन्त्र’ वा ‘लोकतन्त्र’ माथिको पहिलो हमला हो । ओली सरकारको सोच, कार्यशैली र ‘डेलिभरी’ विनाको सत्तामा रजगज ‘गणतन्त्र’ वा ‘लोकतन्त्र’ माथि वितृष्णा सृजना गर्ने मुख्य कारण बनेको छ । यस्ता कर्महरूले लोकतन्त्र र गणतन्त्रलाई बदनाम गर्दछ । विरोधी भावना विकास गर्न अप्रत्यक्ष मद्दत गर्दछन् ।
तर, यो असक्षमता नेकपाको असक्षमता हो, लोकतन्त्रको असक्षमता हैन । यो नालायकी ओलीतन्त्रको नालायकी हो, गणतन्त्रको नालायकी हैन । यो भाँडभैलो कमरेडहरूले सृजना गरेको भाँडभैलो हो, संघीयताले सृजना गरेको भाँडभैलो हैन । कमरेडहरूको असक्षमताकोे बोझ गणतन्त्रलाई बोकाउन मिल्दैन । कमरेडरुको नालायकीको जिम्मेबार स्वयं कमरेडहरू हुन, लोकतन्त्र र संघीयता हैन ।
दोस्रो हमला प्रतिक्रान्तिकारी, राजावादीहरू गर्न खोज्दैछन् । १२ वर्षमा राणा, पञ्च र शाह शासनका कुकर्महरू जनताले बिर्से भन्ने भ्रम उनीहरूलाई परेको छ । ती शासनहरू भोग्न नपाएको नयाँ पुस्तालाई आजको शासनको खराबी देखाएर हिजो राम्रो थियो भन्ने भ्रम सृजना गर्न खोज्दैछन् । यो भ्रम निर्णायक त हुन्न, तर नयाँ पुस्तालाई अनावश्यक गुमराह गर्न सक्दछ । तसर्थ पुराना कुरा कति गर्ने भनेर निच मार्ने हैन, इतिहासको अँध्यारो पक्षबारे नयाँ पुस्तालाई ज्ञान दिन, अग्रजका संघर्ष, त्याग, बलिदानको महत्व बुझ्न सक्ने बनाउन पनि ‘भूतप्रेतहरूको कथा’ हालिरहनु पर्ने हुन्छ ।
तेस्रो हमला ‘एकात्मक तथा एकदलीय साम्यवादी’ विचारबाट हुन सक्ने देखिन्छ, जसले आफूलाई ‘जनवादी गणतन्त्र’ का पक्षधर भन्ने गर्दछन् । यद्यपि अहिले यो प्रवृति निक्कै कमजोर छ । यस्ता समूहहरूले लिएको सोच र कार्यदिशा समेत ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ माथिको हमला नै हो ।
शास्त्रीय साम्यवादको सिद्धान्तमा विश्वास गर्ने यस्ता समूहहरूको अन्तिम उद्धेश्य उत्तरकोरिया, चीन वा क्युवाको जस्तो जनवादी केन्द्रियतामा आधारित सर्बहारा राज्य वा एकात्मक ‘एकदलीय तानशाही शासन’ स्थापना गर्नु हो, त्यस्तो शासन प्रणालीमा ‘गणतन्त्र’ हुन सक्दछ तर ‘लोकतन्त्र’ ‘संघवाद’ र ‘समावेशिता’ जीवित रहन सक्दैन । दलीय स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आवधिक निर्वाचन र सार्वभौमसत्ता नागरिकको हातमा नभएको एकदलीय शासनप्रणालीलाई किमार्थ लोकतन्त्र मान्न मिल्दैन ।
‘गणतन्त्र’ वा ‘लोकतन्त्र’ माथिका यी त्रिकोणीय हमलाहरू केवल ‘गणतन्त्र’ वा ‘लोकतन्त्र’ माथिका मात्र हमला हैनन्, यी हमला प्रकारान्तले संघीयता, समावेशिता, धर्मनिरपेक्षता, सकारात्मक विभेद, अनुपातिक आरक्षण, सामाजिक न्याय, सुशासन, समृद्धि र समान्यायिक वितरणमाथिका हमला पनि हुन । यी हमलासँग जुध्न डराएर, संघर्ष गर्न लजाएर, बढो भावुक र भलाद्मी भएर लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न सकिन्न ।
लोकतन्त्र र गणतन्त्र आज कहाँनेर कमजोर छ ? किन यसका दुश्मनहरूले हमला गर्ने ठाउँ पाइरहेका छन् ? यसको गाँठी कुरा के हो ? यो पक्षमा पनि सोच्न र समीक्षा गर्न जरुरी छ । अर्थात् हामी गणतन्त्रको ‘रक्षापंक्ति’ मा उभिएर मात्र पुग्दैन, यसको विकास, विस्तार र सघनीकरणमा पनि उत्तिकै ध्यान दिन जरुरी छ ।
यहाँनेर प्रश्न उठ्छ– हामीले रोजेको लोकतन्त्र, हामीले खोजेको गणतन्त्र, हामीले चाहेको संघीयता यस्तै थियो त ? पक्कै थिएन । यहाँ ‘हामी’ को अर्थ ती सबै क्रान्तिकारी आन्दोलनहरू हुन, जसले २०४७ सालको संविधानलाई ‘अपरिवर्तनीय’ मान्न अस्वीकार गरेका थिए, त्यसको विरुद्ध बगाबत गरेका थिए । नयाँ क्रान्ति, राजनीतिक प्रणाली, समाज व्यवस्था आर्थिक ढाँचाका लागि लडेको थिए । यी सबै आन्दोलनहरू एकातिर थिए, अर्कोतिर ज्ञानेन्द्र शाहको चरम दक्षिणपन्थ मात्र थिएन, ओजीज्मको नरम दक्षिणपन्थ पनि थियो । के आज त्यही ओलीज्मसँग आत्मसमर्पण गर्न ती आन्दोलन र क्रान्ति भएका थिए ? निसन्देह थिएनन् ।
ती भावना मूलतः माओवादी जनयुद्ध, जनान्दोलन- २०६२/२०६३, मधेश जनविद्रोह, थारु, महिला, मुस्लिम, दलित, जनजाति लगायतका सीमान्तकृत समुदायका आन्दोलनहरूमार्फत् अभिव्यक्त भएका थिए । यी आन्दोलन र क्रान्ति कहाँनेर अधुरा रहे, त्यसको चुरो पत्ता लगाउने र त्यसलाई पूर्ण बनाउने काम नै आजको मुख्य दायित्व हो ।
विदितै छ कि त्यो भनेको शासकीय स्वरुपको प्रश्न हो । त्यो भनेको निर्वाचन प्रणालीको प्रश्न हो । त्यो भनेको राज्य पुनर्संरचनाको प्रश्न हो । त्यो भनेको राज्ययन्त्र पुनर्गठनको प्रश्न हो । त्यो भनेको अनुपातिक आरक्षण र समावेशिताको प्रश्न हो । त्यो भनेको अर्थतन्त्रको समाजवादी ढाँचाको प्रश्न हो । त्यो भनेको सुशासन, समृद्धि र समन्यायिक वितरणको प्रश्न हो ।
यी सवालहरू ओलीज्मको मुट्ठीमा कैद हुन दिएर लोकतन्त्र, गणतन्त्र, संघीयता र धर्मरिनपेक्षता सफल हुँदैनन् । त्यही असफलतालाई नै ‘गणतन्त्र यस्तै हुन्छ, लोकतन्त्र यस्तै हुन्छ, संघीयता यस्तै हुन्छ’ भनेर बदनाम गर्ने काम भइरहेको छ । ओलीपन्थीहरू गणतन्त्र, लोकतन्त्र र संघीयतालाई सही कार्यान्वयन हुन नदिने, ज्ञानेन्द्रपन्थीहरू ‘देख्यौं तिम्रो गणतन्त्र, लोकतन्त्र र संघीयताको हालत’ भन्दै खुच्चिङ गर्ने, यी दुवै प्रवृत्तिबाट गणतन्त्र, लोकतन्त्र र संघीयताको रक्षा र विकास गर्नु नै आजको मुख्य दायित्व हो ।
हामीले खुलेआम भन्न सक्नु पर्छ- हामीले रोजेको लोकतन्त्र, हामीले खोजेको गणतन्त्र ओलीतन्त्र जस्तो हैन । हामी ओलीज्मभन्दा भिन्नै प्रकारको लोकतन्त्र, गणतन्त्र, संघीयताको कल्पना गर्दछौं । तसर्थ ओलीतन्त्रका खराबीहरू देखाएर ज्ञानेन्द्रपन्थीहरूले लोकतन्त्र, गणतन्त्र, संघीयता असफल भयो भन्ने धृष्टता नगरे हुन्छ । ओलीपथ र ज्ञानेन्द्रपथ- दुवैसँग आवश्यक परे हामी निर्ममतापूर्वक लड्ने छौं । खुट्टी हेरेर नपत्याएको मात्र हो, आवश्यक परे मैदानमा आउँला ।
The post कमरेडहरूको असक्षमताको बोझ गणतन्त्रलाई बोकाउन मिल्दैन appeared first on Sajha Post.