बंगलादेशमा धार्मिक कट्टरता कुन पराकाष्ठामा छ, यसको दृष्टान्त चर्चित क्रिकेटर तथा पूर्व कप्तान शाकिब अल हसनले कट्टरपन्थीहरूसँग माफी माग्नु परेको घटनाबाट बुझ्न सकिन्छ । गत महिना शाकिब कोलकातामा थिए । त्यहाँ उनले कालीपूजाको एक पण्डाल कार्यक्रम उद्घाटन गरेका थिए ।
यो थाहा पाउने बित्तिकै बंगलादेशको सिलहटका एक व्यक्तिले उनलाई फेसबुकबाट ज्यान मार्ने धम्की दिए । भर्खरै मैले दुई भिडियोहरू हेरेँ । तीमध्ये एक शाकिबले माफी मागेको भिडियो छ भने अर्को भिडियोमा उनलाई ज्यान मार्ने धम्की दिइएको छ ।
शाकिब नास्तिक हैनन् । धार्मिक आस्थामा उनको पूरा विश्वास छ । शाकिब हिन्दू, बौद्ध, इसाई वा यहुदी पनि हैनन्, उनी धार्मिक गौरवको भावनाले भरिएका मुसलमान हुन् । भर्खरै उनी हज गर्न गएका थिए । तर पनि कट्टरपन्थीहरूले उनलाई निशाना बनाए ।
यदि कसैले उनलाई क्रिकेट खेल्न छोड, नत्र ज्यान मार्ने धम्की दियो भने उनले क्रिकेट खेल्न छोड्लान् ? निश्चय नै छोड्ने छैनन् । यदि कुनै मन्त्रीलाई मन्त्री पद छोड, राजनेतालाई राजनीति छोड, कारोबारीलाई व्यापार छोड, जागिरेलाई नोकरी छोड भनेर धम्की दिइयो भने धम्कीसँग डराएर उनीहरूले यी सबै चिज छोड्लान् त ? पक्कै छोड्दैनन् ।
तर त्यहाँ स्थिति कस्तो छ भने कसैले ‘तैंले मेरो धार्मिक आस्थामा चोट पुर्याइस्, माफी माग्’ भनेर कसैले भन्यो भने डराएर मागबमोजिम गर्न जो कोही तुरुन्तै राजी हुन्छन् । आखिर यस्तो किन भइरहेको छ ? यो हैरानीको कुरा छ । बंगलादेशमा यतिखेर धार्मिक मुद्दा यति महत्वपूर्ण भएर आएको छ कि बाँकी सबै सवाल गौण भएका छन् ।
धार्मिक आस्थामा चोट पुर्याएको आरोप लाग्ने बित्तिकै त्यहाँ कसैको पनि नृशंस तरिकाले हत्या हुन सक्दछ । बितेका केही वर्षमा हामीले त्यहाँ त्यस्ता अनेक घटनाहरू भएको देख्छौं । कयौं प्रतिभाशाली उदार चिन्तकहरूको रगतले त्यहाँका राजमार्ग रगताम्य भइसकेका छन् ।
यस्ता हत्यापश्चात् देशका हर्ताकर्ताले कट्टरपन्थीहरूतिर औला उठाउनुका साटो उदारवादी चिन्तकहरूलाई उल्टै दोष लगाउने गर्दछन् कि त्यसले त्यस्तो लेख्न, बोल्न किन जरुरी थियो ? पक्कै उसले मानिसहरूको धार्मिक भावनामा चोट पुर्यायो होला तब न तारो बन्यो ?
अर्थात् प्रकारान्तले शासनसत्ताले कट्टरपन्थीहरूकै पक्ष लिने गर्दछ । उदार इस्लामको अवधारणा आज कहाँ छ ? बंगलादेशमा यो अवधारणा विस्तारै लोप हुँदैछ ।
यही कारण हो कि त्यहाँ सुफी धर्मालम्बी र बाउल सन्तहरूलाई समेत धम्की दिने गरिन्छ । उनीहरूलाई निशाना बनाउने गरिन्छ । उदार इस्लामलाई हटाएर त्यहाँ कट्टरपन्थी इस्लामलाई महत्व दिइँदैछ । यो त्यही इस्लाम हो, जसले आइएस, अल काइदा, बोको हराम, अल शबाबजस्ता आतंकवादी संगठनमा भरोसा गर्दछ ।
बंगलादेशमा मोहसिन तालुकदार नामका व्यक्तिलाई कस्ले जिहादी बनायो, त्यो उनकै आत्मस्वीकारोक्तिबाट प्रष्ट हुन्छ । उनले यसबारे रातरातभरि इस्लामी शिक्षा दिने भेलामा बारम्बार बताउने गरेका छन् । उनी विभिन्न स्थानमा गएर आक्रामकता र असहिष्णुताको शिक्षा दिइरहेका हुन्छन् । त्यसलाई त्यहाँको सरकारको पूरा समर्थन र सहयोग देखिन्छ । यसबाट प्रष्ट हुन्छ कि बंगलादेशमा कसरी मोहसिन तालुकदारजस्ता कट्टरपन्थी तयार गरिँदैछ ।
यो बिडम्बना नै हो कि त्यहाँ शाकिब अल हसनजस्तो एक साँचो मुसलमानले पनि कट्टरपन्थीहरूसँग माफी माग्नु पर्दछ । सजिलै विश्वास गर्न गाह्रो पर्दछ कि यो त्यही बंगलादेश हो जो लाखौं मान्छेको बलिदानबाट धर्मनिरपेक्षताको आधारमा जन्मिएको थियो ।
आज त्यही देशमा मोहसिन तालुकदारजस्ता व्यक्ति भन्दैछन् कि धार्मिक भावनालाई चोट पुर्याउनेहरूलाई निशाना बनाउँदा म आफंै मारिए भने पनि मलाई कुनै दुःख हुने छैन । धर्मरक्षाका लागि जीवन दिनेहरूको भाग्यमा स्वर्गको बास लेखिएको हुन्छ, तालुकदारजस्ता व्यक्तिले मान्छेलाई यही जन्मघुटी पिलाउँदैछन् ।
यो कुनै एक मोहसिन तालुकदारको मात्र कुरा हैन । आज बंगलादेशका गाउँ, इलाका र शहरहरूमा असंख्य मोहसिन तालुकदारहरू पैदा भइरहेका छन् । यो प्रक्रियालाई कस्ले कसरी रोक्न सक्ला ? दुःखको कुरा के छ भने बंगलादेशमा शिशुहरू, किशोर युवाहरूलाई वास्तविक शिक्षाबाट वञ्चित गरिएको छ । त्यहाँको युवापुस्ता लोकतन्त्र, धर्मनिरपेक्षता, अभिव्यक्ति स्वतन्त्रताजस्ता अवधारणाबाट वञ्चित भएर हुर्किंदैछ ।
यदि बंगालदेशमा यस्तो शिक्षा हुन्थ्यो, यी अवधारणाप्रति विश्वास र पालना हुन्थ्यो भने आज शाकिब अल हसनले कट्टरपन्थी तथा जिहादीहरूसँग माफी माग्नु कुनै जरुरी हुँदैनथ्यो । उनले ती जिहादीहरूलाई खुलेआम यो भन्न सक्थे कि उनी कहाँ जान्छन् र के गर्दछन्, त्यो उनको व्यक्तिगत मामिला हो ।
जब मानिससँग यति स्वतन्त्रता पनि हुँदैन, लोकतन्त्रको कुनै अर्थ हुँदैन । स्वतन्त्रता लोकतन्त्रको पहिलो शर्त हो । यदि शाकिबले स्वतन्त्रताको मूल्यमा शीर झुकाउनु पर्यो भने यो उनको मात्र हार हैन, सिंगो लोकतान्त्रिक बंगालदेशको हार हो ।
सबैलाई थाहा छ कि बंगलादेशको यो नियतिका लागि को जिम्मेवार छ । आफ्नो सत्तास्वार्थलाई दीर्घजीवन दिन सत्ताधारीहरू उग्रवादी र कटट्रपन्थीहरूलाई सहयोग गरिरहेका छन् । कट्टरपन्थलाई प्रश्रय दिएर यी मान्छे निरन्तर लोकतन्त्रको चिहान खनिरहेका छन् । उनीहरूको दुरदृष्टिहीन नीतिहरूको कारण आज बंगालादेश उग्रवादी र कट्टरपन्थीहरूको सिकञ्जामा फस्दै गएको छ ।
हुन त अहिले पनि त्यहाँ कति नै लोकतन्त्र छ र ? तर अझै नसुध्रिने हो भने त्यही बचेखुचेको लोकतन्त्र पनि समाप्त हुन धेरै समय लाग्ने छैन ।
जो यसका लागि जिम्मेवार छन्, अब उनीहरूले आफ्नो गल्ती सुधार्नै पर्छ । ती कथित धर्मगुरुहरू जसले युवाहरूको मष्तिष्कमा जिहादी हुने भावनाको हरियो झण्डा देखाए, अब उनीहरूलाई जिहादीको साटो वास्तविक शिक्षा दिन प्रारम्भ गर्नु पर्दछ ।
तब मात्र यो आशा गर्न सकिन्छ कि भविष्यमा शाकिब अल हसनजस्तो कुनै पनि व्यक्तिले, कोही आस्तिकले होस् वा नास्तिकले, कुनै हिन्दूले होस वा मुसलमानले आफूले गरेका व्यक्तिगत स्वतन्तत्राका कामको लागि कसैको कठघरामा खडा हुनु पर्ने छैन ।
(नसरिन भारतमा निर्वासित जीवन बिताइरहेकी बंगलादेशी लेखिका हुन् । यो आलेख अमर उजालाबाट अनुवाद गरिएको हो)
The post भयावह धार्मिक कट्टरताको भूमरीमा बंगलादेश appeared first on Sajha Post.