मलाई सोभियत खेमामा भएका देशहरूको अवस्थाबारे पहिलेदेखि नै थाहा थियो । स्पेनको लोकतान्त्रिक संक्रमणबारे जुन नयाँ मेरो बुझाई बन्यो, त्यसले मार्क्सवादी विचारधारालाई अस्वीकार गर्न मलाई प्रेरित गर्यो, जुन मेरो जीवनको पहिलो एक अटल विश्वास थियो । मलाई के महसुस भयो भने मार्क्सले उन्नाइशौं शताब्दिमा बनाएका सिद्धान्तहरू उनको आफ्नै बौद्धिकता र त्यो समयका ऐहितासिक परिस्थितिहरूमा सीमित थियो ।
साथै मैले यो पनि बुझेँ कि चिनियाँ कम्युनिष्ट पार्टीले अभ्यास गरेको उच्च केन्द्रिकृत र दमनकारी राजनीतिक संस्करण मार्क्सभन्दा बढी स्टालिनको हो । मलाई लाग्यो कि यो विचारधारा आत्मस्वार्थले भरिएका शासकहरूले गर्दा झनै तानाशाही हुँदै गयो । मार्क्सवाद- आफ्ना प्रकाशन र प्रवचनमा मैले यसलाई प्रहार गर्न थाले । कुनै निरपेक्ष सत्य वा सत्ताको पूजा गर्न सकिन्न भन्न थालेँ । चीनले लोकतन्त्रको यात्रा शुरुवात गर्नु पर्दछ भन्न थालेँ । सन् २०१० मा जब हामी केही उदारवादी प्राज्ञहरूले ‘संविधानवाद तिर’ सम्पादन र प्रकाशन गर्यौं, मैले त्यसमा स्पेनको अनुभवका आधारमा एक लेख लेखेँ ।
मेरो विचार चीनले लोकतन्त्रको अभ्यास पार्टीभित्रबाट शुरुवात गर्नु पर्दछ भन्ने थियो । त्यसप्रकारको केही समयको अभ्यासपछि संवैधानिक लोकतन्त्रमा जान सकिन्छ भन्ने थियो । चीनमा एक निर्वाचित संसद हुनु पर्दछ, एक विपक्षी पार्टी हुनु पर्दछ ।
मेरो हृदयमा यस्ता विचारहरू थिए । तर मैले त्यसलाई लुकाएर राखेँ । चिनियाँ कम्युनिष्ट पार्टीले यस्ता विचारको हिंस्रक प्रतिवाद गर्ला भनेर म डराएँ । तर साथीभाइ र विद्यार्थीहरूसँग कुरा गर्दा त्यस्तो लोकतान्त्रिक संक्रमण चीन र पार्टी दुवैका लागि लाभदायक हुने बताउने गर्दथेँ । मैले यस्तो कुरा गर्दा धेरै पार्टी अधिकारीहरू पार्टीको सामुन्ने ठूला समस्या र चुनौतीहरू छन् भन्ने स्वीकार गर्थे । तर उल्टै मलाई नै मनाउने प्रयत्न गर्थे ।
सीसँगको निराशा
जियाङ जेमिनका उत्तराधिकार हु जिन्ताओको दिशा उल्टो थियो । सन् २००३ मा सत्ताको बागडोर सम्हाल्दै गर्दा हुले ‘विकासको वैज्ञानिक दृष्टिकोण’ भन्ने सिद्धान्त अगाडि सारे जुन जियाङको तीन प्रतिनिधित्वको सिद्धान्तको प्रतिस्थापन थियो । यो विचारको सारतत्व चीनका सन्दर्भमा मार्क्सवादी विचारधाराको सेरोफेरोमा मिश्रित अर्थतन्त्रलाई पुनर्पुष्टि गर्नु थियो । यसले चीनले सामना गर्नु परिरहेका ठूला प्रश्नहरूलाई बेवास्ता गर्दथ्यो ।
चीनमा बिग्रँदो विकासले अनेक सामाजिक द्वन्द्वहरू सृजना गर्न थालेको थियो । विकासका लागि भन्दै किसानहरूको जमिन कब्जा गरिँदै थियो । बढी नाफा गर्न कारखानाहरू मजदुरहरूलाई निचोरिरहेका थिए । सरकारले समस्या पारेको भन्दै याचिका दायर गर्नेहरूको संख्या ह्वात्तै बढेको थियो । प्रतिवर्ष १ लाख बढी राष्ट्रव्यापी सानाठूला प्रदर्शन हुन थालेका थिए । यी असन्तुष्टिहरूले के देखाउँथ्यो भने चीनको राजनीतिक उदारीकरण विना आर्थिक विकास गाह्रो हुँदै गइरहेको छ ।
तर हुको सोच अर्कै थियो । सन् २००८ को ३०औं नीति तथा योजना वार्षिक बैठकमा उनले ‘कुरालाई धेर बढाई चडाई नगरौं’ भनेका थिए । मैले उनको भनाईबाट यो बुझेँ कि उनी वैचारिक, आर्थिक र राजनीतिक सुधार अगाडि बढाउने भन्दा स्थितिलाई कायम राख्ने पक्षमा थिए ।
हु दोहोरो मारमा थिए । कन्जर्भेटिभहरू ठान्थे कि सुधार धेरै पर पुग्यो । उदारवादीहरू ठान्थे कि पर्याप्त सुधार नै भएन । हुको कार्यकालमा चीन पुरै राजनीतिक गतिरोधमा फस्यो । लियोनिद ब्रेझनेभको कार्यकालमा सोभियत संघले जस्तो स्थितिको अनुभव सम्हालेको थियो, हु कार्यकालको चीन झण्डै त्यस्तै थियो । त्यसपछि मेरो आशा सी जिन पिङमा पुगेको थियो । यो प्रष्ट थियो कि उनी सत्तामा आउने छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीले केही सजिला सुधारहरू ३० वर्ष अगाडि नै गरिसकेको थियो । अब पालो थियो केही कठोर सुधारहरू गर्ने । सीका पितालाई पार्टीमा एक उदारवादी र लचिलो पूर्व नेताका रुपमा सम्झना र सम्मान गरिन्थ्यो । प्रारम्भीक पार्टी पदहरूमा सीले त्यस्तै व्यवहार देखाएका थिए । उनीसँग म र मजस्ता धेरैको अपेक्षा थियो कि उनी चीनको राजनीतिक प्रणालीमा सार्थक परिवर्तन गर्ने हाम्रो नेता हुनेछन् । तर, सबैले सीबारे यस्तो धारणा बनाएका थिएनन् ।
सीबारे मानिसमा दुई प्रकारका धारणाहरू थिए-
सीबारे पहिलो समूहको सोच उनलाई पार्टी संस्थापक नेताहरूको ‘राजकुमार’ ठान्ने थियो । चुङगिङका प्रभावशाली पार्टी प्रमुख बो सिलाई झै सी जिन पिङ पनि संस्थापक नेताका सन्तान थिए । सी र बो दुवै लगभग एकै समयमा वरिष्ठ प्रादेशिक नेता हुँदै मन्त्रीमण्डलमा पुगेका थिए । दुवै सँगै पोलिटब्युरो, स्थायी समितिमा पुग्ने अपेक्षा थियो । दुवै चीनको भावी शीर्ष नेतृत्वको साझा दावेदार मानिन्थे ।
तर सन् २०१२ को प्रारम्भमा नै बो यो प्रतिस्पर्धाबाट बाहिरिए जब उनकी श्रीमतीलाई एक ब्रिटिस व्यवसायीको हत्या अभियोगमा फसाइयो । अब पार्टीका वरिष्ठ नेताहरूले सीको बाटो खुल्ला देखे । उनलाई सहयोग गर्न थाले । ‘राजकुमारहरूको दस्ता’लाई राम्रो थाहा थियो कि यो प्रतिस्पर्धा यति मै सकिने छैन । जब सीले सत्ता प्राप्त गरे उनले बोलाई भ्रष्टाचारको मुद्दामा फसाएर आजीवन कारावास गरे । बो सिलाईको सबै सम्पत्ति हरण गरियो ।
अर्को समूहमा केही सन्देहग्रस्त बौद्धिकहरू थिए । सन् २०१२ को नोभेम्बरमा १८ औं पार्टी महाधिवेशनभन्दा अगाडि, जुन महाधिवेशनले सीलाई पार्टी महासचिव बनाएको थियो, एक प्रमुख चिनियाँ म्यागजिनका संवाददाता, जो सीको राजनीतिक जीवन लामो समयदेखि अध्ययन गर्दै आइरहेका थिए, पार्टी स्कूलका एक वरिष्ठ प्राध्यापकसँग अन्तर्वार्ता गर्न आएका थिए ।
जब अन्तर्वार्ता सकियो, मैले ती बरिष्ठ प्राध्यापकलाई सोधेकी थिएँ– ‘सी लामो समय पार्टी स्कूलमा बसे । अब उनी महासचिव हुँदैछन् । तपाईको के धारणा छ ।‘
उनले भनेका थिए– ‘सी अल्पज्ञानले पीडित व्यक्ति हुन् ।‘ संवाददाता र मैले एकअर्कालाई स्तब्ध भएर हेराहेर गरेका थियौं ।
यस्ता धेरै नकारात्मक धारणाका बाबजुद मैले स्वइच्छाले सीप्रतिको अविश्वसालाई खारेज गरेँ, आशालाई बढाएँ । तर, सीको सत्ता चडाईको केही समय नबित्दै मलाई शंका हुन थाल्यो । सन् २०१२ को डिसेम्बरको एक भाषणमा उनले सुधारवादी र प्रगतिशील मानसिकता देखाएका थिए । तर उनका धेरैजसो कुरा सुधारपूर्वको युगतिर फर्किने खालका थिए । सी दाहिने जालान् वा देब्रे, यसै भन्न सकिन्न थियो ।
म भर्खरै केन्द्रीय पार्टी स्कूलबाट सेवानिवृत्त भएकी थिएँ । तर मेरा पूर्व सहकर्मीहरूसँगको सम्बन्धभन्दा टाढा थिइनँ । जब ती मित्रहरूसँग म एकपटक सिको योजनाबारे कुरा गर्दै थिएँ, एक जनाले भने– ‘सि देब्रे जान्छन् वा दाहिने, त्यो महत्वपूर्ण कुरा हैन । उनमा आधारभूत निर्णय क्षमता र तार्किकताको अभाव छ ।’ सबै चुप भए । मेरो मेरुदण्ड भएर चीसो हिंड्यो । यस्ता कमजोरीहरू बोकेर उनले राजनीतिक सुधारका लागि चाहिने संघर्ष कसरी गर्न सक्लान् ?
म छिट्टै सीबाट कुनै सुधार हुँदैन भन्ने निष्कर्षमा पुगेँ । सन् २०१३ मा जब सीको एक वृहत्त सुधार योजना सामुन्ने आयो, धेरै व्यवसायिक तथा बौद्धिक वृत्तको पूर्वानुमान थियो कि त्यसले केही महत्वपूर्ण सुधार गर्नेछन् । तर, मेरो अनुभूति भने ठीक विपरित थियो । त्यो योजनाले राजनीतिक सुधारका सबै मुख्य सवाललाई बेवास्ता गरेको थियो । राजनीतिक नियन्त्रणलाई अझ कडा पारेर आर्थिक उदारीकरण गर्ने कुरा आफैंमा एक ठूलो विरोधाभाष थियो ।
अहिले सीले माओको मृत्युपछिकै सबैभन्दा ठूलो विचारधारात्मक अभियान शुरुवात गरेका छन्, जसले माओवादी शासनलाई पुनर्स्थापित गर्नेछ । यो योजनाको सारतत्व नै समाजमाथिको निगरानीलाई सघनीकरण गर्नु र अभिव्यक्ति स्वतन्त्रतालाई साँघुरो पार्नु हो । संवैधानिक लोकतन्त्रको बहसलाई प्रतिबन्ध गर्नु र ‘शासन, व्यवस्थापन, सेवा र कानून’ को आवरणमा लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यतालाई छोप्नु लज्जाजनक छ ।
सन् २०१४ को कानुनी सुधार प्रक्रियादेखि नै यो प्रवृत्ति कायम छ । यहाँ कानुनको शासनको अर्थ पार्टीको अधिनायकवादी शासन कायम राख्नु भएको छ । यो विन्दूमा आइपुग्दा सीको विकृत प्रवृति र पार्टीको प्रतिगामी धारणा प्रष्ट भइसकेको छ । सी चीनलाई गतिरोधदेखि प्रतिगमनतिर लादैछन् ।
अन्तिम गाँस
टाइकुन रेन झिकियाङ सीसँग झगडाउन थालेका छन् । चिनियाँ सञ्चार क्षेत्रमा भएको सेन्सर्डसीपको उनले विरोध गर्दैछन् । सन् २०१६ को फेब्रुअरीमा पार्टीको बेवसाइडले रेनलाई ‘पार्टी–विरोधी’ को लेबल लगाइ दिएको थियो । व्यक्तिगत रुपमा म रेनलाई चिन्दिनँ तर उनको सवालले भने मलाई छोएको छ । मैले पनि लामो समयदेखि यो सिद्धान्तमा विश्वास गरेँ कि हामीलाई स्वतन्त्रतापूर्वक बोल्ने अधिकार चाहिन्छ । यो कुरा पार्टीको पनि हितमा हुनेछ । पार्टीले आफ्ना कमजोरीहरू सुधार गर्ने अवसर पाउने छ ।
यहाँ त्यस्ता धेरै पार्टी सदस्यहरू छन्, जसलाई अभिव्यक्ति स्वतन्त्रताको माग गर्दा दानवीकरण गरिएको छ । साँस्कृतिक क्रान्ति ताकादेखि नै मैले के देख्दै आएकी छु भने कसलाई ‘पार्टी–विरोधी’ दर्ज गर्नुको अर्थ उसलाई अधिकारबाट बञ्चित बनाउँदै लानु र शिकार बनाउनु हो । रेनको बचाउ सेन्सर्ड गरिएको मिडियाबाट गर्न सम्भव थिएन । त्यही भएर मैले एउटा लेख लेखेँ र ह्वाटएप्समा पठाइ दिएँ, ताकी साथीहरूले शेयर गर्न सकून् । नभन्दै मेरो लेख भाइरल भयो ।
यद्यपि मैले आफ्ना लेखहरूमा पार्टी विधान र आचारसंहिताले दिएका अधिकारको उल्लेख गर्थेँ तर पार्टी केन्द्रीय स्कूलको अनुशासन समितिले सधै गम्भीर गल्ती भन्दै आरोप लगाउने गर्दथ्यो । लेख्दा, बोल्दा, अन्तर्वार्ता दिँदा मैले मनोवैज्ञानिक दवाबहरू झेल्नु पर्दैथ्यो । त्यसबापत् मैले गल्ती गरेँ भन्दै झूठो आत्मआलोचना गर्नु पर्दथ्यो । यी चिज धेरै असजिला थिए ।
मैले यो बुझे कि सुरक्षा अङ्गले मेरो फोन ट्यापिङ गर्न थालेका थिए । मेरा डिजिटल सन्देशहरू पढ्ने गरेका थिए । म कहाँ जान्छु र कसलाई भेट्छु भनेर मलाई पछ्याउन थालिएको थियो । पार्टी स्कूलको सेवानिवृत्त प्राध्यापकका रुपमा मलाई घुमफिर गर्ने अधिकार, हङकङ जाने अधिकार हुनु पर्ने हो । तर मलाई कडा गरी चेतावनी दिइएको थियो कि रक्षा मन्त्रालयको अनुमति विना मैले त्यस्ता काम भबिष्य गर्नु हुँदैन ।
सन् २०१६ को अप्रिलमा सिङ्गाउ विश्वविद्यालयमा मैले दिएको प्रवचनको एक अंश हङकङको एक प्रभावशाली वेबसाइडले प्रकाशित गरेको थियो । त्यसमा मैले ‘कुनै विचारधाराले जब मान्छेको सामान्य चेतलाई नै हिंसा गर्दछ, त्यो एक धोकामा परिणत हुन्छ’ भनेकी थिए । समय खराब निस्कियो । सीले तुरुन्तै केन्द्रीय पार्टी स्कूलमा एक स्वतन्त्र छानबीन गर्ने र प्राध्यापकहरूको तर्कलाई सुपरिवेक्षण गर्ने घोषणा गरे ।
त्यसको परिणामस्वरुप मेको प्रारम्भमा मलाई स्कूलको अनुशासन समितिमा बोलाईयो । सीको विरुद्धमा लागेको आरोप लगाइयो । पार्टीले मलाई मिडियामा लेख्न, बोल्न प्रतिबन्ध गर्यो । मेरो नाम नछाप्न वा उच्चारण नगर्न प्रिन्ट, अनलाइन, टिभीहरूलाई भनियो । जुलाईको एक रात फेरि मलाई स्कूलको अनुशासन समितिमा बोलाइयो । मेरो सामुन्नेको टेबुलमा कागजातहरूको ठूलो ढड्डा राखिएको थियो । त्यसमा मेरा विरुद्ध जुटाइएका प्रमाणहरू थिए । कुरा प्रष्ट थियो– मलाई नबोल्न धम्की र चेतावनी दिइँदै थियो । म अनुशासनको कारबाहीको बिषय बनेकी थिएँ । मलाई सेवाअवधि छोट्याएर निवृत्त गर्ने कुरा थियो ।
पार्टी सदस्यको वर्षौ लामो अवधिमा मैले कहिल्यै कुनै नियम उल्लङ्घन गरेकी थिइनँ न त कहिल्यै कुनै खप्की खानु परेको थियो । तर अब मलाई पार्टी अधिकारीहरूले बारम्बार अपमान गर्न थालेका थिएँ । स्कूलको अनुशासन समितिले ठूलो आमसभा गरेर मान्छेहरू सामु मलाई मलाई दण्ड दिइने छ भनेर धम्की दिएको दियै गर्थ्यो । तर, कुराकानीको अन्त्यमा अधिकारीहरू यी सबै चिज गोप्य राख्न मसँग आग्रह गर्थे । यी सबै कुरा अँध्यारो कोठामा हुन्थे दिनको प्रकाशमा ल्याउन सजिलो थिएन ।
अन्ततः प्रहरीको क्रुरता आइलाग्यो र सी र पार्टीसँगका मेरा सम्बन्धहरू अन्तिम विग्रहमा पुगे । सन् २०१६को मेमा लेइ याङ एक वातावरण वैज्ञानिक आफ्नी सासुलाई लिन एयरपोर्ट पुगेका थिए । संदिग्ध व्यक्ति भन्दै उनलाई प्रहरीले गिरफ्तार गर्यो । उनले बेइजिङ प्रहरीको हिरासतमा मृत्युवरण गरे । आफ्नो गल्तीको ढाकछोप गर्न प्रहरी लेइबाट प्रहरीले आफू वेश्यावृत्ति गराउने कार्यका सामेल भएको कागज गराएको थियो । उनका विश्वविद्यालयका साथीहरूले उनको न्यायका लागि अभियान गरे । यो अभियान चीनभरि फैलियो । अन्ततः पार्टीका उच्च अधिकारी स्वतन्त्र छानबिन गराउन राजी भए ।
फेरि अर्को अनौठो चिज भयो । लेइका मातापिता, पत्नी र बच्चाहरूलाई घरमै नजरबन्द गरियो । स्थानीय सरकारले उनीहरूलाई ठूलो रकमको जरीवाना माग गर्यो । लेइको परिवारले १० लाख डलरको जरिवाना तिर्न सकेन । समयमै जरिवाना नतिरेको भन्दै ३० लाख पुर्याइयो । यो पीडाले लेइकी पत्नीले पूर्वपतिको नाम र विरासतबाट छुटकारा माग गरिन् । त्यसपछि त्यो जरीवाना लेइका मातापितासँग माग्न थालियो ।
जब मैले यसबारे सुनेँ । म क्रोध र दुख्खको सागरले भरिएँ । रातभरि सुत्न सकिनँ । लेइको मृत्यु एक गलत काम थियो र यसका लागि पुलिस अधिकारी जिम्मेबार थिए । पार्टीका अधिकारीहरू यस्ता घृणित कार्यलाई साथ दिइरहेका थिए । यस्तो पार्टीलाई कसरी म भरोसा गर्न सक्थेँ । २० वर्षको भ्रम, पीडा, दुःख र हिचहिचाहटपछि मैले पार्टीसँग पूर्णतः सम्बन्धविच्छेद गर्ने निर्णय गरे ।
सीको महान छलाङ पछाडि फर्किएको छ भन्ने बुझ्न अब गाह्रो थिएन । सन् २०१८ मा सीले २ कार्यकालको राष्ट्रपतीय पदावधिको सीमा हटाए । मलाई प्रष्ट अनुभूति भयो कि हामी नव–स्तालिनवादी शासनमा छौं । अर्को गृष्ममा म टुरिष्ट भिसामा अमेरिका निस्कन सकेँ । मैले साथीहरूबाट थाहा पाएँ की मलाई चिनियाँ अधिकारीहरूले ‘चीन विरोधी गतिविधि’ गरेको आरोप र ट्याग लगाएका छन् । म फर्किएँ भने मलाई गिरफ्तार गरिने छ ।
स्थिति शान्त नहुन्जेल मैले आफ्नो भ्रमण लम्ब्याउने निर्णय गरेँ । त्यसपछि कोरोना महाब्याधी आयो । चीन जाने सबै हवाई उडान खारेज भए । मैले अझै पर्खिन पर्ने भयो । कोरोनाको प्रारम्भमा सिको गलत तरिकाले मलाई झनै निरास बनायो । वुहान चिकित्सक लि वेन लिङप्रति प्रहरी दुर्व्यवहारको मैले निन्दा गरेँ । लिले यो नयाँ रोगबारे जानकारी दिँदा अफवाह फैलाएको भनेर उनलाई दुर्व्यवहार गरिएको थियो । उनलाई प्रहरी हिरासतमा राखेर यातना दिईयो । अन्ततः कोरोनाले नै उनको मृत्यु भयो । केन्द्रीय पार्टी स्कूलले आकस्मिक फोन कल गरी मलाई तुरुन्त चीन फर्किन माग गरेको थियो ।
तर चीनको वातावरण झनझन अँध्यारो हुँदैछ । रेन, जो घरजग्गा व्यवसायका टाइकुन र असन्तुष्ट पार्टी कार्यकर्ता हुन्- उनलाई मार्चमा बेपत्ता बनाइएको थियो, पछि पार्टीबाट निष्काशन गरियो र अहिले १८ वर्ष जेल सजाय सुनाइएको छ ।
अधिकारीहरूलाई मैले साथीहरूको एउटा सानो समूहमा गरेको अनौपचारिक कुराकानी जो एक अनलाइनमा प्रकाशित भयो, त्यससँग आपत्ति छ । त्यसमा मैले चिनियाँ कम्युनिष्ट पार्टीलाई ‘राजनीतिक नरभंक्षी’ भन्या छु । हङकङका लागि सिको प्रतिमागी राष्ट्रिय सुरक्षा कानूनको विरोध गर्दै मैले साथीहरूलाई पठाएको एउटा छोटो लेख कसैले लिक गरिदियो, त्यो मुद्दा पनि छ ।
मलाई थाहा थियो, मेरा समस्या थिए । मलाई पार्टीबाट बर्खास्त गरिएको थियो । पार्टी स्कूलले मेरो निवृत्तीभरण सुविधाहरू खोसेको थियो । मेरो बैंक खाता फ्रिज गरियो । मैले केन्द्रीय पार्टी स्कूलका अधिकारीलाई यदि म फर्किनु पर्ने हो भने मेरो व्यक्तिगत सुरक्षाको प्रत्याभूति गर्न भने । अधिकारीहरूले यो प्रश्नको कुनै उत्तर दिन चाहेनन् । बदलामा चीनमै भएका मेरी छोरी र उनको सानो छोरोलाई धम्की दिने काम गरियो । मैले यो सत्य स्वीकार गर्नु पर्यो कि फर्किनु उचित छैन ।
समाप्त
यो पनि-
बेइजिङ राजनीतिको ‘इन्साइडर स्टोरी’ : चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–१
बेइजिङ राजनीतिको ‘इनसाइड स्टोरी’: चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–२
(काइ सिया चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी स्कूलकी सेवानिवृत्त प्राध्यापक हुन् । राष्ट्रपति सी जिन पिङको शासनशैलीको आलोचना गरेबापत् सन् २०२० को अगस्टमा उनलाई पार्टीबाट निष्कासन गरिएको थियो । हाल अमेरिकामा बस्दै आएकी काइ सियाको यो लेख हामीले द फोरेन अफेयर्सको ‘द पार्टी फेल्ड’ भन्ने लामो लेखबाट भावानुवाद गरेका हौं । चिनियाँ राजनीतिमा असन्तुष्ट पक्षको अनुभव बुझ्न सजिलो होस् भनेर उक्त आलेखको भावानुवाद प्रस्तुत गरिएको हो ।)
The post बेइजिङ राजनीतिको ‘इनसाइड स्टोरी’ : चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–३ appeared first on Sajha Post.