Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

बेइजिङ राजनीतिको ‘इनसाइड स्टोरी’: चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–२

$
0
0

सिद्धान्त र व्यवहार

मेरो सोच देङका उत्तराधिकारी जियाङ जेमिनसँग तालमेल मिल्ने अंश बन्न थाल्यो । जियाङ जेमिन चिनियाँ अर्थतन्त्रलाई सुदृढ गर्न निजी उद्यमशिलतालाई प्रोत्साहित गर्न र विश्व व्यापार संगठनमा सामेल हुन दृढसंकल्पित थिए ।

तर, यी नीतिहरू चिनियाँ कम्युनिष्ट पार्टीले लामो समयदेखि मान्दै आएका सिद्धान्तहरू योजनाबद्ध अर्थतन्त्र र राष्ट्रिय आत्मनिर्भरताको विपरित थिए । न त मार्क्स न माओ न देङको विचारधाराले यो अन्तर्विरोध हल गर्न सकेको थियो । तर जियाङ जेमिन केही नयाँ गर्न बाध्य हुँदै गइरहेका थिए । त्यसलाई उनले ‘तीन प्रतिनिधित्व’ भने ।

मैले धेरै ढिलो जेमिनको यो नयाँ सिद्धान्तबारे सुनेँ जब अरु धेरैले सुनिसकेका थिए । सन् २००० फेब्रुअरी २५ को साँझ चीनको केन्द्रीय टेलिभिजन प्रसारणमा मैले ‘तीन प्रतिनिधित्व’ को सिद्धान्तबारे सुने । जेमिन भन्दै थिए– पार्टीले चीनका तीन आयामलाई प्रतिनिधित्व गर्नुपर्दछ । उन्नत उत्पादक शक्तिको विकासको आवश्यकता, साँस्कृतिक प्रगति र बहुसंख्यकको हित । केन्द्रीय पार्टी स्कूलको प्राध्यापकको रुपमा मैले तुरुन्तै कुरा बुझीहालेँ कि यी सिद्धान्तले पार्टीको विचारधारामा महत्वपूर्ण परिवर्तन ल्याउँछ ।

जेमिनको तीन प्रतिनिधित्वको सिद्धान्तले ल्याउने मुख्य भिन्नताको विन्दू भनेको पुँजीपति भनेका शोषक सामाजिक समूह’ हुन भन्ने मार्क्सवादी विश्वासमा थियो । जियाङ जेमिनले यो नीतिसँगै पुँजीपति वर्गका लागि समेत पार्टी प्रवेश खुल्ला गरेका थिए । मैले यो निर्णयको स्वागत गरेँ ।

पार्टीको केन्द्रीय प्रचार विभाग विचारधारात्मक कार्यहरूको इन्चार्ज हुन्छ । जेमिनको नयाँ सिद्धान्तको प्रवर्द्धन गर्नु उसैको दायित्व थियो तर त्यहाँ केही समस्या थिए । त्यहाँ केही अतिवादी वामपन्थीहरू थिए, जो जेमिनको नीति उद्यमीहरूलाई लोभ्याउने बहानामा निक्कै टाढा पुगेको ठान्दथे । विवाद चर्किने भयले प्रचार विभागले तीन प्रतिनिधित्वको सिद्धान्तमाथि पानी खन्याउने बाटो लियो । पिपुल्स चाइना डेलीले मार्क्स, एंगेल्स, स्टालिन, माओ र देङका सन्दर्भहरू राख्दै तीन प्रतिनिधित्व सिद्धान्तको सहीपनाबारे पृष्ठभरीको लेख छाप्यो ।

म त्यसप्रति विश्वस्त हुन सकिँन । यदि ती पुरानै विचारधाराहरूलाई पुनर्स्थापित मात्र गर्ने हो भने तीन प्रतिनिधित्वको सिद्धान्तको के अर्थ रह्यो ? पार्टी प्रचार संयन्त्रको सतही तरिकाले मलाई निराश बनायो । मैले तीन प्रतिनिधित्व सिद्धान्तको सही अर्थ अनावृत गर्ने संकल्प बढाएँ, जसले चीनको नयाँ प्रस्थानविन्दूको एक महत्वपूर्ण आधार हुन सक्दथ्यो ।

अवाञ्छित सम्भ्रान्तहरू

जियाङ जेमिनको नयाँ सिद्धान्त तीन प्रतिनिधित्वबारे मेलै केन्द्रीय टेलिभिजनमा एक कार्यक्रम लेख्ने अवसर पाएँ । सन् २००१ को प्रारम्भतिर एक मित्र जसले यो सिद्धान्तप्रतिको मेरो रुचि बुझेका थिए, मलाई यो अवसर दिएका थिए । मैले यसको अनुसन्धानमा ६ महिना लगाएँ । यसको वित्तचित्र लेखनमा निर्मातासँग बहस गर्दै रहेँ । मेरो स्क्रिप्टले नयाँ युगका चुनौतिहरू सामना गर्न नयाँ नीतिहरू प्रवर्तन गर्नुपर्ने आवश्यकताबारे जोड दिएको थियो ।

मैले त्यही कुरालाई जोड दिन चाहेँ, जो जियाङ भन्थे । उनी अर्थतन्त्रमा सरकारको हस्तक्षेपलाई कम गर्न र पार्टीलाई शोषक पुँजीपतिहरू विरुद्ध हिंसात्मक क्रान्ति गर्ने साधनका रुपमा मात्र नबुझ्न भन्थे । उनको सोचको उद्देश्य समाजका विभिन्न भित्री तप्काहरूको सम्पत्ति निर्माण र सन्तुलनको स्वार्थलाई प्रेरित गर्नु थियो ।

सन् २००१ जुन १६ को मध्यान्ह, केन्द्रीय टिभीका ४ वरिष्ठ सहअध्यक्षहरू केन्द्रीय स्टुडिओमा जम्मा भए । उनीहरू मेरो ३ घण्टा ३० मिनेटको इपिसोड रिभ्यु गर्दै थिए । जब उनीहरूले हेरे, उनीहरूको अनुहार कालोनीलो भयो । ‘लु, यसलाई रोकौं’ पहिलो इपिसोड समाप्त हुने बित्तिकै ती मध्ये एकले भने ।

प्रोफेसर काइ, तपाईलाई यो त थाहा छ कि तीन प्रतिनिधित्व सिद्धान्तबारे कार्यक्रम बनाउन तपाईलाई किन आमन्त्रण गरिएको हो ?,’ उनले सोधे ।

पार्टीले नयाँ वैचारिक सिद्धान्त अघि सारेको छ, त्यसलाई हामीले प्रचार गर्नुपर्ने आवश्यकता छ’ मैले उत्तर दिएँ ।

यथार्थमा ती अधिकारी विवश थिए । ‘तपाईको यो खोज अनुसन्धान केन्द्रीय पार्टी स्कूलमा प्रस्तुत गर्नु होला, टिभीमा भने केही सुरक्षित कुराहरू मात्र देखाउन सकिन्छ’ उनले भने । ती कोही पनि तीन प्रतिनिधित्वको सिद्धान्तबारे प्रष्ट थिएनन । उनीहरू यो मात्र सोचिरहेका थिए कि मेरो स्क्रिप्ट केन्द्रीय प्रचार विभागसँग नमिल्ने रहेछ भने ठूलै आपत आइलाग्ने छ ।

अर्को प्रशासकले भने, ‘यो वर्ष पार्टीको ८०औं बार्षिक उत्सवको वर्ष पनि हो । यस्तो समयमा हामीले पार्टीले सामना गरिरहेका चुनौतिहरूको बहस गर्नुभन्दा पार्टीको नायकत्व र विजयबारे उत्सवमय कार्यक्रम गर्नु राम्रो हुन्छ ।’

मैले त्यतिखेरै कुरा बुझेँ, यी अधिकारीहरू सिद्धान्तको वास्तविक प्रयोग होस् भन्ने चाहँदैनथे । उनीहरू पार्टीका वरिष्ठहरूको प्रसंशा गर्न नै सीमित हुन खोज्थे । पार्टीमा सबैथोक ठीकठाक छ भन्ने भान पार्न चाहन्थे ।

त्यसपछिका १० दिन वित्तचित्र पुनर्लेखन भयो । हामीले सम्भवित आक्रामक ठानिएका शब्द र शब्दाबलीहरू हटायौं । पार्टी ब्यूरोक्रेसीको विभिन्न तह र समूहले त्यसलाई दिनरात हेर्न थाल्यो । अन्त्यमा एक दर्जन अधिकारीहरू अन्तिम पुनरावलोकनका लागि आए । यो अवधिमा मलाई पार्टी हाइपोक्रेसीको गहिरो ज्ञान भयो । उनीहरूले जम्मा एक ठाउँमा आपत्ति गरे । त्यो दोस्रो इपिसोडको त्यो विन्दू थियो जहाँ मैले देङको ‘गरिबी समाजवाद हैन, विकास कटु सत्य’ हो उद्धहरण गरेकी थिएँ ।

गरिबी समाजवाद हैन, त्यसो भए समाजवाद के हो त ?ती अधिकारीले द्विविधापूर्ण ढंगले सोधे । ‘विकास कटु सत्य हो, यी दुई वाक्य बीच के सम्बन्ध छ, लु भन्नुस्,’ उनको स्वर चर्को भएको थियो ।

म त तीन चित्त खाए । ती देङका शब्द थिए र त्यहाँ जस्ताको त्यस्तै राखिएको थियो । ती बरिष्ठ अधिकारी थिए, राज्यको रेडियो, सिनेमा र टेलिभिजन विभागका प्रमुख थिए । उनलाई यति कुरा पनि थाहा छैन त ? एकाएक मलाई सांस्कृतिक क्रान्ति ताकाको माओको कर्मचारीतन्त्रप्रतिको आलोचना आयद आयो– ‘यी किताब पढ्दैनन्, समाचारपत्र पनि पढ्दैनन् ।’

एक खोक्रो विचारधारा

सन् २००१ अन्त्यतिर जियाङ जेमिनको तीन प्रतिनिधित्व सिद्धान्तलाई बढावा दिने प्रयासस्वरुप प्रचार विभागले रुपरेखा तयार गर्न थाल्यो । सबैले पढून् र लागू गरून् भन्ने उद्देश्यले पार्टी केन्द्रीय समितिको दस्तावेजमा त्यसको सारांश समावेश गरिने भयो । मैले टिभीका लागि काम गरेको र एक प्राज्ञिक कार्यक्रममा त्यस सिद्धान्तबारे प्रवचन दिएकोले हुन सक्दछ, मलाई समेत रुपरेखा तयार गर्ने काममा सहयोग गर्न भनियो ।

अर्का एक विद्धान र १८ प्रचार विभाग अधिकारीसँग मलाई पश्चिमी बेइजिङको प्रचार विभाग तालिम केन्द्रमा पठाइयो । प्रचार विभागले सामान्य रुपरेखा तयार गरेको थियो । मलाई त्यसमा बिषयवस्तु भर्न भनियो । मेरो काम पार्टी निर्माणसम्बन्धि पहिलो अध्याय लेख्नु थियो ।

केन्द्रीय समितिका लागि दस्तावेज मस्यौदा गर्ने कार्य अन्यन्त उच्च तहको गोपनीय प्रक्रिया हो । मेरा सहकर्मीहरू र मलाई परिसर छोड्न वा कुनै आगन्तुकसँग भेट्न निषेध गरिएको थियो । जब प्रचार विभागसँग बैठक हुँदैथ्यो, आमन्त्रित नगरिएकाहरूलाई यसबारे जिज्ञासा राख्ने समेतको अधिकार थिएन । हामी लेखकहरू सँगै खान, डुल्न सक्थ्यौं तर आआफूले लेखिरहेको खण्डबारे बहस, छलफल गर्न पाउँदैनथ्यौं । त्यो समूहमा म एक्ली महिला थिए । लोग्नेमान्छेहरू डिनरको समयमा अनेक गफ्फा उडाउँथे र मजाक गर्थे ।

अध्ययन रुपरेखाका लागि सहयोग गर्नु मेरो जीवनको एक महत्वपूर्ण कार्य थियो तर यो उत्तिकै हास्यास्पद पनि थियो । जियाङका लेख, भाषण र सिद्धान्तको थाकबाट म सान्दर्भिक अंशहरू निकाल्थेँ । तिनीहरूलाई विभिन्न शीर्षक, उपशीर्षकमा मिलाएर राख्थे । म कुनै चीज थप्न वा घटाउँन सक्दिनथेँ । यो काम त्यति गाह्रो थिएन तर मैले काम गतिलो होस् भनेर मैले बोर मान्दै भएपनि धेरै समय लगाएँ ।

एक दिन मैले अर्का एक लेखकलाई बोलाएँ । उनी रेमिन विश्वविद्यालयका प्राध्यापक थिए । मैले उनलाई सोधेँ– के हामी अध्यक्ष माओका केटेशनहरूको अर्को किताबजस्तै त बनाइरहेका छैनौं ? मैलै सांस्कृतिक क्रान्तिताका बनाइएको हाते किताब रेड बुकलाई सम्झाउँदै भँने । उनले मेरो वरिपरि हेरेर र डराउँदै हाँसे । उनले भने– ‘भैगो, यस्ता कुरा नगरौं, खान बस्न राम्रै दिएका छन् । आनन्दले घुम्न मिल्ने राम्रो लोकेसन छ । यति धेरै सुविधा अन्यत्र कहाँ पाउँथ्यौं ? पढ्न मिल्ने एउटा किताब तयार गर्दिऊँ, उनीहरूले हामीलाई छानेर बोलाए, त्यही ठूलो कुरा हो ।’

सन् २००३ को जुनमा बेइजिङको ग्रेट हल अफ द पिपुलमा एक उच्चस्तरको प्रेस सम्मेलन आयोजना गरियो । हामी सबैले तयार पारेका अध्यायहरूलाई जोडेर अध्ययन रुपरेखा लोकार्पण गरियो । लिउ युनसान, पोलिटब्युरो सदस्य तथा पार्टी प्रचार विभाग प्रमुखले प्रतिवेदन पेश गरे । जब उनी र अरु पार्टी अधिकारी मञ्चमा आए, ममा म डुब्दै छु भन्ने भावना आइरहेको थियो । सत्तारुढ पार्टीको महत्वपूर्ण विचारधाराका रुपमा तीन प्रतिनिधित्वको सिद्धान्तबारे मेरो बुझाई पुरै निकालिएको थियो, त्यसको साटो केही बौद्धिक बुद्धिविलासहरू राखिएको थियो । मैले जीवनमा पहिलोपटक यो महशुश गरे कि जुन प्रणालीलाई मैले पवित्र मान्दै आएकी थिएँ, त्यो यथार्थमा असह्य व्यवहार मात्र थियो ।

बिक्रीका लागि विचार

यो अनुभवबाट मैले बुझेँ की यो अध्ययन रुपरेखा वास्तवमा चिनियाँ जनतालाई धोका दिने औजार मात्र हो । तर यो त पैसा कमाउने मेलो समेत रहेछ । प्रेस तथा प्रशासन विभागका एक अधिकारीले मलाई यो बताएकी कि चिनियाँ कम्युनिष्ट पार्टीको प्रचार विभागमा बिक्रीवितरणबाट आउने आम्दानीको हिस्सा हत्याउन एक प्रकारको लडाई नै हुन्छ ।

रातो झण्डा प्रकाशन लामो समयसम्म पार्टीका शैक्षिक पुस्तकहरू प्रकाशन गर्नका लागि आधिकारिक ३ प्रकाशन संगठनमध्ये एक मानिन्थ्यो । सन् २००५ देखि यो प्रेसलाई त्यस्ता कामहरू गर्न दिन छोडिएको थियो । पार्टी संगठन विभागले यस कार्यमा हस्तक्षेप गरेको थियो । त्यसपछिका दिनहरूमा पार्टी पुस्तक तथा सामग्री प्रकाशन कार्यका गढबढ हुन थालेका थिए । यसको मुख्य कारण पैसा हो भन्ने धेरैको भनाई थियो ।

काई सिया

धेरैजसो पार्टी विभागहरूमा लचिलो कोष हुन्छ, जुन पार्टी अधिकारीहरूको रङ्गरौस र कर्मचारीको कल्याणकोषमा बाँडिन्छ । ती कोषहरूलाई सजिलो गरी भर्ने तरिका भनेको प्रकाशन नै हो । त्यो समय चिनियाँ कम्युनिष्ट पार्टीका ३ करोड ६० लाख बढी स्थानीय संगठन थिए । ती सबैले नयाँ प्रकाशनका प्रतिहरू किन्थे । कुनै किताबको मूल्य १० युवान नै राख्ने हो भने पनि ३६ करोड युवान रमक जम्मा हुन्थ्यो । चिनियाँ कम्युनिष्ट पार्टीमा पुस्तक बिक्रीको आय ठूलो आकर्षणको कुरा थियो ।

ममा बढ्दो मोहभङ्गताका बाबजुद मैले पार्टीलाई अस्वीकार गर्न सकिनँ । पार्टीभित्र मजस्तै अरु पनि थुप्रै बौद्धिकहरू थिए जो पार्टीको सुधार र निश्चित प्रकारको लोकतन्त्रको अभ्यासको अपेक्षा गर्थे । जियाङ युगका अन्तिम वर्षहरू तिर पार्टीभित्र एक प्रकारले बहस गर्न सकिने लचिलो वातावरण बन्दै गइरहेको थियो, यद्यपि त्यस्ता बहसहरू सार्वजनिक भने गरिँदैनथे । केन्द्रीय पार्टी स्कूलमा म र मेरा सहकर्मी प्राध्यपाकहरू स्वतन्त्रता आवश्यक भएको गहिरो अनुभूति गर्न थालेका थियौं । हामी पार्टीभित्र थुप्रै समस्याहरूले जरा गाडेको देख्थ्यौं ।

हामी प्रशासनमा पार्टी अधिकारीहरूको हस्तक्षेप घट्नुपर्ने कुरा गर्थ्यौं । सरकारी प्रशासनिक नेतृत्वको भूमिका निष्पक्ष हुनुपर्ने कुरा गर्थ्यौं । हामी स्वतन्त्र न्यायलयको विचारबारे बहस गर्थ्यौं । यस्ता कुराहरू संविधानमा लेखिएका छन् तर व्यवहारमा कहिल्यै लागू भएनन् ।

खुशीको कुरा त्यो अवधिमा पार्टीभित्र र बाहिर समाजमा लोकतन्त्रको अभ्यास बढिरहेको थियो । म प्रगतिका आशाजनक संकेत देखिरहेकी थिएँ । तर त्यसपछिका घटनाक्रमहरूले मेरो बुझाईलाई भ्रममा सीमित गरिदिए ।

अर्को बाटो

अर्को मुख्य मोड सन् २००८ मा आयो जब मैले स्पेनको छोटो तर दूर्भाग्यपूर्ण भ्रमण गर्ने अवसर पाएँ । भ्रमण हाम्रो प्राज्ञिक आदानप्रदानको एक अंश थियो, जहाँबाट मैले तानशाह फ्रान्सिस्को फ्राँकोको मृत्युपछि अधिनायकतन्त्रबाट लोकतन्त्रमा स्पेन कसरी संक्रमण गर्‍यो भन्ने सिक्न पाएँ । मैले स्पेनको अनुभवलाई चीनसँग तुलना नगरिकन रहन सकिनँ ।

माओको निधन फ्राँस्कोभन्दा केवल १० महिना अघि भएको थियो । दुवै देशहरू करिब तीन दशक लामो आँधीमय परिवर्तन हुँदै गुज्रिएका थिए । तर, स्पेनले छिट्टै लोकतन्त्रतिर शान्तिपूर्ण फड्को मार्‍यो र सामाजिक स्थायित्व र आर्थिक समृद्धि हासिल गर्‍यो । चीनको संक्रमण भने एक पक्षीय रह्यो । यो योजनाबद्ध अर्थतन्त्रबाट मिश्रित अर्थतन्त्रतिर गयो तर राजनीतिक उदारीकरण बिनै । स्पेनले चीनलाई के सिकाउन सक्ला ?

म यो निराशावादी निष्कर्षमा पुगेँ कि चिनियाँ कम्युनिष्ट पार्टी राजनीतिक सुधारका लागि अनिच्छुक छ । फ्राँकोपछिको स्पेनमा त्यसअघिका सुधारवादी शक्तिहरूले लोकतान्त्रिक संक्रमणका लागि भूमिका गरेका थिए । जस्तो कि राजा जुवान कार्लोस पहिलो जो राष्ट्रिय स्वार्थलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्दथे ।

चिनियाँ कम्युनिष्ट पार्टी सन् १९४९ मा हिंसात्मक क्रान्तिद्वारा सत्तामा आयो । यसको सोच शुरुवातदेखि नै राजनीतिक शक्तिमा पार्टीको एकाधिकार हुनु पर्दछ भन्ने थियो । तेनमियान चोक प्रदर्शनले यो सोच थोरै धरमराएको थियो तर चीनमा राजनीतिक एकाधिकारको अन्त्य शान्तिपूर्ण हुँदैन भन्ने निष्कर्षमा पुग्न बाध्य हुनुपर्‍यो । देङपछिका कुनै पनि नेताले राजनीतिक सुधार गर्ने साहस गरेनन् । यो बोझ उनीहरूले भविष्यका लागि छोड्दै गए ।

मैले यो पनि बुझेँकि फ्राँकोको मृत्युपछि स्पेनले सुधारका लागि सहज वातावरण पाएको थियो । त्यहाँ स्वतन्त्र न्यायलय र प्रेस स्वतन्त्रतालाई मजबुत गरिएको थियो । यो प्रक्रियामा विपक्षी शक्तिहरूसँग सहकार्य गरिएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी यसको ठीकविपरित सामाजिक आर्थिक न्यायको मागलाई आफ्नो शक्तिमाथिको जोखिम ठान्दछ । नागरिक स्वतन्त्रतालाई व्यवधान गर्दछ र नागरिक समाजलाई दमन गर्दछ । शासन र नागरिकका बीचमा दशकौं लामो बन्द पर्खाल छ, यी दुई बीचको सम्बन्ध मिलान अविचारणीय लाग्दछ ।

क्रमशः

यो पनि-

बेइजिङ राजनीतिको ‘इन्साइडर स्टोरी’ : चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–१

(काइ सिया चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी स्कूलकी सेवानिवृत्त प्राध्यापक हुन् । राष्ट्रपति सी जिन पिङको शासनशैलीको आलोचना गरेबापत् सन् २०२० को अगस्टमा उनलाई पार्टीबाट निष्कासन गरिएको थियो । हाल अमेरिकामा बस्दै आएकी काइ सियाको यो लेख हामीले द फोरेन अफेयर्सको ‘द पार्टी फेल्ड’ भन्ने लामो लेखबाट भावानुवाद गरेका हौं । चिनियाँ राजनीतिमा असन्तुष्ट पक्षको अनुभव बुझ्न सजिलो होस् भनेर उक्त आलेखको भावानुवाद प्रस्तुत गरिएको छ)

The post बेइजिङ राजनीतिको ‘इनसाइड स्टोरी’: चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–२ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles