Quantcast
Viewing all articles
Browse latest Browse all 942

बेइजिङ राजनीतिको ‘इन्साइडर स्टोरी’ : चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–१

सन् २०१२ मा जब सी जिन पिङ शक्तिमा आए, चीनलाई लिएर म पुरै आशावादी थिएँ । चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूलाई प्रशिक्षित गर्ने एक प्रतिष्ठित विद्यालयको प्राध्यापकका रुपमा मलाई इतिहासबारे धेरै कुराहरू थाहा थियो ।

चीनको विगतलाई एक नयाँ निष्कर्षसहित राजनीतिक प्रणालीसँग खुल्ला ढङ्गले जोड्नु थियो । दशकौं लामो गतिरोधपछि चिनियाँ कम्यनिष्ट पार्टीलाई सबैभन्दा बढी सुधार चाहिएको समय थियो त्यो । र सी, त्यो परिवर्तनका लागि चाहिएजस्तै मान्छे र नेतृत्व हुन सक्ने संकेत देखिएको थियो ।

त्यतिखेर म चीनको दशकौं लामो आधिकारिक विचारधारालाई सामना गर्ने प्रक्रियाको मध्यविन्दूतिर थिए । ती विचारधाराहरू सैद्धान्तिकीकरण गर्ने कार्यमा म आफैँ पनि जिम्मेवार थिएँ । एक उत्कट मार्क्सवादी हुँदै मार्क्सवादसँग मेरो बाटो छुट्टिएको थियो । चिनियाँ समस्याहरूलाई प्रतिउत्तर गर्न ममा पश्चिमा विचारप्रतिको झुकाव बढ्दै गइरहेको थियो ।

एकातिर म एक पार्टीका आधिकारिक नीतिहरूको गौरवान्वित प्रतिरक्षक थिएँ । साथै उदारीकरणको मामिलामा ध्यान दिन थालेकी थिएँ । चिनियाँ कम्युनिष्ट पार्टीको एक बफादार सदस्य हुँदाहुँदै म आफूभित्र गोप्यरुपमा यसको इमान्दारिता र चासोहरूप्रति शंका गर्ने भएकी थिएँ ।

जब मैले बुझेँ कि सी कुनै खास ठूला सुधारक हुने छैनन्, मलाई कुनै आश्चर्य भएन । उनको कार्यकालभरी शासन क्रुरता र निर्ममतासहितको अल्पतन्त्रतिर झुक्ने प्रष्ट थियो । सीको शासन अझै बढी प्रतिगामी र अधिनायकवादी हुँदै थियो । अब सी व्यक्तित्व पूजाबाट घेरिए । उनले पार्टी विचारधारालाई यसरी मुट्ठीमा राखे कि राजनीतिक भाषण तथा नागरिक समाजको स्थानलाई निर्मूल गरे ।

Image may be NSFW.
Clik here to view.
काई सिया

ती मानिस जो विगत ८ वर्षदेखि चीन मूलभूमिमा बसोबास गरिरहेका छैनन्, उनीहरूलाई यो बुझ्न निक्कै गाह्रो हुन्छ कि त्यहाँ अहिले कति क्रुर शासन छ, कतिविघ्न त्रासद घटनाहरू त्यहाँ भएका छन् । यस्तो प्रणालीको विरुद्धमा जब मैले केही बोलेँ, मैले बुझेँ कि चीन रहनका लागि अब सुरक्षित स्थान हैन ।

मेरो कम्युनिष्ट शिक्षा
मेरो जन्म कम्युनिष्ट सैन्य परिवारमा भएको थियो । सन् १९२८ को चिनियाँ गृहयुद्धको प्रारम्भमा मेरा मावली हजुरबा माओत्से तुङ नेतृत्वको किसान विद्रोहमा सामेल भएकी थिएँ । जब दोस्रो विश्वयुद्धमा कम्युनिष्ट र राष्ट्रवादीहरूले एकआपसको शत्रुतालाई थाँती राखेका थिए, मेरो बुबाआमा र आमापट्टीका परिवारका सबैजसो सदस्यहरू जापानी अतिक्रमणकारीविरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीको जनसेनामार्फत् लडेका थिए ।

सन् १९४९ को कम्युनिष्ट विजयपछि हाम्रोजस्तो क्रान्तिकारी परिवारका लागि जीवन निक्कै सहज भएको थियो । मेरो बुबा नानजिङ नजिक चिनियाँ जनमुक्ति सेनाको एक टुकडीको कमाण्डिङ गर्नु हुन्थ्यो । मेरी आमा नगर सरकारको अफिसमा काम गर्न थाल्नु भएको थियो । मेरो बुबाआमाले म र मेरा दुई बहिनीहरूलाई उहाँहरूको अफिसबाट कुनै फाइदा वा सुविधा लिन सधैं मनाही गर्नु भयो, यसर्थ कि हामी ‘बिग्रेका बुर्जुवा महिला’ नबनौं ।

हामी बुबाको कार्यालयको कार चढ्न पाउँदैनथ्यौं । बुबाको सुरक्षा गार्डले कहिल्यै हाम्रो पारिवारिक काम गर्दैनथ्यो । त्यति हुँदाहुँदै पनि हामी बुबाआमाको हैसियतबाट लाभान्वित थियौं । माओ युगमा धेरै चिनियाँ परिवारले जस्तो हामीले निजी मामिलामा प्रताडित हुनु परेन । महान छलाङको अवधिमा भोकमरीले मारिएका दशौं हजार मानिसबारे मलाई केही पनि थाहा थिएन ।

मैले देख्ने भनेको समाजवादको उज्ज्वल भविष्य मात्र थियो । मेरो परिवारको पुस्तककोठा मार्क्सवादी किताबले भरिएका थिए । स्टालिनका संकलित रचना र पार्टी कार्यकर्ताका अध्ययन अवश्यकताहरू जस्ता किताब त्यहाँ हुन्थे । नवकिशोरी हुँदा म ती किताबहरू कोर्सबाहिरको अध्ययनका लागि प्रयोग गर्थे । जब ती किताब पल्टाउँथे, मेरो मन श्रद्धाले भरिएर आउँथ्यो ।

Image may be NSFW.
Clik here to view.
चिनियाँ पोलिटब्युरो स्थायी समिति सदस्यहरु बेइजिङमा । २०१२ नोभेम्बर Carlos Barria / Reuters

यद्यपि म ती किताबमा भनिएका सबै जटिल तर्कहरू बुझ्दिनथेँ तर मेरो मिसन प्रष्ट थियो– मैले मेरो मातृभूमिलाई माया गर्नु पर्दछ, मेरा अभिभावकको क्रान्तिकारी विरासतको उत्तराधिकार बन्नु पर्दछ, एक शोषणरहित साम्यवादी समाज निर्माण गर्नुपर्दछ । म यस्ता कुरामा साँचो हृदयले विश्वास गर्थेँ ।

सन् १९६९ मा १७ वर्षको उमेरमा चिनियाँ जनमुक्ति सेनामा प्रवेश गरेपछि मैले कम्युनिष्ट विचारको परिष्कृत बुझाई हासिल गरेँ । जब सांस्कृतिक क्रान्तिको लहर तीव्र थियो, माओले सबैलाई कम्युनिष्ट घोषणापत्रसहित मार्क्स र एङ्गेल्सका ६ वटा मुख्य रचना पढ्न लगाए । ती किताबको एक युटोपियन परिच्छेदले मलाई अन्तिमसम्म प्रभावित गर्‍यो ।

त्यो थियो– ‘वर्गहरू र वर्गसंघर्ष विद्यमान भएको पुरानो बुर्जुवा समाजको ठाउँमा हामीले एउटा यस्तो संघ बनाउनु पर्दछ जुन सबैको स्वतन्त्र विकासको मूल्यमा प्रत्येकको स्वतन्त्र विकास हुनेछ ।’ वास्तवमा मैले त्यतिखेर त्यस्तो स्वतन्त्रताको अवधारणा राम्ररी बुझेकी थिइनँ, तर ती शब्दहरूले मेरो मष्तिष्कलाई राम्ररी प्रभावित गरे ।

जनमुक्ति सेनाले मलाई सैन्य मेडिकल स्कूलमा नियुक्त गर्‍यो । मेरो काम यसको पुस्तकालय व्यवस्थापन गर्नु थियो । यसको अर्थ मेरो काम पश्चिमा प्रतिक्रान्तिकारी साहित्य र राजनीतिक दर्शनका किताब बोक्ने बन्न पुग्यो । त्यस्ता किताबलाई चिन्न खैरो रंगको भिन्नै गाता लगाइएको हुन्थ्यो । यस्ता गाता लागेका किताब चिनियाँ विचारधाराका विरोधी मानिन्थे । ती प्रतिबन्धित थिए तर गोप्य रुपमा पढिन्थे । मैले पनि ती किताब पढेँ ।

अमेरिकी पत्रकार विलियम सिरेरको किताब ‘द राइज एण्ड फल आफ द थर्ड रिख’ ले म असाध्यै प्रभावित भएँ । सोभियत गद्यहरूको संग्रहले पनि मलाई प्रभावित गरे । शास्त्रीय मार्क्सवादभन्दा बाहिर पनि विचारको संसार रहेछ भन्ने बोध मलाई भयो । तर म अझै मार्क्सवाद नै एक मात्र सत्य हो भन्ने कुरामा विश्वास गर्थेँ ।

सन् १९७८ मा मैले सैन्य सेवा छोडेँ । त्यसपछि सुजोउ शहर बाहिर रहेको एक सरकारी मल कारखानाको पार्टीद्वारा सञ्चालित ट्रेड युनियनको अफिसमा काम गर्न थालेँ । त्यतिखेरसम्म माओको मृत्यु भइसकेको थियो । उनका उत्तराधिकारी देङ सियाओ पिङ सुधार ल्याउने प्रयत्न गर्दै थिए । त्यही सुधारको एक अंश पार्टीमा नयाँ सुधारमुखी सोच भएका नयाँ पुस्ताका कार्यकर्ता भर्ती गर्नु थियो, जसले भविष्यको पार्टी सञ्चालन गर्न सकून् ।

प्रत्येक स्थानीय पार्टीले त्यस्ता केही कार्यकर्ता छनौट गर्नु थियो । सुजाओ पार्टी संगठनले मलाई टिप्यो । मलाई सुजाओ नगरपार्टीको पार्टी स्कूलमा २ वर्षका लागि पठाइयो जहाँ म र मेरा सहपाठीहरूले मार्क्सवादी सिद्धान्त र चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासबारे अध्ययन गर्नु थियो । त्यहाँ मलाई त्यस्ता केही शास्त्रीय चिनियाँ शिक्षा समेत दिइएको थियो, जुन सांस्कृतिक क्रान्तिको कारणले गर्दा हामीले गुमाउनु परेको थियो ।

म कार्ल मार्क्सको दास क्यापिटलमा दुईपटक जोतिएँ । मार्क्सवादी सिद्धान्तका भित्री र बाहिरी पक्षहरूबारे सिकेँ । मलाई सबैभन्दा धेरै प्रभावित गर्ने चीज भनेको मार्क्सको श्रम र मूल्य सम्बन्धि सिद्धान्त थियो । जसको सार पुँजीपतिले कामदार वर्गको श्रमबाट फाइदा उठाएर सम्पति कमाउँछ भन्ने थियो । मार्क्सको दार्शनिक पद्धति द्वन्द्वात्मक भौतिकवादबाट समेत म उत्तिकै प्रभावित भएँ । यो दर्शनले पुँजीवादी राजनीति, कानून, संस्कृति र नैतिक प्रणालीलाई आर्थिक शोषणको जगमा बनेका चिजको रुपमा हेर्न सिकाउँथ्यो ।

जब म ग्राजुएट भएँ, मलाई स्कूलको संकाय सदस्यका रुपमा काम गर्न आमन्त्रित गरियो । त्यो समय स्कूलमा कमै कार्मचारी थिए । मैले यो प्रस्ताव स्वीकार गरेँ, जुन कदम मेरो शहरका पार्टी नेताहरू मन परेन । उनीहरू पार्टी जीवनमा मेरो फरक भविष्य देख्थे । म स्थानीय पार्टी काममा बढी उपयोगी हुन सक्ने ठान्दथे । त्यसको साटो मेरो जीवन प्राज्ञिक दिशातिर मोडियो । चिनियाँ कम्युनिष्ट पार्टीको वैचारिक अन्तक्रिया प्रणालीको शिक्षकका रुपमा मेरो नयाँ करिअर शुरु भयो ।

विद्यार्थीबाट शिक्षक बनेँ   
यो प्रणालीको सबैभन्दा माथि बेइजिङको केन्द्रीय पार्टी स्कूल हुन्छ । सन् १९३३ मा यसले चिनियाँ कम्युनिष्ट पार्टीको शीर्षस्थ तहका कार्यकर्ताहरूलाई प्रशिक्षित गरेको थियो, जसले नगर र त्यसभन्दा माथिका चिनियाँ ब्युरोक्रेसी सञ्चालन गर्दथे । पार्टी स्कूल सधैं पार्टी सम्भ्रान्तहरूको नजिक हुने गर्दछ र पार्टी पोलिटब्युरो सदस्यको नेतृत्वमा हुने गर्दछ । यसको अध्यक्ष सन् २००७ देखि सन् २०१२ बीचमा सीबाहेक अरु कोही भएन ।

सन् १९८९ मा लोकतन्त्रप्रति झुकाव राख्ने तेनमियान चोकका प्रदर्शनहरूमाथि सरकार खन्नियो । सयौं मारिए । व्यक्तिगतरुपमा म आश्चर्यचकित भएँ । चिनियाँ जनमुक्ति सेनाले कलेज विद्यार्थीहरूमाथि गोली चलायो । यो घटना मेरो बाल्यकालदेखिको विश्वास जनमुक्ति सेनाले ‘जापानी दैत्य’हरू र राष्ट्रवादी प्रतिक्रियावादीहरूलाई छोडेर जनताको सधैं रक्षा गर्दछ भन्ने सिद्धान्तसँग मिल्दैनथ्यो ।

देशभित्रका प्रदर्शन र पूर्वी युरोपमा साम्यवादको पतनले चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्व तह चिन्तित थियो । त्यसले निर्णय गर्‍यो कि यी सबै कुरा वैचारिक प्रतिवादमा ढिलाईको परिणाम हो । स्थानीय पार्टी स्कूलहरूलाई तिनका केही शिक्षकलाई वैचारिक पुनर्ताजगीका लागि तुरुन्त केन्द्रीय पार्टी स्कूल विभागमा पठाउन भनियो । सुजोउको पार्टी स्कूलले मलाई चुन्यो । पार्टी केन्द्रीय स्कूलमा केही समय रहेपछि मैले अझ लामो अध्ययन गर्नुपर्ने भयो ।

एक वर्षको अध्ययन र प्रवेश परीक्षापछि मलाई सिद्धान्त विभागको मास्टर तहमा भर्ती गरियो । चिनियाँ कम्युनिष्ट पार्टीको विचार र राजनीतिक लाइनप्रति म यति समर्पित थिएँ कि मेरा सहपाठीहरू जिस्काएर ‘मार्क्स बुढी माउ’ भन्ने गर्थे । सन् १९९८ मा मैले विद्यावारिधी हासिल गरेर संकायमा प्रवेश गरे ।

मेरा केही विद्यार्थीहरू नियमित ग्राजुएटहरू थिए, जसलाई परम्परागत मार्क्सवादी राजनीतिक सिद्धान्त र चिनियाँ कम्युनिष्ट पार्टीको इतिहासबारेको पाठ्यक्रम पढाइएको थियो । तर, अरु भने उच्च तथा मध्य तहका पार्टी अधिकारीहरू हुन्थे, तिनमा प्रादेशिक पार्टी प्रमुख, नगर प्रशासक र क्याबिनेट तहका मन्त्रीहरू पनि हुन्थे । मेरा केही विद्यार्थी पार्टी केन्द्रीय कमिटीका सदस्यहरू थिए । पार्टी केन्द्रीय कमिटी– जो पार्टी पदसोपानक्रमको सबैभन्दा उच्च तह थियो, यसका केही सय प्रतिनिधीले मुख्य निर्णयहरू गर्दथे ।

Image may be NSFW.
Clik here to view.

केन्द्रीय पार्टी स्कूलमा पढाउन सजिलो थिएन । कक्षाकोठामा भिडियो क्यामेरा लागेका हुन्थे, जसले हाम्रो लेक्चरलाई रेकर्ड गर्थे । त्यस्ता रेकर्डहरू सुपरिवेक्षकले रिभ्यु गर्ने प्रचलन थियो । पार्टी उच्च अधिकारी र अनुभवी विद्यार्थीहरूबीच सिद्धान्तको सजिवतामा जोड दिनु पर्दथ्यो । त्यसका कमजोरीको चर्चा वा लचिलो व्याख्या गर्न सहज हुन्थेन । अक्सर हामी कक्षामा उच्च अधिकारीहरूले सोध्ने कठिन प्रश्नका सटिक जवाफ दिने गर्दथ्यौं ।

उनीहरूका अधिकांश प्रश्नहरू आधिकारिक विचारधाराका पेचिला अन्तर्विरोधहरूको वरिपरि हुन्थे, जो पार्टीले वास्तविक जीवनमा लागू गर्नका लागि सही ठहर्‍याएका नीतिहरूको पुष्ट्याइका लागि हुन्थ्यो । जस्तो कि– सन् २००४ मा भएको संविधान संशोधनले चिनियाँ सरकारलाई निजी सम्पत्ति र मानव अधिकार रक्षाको काम थपेको थियो । तर मार्क्सको सिद्धान्तमा निजी सम्पति उल्मुलनको सवाल थियो । यो कस्तो कम्युनिष्ट प्रणाली हो त ?
देङ चाहन्थे कि– उत्पादकत्व वृद्धि र जनअभिप्रेरणाका लागि पहिला जनसंख्याको एउटा भागलाई धनी हुन दिउँ । यहाँनेर फेरि प्रश्न उठ्थ्यो– त्यसो भए यो मार्क्सको साम्यवादी वचनबद्धता ‘क्षमता अनुसारको काम, आवश्यकता अनुसारको दाम’ कसरी भयो ?

म त्यतिन्जेल चिनियाँ कम्युनिष्ट पार्टीप्रति उत्तिकै बफादार थिएँ तर आफ्नै विश्वासमाथि बारम्बार प्रश्न गर्न थालेकी थिए । सन् १९८० तिर चिनियाँ प्राज्ञिकहरूको एक वृत्तले ‘मानवतावादी मार्क्सवाद’ को बहसलाई जीवन्त बनाएको थियो । यो धारले मार्क्सवादभित्र मानव व्यक्तित्वको पूर्ण विकासको पैरवी गर्दथ्यो । सन् १९९० को दशकमा पनि केहीले यो बहस कायमै राखेका थिए ।

मैले मार्क्सको सन् १८४४ को आर्थिक तथा दार्शनिक पाण्डुलिपी अध्ययन गरेँ । त्यसमा यो भनिएको थियो कि समाजवादको उद्देश्यको ‘व्यक्तिको स्वतन्त्रता र मुक्ति’ हो । व्यक्तिलाई सबै बन्धनहरूबाट मुक्त गर्नु हो । मैले यो बुझेँ कि दार्शनिकका रुपमा मार्क्स ग्राम्स्की र हबर्ट मार्क्युजभन्दा बढी स्वतन्त्रतालाई जोड दिन्छन् ।

मैले आफ्नो विद्यावारिधी थेसिसमा नै व्यक्तिले सधैं पार्टीको सेवाका लागि व्यक्तिगत स्वार्थको बलिदान गर्न सक्दछ भन्ने विचारको आलोचना गरेकी थिएँ । मैले त्यसमा चीनको प्राचीन नारा ‘धनी देश, बलियो सेना’ लाई चुनौति दिँदै चीन त्यतिखेर मात्र बलियो हुन सक्दछ जब पार्टीले जनतालाई समृद्ध हुने अवसर दिन्छ भनेकी थिएँ ।

मैले त्यो तर्कलाई अझ एक चरण अगाडि बढाएकी छु । त्यो कुरा मैले विभिन्न कार्यपत्र र प्रवचनमा भनेकी छु कि चीनको अर्थतन्त्रमा सरकारी निगमहरूको जुन आधिपत्य छ तिनीहरूसँग निजी कम्पनीहरूलाई प्रतिस्पर्धा गर्न दिनु पर्दछ । मैले जोड दिएर भन्ने गरेकी छु कि भ्रष्टाचारको समस्या कार्यकर्ताको व्यक्तिगत नैतिक पतनको समस्या मात्र नभएर अर्थतन्त्रमाथि सरकारी नियन्त्रणको प्रणालीगत समस्याको प्रतिफल हो ।

क्रमशः

(काइ सिया चिनियाँ कम्युनिष्ट पार्टीको पार्टी स्कूलकी सेवानिवृत्त प्राध्यापक हुन् । राष्ट्रपति सी जिन पिङको शासनशैलीको आलोचना गरेबापत् सन् २०२० को अगस्टमा उनलाई पार्टीबाट निष्कासन गरिएको थियो । हाल अमेरिकामा बस्दै आएकी काइ सियाको यो लेख हामीले द फोरेन अफेयर्सको द पार्टी फेल्ड भन्ने लामो लेखबाट भावानुवाद गरेका हौं । चिनियाँ राजनीतिमा असन्तुष्ट पक्षको अनुभव बुझ्न सजिलो होस् भनेर उक्त आलेखको भावानुवाद प्रस्तुत गरिएको छ)

The post बेइजिङ राजनीतिको ‘इन्साइडर स्टोरी’ : चिनियाँ कम्युनिष्ट पार्टीमा मेरो अनुभव–१ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles