दार्शनिक जे. कृष्णामुर्तीको विश्लेषणमा मानव मष्तिष्कको प्रकार्यात्मक (फङ्गसनल) विभाजन दुई प्रकारको हुन्छ । अनुकृतात्मक मष्तिष्क (फोटोकपी माइन्ड) र रचनात्मक मष्तिष्क (क्रिएटिभ माइन्ड) । मष्तिष्कका यी दुवै भाग सबै मानिसमा हुन्छन्, तर मानिसको चरित्र यी दुई फरक मष्तिष्क उपयोगको अनुपातले निर्धारण गर्दछ ।
यो विश्लेषण पद्धतिअनुसार मानिसको वैयक्तिक व्यक्तित्व (इन्डिभिजुअल पर्सनालिटी) को सार मनोवृत्ति (एटिच्युड) हो भने मनोवृत्ति अनुकृतात्मक मष्तिष्क र रचनात्मक मष्तिष्कको अनुपातको दर हो ।
त्यसको अर्थ हुन्छ– जुन मानिसले ‘फोटोकपी माइन्ड’ बढी उपयोग गर्दछन्, ती मानिस कम रचात्मक, बढी रुढीवादी र यथास्थितिवादी हुन्छन् । जसले ‘क्रिएटिभ माइन्ड’ बढी प्रयोग गर्दछन्, उनीहरूले नयाँनयाँ चिजको खोजी, आविष्कार र निर्माण गर्दछन् । नयाँनयाँ आन्दोलन, भाष्य र प्रणालीको रचना गर्दछन् । राजनीतिक भाषामा यस्ता मानिस क्रान्तिकारी हुन्छन् ।
अनुकृतात्मक मष्तिष्कको मुख्य चरित्र ‘अभिलेखन’ (रेकर्डिङ) र ‘धारणा हस्तान्तरण’ (कन्सेप्ट ट्रन्सफर) गर्नु हो । यसले सांस्कृतिक–अनुवंश (कल्चरल जीन) बाट प्राप्त पूर्ववर्ती मान्यताहरू मानव मष्तिष्कमा ‘कपी/पेष्ट’ गर्दछ ।
साथै बाल्यकालदेखि सुन्दै, हेर्दै, संगत गर्दै र अनुभव गर्दै आएका चीजहरूलाई संग्रहण गर्दछ । आफूले आदर्श मानेका व्यक्तित्वहरू जस्तै–बुबा, आमा, मन पर्ने साथी, मन पर्ने शिक्षक, धर्मगुरु, राजनीतिक स्कुलिङ दिने पहिलो व्यक्ति वा समाजको कुनै मानक व्यक्तित्वका धारणालाई आफूमा आरोपित गर्दछ ।
आफूले मानक बनाएको आदर्श व्यक्तित्वको सोच र चरित्र अनुकरण गर्नुलाई खुशी र गौरवको कुरा बनाउँछ । यस प्रकारको मष्तिष्क अनुपात बढी मात्रामा उपयोग गर्ने व्यक्तिहरू रुढीवादी हुने सम्भावना धेरै हुन्छ । उनीहरूले नयाँ काम, रचना, आविष्कार, खोज र धारणा निर्माणमा खासै योगदान गर्न सक्दैनन्, पूर्ववर्ती मान्यताहरूको पुनरुक्ति मात्र गर्दछन् । पूर्ववर्ती मान्यतालाई सही ठान्दछन्, त्यसको रक्षा गर्नुलाई नै आफ्नो जीवनको कर्तव्य ठान्दछन् ।
जसरी कुनै कम्युटरमा कुनै नयाँ चिज लेखिएको छैन, कुनै प्रोग्रामिङ वा विश्लेषण गरिएको छैन, अन्यत्रबाट ल्याएर राखेका फाइलहरू मात्र संग्रह गरिएको छ भने त्यो कम्प्युटरमा तिनै फाइल मात्र खुल्दछन्, अरु स्पेशहरू खाली रहन्छन् । ठीक त्यसैगरी जसले अनुकृतात्मक मष्तिष्क मात्र उपयोग गर्दछ, उसमा पूर्वजका धारणहरू मात्र संग्रहित हुन्छन् । भिन्नै बुझाई, दृष्टिकोण वा विश्लेषण निर्माण हुँदैन । त्यस्ता व्यक्तिको रचनात्मक मष्तिष्कको स्पेश खाली हुन्छ । त्यस्ता मान्छेको वैयक्तिक व्यक्तित्व जड, स्थिर र कन्जर्भेटिभ हुन्छ ।
रचनात्मक मष्तिष्कको उपयोग अनुपात दर बढी भएका मानिस भने अभिलेख र धारणा हस्तान्तरणमा सीमित हुँदैनन् । उनीहरूले हरेक पूर्ववर्ती धारणा, विचार, सिद्धान्त, मूल्य, मान्यता, प्रणालीलाई आफ्नो समय र स्थिति (दिक र काल) सँग अन्तपरीक्षण (इन्ट्रोइन्स्पेक्सन) गर्दछन् । के ती ठीक छन् ? के ती समयोचित छन् ? के दिन स्थानोचित छन् ? के ती ‘सत्य’ हुन् ? जस्ता प्रश्नको कसीमा राख्दछन् । हरेक पूर्ववर्ती अवधारणामाथि प्रश्न गर्नु, नयाँ सत्यको खोज वा पुरानै सत्यको पुनर्भाष्यिकरण गर्नु रचनात्मक मष्तिष्कको गुण हो ।
यस्तो गुण भएका मानिसको व्यक्तित्वले ‘क्रिटिकल एप्रोच’ मा विश्वास गर्दछ । कुनै पनि अस्तित्व वा समाज कुनै पनि विन्दूमा स्थिर रहँदैन भन्ने ठान्दछ । यो बुझाई राजनीतिमा यथास्थितिवादको विरोधी हुन्छ । सँगसँगै कुनै पनि अस्तित्व वा समाज जस्ताको त्यस्तै पूर्ववर्ती रुपमा फर्किंदैन भन्ने विश्वास गर्दछ । जसरी जन्मिसकेको मानिस बरु मर्न सक्दछ तर पुनश्चः आमाको गर्भमा जान सक्दैन, त्यसैगरी कुनै समाज जब अगाडि बढ्दछ, त्यो खराब हालतमा पुगेर अर्को नयाँ स्थितितिर जान सक्दछ तर पुरानोमा जस्ताको तस्तै फर्किन सक्दैन भन्ने विश्वास गर्दछ ।
आधुनिक आलोचनात्मक सिद्धान्त (मोर्डन क्रिटिकल थ्योरी) अनुसार ‘सत्य सार्वभौम अस्तित्वको काल र दिक सम्बन्धमा व्यक्त हुने सापेक्षिक अभिव्यक्ति’ हो । अर्थात् सत्य एक साथ निरपेक्ष र सापेक्ष दुवै हुन्छ । अस्तित्व आफैंमा निरपेक्ष हो । पदार्थ र चेतनाको अस्तित्व निरपेक्ष हो तर त्यसको विकास, अभिव्यक्ति, गति र पुनरुक्ति सापेक्ष हो ।
आजको नेपाली राजनीतिमा आलोचनात्मक सिद्धान्तको महत्व झनै बढेको छ । यहाँ एकातिर सत्तारुढ नेकपाजस्तो एक जबरजस्त ‘यथास्थितिवादी’ शक्तिको उदय भएको छ, जो हिजो आफूलाई क्रान्तिकारी भन्दथ्यो । परिवर्तनकारी मान्दथ्यो । उनीहरू देश यसरी नै, यस्तै र यही हालतमा सहीसलामत छ, भन्ने विश्वास गर्दछन् ।
विद्यमान संविधानलाई ‘संसारको उत्कृष्ट संविधान’ मान्दछन् । ‘संविधान संशोधन’को मागलाई ‘अस्थीरता’ भन्दछन् । शासकीय स्वरुप, निर्वाचन प्रणाली र अर्थतन्त्रको ढाँचामा कुनै परिवर्तन आवश्यक ठान्दैनन् । राज्यको पुनर्संरचना र राज्ययन्त्रको पुनर्गठन आवश्यक ठान्दैनन् । वित्तिय संघीयता र स्वाशासन आवश्यक ठान्दैनन् । सामाजिक–सांस्कृतिक क्रान्तिको औचित्य अस्वीकार गर्दछन् । संघीयता, समावेशिता, सकारात्मक विभेद, आरक्षण र सामाजिक न्यायको बढ्दो मागप्रति बारम्बार चिडचिडाहट व्यक्त गर्दछन् ।
हुन त यो स्थिर निष्कर्ष हैन । नेकपा अहिले विचार र एजेण्डाले गन्जागोलपूर्ण पार्टी हो । तत्काललाई यो ‘ओलिज्म’ बाट प्रभावित, निर्देशित र सञ्चालित भएपनि सबै मानिस त्यो प्रवृतिसँग सन्तुष्ट छन् भन्न सकिन्न । आन्तरिक शक्तिसंघर्षका क्रममा नेकपाको वैचारिक तथा एजेण्डागत कोल्टे कतातिर फर्किन्छ, त्यो अझै अस्पष्ट छ ।
आजको विन्दूमा भने नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो क्रान्तिकारी सारतत्व गुमाएको छ । यो एक यथास्थितिवाद शासकीय सोचमा रुपान्तरण भएको छ । प्रतिकात्मकरुपमा भन्दा यसले आफ्नो क्रान्तिकारी तथा सृजनशील ‘वस्त्र–त्याग’ गरेको छ र ‘दिगम्बर’ भएको छ । नेकपाको दिगम्बररुप ओलीतन्त्र हो र यो एकप्रकारको ‘नवमण्डलेतन्त्र’ हो भन्न किञ्चित हिचकिचाउनु पर्ने देखिन्न । ओलीज्मका यावत प्रवृत्तिहरू ‘महेन्द्रपथ’ बाट निर्देशित छन् जुन ‘मण्डलेतन्त्र’ को सर्वाधिक महत्वपूर्ण स्रोत र उत्प्रेरणा हो ।
ओलीतन्त्रका दार्शनिक तथा वैचारिक नङ्गनता राजनीतिक कार्यदिशा, संगठनात्मक जीवन, सरकार सञ्चालनको कार्यशैली, सांस्कृतिक पद्धति सबैतिर छताछुल्ल भएको छ । संघीयता, समावेशिता, बहुसांस्कृतिकता, सकारात्मक विभेद, आरक्षण र सामाजिक न्यायविरुद्ध ‘नवमण्डलेतन्त्र’ पनि ‘मण्डलेतन्त्र’ जतिकै दृढ भएर उभिएको छ ।
करिब ७० वर्ष लगाएर बनाइएका ‘कम्युनिष्ट न्यारेटिभ’ हरू ३ वर्ष पुग्दा नपुग्दै सर्वत्र धुजाधुजा भएका छन् । लाज नछोप्ने धुजाधुजा भएको वस्त्र लगाएर हिंड्नु भन्दा नाङ्गै हिंड्न कम्युनिष्ट शीर्षस्थहरू राजी भएका छन् । दुई अध्यक्षको ‘राजनीतिक प्रतिवेदन’ कम्युनिष्टहरूको दिगम्बर–अवतार हो जसले एकअर्का विरुद्ध भ्रष्टाचारदेखि अपहरणसम्मका फौजदारी अभियोगहरू लगाउँदछ । तर त्यस्ता अपराधलाई न्यायिक तथा कानुनी प्रक्रियामा ल्याउनु पर्ने शासकीय दायित्वबाट आफूलाई पन्छाएर राख्दछ ।
जसको अर्थ हुन्छ– उनीहरू ‘हामी संविधान र कानुनभन्दा माथि छौं’ भन्ने ठान्दछन् । ‘मण्डलेतन्त्र’ को सारतत्व पनि त्यही थियो । त्यसले पनि केही व्यक्ति, संस्था र परिवारलाई संविधान र कानुनभन्दा माथि राख्थ्यो । आम नागरिकको साटो कुनै व्यक्तिलाई सार्वभौमसत्ताको केन्द्र मान्दथ्यो । त्यस्तो व्यक्ति संवैधानिक, कानुनी र नैतिक प्रश्नको घेराभन्दा बाहिर छ भनिन्थ्यो ।
यसरी ‘मण्डलेतन्त्र’ र ‘नवमण्डलेतन्त्र’बीच अद्वितीय समानता देखिएको छ । यी दुवैतन्त्रमा ‘क्रिएटिभ माइन्ड’ को भूमिका हराएको छ । कम्युनिष्ट माइन्डमा नै क्रिएटिभको साटो फोटोकपी माइन्डको अनुपात बढेको बेला फोटोकपी माइन्डमा विश्वास गर्ने कन्जर्भेटिभहरूले समाजलाई पछाडि फर्काउने झिनो आशा गर्नु कुनै अन्यथा हैन ।
इतिहासको सबै कालखण्डमा क्रान्तिपछि प्रतिक्रान्तिकारीहरूको एउटा सानो सङ्ख्या हुन्छ । त्यसले धमिलो पानीमा माछा मार्न खोज्छ नै । त्यो संख्याले अलिकति जिउ हल्लाउँदा तर्सिन, डराउन पर्ने कुनै कारण रहँदैन । सत्ता परिवर्तन त्यति सहज बिषय हैन कि दुईचार सयको जुलुसले कुनै निर्णायक रुप लिओस् ।
ज्ञानेन्द्र शाह, कमल थापा, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनी, केशरबहादुर विष्ट, बालकृष्ण न्यौपाने वा सुरेन्द्र भण्डारीजस्ता पात्रहरूको सोच, हालत र हविगत नेपाली समाजलाई थाहा नभएको हैन । यी न नयाँ हुन र परिक्षण हुन बाँकी । सबैलाई थाहा छ– यी हिजो पनि ‘मण्डलेतन्त्र’ का संवाहक थिए, आज पनि छन्, भोलि पनि रहन्छन् । ‘मण्डलेतन्त्र’ यिनीहरूको फिलोसोफी हो, जीवन– स्वार्थको आधार हो ।
तथाकथित सम्वर्द्धनवाद भनेकै ‘फोटोकपी माइन्ड’ को दार्शनिक चित्र हो, जसले समयोचित र स्थानोचित रचनात्मकताको अन्तर्य सर्वथा अस्वीकार गर्दछ । राजतन्त्र फर्किंदैन भन्ने यथार्थ उनीहरूलाई भलिभाँती थाहा छ तर यही मुद्दा बोकेर अलिकति जनमत विस्तार गर्न सकिए आफ्नो राजनीतिक स्पेश जोगिइरहन्थ्यो भन्ने मनसायले प्रेरित गरेको छ ।

करिब २४० वर्ष ‘मण्डलेतन्त्र’ले यो देशलाई जेल र जनतालाई कैदी बनाएर राखेको, निश्चित परिवारले जमिन, राज्य र राजस्वमाथि कब्जा गरेको यथार्थ भोग्ने पुस्ता अझै देशमा बाँकी नै छ । यिनीहरूको दया, कृपा, अनुकम्पा, सदिच्छा र सहयोगले यो देशमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ आएको हैन । ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ ‘मण्डलेतन्त्र’बाट निरपेक्ष छ, न यो उनीहरूले चाहेर आएको हो, न उनीहरूले चाहेर जान्छ । यसको भिन्नै औचित्य, मूल्य र सौन्दर्य छ ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र’ को लागि हामीले भिन्नै मूल्य चुक्ता गरेका छौं । करिब ७० वर्ष त्यसका लागि भएका संघर्ष र बलिदानको आफ्नै महागाथा छ । त्यो मूल्य आँशु, रगत र पसिनामा चुक्ता गरिएको छ । कम्युनिष्टहरूले ‘बस्त्र–त्याग’ गरे भन्दैमा नेपालमा लोकतन्त्र, गणतन्त्र, संघीयता, सामाजिक न्याय, सकारात्मक विभेदजस्ता अवधारणहरू कमजोर हुँदैनन् । बेबारिसे हुने छैनन । नेकपाको विवाद र ओली सरकारको असक्षमता भिन्नै प्रश्न हो । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा भिन्नै प्रश्न हो ।
लोकतन्त्रमा राजावादी हुन पाइन्छ । प्रदर्शन गर्न पाइन्छ । आफ्ना कुरा भन्न पाइन्छ । लेख्न, बोल्न पाइन्छ । बरु राजतन्त्रमा लोकतन्त्रवादी हुन पाइँदैन । जेल जानु पर्थ्यो, कुटाइ खानु पर्दथ्यो । बलिदान हुनु पर्दथ्यो । अनेक यातना सहनु पर्दथ्यो । सञ्चार माध्यममाथि सेन्सर्ड र कर्फ्र्यू सामना गर्नु पर्दथ्यो । यो भिन्नता सायद राजावादीहरूले पनि राम्रो बुझेको हुनु पर्दछ । हिजो उनीहरू कुन स्तरको दमन र अत्याचार गर्थे, आज लोकतन्त्रले, गणतन्त्रले उनीहरूलाई कुन स्तरको ‘राजनीतिक सुविधा’ दिएको छ, त्यसको अनुभूति पक्कै उनीहरूको हृदयमा हुनु पर्दछ ।
यहाँनेर रमाइलो के छ भने कम्युनिष्टहरूको ‘बस्त्र–त्याग’ र राजावादीहरूको ‘बेसुरा राग’ बीच विचित्रको अन्तर्संम्बन्ध र सहकार्य देखिँदैछ । कम्युनिष्ट सरकार भ्रष्टाचार गर्ने, राजावादीहरू गणतन्त्रले भ्रष्टाचार गर्यो भन्ने । ओली सरकारले भ्रष्टाचार गर्यो नभन्ने, गणतन्त्रले भ्रष्टाचार गर्यो भन्ने । ओली सरकारलाई बढो राष्ट्रवादी र विकासप्रेमी देख्ने तर भ्रष्टाचार चाहिँ गणतन्त्रले गर्यो भन्ने ।
कम्युनिष्टहरू कुशासन चलाउँने, राजावादीहरू लोकतन्त्रले कुशासन गर्यो भन्ने । नेकपा र ओलीतन्त्रले कुशासन गरे नभन्ने, लोकतन्त्रले कुशासन गर्यो भन्ने ।
कम्युनिष्टहरू राम्ररी संघीयता कार्यान्वयन गर्न नदिने, राजावादीहरू संघीयता असफल भयो भन्ने । ओलीतन्त्रले संघीयतालाई असफल बनाउँन खोज्यो नभन्ने, संघीयता नै असफल भयो भन्ने ।
नेकपाको ओलीतन्त्रले संवैधानिक राष्ट्रपतिलाई बारम्बार पार्टीको आन्तरिक खिचोलोमा सामेल गर्ने । संवैधानिक राष्ट्रपतिको मर्यादा र तटस्थता गुमाउने, राजावादीहरू लोकतन्त्रमा राष्ट्रपति निष्पक्ष नहुने दृष्टान्त त्यसैलाई बनाउने ।
कम्युनिष्टहरू कोरोना महामारी व्यवस्थापन गर्न नसक्ने, देशलाई स्वास्थ्य तथा आर्थिक संकटमा फसाउने, राजावादीहरू देश संकटमा पुग्यो भन्ने । नेकपाले देश संकटमा पुर्यायो नभन्ने गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले देश संकटमा पुग्यो भन्ने । गणतन्त्रले कोरोना ल्याएजस्तो हल्ला पिट्ने ।
जब ओलीतन्त्रको कुरा आउँछ, सबैभन्दा ठूला प्रशंसक कमल थापा हुन्छन् । महाकाली सन्धिलगायतका यावत प्रसङ्गलाई तपसिलमा राखेर ‘ओली राष्ट्रवादको गीत’ तिनैले गाउँछन् । यो भन्दा राम्रो सहकार्य अरु के हुनु पर्यो ? ‘मण्डलेतन्त्र’ र ‘नवमण्डलेतन्त्र’ बीचको यो अघोषित लगनगाँठो प्रष्टै छैन र ?
राजतन्त्र होस् वा ओलीतन्त्र, दुवै देशका लागि अभिशाप सावित भइसकेका शक्ति हुन् । देशको क्रान्तिकारी शक्ति, रचनात्मक शक्ति पुनश्चः ध्रुवीकृत हुन जरुरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका साँचो योगदानकर्ता र पक्षधरहरू, जो यो संविधान संशोधनमार्फत् अग्रगामी कार्यदिशामा देशलाई लैजान चाहन्छन्, उनीहरूबीचको संवाद, सहकार्य, एकता र ध्रुवीकरण अब अनिवार्य र अपरिहार्य बन्दै गइरहेको छ ।
सबैभन्दा चिन्ताको कुरा भनेको कम्युनिष्ट मोहमा अल्झेको र राजावादी प्रर्दशनमा देखिएको युवा पुस्ता हो । आजको १५–२५ उमेर समूहको युवा पुस्ता जसले यो देशको ऐतिहासिक जटिलता र कठोर संघर्षलाई आफ्नै जीवनमा गहिरो गरी भोग्न, अनुभव गर्न र बुझ्न पाएन, उनीहरूको व्यक्तित्वले फोटोकपी माइन्डको अनुपात बढी प्रयोग गर्यो र कुनै गलत स्कुलिङमा पर्यो भने त्यो देशको दीर्घकालीन भविष्यका लागि, लोकतन्त्र, गणतन्त्र, संघवाद, समावेशिता र समृद्धि नेपालका लागि दूर्भाग्य सावित हुनेछ ।
निश्चय नै ‘बेसुरा राग’ ‘बस्त्र–त्याग’ को सह–उत्पादन हुन सक्दछ तर सही मार्ग हैन । देशलाई अझ क्रान्ति चाहिएको छ । देशलाई अझ अग्रगमन चाहिएको छ । देशलाई अझ उन्नत लोकतन्त्र चाहिएको छ । देशलाई अझ बलियो गणतन्त्र चाहिएको छ । देशलाई अझ ठोस, मूर्त, जीवन्त संघवाद, समावेशिता चाहिएको छ । देशलाई अझ सार्थक सामाजिक न्याय र अनुपातिक आरक्षण प्रणाली चाहिएको छ । देशलाई सुशासन चाहिएको छ । देश ‘नवमण्डलेतन्त्र’को असफलताको बहानामा फेरि ‘मण्डलेतन्त्र’ को शिकार हुन कुनै हालतमा राजी छैन । राजी हुने छैन । देश न पछाडि फर्किन चाहन्छ, न यथास्थितिमा बस्न, देश अगाडि बढ्न चाहन्छ ।
आजका समस्याहरू ‘हलाल क्रान्ति’का उत्पादनहरू हुन ‘छिनाल क्रान्ति’ ले मात्र देशलाई न्याय, समानता, स्वतन्त्रता, सुशासन, समृद्धि र जनसहभागिताको युगमा लान सक्दछ । विशेषतः जनान्दोलन २०६२/२०६३, मधेश जनविद्रोह र अन्य सीमान्तकृत जनसमुदायका आन्दोलनहरूमा भाग नलिएको वा त्यसपछि हुर्किएको नयाँ पुस्तासँग देशको भविष्यको कार्यदिशाबारे रचनात्मक संवाद गर्नु आजका क्रान्तिकारीहरूको साझा दायित्व हो ।
The post ओलीतन्त्र र राजावादी प्रदर्शनबीचको अघोषित लगनगाँठो appeared first on Sajha Post.