Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

कसरी होला महामारी बीचमा अमेरिकी राष्ट्रपतिको चुनाव ?

$
0
0

महामारीको बीच राष्ट्रपतिको निर्वाचन कस्तो होला ? एकअर्कासँग हात नमिलाइकन, प्रचारप्रसार नगरिकन, ड्रिंक पार्टी र सामूहिक भेटघाट नगकिरन, उम्मेद्वारहरुले मायाले बच्चा बोक्ने र चुम्बन गर्ने नगरिकन पनि निर्वाचन सम्भव होला ? के जो वाइडेन र डोनाल्ड ट्रम्पले ६ फिट दूरीको नियम पालना गरेरै चुनावी अभियान चलाउन सक्लान् ? कोरोना भाइरस आए यता हामी सबैको मष्तिष्कमा यो प्रश्न खेलिरहेको छ कि यो दूरत्वबीच लोकतन्त्र कसरी क्रियाशील हुन सक्दछ ?

यो सम्भव छ मात्र हैन, इतिहासले भन्छ कि अमेरिकी लोकतन्त्रको पहिलो शताब्दीमा प्रायः सबै उम्मेद्वारहरु घरमै बस्थे । त्यो समय उम्मेद्वारले खासै मेहनत गर्नु पर्दैनथ्यो । यातायात र सञ्चारको सीमितताले उम्मेद्वारकेन्द्रित अभियान प्रभावकारी हुँदैनथ्यो । उम्मेद्वारको तर्फबाट पार्टी र तिनका संगठनले अभियान गर्थे । सन् १८९२ मा न्यूयोर्क टाइम्सले लेखेको थियो, ‘व्यक्तिकेन्द्रित प्रचार जनताले त्यति धेरै मन पराउँदैनन् ।’

कविलाई विभाजन र झगडाको युगमा उम्मेद्वारहरुको छनौटको आधार नै उसको स्वास्थ्य हुन्थ्यो । एकातिर व्याधी र अर्कोतिर झगडा, यी दुबै सामना गर्न स्वस्थ मान्छे नै चाहिन्थ्यो । सँगसँगै जनताले उम्मेद्वारको इमान्दारितालाई हेर्थे । व्यक्ति-व्यक्ति हुँदै उम्मेद्वारहरुको तुलना तल जनतासम्म पुग्थे । आज फेरि एकपटक हामी त्यस्तै समयमा बाँचिरहेको छौं । निर्वाचन अभियानको योे तरिका महामारीबीच प्रांसगिक हुन सक्दछ ।

अमेरिकी लोकतान्त्रिक अभ्यासको प्रारम्भतिर राष्ट्रपतिको उम्मेद्वार हुनुलाई ‘खडा हुनु’ भनिन्थ्यो, अहिलेको जस्तो ‘दौडमा सामेल हुनु’ भनिँदैनथ्यो । उनीहरु अनेक सम्मेलन र अधिवेशनहरुमा भाग लिँदै हिँड्दैनथे बरु घरमै बसेर उपयुक्त अवसरको प्रतीक्षा गर्दथे । लिंकन विदामा बसेर मज्जाले जोक्सका किताब पढ्थे । एन्ड्रयुु ज्याक्सनलाई उनका सल्लाहकारहरुले बारम्बार सम्झाउनु पर्‍थ्यो कि उनी उम्मेद्वार छन् । धेरैपटक सम्झायो भने उनी रिसाउँथे ।

त्यतिखेर एउटा राम्रो उम्मेद्वारको लक्षण जेम्स गारफिल्डले भनेजस्तो ‘उपरखुट्टी लगाएर बस्नु तर स्थितिको निरन्तर जानकारी लिनु’ हुन्थ्यो । आफू उम्मेद्वार भएको चुनावमा आफै हापझाप गर्दै दौडनुलाई मानिसले ‘आत्म प्रदर्शनको भोको’ भनेर निन्दा गर्थे ।

फेरि क्रुर राजनीतिक प्रतिस्पर्धाको युग आयो । यो युगमा मान्छेले राष्ट्रपति भनेको परिवारको हजुरबाजस्तो एक राष्ट्रिय नैतिक चरित्र हो भन्ने बिर्से । यो ह्वाइट हाउस प्राप्तिका लागि गरिने दौडमा परिणत भयो । ह्वाइटहाउसबाटै पुनः प्राप्तिका लागि गरिने दौड भने भाग्यशालीको रक्षाकवच जस्तो बन्यो ।

उम्मेद्वारहरु बेतहास दौडिनुको साटो सदगुणको रक्षा गर्दै आफ्नै घरमा बसे आफ्नो स्वास्थ्यको जोगाड गर्न सक्षम हुन्थे । सन् १८०० को शताब्दी अनेकन डरलाग्दा महामारीहरुको शताब्दी थियो । आज अमेरिकालाई आधुनिकीकरण गर्ने सबै तत्वहरु यसको आकार, जनसंख्या, यसको विविधता, यसको अकल्पनीय आर्थिक बृद्धि सबै घातक महामारीको संक्रमणका लागि अनुकुल बन्न पुगे ।

राष्ट्रपतिको उम्मेद्वार हुँदैमा प्रतिरोधात्मक क्षमता हुने हैन । सन् १८४० को दशकमा त्यतिखेरका कार्यकारी पदमा निर्वाचितहरुमध्ये अधिकांश संक्रामक रोगले मरेका थिए । विलियम ह्यारिसनको मृत्यु सन् १८४१ मा टाइफाइडले भएको थियो । जेम्स के पोल्क सन् १८४९ मा हैजाले मरेका थिए । सन् १९५० मा जाकरी टेलर भाइरल ग्याँस्ट्रोटेएरिस्टकबाट मरेका थिए ।

जबकी त्यतिखेर उम्मेद्वारहरु घरमै बस्थे तर उनीहरुको उम्मेद्वारीले भने देश नै हल्लिन्थ्यो । उन्नाइसौं शताब्दीको मध्यतिरसम्म पनि पार्टीहरुले नै ठूल्ठूला जुलुस र टर्चलाईट यात्रा आयोजना गर्दथे । तिनीहरुलाई कमैलाई यो हेक्का हुन्थ्यो कि मेनहटन स्क्वायरको हज्जारौंको भीडमा हज्जारौंलाई टिवी सर्न सक्ने सम्भावना छ । त्यस्ता यात्री र प्रचारकहरुले आफ्नो उम्मेद्वारको सदगुणबारे अनेक गीत बनाएर साँझ घरघरमा गाउँथे । चिन्दै नचिनेका समर्थकहरुले सक्रिय भूमिका गरिहेका हुन्थे जबकी उम्मेद्वार आफू चाहिँ रमितेजस्तो हुन्थ्यो ।

सन् १८८४ मा एक स्वीडिस आप्रवासीले लेखेका थिए, ‘अमेरिकामा बढो रमाइलो चुनाव हुन्छ । यहाँ उम्मेद्वारहरु पछाडि हुन्छन् र उनका समर्थकहरु अगाडि । आफ्नो पार्टीलाई जिताउन सबै ज्यान फालेर लागेका हुन्छन् ।’

सन् १८७१ मा लोकरिज्याँइवादी बेन्जामिन बटलर जब म्यासाच्युसेटको गभर्नरमा चुनाव लडेका थिए बोस्टनका ब्रहम्मणहरु उनले हात मिलाउँदै हिँडेकोमा रिसाएका थिए । त्यतिखेर मान्छेहरु भीडमा हात मिलाउँदै वा अंगालो मार्दै हिँड्नुलाई राम्रो मान्दैनथे । जसले त्यस्तो गर्‍थ्यो उसलाई कुलीन उम्मेद्वार मानिँदैनथ्यो, स्वार्थका लागि फोहोरी राजनीतिक हर्कत गरेको ठानिन्थ्यो ।

यस्तो परम्परासँग विद्रोह गर्न उम्मेद्वारहरुलाई गाह्रो हुन्थ्यो । केही आँटी उम्मेद्वारहरु यस्तो सोचलाई उल्लघंन गर्थे । सन् १८६० को निर्वाचनमा स्टेफेन डग्लस र सन् १९७२ को निर्वाचनमा होरान्स ग्रिनलेरीले यसप्रकारको प्रचारशैली अपनाएका थिए । चुनावी अभियान सकिएको केही समयपछि नै उनीहरु कुनै अज्ञात रोगले मरे । सबैको जिब्रो चाट्दै हिँडेकोले मृत्यु भएको भन्दै उनीहरुको व्यापक आलोचना भएको थियो ।

तर घरमै बसिरहनु साँच्चै नै गाह्रो काम हो । सन् १८८० मा जेम्स गारफिल्डले नयाँ तरिका फेला पारे । उनले समर्थकहरुको ठूलो समूहमा मिसिएर हिँड्नु भन्दा फराकिला चौरहरुमा शुभेच्च्छुकहरुको ससानो समूहलाई भेट्ने तरिका अपनाए । त्यसको ४ बर्षपछि रिपब्लिकन उम्मेद्वार जेम्स ब्लेन अझ अगाडि बढे । ब्लेनलाई चुम्बकीय व्यक्तित्व मानिन्थ्यो । उनले मान्छेलाई आकर्षित गर्न सक्नुको कारण हात मिलाउँदै हिँड्नु नै थियो । उनी आफ्नो प्रतिभा आफ्नो मात्र हैन, त्यो सबैमा बाँडिनुपर्छ भन्थे ।

जोन ग्रिन्सपान

सन् १८९६ मा रिपब्लिकन पार्टी प्रमुख मार्क हेन्नाले यो प्रक्रियालाई झनै यान्त्रिक बनाइदिए । उनले ओहियोको क्यानटन पोर्जमा करिब ७ लाख समर्थकहरु जम्मा गरेका थिए । त्यतिखेर उम्मेद्वारहरुले दुई मोर्चाको लडाइँ लड्नु पर्दथ्यो । एकातिर विरोधीलाई पराजित गर्न मेहनत गर्नु पर्दथ्यो भने अर्कोतिर आफ्नै पार्टीको समर्थन पाइरहन कोशिश गर्नु पर्‍थ्यो ।

विस्तारै यो क्रम व्यक्तिगत स्वतन्त्रताकेन्द्रित प्रचारतिर अघि बढ्यो । निर्वाचन अभियानमा टाइकुन, व्यवसायी र लगानीकर्ताहरु हावी हुने थाले । मतदाताले बोल्ड क्षमता भएको एकल व्यक्तित्व नै राष्ट्रपतिको जिम्मेवारीका लागि उपयुक्त हुने धारणा बनाउन थाले । सन् १८९४ मा एक जना लेखकले लेखेका थिए, ‘जनता कुनै सिद्धान्तको हैन, कुनै असल मान्छेको पछि लाग्दछन् । त्यसका लागि व्यक्तिगत नेतृत्व फलदायी हुन्छ ।’

सन् १८९६ को निर्वाचनमा विलियम जिनिङ ब्रायनको व्यापक चर्चा भयो । त्यसको कारण एकै पटक हज्जारौं स्रोतालाई प्रभावित गर्न सक्ने उनको भाषण थियो । उनले यावत परम्पराहरु भत्काइदिए । निरन्तर भ्रमण गरेर प्रचार गर्ने नयाँ रणनीति अपनाए । उनले त्योे बेला १०० दिनभित्र करिब १८००० किमी रेल यात्रा र ५०० वटा भाषण गरेका थिए । त्यतिखेरसम्म पनि वासिङ्गटनका राजनीतिक सम्भ्रान्तहरु ब्रायनको यस्तो भन्दै गिल्ला गर्थे, ‘विचरा ब्रायन, राष्ट्रपतिको लागि भोटको मिख मागेर हिँडेको छ, भोट पनि भिख मागेर पाइने हो र ?’

तर उनले स्रोताहरुलाई अचम्मैसँग उत्साहित पारे । पछि धेरै मान्छेहरुले उनलाई देखेको, भेटेको र आफू प्रभावित भएको खुल्लापत्र र डायरी नोटहरु लेखे । त्यो त्यतिखेर बिल्कुलै नयाँ कुरा थियो । उम्मेद्वारहरु रहस्यजस्तो बन्न थाले । उनीहरुलाई हेर्न मान्छेको भीड लाग्न थाल्यो । उम्मेद्वारहरु अभिनेताजस्तो प्रतीत हुन थाले र जनता दर्शक । ब्रायनले चुनाव जित्न भने सकेनन्, हारे । तर उनले चुनावी अभियानको प्रक्रियालाई सधैंका लागि फेरिदिए ।

व्यक्तित्व केन्द्रित नेतृत्वमा मान्छे जे खोज्थे, त्यो रुजभेल्टमा थियो । रुजभेल्टसँग जो कसैले केहीबेर कुरा गर्‍थ्यो, त्यो तुरुन्तै प्रभावित हुन्थ्यो । यद्यपि ह्वाइटहाउसमा उनको पहिलो प्रवेश उनको व्यक्तित्वको कारण निर्वाचन जितेर भएको थिएन । उनले पहिलो पटक राष्ट्रपति म्याकिन्लेको हत्याको कारण त्यो अवसर पाएका थिए । त्यही कुरा रुजभेल्टको चुनावी अभियानको अवसर बन्यो, जसले अमेरिकी जनजीवनमा उनको व्यक्तित्वको प्रभाव निर्माण गर्न ह्वाइटहाउसप्रतिको आकर्षण र जिज्ञासाले काम गर्‍यो ।

रुजभेल्टको कुँदिएको दाँत र चम्किलो चश्माले मानिसलाई पुतलीजस्तै झुम्याउँथ्यो । उनले विना भेदभाव ‘बच्चा चुम्मन अभ्यास’लाई प्रवर्द्धन गरे । उनको सबैसँग छिटोछिटो हात मिलाउँदै हिँड्ने क्षमताले अगाडिका सबै राष्ट्रपतिहरुलाई जनताको दिमागबाट बिर्साइदियो । एउटा कार्यक्रममा उनले गनेरै ८५०० सँग हात मिलाएका थिए । यसरी मिलाइएका हातहरु स्वस्थ हुनु पर्दछ भन्ने हेक्का रुजभेल्टमा थियो ।

तसर्थ उनले जनस्वास्थ्य सेवामा ठूलो परिवर्तन ल्याए । जनता जब स्वस्थ हुन्छन् अनि मात्र राष्ट्रपतिहरु निर्धक्क हात मिलाउँदै हिँड्न सक्दछन् । उन्नाइसौं शताब्दीमा हात धुनु, सफा पानी पिउनु, जथाभावी नथुक्नुजस्ता सवाल राजनीतिका ठूला मुद्दा बने । जनताको सरसरफाई र बानी व्यहोरामा सुधारमा रुजभेल्टको जोड रह्यो । एन्टिबायोटिक्स खानु भन्दा आचरणगत सुधार र सरसफाई महमत्वपूर्ण हो भन्ने शिक्षा राज्यले निरन्तर दिइरह्यो । साबुन पानीले हात धोऔं जस्ता विज्ञापनमा राज्यले लगानी गर्‍थ्यो ।

त्यतिखेरका राष्ट्रपतिहरुले आफ्नो राजनीतिक शक्तिलाई जनस्वास्थ्य प्रवर्द्धन गर्न, घरहरु सफासुग्घर राख्न, शुद्ध खानेकुरा, दूध र औषधी उपलब्ध गराउन प्रयोग गर्दथे । यसले राष्ट्रपतिहरुको सामाजिक सुधारको भूमिकालाई प्रसंशनीय बनायो साथै चुनावी अभियानमा जनतासँग हात मिलाउँदै हिँड्न पनि उनीहरुलाई सजिलो भयो । सन् १९३० मा रुजभेल्ट आफै पोलियो संक्रमित भई बाँचेका थिए । त्यसले उनलाई जनस्वास्थ्य सुधार गर्न झनै प्रेरित गर्‍यो र त्यो कामले पुनः निर्वाचन जित्न सजिलो बनायो ।

अमेरिकामा यो महामारी शुरु हुनु भन्दा केही महिनाअगाडिसम्म इतिहासका यी सबै पक्ष कथाजस्तो लाग्दथे । इतिहास केवल विगतको कथा मात्र हैन, त्यो उत्परिवर्तित भइरहन्छ । अहिले हामी जुन प्रकारको चुनावी अभियान प्रयोग गरिरहेका छौं, त्यो मात्र उपाय हैन भनेर हामीलाई इतिहासले बताएको छ ।

चुनावी अभियानको विधिबारे हाम्रो संविधान मौन छ । चुनावी अभियानमा भेलासम्मेलन गर्नै पर्छ, हात मिलाउँदै हिँड्नै पर्छ, सार्वजनिक बहस आयोजना गर्नै पर्छ भन्ने छैन । सन् २०२० को राष्ट्रपतीय निर्वाचनको लागि हामीले हाम्रो तरिकामा केही छाँटकाँट गर्नै पर्छ । केही नयाँ तरिका अपनाउनै पर्छ । उम्मेद्वारहरु घरघर मै बसुन्, त्यो नै उपयुक्त र हितकर हुन्छ ।

उम्मेद्वारहरु टाढै हुँदा सायद तिक्ततापूर्ण ढंगले विभाजित दलहरु एकीकृत हुनेछन् । कुनै एउटा व्यक्तिमा मात्र केन्द्रित नहुँदा पार्टी अभियन्ताहरु फरक मनोविज्ञानका मतदातासँग फरक प्रकारले आग्रह गर्न सक्दछन । अहिले जो वाइडेन उत्साहको अभावबीच प्राइमरबाट उम्मेद्वार छानिएका छन् भने ट्रम्पको स्वीकार्यता औसतभन्दा धेरै तल छ । दुबै उम्मेद्वारहरुमा व्यक्तित्व केन्द्रित अभियानका लागि अनुकुलता छैन । तसर्थ उम्मेद्वारभन्दा पार्टी केन्द्रित बहस नै यतिखेर उपयुक्त हुनेछ ।

सामाजिक सञ्जाल, जुम मिडियालगायतले घर बसीबसी चुनावी अभियान गर्न सम्भव छ । अतिशयोक्तिकृत नगरिएको र कम उपस्थित उम्मेदवार नै हाम्रो लोकतन्त्रका लागि स्वस्थकर हुन्छ । केवल कुनै एक व्यक्ति केन्द्रित बहसले लोकतन्त्रका कैयौं संवेदनशील गतिशीलतालाई मुफतमा डुबाइदिन्छ । राष्ट्रपतिको कार्यकारी अधिकार नै सबैथोक हो भन्ने बुुझाइले अमेरिकी लोकतन्त्रको भलो गर्दैन ।

लोकतन्त्र र महामारी दुबै ग्रिक शब्द जनताका लागि उस्तै हुन् । त्यो कसरी भने – हामीमा जे संक्रमित हुन्छ, त्यही प्रतिबिम्बित हुन्छ । हामी व्यक्तिमा जति कम फोकस हुन्छौं, उत्तिनै आधारभूत तहमा उत्रिन्छौं । उन्नाइसौं शताब्दीमा आएका राजनीतिक समस्याहरु हल गर्न सन् २०२० को चुनाव उपयुक्त अवसर हो – अब हामी ‘खडा हौं’, ‘न दौडौं ।’

(मे १, २०२० को द न्यूयोर्क टाइम्सबाट भावानुवाद)

The post कसरी होला महामारी बीचमा अमेरिकी राष्ट्रपतिको चुनाव ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles