Quantcast
Viewing all articles
Browse latest Browse all 942

स्थानीय तहमा कृषि स्रोत केन्द्र निर्माणः अवधारणा र अभ्यास

कृषिकर्म बहुसंख्यक नागरिकका लागि जीविकोपार्जनको प्रमुख आधार हो । सफल कृषि कर्मका लागि प्राविधिक ज्ञान, उत्पादनका साधनहरु (जग्गा, मल, सिंचाई, बीऊ, विषादी आदि) आवश्यक पर्दछ । तिनै मध्ये किसानसम्म कृषि प्रविधि प्रसारका लागि नेपालमा कृषि विकास मन्त्रालय, कृषि विभाग अन्तरगत सबै नगरपालिका वा गाउँपालिका मातहत रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यसरी कृषिका प्राविधिक विशेषज्ञको सेवा किसानको पहुँचमा पुग्नु अत्यन्त राम्रो पक्ष हो र कृषि प्रसार सेवाको विकेन्द्रीकरणको उदाहरण हो । तर कृषि ज्ञान केन्द्र एउटा प्राविधिक फाँट हो र यसका लागि स्रोतसाधन उपलब्ध गराए मात्र यसले साँचो अर्थमा कृषि प्रविधिहरुको विकास, प्रविधिको स्थानीय स्तरमा परीक्षण गर्दै किसानका लागि आफ्नै आँखाले कृषि प्रविधि देख्न पाइने अवसरको सिर्जना गरी समुदायस्तरमा कृषि प्रविधिको अनुसरण गर्ने वातावरण सिर्जना हुन्छ । पछिल्लो समयमा कृषिका प्राविधिकहरु स्थानीय निकायमा पदस्थापन भएता पनि के कसरी नयाँ र प्रभावकारी काम गर्न सकिन्छ भनेर अघि बढ्न बाँकी नै देखिन्छ । हालको कृषि प्रसारको ढाँचामा अधिकांश कृषि प्राविधिकहरुले सैद्धान्तिक ज्ञान बढी र प्रयोगात्मक सिकाइहरु कम बाँड्न सकिने अवस्था छ तथापि कृषि प्राविधिकहरुले आफ्नो अध्ययन, अनुसन्धान, तालीम, भ्रमण आदिबाट सिकेका अनगिन्ती कुराहरु आफ्ना किसानहरुलाई देखाउने, सुनाउने र प्रयोगात्मक ढँगले बाँड्ने हुटहुटी अधिक रहन्छ ।

स्थानीय तह जस्तै नगरपालिका वा गाउँपालिका स्तरमा कृषि प्रविधिको स्थानीय परीक्षण, किसानका लागि प्रविधि प्रदर्शनी गरी नमूना कृषि कस्तो हुनुपर्दछ र कसरी कृषिले किसानको पोषण तथा खाद्य सुरक्षाको साथसाथै बजारमुखी कृषि गर्दै हाम्रो जीवनस्तर नै उकास्ने सम्मको लक्ष्य पाउन सकिन्छ भन्नका लागि हरेक स्थानीय तहमा कम्तिमा एक एक वटा कृषि स्रोत केन्द्रको निर्माण अनिवार्य हुन्छ । यसका अलावा संघीय नेपालमा कृषि क्षेत्रको जिम्मेवारी स्थानीय तहहरुको हुने भएकाले पनि आफूलाई आएको यो अवसरलाई व्यवस्थित तरिकाले कृषि स्रोत केन्द्रको निर्माण गरी परिचालन गर्नु पर्ने देखिन्छ ।

के हो कृषि स्रोत केन्द्रको अवधारणा ?

कृषि स्रोत केन्द्र सैद्धान्तिक ज्ञान र प्रयोगात्मक स्थलको साझा थलो हो जसले किसानलाई सहभागितात्मक विधिबाट आफ्ना घरबारीमा लगाइने बालिनालीको खेती गर्ने तरिका, नयाँ तथा स्थानीय जातहरुको उत्पादकत्व तथा अन्य जानकारी, रोग कीरा नियन्त्रण, मलपानी व्यस्थापन, बजार व्यवस्थापन, पोष्टहार्भेष्ट प्रविधि तथा किसानहरुलाई परेको समस्याहरुको बारेमा प्रत्यक्ष जानकारी र ज्ञान दिन्छ । आफ्ना कार्यक्षेत्रको हावापानी, किसानहरुको पूँजी वा लगानी अनुसार व्यवसायिकताको स्तर, खेतीपातीको उद्देश्य (पारिवारिक पोषण वा बजारमा बिक्री), आदि हेरी कृषि स्रोत केन्द्रमा सैद्धान्तिक जानकारी र प्रदर्शनी प्लटहरु बनाउनु पर्छ ।

साना किसानहरुका सुहाउँदो पारिवारिक कृषिका लागि घरबगैंचा वा करेसाबारी सम्बन्धी जानकारी र प्रदर्शनी प्लटहरु, स्थानीय बीऊबीजनहरुको संरक्षणका प्लटहरु, करेसाबारीमा बर्षभरि नै तरकारीबाली र फलफूल हुनेगरी बनाइएको बाली पात्रोका साथै पारिवारिक पोषणको महत्वको बारेका श्रव्यदृष्य सामाग्रीहरु पनि कृषि स्रोत केन्द्रमा उपलब्ध हुनु पर्छ । साना किसानका लागि पारिवारिक पोषण नै पहिलो प्राथमिकतामा रहन्छ । यसमा स्वास्थ्य संस्थाका महिला स्वयंसेविकाहरुसँग सहकार्य गरी प्रविधि तथा अवधारणाको पनि प्रचारप्रसार गर्न सकिन्छ ।

अर्धव्यवसायिक किसानहरुका लागि भने पारिवारिक पोषणका साथै केही अंश बजारका लागि पनि बेच्ने उद्देश्य हुने भएकाले किसानहरुका लागि अझै थप जानकारी आवश्यक रहन्छ । यसका लागि खेती गर्नका लागि उपलब्ध बालीको स्थानीय तथा उन्नत वा वर्णशंकर जातहरु, यसका लागि मलखाद वा सिंचाईको व्यवस्थापनको तरिका, रोग कीरा नियन्त्रणका लागि रासायनिक विषादी वा प्रांगारिक विधिहरुको बारेमा सैद्धान्तिक तथा व्यवहारिक जानकारी उपलब्ध गराउनुपर्छ । यसका अलावा यस्ता बाली स्रोत केन्द्रकै जग्गामा लगाएको पनि हुनुपर्दछ जसले गर्दा किसानहरुमा आत्मविश्वास बढ्न जान्छ र प्रविधिको तत्कालै अनुसरण हुन जान्छ । यस सम्बन्धमा खास कुरा भनेको किसानले सैद्धान्तिक तथा व्यवहारिक ज्ञान स्रोत केन्द्रबाट पाउन् भन्ने नै हुनुपर्छ । सम्भब भएसम्म स्थानीय हावापानीमा सुहाउने बीऊबीजन तथा रासायनिक मल तथा विषादी पनि स्रोत केन्द्रमा उपलब्ध हुनुपर्छ ता कि किसानले नक्कली बीऊबीजन तथा रासायनिक मलको कारणले पाएका दुःख पनि घटाउन सकिन्छ ।

व्यवसायिक किसानका हकमा भने स्रोत केन्द्रमा व्यवसायिक कार्ययोजनाको निर्माण, खेती प्रविधिको विस्तृत जानकारी सहितको पुस्तिकाहरु, श्रब्यदृश्य सामग्रीहरु तथा बजारमुखी उत्पादन तथा बजारीकरणसम्बन्धी थप जानकारी उपलब्ध हुनुपर्छ । बजारका लागि मात्र उत्पादन गर्ने व्यवसायिक किसानका लागि स्रोत केन्द्रमा बालीको उत्पादनका अलावा, बालीको सुरक्षित टिपाई, टिपाइपछिको चिस्यान, कृषि उपजको बजारका लागि तयारीका चरणहरु जस्तै रोगकीरा लागेका, कुहेका हटाएर साइज, आकार र रंगको आधारमा ग्रेडिङ्ग आदि सहित प्लाष्टिक क्रेटमा प्याकिङ्ग, चिस्यानको व्यवस्थापन र सुरक्षित तरिकाको ढुवानीको पनि समग्र बजार व्यवस्थापनका बारेमा जानकारी उपलब्ध गराउनु पर्दछ । व्यवसायिक किसानको लागि हरेक स्थानीय तहहरुमा चिस्यान केन्द्रको पनि अनिवार्य व्यवस्था गर्नुपर्दछ । यस्ता चिस्यान केन्द्रको व्यवस्था हुन सकेमा किसानहरुले टिपेका ताजा कृषि उपजहरु लामो समयसम्म भण्डारण गर्न आवश्यक परेको बेलामा भण्डारण गर्नुका साथै बजारको माग अनुसारको आपूर्तिको व्यवस्थापन गरी मूल्यमा आउन सक्ने गिरावटबाट पनि बचाउन सकिन्छ । स्थानीय तहहरुले आफ्नो कार्यक्षेत्रमा हुन सक्ने कृषिको सम्भावनालाई मध्यनजर गर्दै कृषि स्रोत केन्द्रका विभिन्न अवयवहरुलाई व्यवस्थापन गर्न सकिन्छ ।

Image may be NSFW.
Clik here to view.

कृषि स्रोत केन्द्रको स्वामित्व, स्थापना र सञ्चालन

कृषि स्रोत केन्द्र स्थानीय तहको स्वामित्वमा तथा किसान समूह तथा सहकारीको समन्वयमा कृषि क्षेत्रका प्राविधिक, स्थानीय विज्ञ सम्मिलित एक समिति निर्माण गरी सञ्चालन गर्न सकिन्छ । स्थानीय तहको मातहतमा रहेको करिब १० कट्ठा देखि १ बिगाहासम्मको जमीनमा कृषि स्रोत केन्द्रको स्थापना गर्न सकिन्छ । कृषि स्रोत केन्द्र सबै किसानहरुको साझा सिक्ने थलोको रुपमा विकास गर्नका लागि भएकाले किसानको आवश्यकतालाई मध्यनजर गर्दै र किसानहरुसँगको छलफलबाट नै यसका विभिन्न अवयवहरु निर्धारण गर्न सकिन्छ । सामान्यतया कृषि स्रोत केन्द्रमा भौतिक पूर्वाधार र खेतबारीको व्यवस्था मुख्य पक्ष हुन्छ (चित्र हेर्नुस) । भौतिक पूर्वाधारमा केन्द्रको कार्यालय, तालिम तथा सिकाई कक्षहरु, श्रव्यदृश्य कक्ष, औजार भण्डारण कोठा, बीऊबीजन भण्डारण कोठा, बजारका लागि कृषि उपज तयारी कोठा आदि बनाउनु आवश्यक हुन्छ र ताजा कृषि उपजहरुको भण्डारणका लागि शीत भण्डारको पनि अनिवार्य व्यवस्था गर्नुपर्ने हुन्छ । खेतबारीको हकमा भने स्थानीय हावापानी र किसानको अवस्थासँग मेल खाने गरी र पानीको अनिवार्य व्यवस्था रहने गरी पाखो बारी र खेतको लागि उपयुक्त जमीन आवश्यक पर्छ । खेतीबालीको सन्दर्भमा करेसाबारी प्लट, फलफूल बगैंचा प्लट, अन्नबाली प्लट, दलहन तथा कोसेबाली प्लट, तरकारीबाली प्लट, अन्नबाली प्लट, तेलहन बालीको प्लट, मसलाबाली प्लट, स्थानीय जातका बालीहरुको प्लट तथा किसानको सहभागितामा तयार गरिने प्रविधि परीक्षण प्लटहरु तथा शून्य शक्ति शीत भण्डार आदि बैज्ञानिक ढंगले नक्सांकन गरी व्यवस्था गर्नुपर्छ । अहिलेको अवस्थामा किसानहरु प्लाष्टिक घरभित्रको खेतीमा पनि चासो राख्ने भएकाले पनि प्लाष्टिक घर पनि बनाउनु पर्छ । यसका अलावा खेतबारीका लागि आवश्यक पर्ने सिंचाईको व्यवस्था, खेतबारीका लागि आवश्यक पर्ने सुधारिएको कम्पोष्ट मलखाडलको व्यवस्था आदि पनि गर्नुपर्ने हुन्छ । यी माथिका सामान्य उदाहरणका अलावा किसानसँगको छलफलपछि र आवश्यकता अनुसार विभिन्न प्लटहरु थप्न सकिन्छ । मेशिनरी र औजारका लागि एउटा हाते ट्रयाक्टर वा पावर टिलरको व्यवस्था अनिवार्य हुन्छ भने कुटो, कोदालो, कोदाली, फोरुवा पनि आवश्यक हुन्छ ।

स्थानीय तहको कृषि हेर्ने अधिकारीको अगुवाईमा किसानहरुले तालिम लिने र प्रयोगात्मक कक्षाहरु गर्ने क्रममा नै यस्ता स्रोत केन्द्रको खेतबारी तर्फको काम गर्न सकिन्छ भने भौतिक पूर्वाधारको कामकालागि भने छुट्टै योजना बनाएर काम गर्नुपर्ने हुन्छ । हरेक मौसम अनुसार किसानहरुको आवश्यकता अनुसारको बीऊबीजनको उपलब्धता मात्र हैन स्रोत केन्द्रलाई करेसाबारीका लागि र व्यवसायिक किसानका लागि पनि आवश्यक पर्ने तरकारीका गुणस्तरीय बेर्ना, बीऊ र फलफूलका बोटविरुवाको स्रोतको रुपमा पनि विकास गरी यसको सञ्चालन खर्च निकाल्न सकिन्छ । किसानका लागि विपदका समयमा आइपर्ने खाद्य असुरक्षाको नियतीलाई सामना गर्नका लागि कृषि स्रोत केन्द्रलाई अन्नबालीको सुख्खा भण्डारणको लागि र तरकारी तथा फलफूलबालीको शीत भण्डारणमा अगाडि बढाई काम गर्न सकिन्छ । यसका अलावा स्थानीय हावापानी, किसानको आवश्यकता, सरोकारवालाहरुसँगको छलफलबाट कृषि स्रोत केन्द्रमा विभिन्न कार्यहरु गर्न सकिने अवस्था रहन्छ ।

निश्कर्ष

कृषि विकासमा दीगो रुपमा र स्थानीय तहमा फड्को मार्ने हो भने किसान समूहका नेतृत्वहरु, कृषि सहकारी र बजार व्यवस्थापनका नेतृत्वहरु, स्थानीय राजनीतिक नेतृत्वहरु सबै मिली अगाडि बढ्नुको विकल्प रहँदैन । यसर्थ स्थानीय किसानहरुको पोषण तथा खाद्य सुरक्षा एवं जीविकोपार्जनको आवश्यकतालाई मध्यनजर गर्दै स्थानीय तहको अगुवाईमा स्रोत केन्द्रको अवधारणा बनाई अगाडि बढ्नु पर्ने टड्कारो आवश्यकता भैसकेको छ । हालको स्थानीय तहहरुको जिम्मामा आएको खाद्य तथा पोषण सुरक्षाको अभूतपूर्व जिम्मेवारी पूरा गर्नका लागि ठोस पहल स्वरुप कृषि स्रोत केन्द्रको स्थापना र दीगो परिचालन एउटा महत्वपूर्ण कदम हुन पुग्छ ।

Image may be NSFW.
Clik here to view.

The post स्थानीय तहमा कृषि स्रोत केन्द्र निर्माणः अवधारणा र अभ्यास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles