प्रष्ट नै छ कि अहिले नेकपामा जे जे विवाद भैरहेको छ, त्यो सबै प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणले भएको हो । अर्काको पार्टी टुक्रयाउने गरी अध्यादेश ल्याउनुभयो उहाँले । संवैधानिक आयोगमा प्रतिपक्षी नै नचाहिने गरी गलत मनसायले अध्यादेश ल्याएर राष्ट्रपतिबाट प्रमाणीकरण गराउनुभयो । यस्तो संकटको स्थितिमा सबैले सरकारलाई साथ दिनुपर्छ भनिरहेको समयमा उहाँ आफैंले विवाद निकाल्नुभयो । सरक्क अध्यादेश फिर्ता गरेपछि यो विवाद साम्य हुन सक्थ्यो । तर प्रधानमन्त्री ओलीले सांसद किनबेच सुरु गर्नुभयो । अपहरणको तरिकाले सांसद डाक्टर सुरेन्द्र यादवलाई काठमाडौं ल्याउनुभयो । त्यसले पार्टीलाई झन् बदनाम गर्ने काम गर्यो । पार्टीभित्र पनि अरु विवादहरु त पहिलेदेखि कायमै थियो । अध्यादेश र सांसद अपहरण प्रकरणले पुराना विवादलाई पनि उजागर गरेको हो ।
आफैंले खनेको खाल्डोमा ओली
प्रधानमन्त्री ओली अरु कसैको कारणले नभई आफ्नै कारणले फस्नुभएको हो । आफूले खनेको खाडलमा उहाँ आफैँ पर्नुभएको हो । यहाँ कसैले कसैलाई आरोप लगाउने ठाउँ नै छैन । नेकपाको सेफ ल्यान्डिङ साधारण ढंगले हुने सम्भावना छैन । पार्टीका अरु कसैलाई पनि नगनिकन आफू मात्रै सबै हो भन्ने आचरण केपी ओलीले पहिलेदेखि नै देखाउँदै आउनुभएको थियो । अहिले जुन विवादहरु देखा परेको छ, यो नयाँ विवाद नै होइन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक, स्थायी समति, केन्द्रीय समिति बैठक केही पनि राख्न नमान्ने गर्दै आउनुभयो । एकलौटी ढंगले अघि बढ्ने प्रवृत्ति ओलीमा देखियो । वैठक बसेको मात्रै भए पनि पार्टी एउटा सिष्टममा अघि बढ्ने थियो । आलोचना गर्नेहरुले बैठकमा नै आलोचना गर्थे । यसरी बाहिर पोखिने वातावरण बन्दैन थियो । सिष्टम गडबढ हुँदा आरोप, प्रत्यारोप र द्वन्द सडकमा छताछुल्ल भएको हो । यसमा सबैभन्दा धेरै जिम्मेवार व्यक्ति प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली नै हुनुहुन्छ ।
Image may be NSFW.
Clik here to view.
गतल नियत
विश्व नै कोरोना भाइरसको संक्रमणले आक्रान्त भैरहेको बेलामा प्रधानमन्त्री ओलीले यो के गर्नुभएको ? अरु कसैले पनि सरकारमाथि औँला ठड्याएका त थिएनन् । सबैले सरकारलाई सहयोग गर्नुपर्छ भनेर नै लागिरहेका थिए । तर, खराब नियतले प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुभयो । पार्टी एकलौटी ढंगले चलाउने भन्ने मनसायबाट प्रधानमन्त्री ओली पहिलेदेखि नै ग्रसित हुनुहुन्थ्यो । उहाँ आफैले यो छताछुल्ल पार्नुभयो ।
जुन पार्टीको आफ्नै झण्डै २ तिहाई बहुमत छ, उसले नत्र किन ल्याउनुपर्थ्यो अध्यादेश ? अनि अर्को कुरा अर्काको पार्टीको सांसद चोर्न जान किन पर्थ्यो र ? यसले त उहाँको नियत सफा देखिएन नि हैन र ? देश यस्तो अवस्थाबाट गुज्रिरहेको समयमा उहाँलाई यस्तो बुद्धि कहाँबाट आउँछ ? प्रधानमन्त्रीको यो बुद्धिलाई सुबुद्धि भन्न त मिल्दै मिल्दैन । सामान्य दिमागले यस्तो काम गर्नै सक्दैन । सिल्ली दिमागले हो यस्तो काम गर्ने ।
अरुको पार्टी फुटाउने र आफ्नै पार्टीमा पनि धमास देखाउने रणनीति
प्रधानमन्त्री ओलीले जुन अध्यादेश ल्याउनुभयो त्यसमा उहाँका केही उद्देश्य छन् जस्तो लाग्छ मलाई । पहिलो उद्देश्य भनेको आफ्नै पार्टीमा फुटको धमास दिएर आफ्नो राज चलाउने हो । अर्को उद्देश्य अर्काको पार्टीलाई फुटाएर केही सांसदलाई आफ्नो पार्टीमा ल्याउने हो ।
त्यसैगरी प्रदेश २ को सरकार विघटन गराएर आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्ने उहाँको रणनीति देखिन्छ । यी उद्देश्यबारे त कोही पनि अनभिज्ञ छन् जस्तो लाग्दैन मलाई । यही नियतले उहाँले सबै मान्छे घरघरमा बसिरहेको मौका छोपेर दुई अध्यादेश ल्याउनुभएको हो । तर, नियत सफल हुन सकेन ।
बेलैमा गुटका हांगा छिनाल्नुपर्थ्यो
पार्टी एकता हुँदाखेरी नै कार्यकर्तासँग विचार र कार्यनीतिबारे छलफल नै भएन । अंकगणितको हिसावले मात्रै पार्टी एकता हुन पुग्यो । अलग अलग गुटहरुलाई जिवितै राख्नुभयो । तत्कालीन नेकपा एमालेभित्रकै ३ वटा गुट र तत्कालीन माओवादी भित्रकै २ वटा गुट मिलेर नेकपाभित्र ५ वटा गुट बन्न पुग्यो । त्यो गुटभित्र पनि अर्को गुटको हाँगा पलाउन पुग्यो । गुटैगुटको संयुक्त मोर्चा जस्तो भयो नेकपा पार्टी । एउटा सानो सत्ताको तन्तुले मात्रै गुटहरुको एकतालाई जोडेको छ । हामी एक भएनौं भने सत्ताबाट बन्चित हुन्छौँ भन्ने लागेर नै उहाँले सत्ता केन्द्रीत पार्टी एकता गर्नुभयो । त्यो सानो सत्ताको त्यान्द्रो चुँडिनासाथ सबै गुटहरु छताछुल्ल हुनेवाला छ ।
Clik here to view.

ओलीकै दम्भले प्रचण्ड गुमनाम
पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केही काम गर्ने प्रयत्न गर्दै हुनुहुन्थ्यो । बैठकहरु डाक्ने गर्न थाल्नुभएको थियो । तर, बैठक मात्रै गरेर पनि अध्यक्षको भूमिका निर्वाह हुन सक्दैन । हालीमुहाली सबै केपी ओलीमै छ । प्रचण्डले पनि हालीमुहालीलाई चिर्न सक्नुभएन । देशलाई कसरी अघि बढाउने, देशमा कसरी परिवर्तन गर्ने, गरीबका दैलोमा कसरी परिवर्तन लैजाने भन्ने खालका ध्याउन्न दुबै अध्यक्षमा देखिँदैन । उहाँहरुका ध्याउन्न त कसरी सत्तामा जाने भन्ने मात्रै छ । अहिलेको झगडा पनि यही ध्याउन्नले पैदा भएको हो ।
केपी ओलीले सत्ता भन्दा अरु केही देख्नु नै भएन । कान र आँखा बन्द गरेर मुख मात्रै खुल्ला गर्नुभयो । अरुलाई जे मन लाग्यो त्यही भन्ने तर उहाँले आफ्नोे कानलाई भने बन्द गर्नुभएको छ । केही गर्न सक्नुभएको छैन । यो दुर्घटना त अवश्य नै एकदिन हुने नै थियो । तर, कोरोनाको संक्रमणले निम्त्याएको समयमा नै दुर्घटना हुन पुग्यो । यो एकदमै अस्वाभाविक बनेको छ । अर्को कुरा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई विश्वास नै गर्न सक्नुभएन । उहाँले विश्वास गर्नुभएको भए एकले प्रधानमन्त्री सम्हालेर अर्कोलाई पार्टी अध्यक्ष दिएको भए त भैहाल्थ्यो नि । काम चाँही केपी ओलीले भन्दा धेरै गर्ने मान्छे हो प्रचण्ड, तर त्यो वातावरण नै मिलाउनुभएन ।
प्राचण्डको चरित्रः नाम मात्रैको क्रान्तिकारी
पुष्पकमल दाहाल प्रचण्डले ठूलो अवसर पाउनुभएको थियो । पहिलो प्रधानमन्त्री बन्नुभएको समयमा आएको अवसरलाई उहाँले सदुपयोग गर्न सक्नुभएन । आम नागरिकबाट पनि ठूलो अपेक्षा थियो । उहाँसँग ७० प्रतिशत भन्दा धेरै बहुमत समेत थियो । नेपाली कांग्रेस बाहेक सबैको साथ उहाँलाई थियो । त्यतिखेर उहाँलाई परिवर्तन गर्न के ले रोकेको थियो ? त्यो ठूलो मौका उहाँले गुमाउनुभयो । जुगमा एकचोटी आउने मौका उहाँले हातबाट फुत्काउनुभयो । त्यही मौका गुमेकै कारण देशले अहिले ठूलो मूल्य चुकाइरहनुपरेको छ । त्यो मौका समात्न सक्नुभएको भए देश परिवर्तन भएर कहाँबाट कहाँ पुगिसक्थ्यो होला । गलामा माला लगाउने रहरले देशभर घुमेर मात्रै बस्नुभयो, काम गर्नुभएन ।
क्रान्तिबाट आएको मान्छे, क्रान्तिकारी हुँ भन्ने अनि क्रान्तिको कार्यक्रम ल्याउन सक्नुपरेन ? उहाँले जनतामा क्रान्तिका कार्यक्रम लैजान नै सक्नुभएको छैन अहिले । उहाँ कसरी क्रान्तिकारी बन्नुभयो ? उहाँको अस्थीर स्वभावले पनि आफू र सिंगो देशलाई नै नोक्सान पुर्याइरहेको छ । अहिले नेकपाभित्रको झगडा मिलाउनमा उहाँको निर्णायक भूमिका हुन सक्थ्यो । त्यो जिम्मेवारी पनि उहाँले निर्वाह गर्न सकिरहनुभएको छैन ।
जनतालाई धोका
मान्छेमा व्यापक निराशा पैदा भैरहेको छ । उहाँहरुले धोका दिनुभएकै कारणले यस्तो भएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र प्रचण्डले ऐतिहासिक २ ठूला अवसरलाई त्यत्तिकै खेर फाल्नुभयो । प्रचण्डले पहिलो अवसर गुमाउनुभयो । केपी ओलीले त उखान टुक्कामै समय बिताउनुभयो । साढे २ वर्ष त ओलीले जोक गर्दैमा बिताउनुभयो । देशको आमूल हेरफेर गर्ने ऐतिहासिक अवसरलाई उहाँले सदुपयोग गर्न सक्नुभएन । नचाहिँदो कुरामा झगडा गरिरहनुभएको छ । झगडा गर्ने बेला हो अहिले ? सारा नेपाल एकढिक्का भएर अघ बढ्नुपर्ने बेलामा प्रधानमन्त्री आफैंले निउँ खोज्ने काम गर्नुभयो । यसले आम नेपालीलाई त धोका भयो नै, उहाँहरुले आफैँलाई पनि धोका दिइरहनुभएको छ । अर्को कुरा प्रधानमन्त्री ओलीको चीची पनि चाहिने पापा पनि चाहिने भन्ने खालको रबैया रह्यो ।
केपी ओली र प्रचण्डहरुबाट आशा टुटिसक्यो
केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा लगायत व्यक्तिहरुबाट परिवर्तनको सम्भावना मैले देख छाडिसकेँ । यो पुस्ताले देशलाई माथि उठाउने र परिवर्तन गर्ने सम्भावना छैन अब । अर्को पुस्ताले यिनीहरुलाई फालेर टेक ओभर गर्नुपर्छ । यिनीहरु अवसर आएर पनि काम गर्न नसक्नेहरु हुन् । अब यिनीहरुलाई पनि फालेर अर्को पुस्ता आउनुपर्छ । प्रचण्डलाई पहिलो अवसर आएको थियो, उनले त्यो अवसर गुमाए । केपी ओलीलाई दोस्रो अवसर थियो, जोक गर्दैमा समय विताए ।
शेरबहादुर देउवालाई पहिले नै हेरेकै हो । उनी त झन् लोकतन्त्रलाई नै राजाकहाँ बुझाउन जाने मान्छे हुन् । वामदेव, माधवहरुबाट त झन् केही सम्भावना नै देखिँदैन । अनि कसलाई पत्याउने हामीले ? अब नयाँ पुस्ता आउनुपर्छ । नयाँ पुस्ता पनि स्वच्छ, स्वस्थ र सक्षम व्यक्ति आउनुपर्छ । मान्छे नभएका होइनन् काम गर्ने तर उनीहरु अवसरबाट बन्चित भैरहेका छन् । अवसर अहिलेको पुस्ताले त्यत्तिकै हस्तान्तरण गर्नेवाला छैन । त्यो अवसर खोस्नका लागि नयाँ पुस्ता तयार हुनुपर्यो ।
अबको सेफ ल्यान्डिङ के त ?
अबको सेफ ल्यान्डिङ भनेको अहिलेका नेतृत्वकर्तालाई पाखा लगाउनुपर्छ । उनीहरुलाई तत्काल हटाउन जुझारु युवा शक्ति जुर्मुराउनुपर्छ । उनीहरु हट्ने वित्तिकै सम्हाल्ने मान्छेहरु धेरै छन् । मात्र अवसर पाइरहेका छैनन् । अब हामी सबै जनता मिलेर आवाज उठाएर यिनीहरुलाई पाखा लगाउनुपर्छ । हामी जनताले पनि चुनाव लड्न आयो भने खुरुखुरु भोट दिनाले पनि समस्या यस्तो भएको हो ।
अर्को सक्षम नेतृत्व नल्याएसम्म राजनीतिक समस्या समाधान हुँदैन । यस्तो बेलामा पनि अध्यादेश लगायत विषयमा प्रवेश गर्ने यस्तो सिल्ली प्रधानमन्त्रीबाट के आशा राख्ने हो र हामीले ? सबैले साथ दिँदा पनि आफैँ विवाद झिक्ने केपी ओलीहरुबाट पनि नेपालको भविष्य उज्ज्वल छ भनेर विश्वास गरेर बसेर होला र अब पनि ?
(वाम राजनीतिक विश्लेषक श्याम श्रेष्ठसँग साझापोष्टले गरेको कुराकानीमा आधारित)
The post ‘यस्तो संकटमा पनि सांसद किनबेच गर्ने कस्तो सिल्ली प्रधानमन्त्री !’ appeared first on Sajha Post.