क्यानाडाको स्वास्थ्य सेवा प्रणाली
विभिन्न आरोह-अवरोह पार गर्दै सन् १९८४ मा क्यानाडाको संघीय सरकारले “द क्यानाडा हेल्थ एक्ट’ जारी गरी क्यानाडाबासी सबै जनतालाई नियमित स्वास्थ्य जाँच र अस्पतालमा गरिने उपचार सम्पूर्ण रुपमा निःशुल्क गरिने ‘युनिभर्सल हेल्थ केयर’ शुरु गरियो । यो प्रणाली बेकम्मा र लागू गर्नै नसकिने भनी शुरुमा यसका आलोचक रहेकाहरु पनि अहिले यसलाई संसारमै रहेको सर्वोत्तम स्वास्थ्य प्रणाली भएको स्वीकार गर्छन् । साथै यो क्यानाडाको स्वास्थ्य प्रणालीको अभिन्न अंग भएको र क्यानाडामा यो नभएको स्वास्थ्य सेवा स्वीकार्न नसकिने अवस्था भनी स्वीकारिसकेको देखिन्छ ।
क्यानाडामा संघीय सरकार र प्रान्तीय सरकार मिलेर स्वास्थ्य सेवाको खर्च छुट्याएको हुन्छ । हरेक वर्षको बजेटमा कूल गार्हस्थ उत्पादनको ११% जति स्वास्थ्य क्षेत्रमा छुट्याइन्छ । यो रकम हालको बजेटमा हेर्दा प्रतिव्यक्ति क्यानेडियन डलर सात हजारभन्दा बढी हुन आउछ । यहाँ परिवार स्वास्थ्य क्लिनिक, अस्पताल, हरेक स्थानीय निकायमा जनस्वास्थ्य र घर घरमै सेवा पुर्याउने गरी स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ। हरेक नागरिकले आफ्नो पारिवारिक डाक्टर बनाउने र नियमित स्वास्थ्य जाँच गर्ने, विशेषज्ञ वा अरु सेवा चाहिए पारिवारिक डाक्टरको सिफारिस वा अस्पतालको आकस्मिक सेवामा गई सेवा लिन सकिन्छ ।
सबै डाक्टर र अस्पतालहरुले सिधै पैसा नलिई मानिसहरुको स्वास्थ्य कार्डबाट सरकारले तोकेको शुल्क सरकारबाटै लिने व्यवस्था छ । अस्पतालबाहिर किन्नुपर्ने औषधि चाहिँ सामान्यतया सरकारले नव्यहोर्ने तर बच्चा, अशक्त, बुढाबुढीहरु र आम्दानी कम हुनेहरुलाई ड्रग कार्डको व्यवस्था गरी निःशुल्क औषधि पनि प्रदान गरिन्छ । पर्यटक र विद्यार्थीहरुको हकमा भने बीमा गरेको छैन भने चाहिँ स्वास्थ्य सेवा निकै नै महंगो पर्न जान्छ । तर सरुवा रोग अथवा अरु जनताको स्वास्थ्यलाई खतरा हुने रोग लागेमा भने पर्यटक र विद्यार्थीहरुलाई पनि निःशुल्क उपचारको व्यवस्था छ ।
क्यानाडामा कोभिड-१९ संक्रमण र यसको व्यस्थापनको स्थिति
डिसेम्बेर २०१९ मा चीनबाट सुरु भएको कोरोना भाइरसबाट लाग्ने कोभिड-१९ रोगले हालसम्ममा संसारमा ३० लाख भन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने २ लाख भन्दा बढीको मृत्यु भैसकेको छ । यो रोग लागेका व्यक्तिमध्ये करिब ८५ प्रतिशत जतिमा सामान्य लक्षणहरु मात्रै देखिने तर करीब ५ प्रतिशतमा श्वासप्रश्वासमा कठिनाई उत्पन्न भई अक्सिजन लगाई र केहीलाई कृत्रिम श्वासप्रश्वासको लागि भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने हुन्छ । अहिलेसम्म यसलाई उपचार गरी निको पार्ने कुनै खास औषधि नभएकोले जतिसुकै धनि र शक्तिशाली राष्ट्रमा पनि यसबाट हुने मृत्यु कम गर्न हम्मेहम्मे परेको छ। यसबाट मेरो जन्मभूमि नेपाल र गत १० वर्ष देखिको कर्मभूमि क्यानाडा पनि अछुतो रहने कुरै भएन । हालसम्म क्यानाडामा ५० हजारको हाराहारीमा र नेपालमा ५४ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या क्यानाडामा २७०० भन्दा बढी छ र नेपालमा हालसम्म कसैको पनि मृत्यु भएको छैन। संसारमा यसबाट संक्रमित हुने र त्यसको कारणले मृत्यु हुने संख्या दिनैपिच्छे बढिरहेको छ ।
क्यानाडामा कोरोना संक्रमणको इतिहास केलाउदा २०२० जनवरी २५ मा चीनको वुहान शहरबाट टोरोन्टो आएको एक व्यक्तिमा कोभिड-१९ को जाँच गर्दा पोजिटिभ पाइएसँगै शुरु भएको तर २०२० मार्च महिनाको १० सम्ममा पनि १०० भन्दा कम देखिएको र अरु देशमा गई फर्केकाहरु वा उनीहरुको परिवारका सदस्यहरुमा मात्रै संक्रमण भएको देखिएकोले समुदायमा संक्रमण भएको शंका गरिएको थिएन । मार्च १० मा झन्डै १०० जनाबाट मार्च १६ मा ४४१ जना (४०० प्रतिशतभन्दा बढी) कोभिड-१९ संक्रमित व्यक्ति भएको रिपोर्ट आएपछि समुदायमा संक्रमण भइसकेको प्रमाणित भएको र त्यसको लागि नियन्त्रणको लागि समूहगत रुपमा हुने भेला कम गर्नुपर्ने महसुस गरी मार्च १३ पछि मार्च ब्रेकको लागि १ हप्ता छुट्टी हुने स्कुलहरु कोभिड-१९ का कारण अरु दुई हप्ताको लागि समेत गरी अप्रिल ५ सम्म बन्द गरियो र स्कुलहरु अझै १ महिनासम्म नखुल्ने निश्चित भैसकेको छ ।
यसरी बिस्तारै कोभिड-१९ का संक्रमितको संख्या बढ्दै जान थालेपछि मार्च महिनाको बीचसम्ममा रोकथामको लागि भनी संघीय सरकारले क्यानाडा र अमेरिकाबीचको खुल्ला सीमाना व्यवस्थित गरी अन्य देशबाट क्यानाडा भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने र सबै प्रादेशिक सरकारहरुले संकटकाल घोषणा गरी अति आवश्यक सेवा प्रदान गर्ने बाहेकका सबै कामलाई बन्द गर्ने निर्णय गरी अहिलेसम्म ६ हप्तादेखि लगातार बन्दको सामना गरिरहनु परेको छ । तर आवागमन मै पूरै रोक लगाइएको अवस्था भने छैन । मानिसहरु सामाजिक/भौतिक दूरी कायम हुने गरी शारीरिक व्यायामको लागि, अति आवश्यक कामको लागि र दैनिक जीवनमा आवश्यक पर्ने बस्तु र औषधि किन्नको लागि घरबाहिर जानलाई रोकटोक गरिएको छैन । यसबीचमा संघीय र प्रान्तीय सरकारहरुले बन्दको कारणले काम गुमाउनेलाई र आफ्नो व्यापार व्यवसाय बन्द गर्नुपर्ने व्यवसायीहरुलाई मासिक आम्दानी/तलबको ७५% वा महिनाको क्यानेडियन डलर दुई हजारसम्म र गर्मी छुट्टिको बेला काम गर्ने विद्यार्थीहरुलाई क्यानाडियन डलर १२५० को दरले ४ महिनासम्म राहत स्वरुप प्रदान गर्ने लगायत १०० बिलियन डलर भन्दा बढीको सहयोग बजेट पारित गरिसकेको छ ।
क्यानाडामा हरेक दिन संघीय, प्रान्तीय र स्थानीय सरकार प्रमुखले स्वास्थ्य विशेषज्ञ सहितको उपस्थितिमा आ-आफ्ना क्षेत्रमा भइरहेका प्रगति समीक्षा साथै परेका अप्ठ्याराहरु, रोकथामका लागि गरिने नयाँ योजना र सो को पालनाका लागि जनतामा अपिल साथै पालना नगरेमा गरिने दण्ड जरिवाना सहितका कुराहरु प्रस्तुत गर्दछन् । निःशुल्क तथा दह्रो स्वास्थ्य सेवा प्रणाली, जनस्वास्थ्य विज्ञको सुझाब अनुसार चल्ने सरकार र सरकारले अनुरोध गरे अनुसारका व्यवहारहरु नागरिकले पालना गरेको कारणले गर्दा आवागमन ज्यादै भएता पनि कोरोना रोगीको संख्या र त्यसको कारण हुने मृत्युदर अरु धेरै विकसित देशहरुको तुलनामा क्यानाडामा अहिलेसम्म न्यून रहेको देखिन्छ ।
व्यापक रुपमा जाँच गरी आएका कोभिड-१९ का संक्रमितहरुको रिपोर्ट जनस्वास्थ्यमा आइसकेपछि पब्लिक हेल्थ नर्स अथवा हेल्थ इन्स्पेक्टरले बिरामीलाई फोनबाट घरमै बसेर कसरी व्यवस्थापन गर्ने बारेमा बताउनुका साथै अस्पताल जानु पर्ने लक्षणहरु र रोगीसँगको सम्पर्कमा आएकाहरुको पहिचान गरी उनीहरुलाई आवश्यक स्वास्थ्य शिक्षा प्रदान गरिन्छ । स्वाश फेर्न कठिनाई भएका बिरामीलाई तुरुन्तै अस्पताल लगी आवश्यकता अनुसार अक्सिजन लगाउनेदेखि भेन्टिलेटरको सहयोगमा स्वाशप्रश्वाश कायम गराउनेसम्मका सेवा अहिलेसम्म कुनै कठिनाइबिना नै उपलब्ध भइरहेको छ । त्यसको कारण हुने मृत्युदर अरु धेरै विकसित देशहरुको तुलनामा क्यानाडामा अहिलेसम्म न्युन रहेको देखिन्छ ।
नेपालको स्वास्थ्य सेवा र कोरोनाको सन्दर्भ
१९७८ मा तत्कालीन रसियन फेडरेसन र हालको काजकिस्तानको अल्माआटा शहरमा भएको स्वास्थ्य सम्मेलनबाट घोषणा भएको प्राथमिक स्वास्थ्य सेवालाई विश्व स्वास्थ्य संगठनले मूल मन्त्र मानी विशेष गरी अविकसित मुलुकमा आधारभूत सेवा सबै जनताले पाउने गरी लागू गर्न सिफारिश गरेपछि तत्कालीन नेपाल सरकारले पनि त्यसका मुख्य बुँदाहरु लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको देखिन्छ । २०४८ को स्वास्थ्य नीतिमा प्राथमिक स्वास्थ्य सेवालाई मूल मन्त्र ठानी स्वास्थ्य सेवालाई प्रतिकारात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक सेवामा विभाजन गरी धेरै योजना बनाएको भएता पनि कार्यान्वयन पक्षमा भने सरकारको प्रतिबद्धता नभएकोले सोचे जस्तो सफलता हात लाग्न सकेको छैन । अझ स्वास्थ्य र शिक्षा समेत निजी क्षेत्रलाई व्यापार जसरी सञ्चालन गर्न दिएपछि र उनीहरुले गरेका कुराको निगरानीमा पनि उदासीन भएपछि गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचबाट दिनानुदिन टाढा हुँदै गएको भान हुन्छ ।
गणतन्त्र नेपालको हालको संविधानले पनि आधारभूत स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । त्यसै अनुसार धेरै महत्वाकांक्षी कार्यक्रम र योजनाहरु पनि ल्याइएका छन् । तर फेरी पनि स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी नगर्नु, ल्याइएका योजना नारामा सीमित रहनु र कार्यान्वयनमा उदासिनता हुनु, जनताले पनि सरकारले मात्रै गर्ने हो भनी सहयोग नगर्नु , कर्मचारी र कार्यक्रममा ज्यादा नै राजनीति हावी हुनु जस्ता कारणले उपलब्धि कति हुन्छ भन्ने कुरामा धेरै प्रश्न उठाउने ठाउँ देखिन्छ ।
कोरोनाको नियन्त्रणको सन्दर्भमा कुरा गर्दा नेपाल सरकारले लिएका नीतिहरु ठीकै देखिए पनि स्वास्थ्य विज्ञहरु भन्दा मन्त्री र प्रधानमन्त्री नै अघि सरी स्वास्थ्य शिक्षा दिने प्रवृत्ति, सरकारले यस्तो माहामारीको बेलामा पनि अरु पार्टीहरुलाई साथै लिएर जान नखोज्ने र जनताले पनि सरकारले आग्रह गरे अनुसारका व्यवहार नगर्ने र जबरजस्ती डण्डा नै प्रयोग गरेपछि मात्रै पालन गर्ने जस्ता प्रवृत्ति पनि बिस्तारै परिवर्तन गर्नुपर्ने देखिन्छ ।
कोरोनाको सन्दर्भमा निजी क्षेत्रका अस्पतालले गरेका सेवा बन्दको स्थितिलाई हेर्दा उनीहरुको सेवाभाव देखाउने दाँत मात्रै रहेछ भन्ने प्रमाणित भएको छ । त्यसैगरी यो सबै गरेको देख्दा पनि धेरै शक्तिशाली भनी प्रचार गरिएको सरकार समेत मुकदर्शक बाहेक केही बन्न नसकेको देख्दा झन् निराशा छाएको छ । यसमा सरकारबाहिर रहेका पार्टीहरुको मौनता पनि निकै रहस्यमय छ । किनकि धेरैजसो यस्ता निजी स्वास्थ्य र शिक्षण संस्थाहरु कुनै न कुनै पार्टीका नेता वा कार्यकर्ता कै हुन् । त्यसैले कसैले पनि यस्तो महामारीको बेलामा सेवा दिन नसक्ने/नखोज्ने अस्पताललाई सरकारले आफ्नो कब्जामा लिएर कम्तिमा माहामारीभर सेवा पुर्याउने गरी सञ्चालन गर्नु पर्दछ भन्ने आवाज उठाएको देखिँदैन ।
गणतन्त्र नेपालको हालको संविधानले पनि आधारभूत स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ । यसको मर्मलाई आत्मसात गरी साँच्चै लागू गर्ने हो भने अहिले किताबमा सीमित भएका योजनालाई उच्च राजनीतिक प्रतिवद्धताका साथ कार्यान्वयन गर्ने नेतृत्व, त्यसलाई चाहिने दक्ष जनशक्ति र उनीहरु दत्तचित्त भई काम गर्ने वातावरण र जनताले आफ्नो स्वास्थ्य राम्रो बनाउने जिम्मा मेरो पनि हो भनी सकारात्मक सोचसहितको सहभागिता जरुरी हुन्छ । सबै मिल्यो भने असम्भव भन्ने केही छैन, आशा गरौं भविष्यमा नेपालमा पनि सबैले सबै खालका स्वास्थ्य सेवा निःशुल्क पाउने दिन देख्न पाइन्छ ।
(पाण्डे क्यानाडाको टोरन्टो पब्लिक हेल्थमा कार्यरत छन्)
The post कोरोनाले स्वास्थ्य सेवा प्रणालीलाई सिकाएको पाठ appeared first on Sajha Post.