लकडाउन कतिसम्म अगाडि गरेको नीतिलाई सफल बनाउन सिंगो देश एक ढिक्का भएको छ । यद्यपि सरकार आफ्नै कार्यशैली, निर्णय क्षमता र व्यवस्थापकीय क्षमताका कारण विवादमा परेको भए पनि जनतालाई अधिकतम सेवा दिने चाहना प्रष्ट देखिन्छ । राज्य सञ्चालनमा चाहनाभन्दा भूमिका हेरेर सरकारको मुल्याङ्कन हुन्छ र कोरोना नियन्त्रणमा यो सरकारको खेलेको भूमिकाको मुल्याङ्कन पनि कोरोना पश्चात् हुने नै छ ।
हामी सबैलाई थाहा भएको कुरा हो भने लकडाउन हाम्रो चाहना होइन । यो वाध्यता हो । तर, यो भन्दा उत्तम विकल्प हाम्रासामू नभएको हुँदा यो नै सबैभन्दा राम्रो अवसर हो । त्यसकारण अब लकडाउनलाई रोचक र उत्पादनमुलक बनाउनुमा नै हामी सबैको भलाई छ । कोरोनासँग लड्न लकडाउन उत्तम विकल्प हुँदाहुँदै पनि यसले सिर्जना गरेको प्रतिकूलतालाई अनुकूलतामा बदल्न हामी सबैलै हरसम्भव प्रयास गर्नुपर्दछ । विशेषतः मजदूर वर्ग, सहरमा भाडामा बस्ने जनसमुदाय, विपन्न वर्ग, नियमितरुपमा औषधि सेवन गरेर अस्पताल जानपर्ने व्यक्तिहरु, गर्भवती महिला सबैभन्दा प्रभावित वर्गहरु हुन् । लकडाउनको समय लामो भएको र पूरै समय घरमा नै बिताउन पर्नेहरुलाई भने बस्दाबस्दै पट्यास लागेर अप्ठयारो भएको भन्ने गुनासो सामाजिक सञ्जालमा देख्न पाईन्छ ।
लकडाउनलाई रोचक र उत्पादनमुलक बनाउन व्यक्ति, परिवार, समुदाय, सञ्चार माध्यम र सरकारको भूमिका महत्वपूर्ण हुन्छ । घरमै वसेर समय बिताउन गाह्रो भएकाहरुले समयलाई सिर्जनशील बनाउन व्यक्ति स्वयम् र परिवारको भूमिका अहम् हुन्छ । यी भाग्यमानीहरुले आफ्नो दैनिकीलाई सकारात्मक बनाउन वर्तमान परिवेशमा भएका सकारात्मक पक्षहरुमा ध्यान दिनुपर्दछ भने उठेदेखि नसुतेन्जलसम्म आफुलाई सिर्जनात्मकरुपमा व्यस्त राख्न सक्नुपर्दछ । यस्तो अवस्थामा सकारात्मक सोच भएका व्यक्तिहरुको संगत, सकारात्मक ऊर्जा दिने समाचार, फिल्म, पुस्तकहरुमा ध्यान दिनुपर्दछ । मनमा नकारात्मक विचारहरुलाई आउन दिनु हुँदैन ।
संसारलाई आक्रान्त बनाएको भाइरसबाट आफू, परिवार, आफन्तजन र साथीभाइहरु सुरक्षित भएको अवस्थामा घरै बसेर संसार नियाल्न पाउनु सबैभन्दा सकारात्मक अवस्था हो । यतिबेला मेरो पढाई छुट्यो, व्यवसाय बन्द भयो, साथी भेटन पाइएन, घुम्न जान पाईएन जस्ता कुरा गर्नेबेला होइन । यो नकारात्मकता फैलाउने नभई सिर्जशिलता र सकारात्मकता बढाउने बेला हो । हामी घरमा बस्नेहरुले जति सकारात्मक ऊर्जा प्रवाह गर्न सक्छौं, त्यति नै मात्रामा यो युद्धको अग्र पंक्तिमा जीवनको बाजी लगाएर हाम्रो सुरक्षाका लागि खट्नुहुने चिकित्सक, नर्स, अहेव, ल्याव प्राविधिकहरु, सञ्चारकर्मीहरु, सुरक्षाककर्मीहरु, सरकारी प्रतिनिधिहरु र स्वयसेवीहरुलाई हौसला प्राप्त हुन्छ । यतिबेला समानुभूति प्रदर्शन गरेर ऐक्यवद्धता प्रदर्शन गर्नेबेला हो ।
लकडाउन पछि सिर्जित नयाँ अवस्थाले शहरी मजदूर, घरवाहिर बसेको जनसमुदायमा निकै प्रतिकूलता सिर्जना भएको छ । यद्यपि यो परिस्थितीसँग जुध्ने हतियार नै लकडाउन हो । यतिबेला लकडाउनको विकल्प त छैन नै तर लकडाउनलाई सहज बनाउन प्रभावित व्यक्तिसहित सरकार, नागरिक समाज र सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ र केही हदसम्म नेपालमा सवैको सकारात्मक भूमिका देखिएको छ यतिबेला ।
लोकतान्त्रिक समाजमा सबैभन्दा कमजोर वर्गलाई सरकारको आवश्यकता पर्दछ । सरकारले गर्ने कुनै पनि निर्णयले सबैभन्दा कमजोर वर्गलाई कस्तो प्रभाव पर्दछ भन्ने कुरा सरकारले विचार गर्नु सक्नुपर्दछ । कथमकथाचित सरकारका निर्णयहरुले कमजोर वर्गलाई प्रतिकूल प्रभाव पार्दछ भने ती प्रतिकूलताको निराकरण गरेर अनुकूल बनाउने जिम्मेवारी पनि सरकारको नै हो । सरकार र प्रवुद्ध वर्गलाई स्मरण रहोस्- कमजोर निरीह वर्गले सरकारका निर्णयहरुलाई न त चुनौति नै दिन सक्दछन् न त प्रतिकारमा नै उत्रिन्छन् । त्यो वर्गसँग जस्तोसुकै निर्णयहरु पनि सहनुको विकल्प हुँदैन ।
सरकारले अरुभन्दा धेरै अगाडि हेर्न सक्नु पर्दछ र जस्तोसुकै विपत्तिमा पनि नेतृत्व कौशलता देखाउन सक्नु पर्दछ । हेक्का होस्, साधारण खाले निर्णयहरुले सरकारलाई असाधारण बनाउँदैन । विपत्ति सामाधानमा सरकारले कस्तो भूमिका खेल्यो ? सरकारले कमजोर जनताको मुहारमा मुस्कान ल्याउन सक्यो की सकेन भन्ने कुराले नै सरकारको भूमिकाको मापन हुनेछ । यतिबेला घरमै बस्नेहरुका समस्या फरक छन् र घर पुग्न चाहनेहरुका समस्या फरक छन् । सरकारले दुवैथरीका समस्यालाई ध्यान दिनपर्ने भए पनि प्राथमिकता के हो भन्ने निर्धारण गरेर कार्यक्रम सञ्चालन गर्नु पर्दछ । एउटै नीतिले दुवैखाले समस्यालाई समाधान गर्न सक्दैन ।
यतिबेला सरकारले देशको सीमा र नागरिकको जीवनप्रति उच्च स्तरको जवाफदेहिता र जिम्मेवारी प्रस्तुत गर्न सक्नु पर्दछ । कोरोना १९ संक्रमणको प्रकृतिलाई ध्यानमा दिएर जो जहाँ छ, त्यही बस्ने व्यवस्था गर्ने सरकारी प्रयास प्रशंसनीय हो । तर संक्रमणको डर, परिवारप्रतिको माया, अस्पष्ट सूचना, राहतमा भएको ढिला सुस्ती र अस्पष्ट मापदण्डका कारण लकडाउनको पछि ठूलो संख्यामा जनता घर फर्किन चाहिरहेका छन् ।
सकारात्मक कामको शुरुवात कहिल्यै पनि ढिलो हुँदैन । त्यसकारण लामो बाटो पैदल दूरी तय गरिसकेकाहरुको सुरक्षित व्यवस्थापन सरकारको प्रमुख दायित्व बन्नुपर्दछ र सरकारले बेलैमा ध्यान दिन जरुरी छ । सरकारको इमान्दार प्रयास सराहनीय हुँदाहुँदै पनिे विपत्तिको तयारीमा सरकारी संयन्त्र निकै कमजोर र सुस्त भएको छर्लङ्ग देखिएको छ । सरकारको इमान्दार प्रयासलाई बेवास्ता गर्दै लामो यात्रा तय गर्नेहरुले पनि सरकारलाई आरोप लगाउने ठाउँ भने छैन ।
कोरोनाको कारण उत्पन्न परिस्थितीले ठूलो संख्यामा विदेशमा रहेका नेपालीहरुले भोग्न सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सुझबुझपूर्ण निर्णय गर्नुपर्दछ । सरकारले लिने निर्णयले प्रवासी नेपालीहरुको जीवनमा ठूलो प्रभाव त पार्ने नै छ । स्वयम् सरकार र नेकपाको भविष्यलाई समेत निर्धारण गर्नेछ ।
यतिबेला सरकारले आफ्नो निर्णय क्षमता, रणकौशल, देश र जनताप्रति उच्च स्तरको जिम्मेवारी र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेछ । स्मरण रहोस्- यतिबेला नाफा घाटा वा गाह्रो सजिलो हेर्ने होइन । यतिवेला त विशुद्ध देश र जनताप्रतिको जिम्मेवारी निर्वाह गर्ने बेला हो । इतिहासले सबै सरकारलाई यस्तो अवसर दिँदैन । सरकारले यस परिस्थितिलाई समस्याको रुपमा नलिई देश र जनताको सेवा गर्ने उत्तम अवसरको रुपमा लिएर आफ्ना काम कार्यवाहीहरु सञ्चालन गर्न जरुरी छ ।
सरकार अहिले सबैप्रकारका आग्रह पूर्वाग्रहभन्दा माथि उठेर मानवीयता र बन्धुत्वको आधारमा गतिविधिहरु सञ्चालन गर्नु जरुरी छ । यतिबेला सरकारलाई सत्तारुढ र प्रमुख प्रतिपक्षी तथा प्रतिपक्षी पार्टीहरुको सहयोग अपरिहार्य छ । तर यस्तो बेलामा पनि देशभरी सबैभन्दा ठूलो सञ्जाल भएका नेकपा र नेका भूमिकाविहिन देखिनुले राजनीतिक पार्टीहरुप्रतिको जनताको विश्वास र आस्था डगमगाएको छ भने यी पार्टीहरुको भूमिकामा प्रश्न उठेको छ । यी पार्टीहरुको कमजोर भूमिकाको कारण प्रतिगामी शक्तिहरु अँध्यारो कोठामा बसेर मुख मिठ्याइ रहेका छन् भन्ने अनुमान गर्न सकिन्छ ।
लकडाउनको ३१ औं दिनसम्म परीक्षण गर्दा ५२ जनामा मात्रै कोरोना पुष्टि भएको कारण स्थिति उत्साहवर्द्धक भएको अनुमान गर्न सकिन्छ । लकडाउनले दैनिक जीवनलाई साँघुरो बनाउनका साथै उत्पादनका गतिविधिलाई ठप्पै पारेको छ । खुशीको कुरा के छ भने अब देशैभरीका नागरिकलाई कोरोनाको लक्षणहरु यसबाट कसरी बच्न सकिन्छ भन्ने बारेमा एक तहको जानकारी भएको छ । यस्तो अवस्थामा व्यक्तिगत सुरक्षा विधि अपनाएर दैनिक घरायसी उत्पादनका काममा फर्किने वातावरण पनि तयार भएको छ ।
अहिलेसम्म दैनिक उपभोगका वस्तुहरुको अभाव नभए पनि अब छिट्टै अभावको पनि सामना गर्नुपर्दछ । त्यसकारण सम्भावित चुनौतिहरुको सामना गर्न कडा सुरक्षा र निगारानीका साथ उत्पादनका गतिविधिहरु विशेषतः खेतीबाली, पशुपालन, औद्योगिक उत्पादन, विकास निर्मााण आयोजना र साना बजारहरु शुरु गर्नु पर्दछ भने विद्यालयहरु, कलेज, सिनेमा घर, डिपार्टमेन्टल स्टोर्सहरु अझै केही समय बन्द नै गर्नुपर्दछ । लामो दूरीका यातायातका साधनहरु र आन्तरिक हवाई साधनहरुमा सुरक्षासहित प्रयाप्त दूरी व्यवस्थापन गर्नु पर्दछ । सबैको सिर्जशील सोच, साझा प्रयास र सकारात्मक कार्यहरुले हामी यो माहामारीलाई परास्त गर्न सक्दछौं । त्यसकारण जो जहाँ छौं, त्यहीँबाट सकारात्मक योगदान दिन प्रतिबद्ध हौऔं ।
(डा. लामिछाने पोखरा महानगरपालिकाको शहरी योजना आयोगको उपाध्यक्ष हुन्)
The post के लकडाउनलाई उत्पादनशील बनाउन सकिन्छ ? appeared first on Sajha Post.