विज्ञहरु भन्छन्– हरेक ठूलो महामारीपछि मानव सभ्यताले कुनै ठूलो मोड लिन्छ । महामारीको प्रभाव जनस्वास्थ्य र जनसंख्या संरचनामा मात्र पर्दैन, त्यसको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक प्रभाव समेत हुन्छ । त्यस्तो प्रभाव नयाँ क्रान्ति सरह हुन्छ । महामारी मानवीय विपत्ति मात्र हैन, महाक्रान्ति पनि हो । यसमा ज्यान गुमाउनेहरु राजनीति क्रान्तिका सहिदहरुझैं बलिदान हुनेहरु हुन् ।
इतिहास पढ्दा त्यस्तै देखिन्छ । इतिहासमा त्यस्ता धेरै साना, ठूला महामारीको अभिलेख छ, जसले मान्छेको सोच, संस्कार र संस्कृतिलाई नयाँ मोड दिएको छ । राज्य प्रणाली र उत्पादन सम्बन्धलाई बद्लिदिएको छ । प्लेग त्यस्तै एउटा ठूलो महामारी थियो । प्लेगको चर्चा प्राचीन ग्रीक सभ्यतामै पाइन्छ । तर प्लेगको सबैभन्दा ठूलो माहामरी सन् १३४७ मा शुरुवात भएको थियो ।
इटालीबाट प्लेग शुरुवात भयो । त्यो ४ वर्षमा युरोपका सबै देश र मध्यपूर्वमा फैलियो । करिब एक तिहाई मानिस मरे । त्यसको सबैभन्दा नराम्रो असर राजा, धर्मगुरु र जमिन्दारहरुको बर्चश्वमाथि पर्यो । जनसंख्या घटेको कारण श्रम र पुँजीबीच असन्तुलन हुन पुग्यो । संसारमा त्यतिधेरै मानिस नै रहेनन्, जसलाई शक्तिशालीहरुले मनमाफिक कज्याउन पाउँन ।
प्लेग अघि राजा ईश्वरको अवतार र शक्तिको स्रोत हो भनिन्थ्यो । जनताले बुझेकी प्लेगको सामु राजाको कुनै शक्ति छैन । नत उसको पछाडि ईश्वर नै छ । राजासँग त्यस्तो कुनै शक्ति हुन्थ्यो भने प्लेगसामु राजा त्यति निरीह हुने थिएन । राजा वा राज्यका यावत शक्तिहरु दैविक वा प्राकृतिक हैनन, ती सामाजिक हुन् । सामाजिक सम्झौता र संगठनबाट उनीहरुले शक्ति पाएका हुन्, ईश्वर वा प्रकृतिबाट हैन । जब प्लेग जनतालाई यो सत्य बुझायो– युरोपमा निरंकुुश राजाहरु निरन्तर कमजोर हुँदै गए ।
अर्को चेतना धर्मान्धताको अन्त्य थियो । मानिसले धर्मगुरुको शक्तिमा पनि अविश्वास गरे । प्लेगमा सामु धर्म गुरुहरू निरीह थिए । आजका इरानका सर्वोच्च नेता खोमेनीजस्तो । प्लेगले जनतालाई यो बुझायो कि धर्मगुरुको शक्ति एक भ्रम मात्र हो । यो बुझाईले धर्मसुधार आन्दोलनहरु चिर्किए । रोमन क्याथोलिक रुढीवादी धारको विरुद्ध प्रोटेस्टेन्ट आन्दोलन अगाडि आयो ।
जिमिन्दारहरु नयाँ प्रकारको संकटमा फसे । जमिनको क्षेत्रफल व्यापक भयो । त्यसलाई खनजोत गर्ने जनशक्ति थिएन । भएको जनशक्तिको ज्याला बढ्यो । जमिन कमाउन चाहने किसान थिएनन् । जमिन्दार परिवारका मान्छेहरुको आफैं काम गर्ने बानी थिएन । उनीहरु कि त आफैं काममा रगटिनु परो कि त लगान असुलीका आधारमा कायम भएको शान र सुविधा कटौती गर्न राजी हुनु पर्यो । अन्ततः जमिन्दारहरु आफैं जमिन्दारी छोड्न राजी हुने थाले । त्यसले औद्योगिक क्रान्तिलाई प्रेरित गर्यो ।
निरंकुश राजतन्त्रप्रतिको अविश्वास लोकतन्त्रको आधारशील बन्यो । धर्मान्धताप्रतिको अविश्वास विज्ञान र प्रविधिको विकासको आधारशीला बन्यो । जमिन्दारीप्रतिको अविश्वास औद्योगिक क्रान्तिको आधारशीला बन्यो । आधुनिक युरोपको जग यी ३ वटा आधारशीलामा टिकेको थियो । यसो हुनुमा प्लेग महामारीको ठूलो भूमिका थियो ।
इतिहासको यो कथालाई आज कोरोना महामारीसँग तुलना गर्ने हो भने स्वभाविक रुपमा कोरोना–क्रान्तिका संकेतहरु अनुमान गर्न सकिन्छ । कोरोनाले पहिलो बहस स्वास्थ्य सेवा प्रणालीमा छेड्ने छ । सन् १९५० को दशकमा स्केन्डनेबियन देशहरुले ‘युनिर्भसल हेल्थ कियर सिष्टम’ स्वीकार गरेका थिए । स्वास्थ्य सेवा एक बजारलक्षित कोमोडिटी हो वा राज्यले प्रत्याभूत गर्नुपर्ने आधारभूत मौलिक अधिकार हो ? यो प्रश्नलाई कुनै सार्थक निष्कर्षमा पुर्याउन सायद कोरोना–क्रान्तिले मद्दत गर्ने छ ।
दोस्रो प्रश्न समकालीन विश्व व्यवस्थामाथि उठ्ने छ । सन् १९७० यताको संरचनात्मक सुधार कार्यक्रम, सन् १९९० पछिको नवउदारवादी भूमण्डलीकरण र सन् २०१० यता देखिएको विश्वव्यापी दक्षिणपन्थी राष्ट्रवादको लहर एकसाथ संकटग्रस्त देखिने छन् ।
अब अमेरिकीलाई समकालीन विश्वव्यवस्थाको नेता कस्ले किन मान्दछ ? मान्नुपर्ने कारण नै कहाँ बाँकी रहन्छ ? जो नवउदारवादी भूमण्डलीकरणको नेता थियो, त्यो नै ट्रम्पजस्ता सनकी र राष्ट्रवादी उत्पादनको कारखाना बन्यो भने नैतिक तथा राजनीतिक वैधानिकताको आधार नै समाप्त भयो ।
एकातिर अमेरिका अब विश्वको नेता रहेन, अर्कोतिर बेलायत झनै कठोर राष्ट्रवादतिर गयो । जोनसनको कडा ब्रेक्जिटले बेलायतलाई कोरोनाबाट तहसनतस हुन रोक्न सकेन । नत त्यो खाली ठाउँ युरोपियन युनियनले नै भर्न सक्यो । विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघजस्ता संस्थाहरु आज लाश गन्ने आइएनजिओजस्तो बन्न पुगेका छन् ।
तेस्रो– बहस सायद अर्थतन्त्रको संरचना, सम्पत्ति र स्वास्थ्य सम्बन्धमाथि हुनेछ । सन् १९९० यता धनीहरुको लोभको कुनै सीमा थिएन । उनीहरु यसरी सोचिरहेका थिए कि मानौं उनीहरुलाई धनले नै जन्माएको हो, धनले नै जोगाउँछ र मर्दा पनि जोगाड धनसँगै लिएर स्वर्ग जानेछन् । आज समाजको उपल्लो तहका दुई प्रतिशत मानिससँग तल्लो तहका ८०% मानिसको कुल धनभन्दा बढी सम्पत्ति छ ।
मानवजातिको इतिहासमा नै आर्थिक असमानता सबैभन्दा उच्च विन्दूमा छ । स्केन्डिनेवियन र सिंगापुरजस्ता केही देशहरुलाई छोडेर जमिन र आधारभूत आवास सुविधाको प्रश्न जटिल छन् । करोडौं मान्छेहरु आधारभूत सुविधा र सरसफाई विनाका झुपटपट्टीमा बस्न बाध्य छन् । तर नवउदारवादी सरकार र कर्पोरट संस्थाका मालिकहरुलाई त्यसले कहिँकतै छोएको छैन । विश्वको सम्पूर्ण शक्ति संरचना शक्ति सम्भ्रान्तहरु, धनसम्भ्रान्तहरु र ख्यातिसम्भ्रान्तहरु (पावरफुल, रिच र सेलिब्रेटी) को सेवा गर्ने संरचनाजस्तो भएको छ । मानौं कि उनीहरु धर्तीका मालिक हुन र बाँकी सबै उनीहरुको नोकरचाकर ।
कोरोनाले यो वर्गलाई राम्ररी बताएको छ कि आजका शक्तिशाली, धनी र सेलिब्रेटीहरुको शक्ति प्लेग अगाडिका राजा, धर्मगुरु र जमिन्दारहरुको जस्तै कृत्रिम, परपीडक र भ्रामक शक्ति हो । जब मानवतामाथि साँच्चै संकट आउँछ, यी सबै शक्तिहरु अर्थहीन हुन्छन् र आफै रुँदै कुना पस्दछन् ।
कोराना–क्रान्तिले चौथो बहस सन् २०१० यता विश्वव्यापीहरुमा उदित भएका तथाकथित राष्ट्रवादीहरुको सोचमाथि सृजना गर्नेछ । ट्रम्पदेखि मोदीसम्म, बोल्सोरानोदेखि बोरिस जोहन्सनसम्म, एर्दोगानदेखि भिक्टर अर्वानसम्म, सि जिङ पिङदेखि ओलीसम्म सबैले एकपटक सोच्नुपर्ने हुन्छ– आ-आफ्नो देशलाई महान बनाउँछु, बाँकी मरून् बाँचून्, जेसुकै गरुन् भनेर हुने रहेनछ । एक्लाएक्लै महान हुन खोज्दा कोही पनि महान नहुने रहेछ ।
न भारत महान, न अमेरिका महान, न ‘चाइना ड्रिम’ न ओलीको ‘समृद्ध नेपाल’ । मानवीय संकटहरु वैश्विक हुँदा रहेछन् । कोरोनाले न अमेरिका भन्दो रहेछ, न चाइना, न भारत भन्दो रहेछ, न बेलायत । भाइरसले मान्छे चिन्दो रहेनछ । मान्छेको दुश्मन साझा रहेछ । वैश्विक रहेछ । तसर्थ, सायद मान्छेले आफ्नो दुश्मन विरुद्धको लडाईलाई साझा बनाउनुपर्छ, वैश्विक बनाउनुपर्छ ।
यो आलेख तयार गर्दै गर्दा कोरोना संक्रमण प्रभावितको संख्या करिब १८ लाख ६० हजार नाघिसकेको छ । मारिनेहरुको संख्या करिब १ लाख १५ हजार पुगेको छ । यो साढे २ महिनाको स्थिति हो । यो महामारी १ वर्ष जाँदा मानव जातिको स्थिति के होला ? फाइटर विमान बनाउने, तोप, मिसाइल र लाखौंको सेना बनाउने, करोडौंको भ्यूटावर बनाउने तर डाक्टर/नर्स चर्को शुल्क तिरेर धनीका छोराछोरी मात्र पढ्न पाउने, भेन्टिलेटर र पिपिई नबनाउने अर्थतन्त्रको यो ढाँचा चलाइरहेकाहरुले आफ्नो सोचमा कुनै परिवर्तन नल्याई संसार अगाडि बढ्न सम्भव छैन ।
कोरोना रोकिने अहिलेसम्म कुनै संकेत देखिएको छैन । विज्ञहरु भन्छन्– यो रोकिने तीनवटा अवस्था हुन्छन् । कि त आफैं प्राकृतिक रुपमा रोकिनु पर्यो, त्यो अहिलेसम्म हुने संकेत छैन । कि त खोप वा औषधि पत्ता लाग्नु पर्यो– त्यसका लागि आविष्कार, परीक्षण, उत्पादन र विश्वव्यापी बिक्री वितरण गर्न जस्तै नलाग्दा एक वर्ष समय लाग्न सक्छ ।
तेस्रो बाटो हर्ड इम्युनिटी अर्थात् सामूहिक प्रतिरोध क्षमता वृद्धि । यो झनै घातक बाटो हो– यो बाटो हिंड्ने हो भने करिब ८० प्रतिशत मानिस संक्रमित हुनुपर्ने छ र त्यसमध्ये करिब २० प्रतिशतले जीवन गुमाउनु पर्नेछ । अहिलेसम्मको क्लोज केसको अनुपात हेर्दै त्यही पुष्टि हुन्छ ।
कोरोनाको आर्थिक प्रभाव सिंगो विश्वलाई र नेपालका लागि पनि उत्तिकै जटिल हुनेछ । महामारी एक वर्ष लम्बिएमा मानव जातिको इतिहासकै सबैभन्दा गहिरो मन्दी आउने छ । नेपालजस्तो विप्रेषण अर्थतन्त्रमा टिकेको देशको वृद्धिदर सिधै नकारात्मक हुनेछ । यस्तो बेला पनि धनी, शक्तिशाली र सेलिब्रेटीहरुले आफ्नो मात्र चिन्ता गर्ने हो भने मानवता नष्ट हुनबाट कसैले रोक्न सक्ने छैन । जब मानवता नै रहने छैन, उनीहरुले वर्चश्व कायम गर्नुपर्ने कुनै ठाउँ बाँकी रहने छैन ।
कोरोनाले दिने दुःख र पीडा अब बयान गरी साध्य छैन । कोरोनापछि यसका पाठहरु मात्र ठीक ढंगले बुझ्न सकिए मानव जातिको भविष्यले नयाँ मोड लिने आधारशीला तयार हुनेछ ।
The post कोरोना र क्रान्ति appeared first on Sajha Post.