Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

त्यो कालरात्री, यो श्वेतरात्री

$
0
0

आज चैत्र ३० गते । २०७६ सालको अन्तिम दिन । भोलिबाट नयाँ वर्ष–२०७७ शुरु हुने छ । ठीक ३० वर्ष भएछ– २०४६ साल यता । बहुदलीय लोकतन्त्रका ३ दशक बितेछन् ।

त्यसअघि ‘पञ्चायत’ नामको राजनीतिक व्यवस्था थियो । ‘पञ्चायत’ एउटा विषय पढाई हुन्थ्यो स्कुलमा । त्यो अनिवार्य बिषय थियो । देश/दुनियाँ बुझे पनि, नबुझे पनि स्कूलको परीक्षा पास गर्न रट्नै पर्थ्यो । बाल्यकालमा घोकेका ती चिज, पञ्चायतका सिद्धान्तहरु अझै मेरो स्मरणमा सहजै आउँछन् ।

श्री ५ को सर्वोपरी नेतृत्व, निर्दलीय प्रजातन्त्र, कर्मठ नागरिक, शोषणरहित समाज, वर्ग–समन्वय, राष्ट्रियताको सुदृढीकरण, प्रजाको सर्वोत्तम हितजस्ता सिद्धान्तमा पञ्चायत दार्शनिकीकरण गरिएको थियो । त्यसलाई हावा, पानी, माटो सुहाउँदो व्यवस्था भनिन्थ्यो ।

‘गाउँ फर्क’, ‘सबै पञ्च नेपाली, सबै नेपाली पञ्च’, ‘राजा सबैका साझा’, ‘हाम्रो राजा हाम्रो देश, एउटै भाषा, एउटै भेष’, ‘विकासको मूल–फुटाउनै पर्छ’, ‘एशियाली मापदण्ड’ जस्ता लोकप्रिय नारा थिए– त्योबेला राज्यका । आज ‘समृद्ध नेपाल, सुखी नेपाली’ भने जस्तो ।

सिद्धान्तमा यी चिज पढ्दा बढो सुन्दर लाग्थे । जब जीवन भोगिँदै गइयो, सिद्धान्त एकातिर थियो, व्यवहार अर्कोतिर । स्कुलमा रटाइएका, घोकाइएका शब्द र सिद्धान्तले मान्छेको आत्मचेतलाई बाँध्न सक्दोरहेनछ । सानै उमेरमा पञ्चायत विरोधी विचार र आन्दोलनबाट प्रभावित हुन थालियो ।

त्यो बेला हामी पञ्चायतलाई ‘३० वर्षे काल रात्रि’ भन्थ्यौं । ३० वर्ष कहालीलाग्दो लामो समयजस्तो लाग्थ्यो । ३० वर्ष यदि राम्रो र जिम्मेवार शासन प्रणाली हुने हो भने देशलाई कहाँबाट कहाँ पुर्‍याउन सकिन्छ जस्तो लाग्थ्यो । त्यो ३० वर्ष त्यसैखेर गयो, पञ्चायत नामको अजिञ्गरले हाम्रो भविष्य र सपना त्यसै निलिदियो जस्तो लाग्थ्यो ।

तर फेरि आज अर्को ३० वर्ष बितेछ । आज त्यो परिवेश, त्यो आन्दोलनलाई सम्झिन्छु, मन कताकता भावुक भएर आउँछ । त्यो ३० वर्ष कालरात्री थियो, यो ३० वर्षमा के हामीले सोचेजस्तो राज्य, अर्थतन्त्र र समाज निर्माण सक्यौं त ? अपेक्षित सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित गर्न सक्यौं त ? निःसन्देह सकेनौं । आखिर फेरि कहाँनेर चुक्यो राज्य ? कहाँनेर चुक्यौं हामी सबै ? किन खिया लाग्यो हाम्रो इमान र प्रतिवद्धतामा ?

डम्बर खतिवडा

सिद्धान्तको सुन्दरताले मात्र के हुँदोरहेछ र खै ? सिद्धान्त त आजका सत्ताधारीहरुको पनि उत्तिकै सुन्दर थियो, दस्तावेज र घोषणापत्रमा पढ्दा । फेरि व्यवहार चाँहि किन फरक हुँदै गयो ? सिद्धान्त र व्यवहारबीच किन तालमेल भएन ? के होला यो विरोधाभाषको रहस्य ? आज यी प्रश्न बारम्बार आफैंलाई ठुङ्न आउँछन् । मन भक्कानिन्छ– त्यो ३ दशक ‘कालरात्री’ थियो, कतै यो ३ दशक ‘श्वेतरात्री’ त बनेन ?

पछिल्लो ३० वर्षको निर्मम समीक्षाको पाटो छँदैछ, तर पञ्चायत विरोधी आन्दोलन र उत्कर्षका दिनहरु सम्झन अझै उत्तिकै रोमाञ्चक लाग्दछ । हृदय प्रफुल्लताले भरिन्छ । त्यो आन्दोलनको सानो हिस्सा हुन पाएकोमा आत्मगौरवको अनुभूति हुन्छ ।

२०४५ साल भाद्रको भूकम्पपछि देशको राजनीतिक स्थिति निरन्तर उथलपुथलपूर्ण हुँदै गएको थियो । त्यही सालकोे अन्त्यतिर भारतले नाकाबन्दी गर्‍यो । स्थिति झनै बिष्फोटक भयो । २०४६ को दशैंतिहारपछि देशमा ठूलै जनान्दोलन हुन्छ, त्यसले पञ्चायतलाई ढाल्छ भन्ने आशा पलाएको थियो । नेपाली कांग्रेस र वाममोर्चाले फाल्गुन ७ गतेबाट आन्दोलन थाल्ने घोषणा गरिसकेका थिए ।

फाल्गुन–७ हामी ब्यग्रतापूर्वक पर्खिरहेका थियौं । आन्दोलनको तयारी सम्बन्धी अनेक काम हुन्थे । ओल्लो गाउँ, पल्लो गाउँ भूमिगत बैठकहरु हुन्थे । विद्यार्थी संगठनका भेलाहरु हुन्थे । मोहनचन्द्र अधिकारीलगायत झापाली बन्दीहरु भर्खरै छुटेका थिए । उनीहरुका अभिनन्दन कार्यक्रम हुन्थे । अधिकांश बैठकहरु राती हुन्थे । माघ २७ गते राति म अबेर घर आएर सुतेको थिए ।

२८ गते बिहान निन्द्रा मै कानमा कुनै अनौठो आवाज थर्किएजस्तो लाग्यो । झ्याल खोलेर बाहिर हेरे । स्टार्ट मै राखिएको पुलिसको भ्यान डगरमा र एक हुल बर्दीधारी घरको आँगनमा थिए । यति छिट्टैदेखि धरपकड गर्ला भन्ने लागेको थिएन । पक्राउ परे पनि ७ गते नै परिएला भन्ने थियो । पुलिस त दुई हप्ता अगाडि नै पो आएछ । भाग्न मैले सम्भव देखिन । झ्याल खोलेर बाहिर हेर्दा उनीहरुले देखीहाले ।

‘भाइ ! तल उत्र’ असई मदन खत्रीले भने । असई खत्री छिमेकी मेठबाका भतिजा थिए । झापा कालीकोसी घर थियो उनको । मेठबाका भतिजा इलाकाको थानेदार छन् भन्ने सुनेको थिए । कपडा लगाएर म आँगनमा उत्रे । गाउँमा मानिस उठी सकेका थिएनन् । आमा आँगनमा खरेटो लगाउँदै हुनुहुन्थ्यो । बिना कुनै वादप्रतिवाद पुलिसले मलाई दुईतिरको पाखुरामा समाते र भ्यानको पछाडि लगेर थेच्याए ।

भ्यान तुरुन्तै फर्कियो । थानेदार अगाडिको सिटमा बसे । मेरो वरिपरि एउटा मोटे हवल्दार र पाँच जना सिपाही थिए । भ्यानमा मोटो गरी पराल ओच्छ्याईएको थियो । अरु सबै परालमा ढल्किएर उङ्ग्दै थिए, मोटे हवल्दार र ड्यूटी सिपाही बाहेक । मोटे हवल्दार झट्ट हेर्दा क्रुर, हिंस्रक र निर्दयीजस्तो लाग्थ्यो । खाकी रंगको पोशाक भएको हुँदा पुलिसलाई त्यतिखेर जनताले ‘खैरे मामा’ भन्थे ।

हबल्दारहरु सबैभन्दा क्रुर मानिन्थे । अधिकांश पुलिस हबल्दारको लामो, कालो मुठ्ठा जुङ्गा हुन्थ्यो । जुङ्गा पाल्ने पुलिसलाई जुङ्गा भत्ता दिने चलन थियो । जुङ्गाको प्रतिस्पर्धा हुन्थ्यो । तसर्थ, हवल्दारहरुले मुठो जुङ्गा पाल्थे र झट्ट हेर्दा निर्दयीजस्ता देखिन्थे । तर हैन रहेछ । रातभरि ड्यूटी गर्दागर्दा उनी त हैरान भएको रहेछन् ।

उल्टै मसँग गुनासो गर्न थाल्यो– ‘हेर्नुस न भाइ ! रातभरि खटाएका छन्, न खान दिन्छन्, न सुत्न दिन्छन् । हामेरले यत्रो दुःख गरेर यिनीहरुको व्यवस्था जोगाई दिनु पर्ने रे ।’ पञ्चायतमा पुलिस बढो राजभक्त र पञ्चायतभक्त हुन्छन भनिन्थ्यो । तर न्यून वैतनिक सिपाहीमा त्यस्तो हैन रहेनछ । मोटे हवल्दारको कुरा सुनेर म फिस्स हाँसे मात्र, केही बोलिनँ ।

त्यो बिहान बाक्लो हुस्से थियो । डगरमा कुदेको भ्यानबाट घरहरु राम्रो गरी देखिएका थिएनन् । गाउँले मलाई पक्रिएको थाहै पाएन । झुम्का चाईनिज क्याम्पमा ठूलो भीडभाड थियो । विश्व बैंकको चतरा नहर पुनर्निर्माण ठेक्का चाईनिज कम्पनीले पाएको थियो । कामदारको साईट जाने समय थियो, त्यो । सुपरभाईजर र चाईनिज हाकिमहरु कामदारलाई गाडी चढाउँदै थिए ।

त्यहाँबाट एक कामदारलाई टिप्यो पुलिसले । मसँगै भ्यानमा राख्यो । उनी ३० वर्ष जतिका गोरा, हँसिला र भद्र प्रकारका मानिस लाग्दथे । तर हामी बोलेनौं । हाम्रो चिनजान थिएन, अगाडि । उनी तत्कालीन नेकपा मार्क्सवादीका जिल्ला सदस्य रहेछन् । धर्मराज निरौला । पछि उनी सुनसरी क्षेत्र नं–२ का संविधानसभा सदस्य भए ।

झुम्काको पुलबाट भ्यान सदरमुकाम इनरुवातिर लाग्ला भन्ने सोचे । तर पूर्वतिर हान्नियो । मैले सोचे पकली ठाना लान्छ होला । हैन रहेछ । इटहरी लवीपुर चोकनेर पुगेर रोकियो भ्यान । विपरित दिशाबाट आईरहेको सेता जिपलाई असई खत्रीले आङ्ग तन्काएर ‘जय नेपाल’ गरे । कालोकालो मानिसले जिपको सिसा खोलेर बाहिर हेर्‍यो । असई खत्रीले मतिर औला देखाउँदै रिर्पोटिङ्ग गरे । ती सिडियो साब विन्देश्वरप्रसाद सिंह रहेछन् ।

थानेदार र सिडियोको के कुरा भो थाहा भएन । भ्यान इटहरी पुग्यो । पश्चिमलाईनमा एउटा ग्रिल पसलको अगाडि रोकियो । त्यहाँ फलामे टुलमा बसेर चिया पिउँदै गरेका, कमिज, सुरुवाल र कालो इस्टकोट लगाएका अधवैशे मानिसलाई पक्रिएर हामीसँगै राख्यो । उनी कमल निरौला थिए । धर्मराज निरौलाका साख्य दाई र नेकपा मार्क्सवादीका जिल्ला कार्यकर्ता । अब भने भ्यान पश्चिम फर्कियो ।

भ्यानबाट कमल दाईले एक्लै नारा लगाए– पञ्चायती व्यवस्था– मुर्दावाद । भ्यानको पछाडि हुट थिएन । हुस्से अलिक खुलेको थियो । बाटो हिंड्न मानिसले त्यो दृष्य राम्ररी देख्थे । जिल्ला प्रहरी कार्यालयको गेटसम्मै उनले नारा लगाईरहे । जिल्ला प्रहरी कार्यालयमा अरु थुप्रै बन्दी थिए । कमल दाई र धर्मलाई उनीहरुले अरु बन्दीसँगै मिसाए । मलाई भने कसैसँग भेट्न बोल्न दिएनन् । किन हो ? मैले कुरा बुझिनँ ।

कार्यालयको मूल हिरासतमा अपराधसँग सम्बन्धित बन्दी थिए । राजनीतिक बन्दीलाई पुलिस इन्स्पेक्टरको कोठा खाली गरेर भुइँमा राखिएको थियो । मलाई भने एक्लै पारेर भरेङ्ग मुनिको छिंडीमा राख्यो । त्यहाँ एकजना ड्राइभर थिए, भुजेल थरका, अमलेखगञ्ज घर भएका । वीरजंग–विराटनगरको बस चलाउँदा रहेछन् । कोशी ब्यारेज, भण्टाबारीनेर दुर्घटना भएको हुँदा सुनसरी पुलिसमा थुनिएको रहेछ । साहुजी वीरगञ्जबाट कहिले आउँला र छुटाएर लैजालान् भनेर उनी चिन्तित थिए ।

त्यो कोठा ‘चार वाई चार’ को थियो । झ्याल नभएको । करिब ९ फिट माथि एउटा सानो प्वाल थियो, भेन्टिलेसनको । कोठामा दुईवटा ठूल्ठूला प्लाष्टिकका बाल्टिन थिए । एउटा बाल्टिनमा पानी थियो र अर्को बाल्टिन पिसाबले भरिएको थियो । कोठामा करिब एक दर्जन माऊ मुसा थिए । उत्तिकै डुहुराहरु । भूइँमा मुसाले खाएर च्याङ्गलो भएको पटेरको थोत्रो गुन्द्री थियो । ढोका थिएन । रडहरुले थुनेको सानो चेपो । त्यहीबाट भित्र छिर्नु पर्थ्यो । आङ्ग पसारेर सुत्न नहुने । जताबाट तन्किएपनि भित्तमा गएर खुट्टा ठोकिने ।

त्यसमाथि म अग्लो मान्छे । माघको जाडो, चिसो भूई, घरिघरि जिउमाथि उफ्रिन आउने मुसा, अरु वेला ती दुई बाल्टिनको चेपमा लुक्थे । सुरेन्द्र चौधरी नामका प्रहरी जवान थिए, त्यहाँ मलाई रुङ्ने, उनी मोरङ तेतरिया घर भएका थिए । हँसिला । माया गर्थे मलाई । भन्थे, ‘के गर्ने भाइ, पुलिसको जागिर, हामी के गर्न सक्छौं र ?’

त्यो रात निधाउन सक्ने कुरै भएन । गुरुजी र म खुसुरखुसुर कुरा गर्दै थियौं । मध्यराततिर अर्को जुङ्गे हवल्दार आयो । परैबाट मतिर चियायो र भन्यो–‘के छ केटा ? आज तँलाई ठीक पार्नु छ । नक्सलाईटहरुको नाम जति जान्दछस् फटाफट भन्नु नत्र तेरो शरीरले दुख्ख पाउँछ ।’

उसले रक्सी पिएको थियो । तर शरीरको सन्तुलन गुमाएको थिएन । म डराए । लगभग बुझे कि यो पुलिस मलाई शारीरिक यातना दिन खटाईएको हो । पञ्चायती कस्टडीमा दिइने यातनाबारे मैले अगाडि नै धेरै सुनेको थिए । पछि आफ्नै आँखाले देखे कयौं घटना । उसले रडको ढोका खोल्यो र मलाई पाखुरामा समातेर छिंडीतिर तान्न खोज्यो । पुलिस कस्डटीमा मान्छे बकाउन मध्यरातमा एकान्ततिर लगेर कुटिन्छ । तर खै के पर्‍यो– तत्काल हतारिदै सिंडीमा कोही ओर्लियो ।

‘ओ, हल्लार साब भै गो आज छोड्दिनुस् । डिएसपी साबसँग सम्पर्क भएन ।’

त्यो आवाज मैले पनि सुनेँ र त्यो जुँगे हबल्दारले पनि सुन्यो । पछि बुझेँ, ‘त्यो आवाज एक असईको थियो, जो विराटनगरमा कांग्रेस राजनीति गर्ने बलराम गिरी परिवारमा थिए ।’

‘आज तँ बचिस् वामे,’ जुङ्गे हवल्दारले मलाई झट्काल्दै छोड्यो र फर्कियो ।

भोलिपल्ट बिहान उनै चौधरी पुलिस आए । ट्वाइलेट लगे । फर्किंदा ‘रिसेप्सन’ मा क्याम्पसको साथी देखेँ– गजेन्द्र श्रेष्ठ । उनी मेरो ब्याच वा कक्षाको थिएनन् । तर देखादेख हुन्थ्यो । ऊ पुलिस हो भन्ने थाहा थिएन । पुलिसको जागिर खाँदै बिहान क्याम्पस पढ्दो रहेछन । म उनको छेउमा गएर उभिए । उनी खिस्स हाँसे तर बोल्ने सहास गरेनन् ।

त्यतिखेरै त्यहाँ पुलिस इन्सपेक्टर आईपुग्यो । तथानाम आमाचकारी गाली गर्न थाल्यो, ‘तेरो बाऊ हो यो ? त्यो अराष्ट्रिय तत्वलाई देखाएर किन लेखिस् ? तँ यो वामेलाई सरकारी कागज देखाउने ? त्यही हो राजाको सिन्दुर लाएको बुद्धि ? तँ मु….लाई पनि त्यही वामेसंग लगेर जाक्दिन्छु ।’ पुलिस हाकिमले मनपरी बोल्नु सामान्य कुरा थियो त्यतिखेर । ती पुलिस इन्स्पेक्टर थिए– नारायाण श्रेष्ठ ।

बिहानको खाना खाने बेला मेसमा नेविसंघका साथीहरु भेटिए । अरु बिर्से– थलकुमार लिंखा, श्रीहरि मानन्धर र सरोज वाग्लेको नाम सम्झिन्छु । दोस्रो रात पनि त्यही कोठामा थुन्यो । तेस्रो दिन डिएसपी आईपुगे– किरण गौतम । उनी कैदी बन्दीहरुको निरीक्षण गर्दै आए । उनको पछिपछि फाइल बोकेर त्यही कलेजको साथी गजेन्द्र थियो । गिरी असई कैदीबारे डिसपीलाई ब्रिफिङ गर्दै थिए ।

मलाई देखाएर उनले खै केके ब्रिफिङ गरे । डिएसपी गौतमले भने, ‘यो भाइलाई पनि अरुसँगै राखे हुन्छ ।’ गजेन्द्र श्रेष्ठले फाइलमा केही टिपे, उसको अनुहार हँसिँलो देखियो । कैदीको ब्रिफिङ सकिएपछि उनी मेरो छेऊमा आए । ड्युटी हाकिमले नदेख्ने गरी हात मिलाएर भने, ‘अब तिमीलाई केही पनि हुन्न । जेलको पुर्जी आउँछ । सिदा थाप्ने, खाने, बस्ने । छुट्ने चै कहिले हो थाहा छैन ।’ त्यसपछि उनीसंग कहिल्यै भेट भएन । घर कहाँ थियो, थाहा भएन । जागिर सरुवा भएर कहाँ पुगे, थाहा भएन ।

नभन्दै दिउँसो जेलको चिट्ठी आयो । विराटनगर जेलको जेलरको नाममा । हतारमा कुम्लोतुम्लो मिलायौं । बाहिर चाइनिज क्वार्टरको नीलो टिपर थियो । तिन्ताका त्यस्ता टिपरहरु चाईनिज कम्पनीसँग मात्र थिए । पुलिसले आन्दोलन दबाउने काममा प्रयोग गर्न झुम्का चाईनिज क्वार्टरबाट मागेर ल्याएको थियो । हामी त्यही टिपरमा चड्यौं ।

त्यो साँझ निक्कै धमिलो थियो । चार बज्दा नबज्दै पूरै रात परिसकेकोजस्तो लाग्थ्यो । टिपर इनरुवा बसस्ट्यान्डबाट पश्चिम हुइँकियो । झसङ्ग भए । पुर्जी दिएको छ, विराटनगर जेलको । लान्छ पश्चिमतिर । राजबिराज वा बीरगंज जेल लान खोजेको हो कि जस्तो लाग्यो । यी दुवै जेल त्यतिखेर कुख्यात थिए । हैन रहेछ । विराटनगर जेल बन्दीले भरिएको कारण लौकही थानामा बन्दी शिविर खोलिएको रहेछ ।

हामी त्यहाँ पुग्दा करिब २० जना बन्दी थिए । एक आफ्नै साथी– पूर्ण खड्का । पूर्णजी धरान हात्तीसार क्याम्पसको स्ववियु सभापति र विटेकको विद्यार्थी थिए । अखिलको जिल्ला कमिटीमा सँगै थियौं । बैठकमा भेट हुन्थ्यो । पूर्णजीले मट्टितेलको स्टोभमा दम हालेर कालो चिया बनाए हाम्रो स्वागतमा । जेलबाट छुटेपछि पूर्णजी सँग २ पटक मात्र भेट भो । अचेल नाइजेरिया छन् भन्ने सुन्छु ।

लौकी बन्दी शिविरमा थुप्रै बन्दीहरु थिए । दैनिक थपिन्थे । जेलबाट छुट्ने दिनसम्म ८६ जना पुगेका थियौं । त्यहाँ हामी ३ जना कलिलो उमेरका बन्दी थियौं । बासु कोइराला– पछि नेबिसंघको महामन्त्री भए र सडक दुर्घटनामा बिते । सुरेन्द्र उप्रेती– धरानमा इन्जिनियरिङको विद्यार्थी थिए । काकरभिट्टा जाँदा अहिले पनि भेटघाट गर्छु ।

लौकी बन्दी शिविरमा करिब २ महिना बसिएछ । कहिलेसम्म थुनिनु पर्ने हो कुनै टुङ्गो थिएन तर दुई महिनामै देशको राजनीति अलटफेर भयो । त्यहाँ बिए कृष्ण श्रेष्ठ दाईसँग घरबाट मगाएको रेडियो थियो । समाचार सुन्थ्यौ । बीबीसी, भ्वाइस अफ अमेरिका र अलइन्डियाको आकाशवाणीबाट । सुरुका दिनमा नेपाल सम्बन्धी खासै खबर आउँदैन थिए । तथापि हामी आशावादी हुन्थ्यौं । हरेक बुलेटिन सुन्थ्यौं । नेपाल सम्बन्धि खबर केही छ की ? बीबीसीमा अलिक बढी समाचार आउँथे । भ्वाइस अफ अमेरिका र आकाशवाणीमा भने आन्दोलन चर्किएपछि मात्र आउन थाले ।

थानाको सई जीतबहादुर श्रेष्ठ अरु बेला ठीकै थिए तर तनाबमा हुँदा बडो निचारिएको कुरा गर्थे । एकदिन थाना अगाडिको काली मन्दिरको भित्तामा कमल दाईले ढुंगाले कोरेर ‘पञ्चायती व्यवस्था–मुर्दावाद’ लेखिदिएछन् । कतिखेर उनका आँखा त्यहाँ परे कुन्नी ? उनी त बुरुक्कबुरुक्क उफ्रिन थाले, सबैलाई खाउलाजस्तो गरेर, तथानाम गाली गरे । उनी सप्तरी रुपनगरका थिए । पुलिसबाट रिटार्यट भएपछि कांग्रेस कार्यकर्ता भएछन गाउँमा । करिब २० बर्षपछि एउटा बिहेमा त्यहाँ जन्ती पुग्दा भेट भएको थियो ।

अर्का एक पुलिस हाकिम थिए, गयाप्रसाद साहू । त्यतिखेर अञ्चल प्रहरी कार्यालय धरानको एस्पी थिए । फाल्गुन २ गते साँझको घटना हो जस्तो लाग्छ । डिएसपी किरण गौतम र उनी बन्दी शिविरको निरीक्षण वा यस्तै के कामले आए । हामी साँझ खाना खाएर ढल्किँदै मात्र थियौँ– उनी बन्दीहरुलाई तथानाम गाली गर्दै भित्र पसे ।

एसपी गयाप्रसाद रक्सीले टिल्ल थिए । ढुनमुनिदै घरी कोठाको यो छेऊ र घरी त्यो छेऊ पुग्थे । भएभरको सबै मनपरी बोले । साला नक्सलाईटहरु, बामेहरु, अराष्ट्रिय तत्वहरु, बहुदलेहरु, राँडीका वानहरु, राजाविरोधीहरु, व्यवस्था विरोधीहरु इत्यादि सबैथोक भने । ठूल्ठूलो स्वरमा कराउन थाले । झनझन उत्तेजित हुँदै गए । भन्न थाले– ‘ए, केटो हो ! आओ हान गोली राँडीका वानहरुलाई सोत्राम पारेर लगेर सप्तकोशीमा बगाउनुपर्दछ’ । डिएपी गौतमले उनलाई अनेक यत्न गरेर त्यहाँबाट फकाएर लगे ।

देशमा जनान्दोलन सुरुवात हुने दिन फाल्गुन ७ गते आयो । बन्दी शिविरभित्रै केही कार्यक्रम गरौं भन्ने कुरा भयो । कसैले गीत गाउने, कसैले भाषण गर्ने, कसैले कविता भन्ने आदि । तिन्ताका म गीत र गजल लेख्ने अभ्यास गर्थे । मैले दुईवटा गजल वाचन गरे । नेविसंघका उमेशजंग रायमाझी र अखिलका ध्रुव सुवेदीले लामो भाषण गरे ।

भुँइमा पराल ओच्छ्याएर लाइनै सुत्थ्यौं । मेरो ओछ्यानको एकातिर धर्मराज निरौला थिए अर्कोतिर शिवेश्वर मण्डल । मण्डल कांग्रेस समर्थक थिए, मोरङ्ग डाईनिया घर भएका । उमेरले उनी म भन्दा धेरै जेठा थिए । वलिष्ठ शरीर भएका पहलमानजस्ता ।

वीपी कोईराला गाउँ आउँदा उनलाई साथै लिएर डुल्थे रे । उनी वीपीको अंगरक्षक हुन भन्ने भान पर्‍यो मानिसमा । लाठ्ठी घुमाउने, बन्दूक चलाउने, पहलमानी खेल्ने, ‘ग्रुप फर्मेशन’ गर्ने सबै युद्धकलामा आफू पोख्त भएको बताउँथे । वीपीको मृत्युपछि कोइराला परिवारले आफ्नो महत्व नबुझेको गुनासो थियो उनको । उनले दुईवटा विवाह गरेका थिए । यौन–प्रेम र वैवाहिक जीवनबारे मसँग खुलेर कुरा गर्थे । यस्ता कुरा गर्न खुबै मज्जा मान्थे ।

चैत्र १६ गते पछि आन्दोलन चर्केको खबर आउँन थाल्यो । चैत्र २४ गते उत्कर्षमा पुग्यो । राजा वीरेन्द्रले देशभरिका सबै राजनीतिक बन्दी मुक्त गर्ने घोषणा गरे । चैत्र २५ र २६ अब छोड्ला कि तब छोड्ला भन्ने मनोदशामा रह्यौं । मन मिनेटमिनेटमा अधैर्य हुन्थ्यो । वर्षौवर्ष बस्न पर्ने हुनसक्छ भन्ने मनस्थितिमा रहेका हामीलाई दुईदिन काट्न हम्मेहम्मे परिरहेको थियो । चैत्र २६ गते राती ४ शीर्ष नेताहरुले राजालाई भेटे । राति ११ बजे रेडियो नेपालले चारैजना नेताहरुको आवाज सुन्यौं ।

२७ गते बिहान ७ बजे पोकापन्तरा मिलाई राख्ने उर्दी आयो । तर ट्रिपर ९ बजे मात्र आयो । यो दुई घण्टा समय दुई वर्षजस्तो लाग्यो । जिल्ला न्यायाधीशको क्वार्टरमा आवश्यक प्रक्रिया पूरा गरेपछि हामी छुट्यौं । महेश कोइरालालगायत साथीहरु जिल्ला प्रहरीको गेटबाहिर दिए । इनरुवा चम्पालाल चोकमा रिक्सामा उभिएर ५ मिनेटजति भाषण गरे ।

झुम्काबाट नारायण काफ्ले र कमल गुरुङ ट्रक लिएर आएका थिए बन्दीलाई लिन । दिनभरि अबिरजात्रा गरेर ट्रकमा डुलियो । साँझ साझा मैदानमा सभा भयो । मैले जीवनमा पहिलोपटक हजारौँ मानिसको सामु उभिएर भाषण गरे । तर राम्रो बोल्न सकिन । खुशीले हो कि कुनै अमूर्त पीडाले मन त्यसैत्यसै भरिएको थियो । साँझ घर पुग्दा गाउँलेहरुले छक्क परेर हेरे । २ महिनाभित्र देशमा यति ठूलो परिवर्तन होला, यो त्यतिखेर धेरैको कल्पना भन्दा बाहिरकोे कुरा थियो ।

आज त्यतिखेरको आफ्नो मनोदशा सम्झिन्छु, आजको राज्यको चरित्रसँग हेर्छु, अहँ, कतै चित्त बुझ्दैन । लाग्छ– अझै आन्दोलन पुगेको छैन । हाम्रो क्रान्ति अझै अधुरो छ । हाम्रो राज्य, समाज र अर्थतन्त्र निर्माणको प्रक्रियामा थुप्रै खोट छन । पात्र बद्लिएर मात्र हुँदैन । जरैदेखि पुनर्संरचना नगरी नेपाल आधुनिक, सभ्य, सुशासित, संमृद्ध, समन्यायिक र समतामुलक नबन्ने रहेछ ।

त्यो ‘कालरात्री’ लाई त तोडियो, यो ‘श्वेतरात्री’ लाई पनि नफाली होला जस्तो छैन ।

The post त्यो कालरात्री, यो श्वेतरात्री appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles