Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

अग्रगमन र प्रगतिको ढोका खोलिनुमा जनयुद्धको महत्वपूर्ण भूमिका छ

$
0
0

आज ऐतिहासिक जनयुद्धको थालनी भएकाे २५ औं वर्षमा प्रवेश हो । यस अवसरमा म यो महान् जनयुद्धमा सहभागी पार्टीका सबै साथीहरू, जनमुक्ति सेनाका साथीहरू, विभिन्न जनवर्गीय संगठनका साथीहरू, संयुक्त क्रान्तिकारी जनपरिषदमा आवद्ध भएर काम गर्नुभएका साथीहरू, विभिन्न जातीय क्षेत्रीय मुक्ति मोर्चाहरूमा क्रियाशील साथीहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । ती महान् शहीदहरू जसले ज्यान वलिदान गर्नुभयो, वेपत्ताजनहरू जो आजसम्म वेपत्ता हुनुहुन्छ उहाँका परिवारजन र सम्पूर्ण घाइते योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु ।

जनयुद्धकै जगमा नै नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रसहितको संविधान नेपाली इतिहासमा पहिलो पटक जारी भएको छ । भलै संविधानका अपूर्णताहरू छन् । क्रान्ति कहिल्यै पनि पूरा हुँदैन, निरन्तर जारी राख्नुपर्छ । तै पनि नेपाली इतिहास जो युगौंदेखि मध्ययुगीन जडतामा फसेको थियो, एकात्मक राज्यसत्ता, सामन्तवाद, पितृसत्तावाद, मनुवाद लगायतका मध्ययुगीन मूल्यमान्यतामा जकडिएर देशको विकास र समृद्धि अवरुद्ध भइराखेको थियो । जनता अधिकारविहीन थिए, त्यसको अन्त्य गर्दै हामीले अग्रगमन र प्रगतिको जुन ढोका खोलेका छौं त्यो अत्यन्त ऐतिहासिक छ, महत्वपूर्ण छ ।

त्यस अर्थमा जनयुद्धका यी महान् उपलब्धीप्रति हामी सबैले गर्व गर्नुपर्छ र यिनको रक्षा गर्दै आगामी दिनमा जो अपूर्णताहरू छन् खासगरी राज्यको पुनर्संरचनामा पहिचान र अधिकार सहितका राज्यहरु, स्वायत्त प्रदेशहरू निर्माण गर्ने प्रश्न बाँकी नै छ ।

शासकीय स्वरुपमा हामीले चाहेअनुसार प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसदको व्यवस्था गर्न सकिएको छैन । त्यसलाई सच्याउनु छ । न्यायालय लगायतका राज्यका अन्य अंगहरूको पुनर्संरचना ठीक ढंगले हुन सकेको छैन । महिला, दलित लगायतका अधिकारका अपूर्णतालाई पूर्णता दिँदै देशमा सुशासन, समृद्धि हासिल गरेर उन्नत प्रकारको नयाँ समाजवादी प्रणालीमा जाने अभियान हामीले जारी राख्नुपर्छ ।

दुःखद् कुरा जनयुद्धकै क्रममा नै नेतृत्व केन्द्रीकरणको नाउँमा केही व्यक्ति विशेषमा सत्ता, शक्ति केन्द्रित हुँदै जाँदा नयाँ वर्गको उदय हुन पुग्यो । स्टालिनको पालामा भएको ठूलो नोक्सानीबाट सिकेर हामीले ‘एक्काइसौं शताब्दीमा जनवादको विकास’ भन्ने कुरा गरे पनि व्यवहारतः त्यसलाई कार्यान्वयन गर्न नसक्दा माओवादी आन्दोलनभित्रबाट एउटा नयाँ वर्गको उत्पत्ति भएर अन्ततः संविधानसभाबाट संविधान जारी भैसकेपछि आन्दोलन विशृङ्खलित अवस्थामा पुग्न गयो ।

पार्टीभित्र विभिन्न धारहरू हुन्छन् । हिजो पनि अन्तरसंघर्ष थिए, भोलि पनि भैराख्छन् तर हाम्रा जुन वैचारिक संघर्षहरू थिए तिनको सम्मान गर्दै एकता, संघर्ष, रुपान्तरणको तरिकाबाट जानु पर्दथ्यो, त्यो हुन सकेन ।

माओवादी आन्दोलनले नेपालको विशिष्ठ भू–राजनीतिक अवस्था, आन्तरिक रुपमा अत्यन्त पिछडिएको आर्थिक अवस्थाको कारणले संघीय लोकतान्त्रिक गणतन्त्रमा पुगिसकेपछि यसलाई शान्तिपूर्ण ढंगले रुपान्तरण गरेर आन्दोलनलाई अगाडि लानुपर्ने आवश्यकता थियो । त्यसो नगरिएको भए अहिलेको राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको अवस्थामा आन्दोलनकारी उपलब्धी नै पूरै निमिट्यान्न हुने खतरा पनि थियो । त्यसैले हामीले शान्ति सम्झौता हुँदै आन्दोलनलाई नयाँ ढं‌गले रुपान्तरण गर्ने जुन निर्णय गरेका थियौं त्यो सिद्धान्ततः, व्यवहारतः सही थियो ।

तर शान्ति प्रक्रियामा आइसकेपछि पार्टीका कार्यकर्ताहरूको व्यवस्थापन ठीक ढंगले गर्न नसक्नु र पार्टी पंक्तिमा संविधान निर्माण गरेर त्यसको जगमा टेकेर अगाडि जानुपर्छ भन्ने लाइनमा दृढतापूर्वक लाग्न नसक्नु र मुख्यतः मुख्य नेतृत्व गर्ने प्रचण्डजीको ढुलमुलपनको कारणले गर्दा अस्पष्टता रहनुले गर्दा बेलैमा हाम्रो नेतृत्वमा संविधान निर्माण गरेर अगाडि जान सकेनौं । यस्ता केही कमीकमजोरीहरूका कारणले गर्दा आन्दोलन कमजोर हुन पुग्यो । अन्ततः अहिले आन्दोलन विशृङ्खलित भएकाे जुन अवस्था छ यसलाई हामी सबैले फेरि एकचोटि समीक्षा गरौं । उही पुरानै ढंगले क्रान्ति अगाडि बढाउँछु भन्दा सबै गुम्ने खतरा छ, परिस्थिति बदलिएको छ । तर क्रान्ति निरन्तर अगाडि बढ्छ । समुद्रको छाल झैं क्रान्ति र परिवर्तनको प्रक्रिया कसैले रोकेर रोकिँदैन । नयाँ ढंगले अभियान अगाडि बढ्छ, क्रान्ति अगाडि बढ्छ । यसलाई हामीले बुझ्नुपर्छ ।

तर एउटा पक्ष खासगरी कमरेड प्रचण्डले नेतृत्व गरेको पक्ष अब आन्दोलन, क्रान्ति पूरा भयो भनेर हिजोका आन्दोलनका पूरै विराेधी मुख्यतः केपी ओलीले नेतृत्व गरेको जुन धार थियो त्यसमा समाहित भएर जानुले अन्ततः माओवादी आन्दोलनको ठूलो पंक्तिलाई विसर्जनको दिशातिर लगेको अत्यन्त चिन्ताजनक अवस्था छ । म लगायतका साथीहरूले यो अवस्थामा आन्दोलनलाई रुपान्तरण गरेर, नयाँ ढंगको समाजवादी आन्दोलनमा रुपान्तरण गरेर जाउँ भन्ने जुन हामीले प्रस्ताव राख्यौं त्यो प्रचण्डजी लगायतका साथीहरूले स्वीकार नगरेपछि हामीले सापेक्ष ढंगले अग्रगमन र परिवर्तनको पक्षमा रहेका मधेशवादी आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन लगायतका आन्दोलनसँग जोडिएका शक्तिहरुलाई मिलाएर नयाँ समाजवादी धार निर्माण गर्ने प्रयत्न गरेका छौं ।

अहिले हामी विभिन्न ठाउँमा आन्दोलनमा छरिए पनि क्रान्ति, परिवर्तनको आवश्यकताले फेरि एकचोटि सबैतिर छरिएका क्रान्तिकारीहरू, नयाँ युवा पुस्ता एक ठाउँमा उभिएर सम्पूर्ण अग्रगामी लोकतान्त्रिक, समाजवादी, परिवर्तनकामी शक्तिहरू एकठाउँमा आउने नै छन् । त्यसैले यो जनयुद्ध थालनीको यो अवसरमा औपचारिक कर्मकाण्ड भन्दा पनि यसको समग्र ऐतिहासिक समीक्षा गरेर नयाँ ढंगले आन्दोलनलाई फेरि पुनर्निर्माण गर्ने दिशातिर जाउँ भन्ने म सबैसँग आग्रह गर्छु र सबैलाई यसैको निम्ति लागिपर्न हार्दिक आह्वान गर्दछु ।

(जनयुद्ध दिवसका अवसरमा समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईसँग गरिएको कुराकानीमा आधारित)

The post अग्रगमन र प्रगतिको ढोका खोलिनुमा जनयुद्धको महत्वपूर्ण भूमिका छ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles