लामो विरासत बनाइसकेको राजतन्त्र खारेज भयो । त्यो सकारात्मक कुरा हो । किनकी हाम्रो राज्य संरचनाको एउटा महत्वपूर्ण अवरोधक शक्ति भनेको राजतन्त्र नै थियो । तर, राजतन्त्रको त्यो चरित्रलाई पहिलाको भन्दा पनि अझै परिष्कृत गरेर राष्ट्रपति र प्रधानमन्त्रीले उपभोग गरिरहेका छन् । हामीले राजतन्त्र चाहिँ खारेज गर्यौं । तर, गणतन्त्रले जनतालाई बलियो बनाउँछ भन्ने जुन परिकल्पना थियो, त्यो अवधारणालाई उनीहरुले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयमार्फत् ध्वस्त बनाइरहेका छन् ।
जब संघीयताको कुरा गर्छौं, संघीयताको आत्माको हत्या गरेपछि पहिचानको मुद्दा नै काम नलाग्ने भइहाल्यो । दोस्रो कुरा, समानुपातिक समावेशिताको थोरै व्यवस्था छ संविधानमा त्यसमा पनि उनीहरुले बठ्याईं गर्ने, फट्याईं गर्ने र समानुपातिकताको आधारभूत सिद्धान्तसँग मेल नखाने गरेर आफ्ना मान्छे घुसाउने बहाना खोजिरहेका छन् ।
पहिचानको मुद्दाको समस्या भनेको के हो भने यसले खास उत्पीडित समुदायभित्रको सबै मानिसको भलो गर्दैन । यसमा तपाईं भ्रममा नपर्नुस् । एउटा भलो गर्छ त्यसले जस्तो भाषाको अधिकार, संस्कृतिको अधिकार, उत्पीडनविरुद्धको अधिकार, विभेदविरुद्धको अधिकार प्राप्ति भएपछि सबै समुदायको सशक्तीकरण हुन्छ । सबै समुदायले त्यसको बृहत्तर हित उपभोग गर्ने ठाउँमा पुग्छन् । तर, संरचनाहरुमा देखिने अनुहारहरु चाहिँ त्यहाँ भित्रको पनि कुलिन तप्काले नै लिने हो । तर, अहिले जुन समावेशिताको अभ्यास हाम्रोमा भइरहेको छ, यहाँ त त्यति पनि भइरहेको छैन । त्यत्ति पनि हुन नदिने प्रयास भइरहेको छ । पहिला सचिव रहेका उमेश मैनालीलाई लोकसेवाको प्रमुख बनाएर लगियो र उनले लोकसेवाको विज्ञापनमार्फत् जसरी समावेशितालाई बिगार्ने काम गरे । उनी सुरुदेखि आरक्षणको विरोधी छन् र उनलाई त्यहाँ लगियो ।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अवस्था पनि त्यत्तिकै दयनिय छ । केपी ओलीको दम्भ र उनका वरिपरिका मानिसहरुको दम्भका अघिल्तिर लोकतन्त्रका आधारभूत मान्यताहरु जस्तो- वाक स्वतन्त्रताको कुरा, मानिसले कुरा उठाइसकेपछि त्यसको सुनुवाइ हुने कुरा, उनीहरुको दम्भको अघिल्तिर चकनाचुर हुन्छ ।
वाइडबडीको कुरा निस्कियो सार्वजनिकरुपमा । छानबिन हुनुपर्ने होइन । त्यही हुन दिइएन । यति ग्रुपलाई सबैका सबै सरकारी ट्रस्टका सम्पत्तिहरु जिम्मा लगाइएको कुरा निस्कियो सार्वजनिक भयो । त्यसलाई प्रधानमन्त्री निस्किएर प्रतिरक्षा गरे । यो कुनै लोकतन्त्र हो ? लोकतन्त्रमा त तपाईंले कुरा उठाइसकेपछि त्यसमा विचार गर्नु अथवा छानबिन गर्नु र दोषी देखिए कारबाही गर्नु त सरकारको दायित्वमा पर्छ ।
राजीनामा दिएर अनुसन्धान गर्न मार्गप्रशस्त गर्नुपर्नु त सामान्य नैतिकताको कुरा हो । तर उनीहरुको दम्भको अघिल्तिर वाक स्वतन्त्रता पनि कुण्ठित हुने अवस्थामा पुग्यो । किनभने यही वाक स्वतन्त्रताले यी सबै कुरा बाहिर ल्याइदियो । सरकारको खराबी वा भइरहेका खराबी जुन सबै उनीहरुले गरेका पनि होइनन् । जस्तै- बालुवाटारको जग्गाको प्रकरण त धेरै पुरानो हो । त्यो प्रकरणमा मुछिएका मानिसहरुलाई कारबाहीको दायरामा ल्याउने कुरामा जाने त कता हो कता, यस्ता कुरा धेरै चर्चामा ल्याइदिए । हाम्रो सरकार बदनाम भयो भन्ने हिसाबले उनीहरु त बोल्ने कुरामा पनि अंकुश लगाउने कानून बनाउन लागिरहेका छन् ।
यसरी लोकतन्त्रको आधारभूत सिद्धान्तहरु पनि उनीहरुलाई पचिरहेको छैन । दुई तिहाईको दम्भले सबैलाई किचिरहेको छ । पार्टीभित्र सबै मौनप्रायः छन् । यसरी विरोधका स्वर निकाल्ने हामीजस्ता मानिसहरु धेरै छैनन् । मौनता अधिनायकवादी सत्ताको महत्वपूर्ण औजार हो । कम्युनिष्टको हो भन्छन् तर म यी सत्तारुढलाई कम्युनिष्ट मान्न तयार छैन । कम्युनिष्ट अधिनायकत्व हो भन्ने एकाथरीको आरोप छ । ब्रान्ड कम्युनिष्ट छ, नाम कम्युनिष्ट छ तर यिनीहरु कम्युनिष्ट होइनन् ।
मलाई लाग्छ, यी सबै कुराको परिणाम भयानक हुन्छ । यसले समाजलाई पुनः एकपटक विघटनतिर लैजान्छ । राजनीतिकरुपमा समाजलाई सिर्जनशिलताहिन, गतिहिन र कुण्ठित बनाउँछ । त्यो कुण्ठाभित्रबाट या त अर्को विद्रोह जन्मनुपर्यो अथवा भनौं न तपाईं हामीले परिकल्पना गरेका थियौं नि, गणतन्त्र आउँछ, राज्यको पुनर्संरचना हुन्छ, त्यसपछि समाज एउटाखालको प्रयोगमा जान्छ र प्रयोगमा गएपछि समाज रचनात्मक हुन्छ । त्यसपछि जहाँ समस्या वा कमजोरीहरु देखापर्छन्, त्यसलाई सुल्झाउने बाटोमा हिंड्छ । अलि समय हामी क्रान्ति अर्थात् विद्रोहतिर जानु पर्दैन भन्ने जुन हाम्रो परिकल्पना थियो, त्यो परिकल्पना अब साकार हुने भएन ।

यसरी हेर्दा अब फेरि पनि समाजमा विद्रोहको बिऊ रोपिएको छ । फेरि पनि विद्रोह कुनै न कुनै रुपमा विद्रोहहरु हुन्छन् । विद्रोहदेखि विद्रोहसम्मको गोलचक्करको अवस्था पनि सिर्जना हुनसक्छ । किनभने प्रतिगमन भयो र यसले थप विद्रोहको बिऊ मात्रै रोप्ने काम गर्यो । समाजलाई रचनात्मक हुन दिएन । समाजलाई कल्पनाशील हुन दिएन । समाजलाई प्रयोगमा जान दिएन । समाजको नयाँ नक्सा बनाउँछौं भन्ने ध्येय थियो र त्यो नयाँ नक्साले नयाँ ढंगको परिकल्पना, नयाँ समायोजनतिर लैजान्थ्यो । अनि मानिस रचनात्मक हुन्थे, कल्पनाशील हुन्थे । त्यो हुन नदिएपछि फेरि एकपटक प्रतिगमनले निर्माण गरेको मौनतामा फसिरहेका छौं ।
समाजले निकास त खोज्छ । अहिलेको मौनता चिर्ने गरी कहाँबाट नेतृत्व जन्मिएला भन्ने प्रश्न छ । संस्थापनबाट कहिले पनि विद्रोहको नेता जन्मिँदैन । त्यहीँ भित्रैबाट रुपान्तरण वा पुनर्जागरण हुनेवाला छैन । बाहिरैबाट हुने हो । यो संस्थापनको केही आलोचना गरेर वा यो संस्थापनको अंगको रुपमा रहिरहने आलोचक शक्तिहरुबाट पनि नेतृत्व जन्मिँदैन । अर्को नयाँ राजनीतिक प्रक्रियाबाट नेतृत्व जन्मन सक्छ । सामाजिक आन्दोलनले पनि केही काम गर्लान् ।
संसारभरीका दृश्यहरु हेर्दा मेरो प्रारम्भिक निष्कर्ष भनेको संसार दार्शनिक संकटमा फसेको छ । त्यसकारण, संसारभरी विभिन्न आन्दोलनहरु उठिरहेका छन् । जस्तै- भारतकै यति ठूलो आन्दोलन भइरहेको छ मोदीले निर्माण गर्न लागिरहेको हिन्दूत्ववाला दम्भलाई राजनीतिक शक्ति बनाउने जुन दाउपेच छ, त्यसले भारतीय समाजमा संकट निम्त्यायो र उनीहरु सडकमा आए । तर, नेतृत्व कसले गर्ने ? त्यहाँको कांग्रेसले, कम्युनिष्टले वा आम आद्मी वा कसले ? कसैले सक्दैन । किनकी कुनै एउटाले नेतृत्व गर्यो भने सडकमा निस्किएको मध्ये आधा मानिस घर फर्किन्छन् । कसैले नेतृत्व लिनै सक्दैनन् ।
त्यसैले राजनीतिक दलहरु आफैं आन्दोलनको हिस्साको रुपमा आन्दोलनभित्र छिरिरहेका छन् । नेतृत्व गर्न सक्दैनन् तर, हिस्साको रुपमा छिरिरहेका छन् । जब त्यसको राजनीति हुँदैन, जब त्यसको नेतृत्व हुँदैन, जब त्यसको संगठन हुँदै, स्पष्ट गन्तव्य हुँदैन, त्यो आन्दोलनले कहाँ पुर्याउँछ ? जंगलमा लागेको आगो जस्तो हो त्यो । आगो लाग्छ, जंगल नष्ट हुन्छ, परिणाम आउँदैन । त्यो आगोलाई तपाईंले विचार, नेतृत्व, संगठन, सिद्धान्त मार्फत् एक ठाउँमा लगाउनुभयो भने पो त्यसले भात पकाउँछ ।
भारतमा मात्रै होइन, फ्रान्समा यल्लो भेष्ट आन्दोलन भइरहेको छ । अमेरिकामा वाल स्ट्रिट मुभमेन्ट भयो । बेलायतमा भइरहेको छ । आइरिसहरुको आफ्नै मुभमेन्ट छ । उता हङकङमा त्यत्रो आन्दोलन चलिरहेको छ । इटलीमा आन्दोलन छ । संसारभरि आन्दोलन छ । आजसम्म जसरी संसार चलाउन खोजिएको छ, यो शासकीय प्रणालीप्रतिको असन्तुष्टि मानिसको मनमा छ । मानिस कोही सन्तुष्ट छैन तर, एउटा नयाँ दर्शन, एउटा नयाँ विचार निर्माण नभइसकेको हुनाले कसले नेतृत्व गर्ने भन्ने यकिन छैन । वाल स्ट्रिट मुभमेन्ट भयो त्यहाँ बब अवाकिन कहिल्यै देखिएनन् । तिनले नेतृत्व गर्नै सक्दैनन् त्यसको । तिनी नेतृत्व गर्न गए भने मानिस घर फर्किन्छन् । यो संकट हाम्रोमा पनि हुनेवाला छ । यहाँ आन्दोलन हुनेवाला छ तर नेतृत्व कसले गर्ने ? त्यो संकटको निवारण संसारलाई चाहिएको छ । हामीलाई पनि चाहिएको छ । कुनै न कुनैरुपमा पाइएला । आशा गरौं ।
(लेखक तथा राजनीतिक विश्लेषक युग पाठकसँग साझापोस्टले गरेको कुराकानीमा आधारित)
यो पनि-
‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’
परिवर्तनका एजेन्डाहरू अहिले अभिभावकविहिन भएका छन्
‘राज्य पञ्चायतले निर्माण गरेको विचारधारामा चलिरहेको छ, नेतृत्व ओलीले गरेका छन्’
The post संस्थापनबाट कहिले पनि विद्रोहको नेता जन्मिँदैन appeared first on Sajha Post.