दोस्रो संविधानसभातिरको अवस्था नियाल्दा सबै पार्टीभित्र परिवर्तनका मुद्दाहरु उल्टिइसकेका छन् । ती मुद्दाहरुको चर्को गरी आवाज उठाउनेहरु कमजोर हुन थालेका छन् । जब पार्टीभित्र मुद्दा उल्टियो, स्वभाविकरुपमा दोस्रो संविधानसभाले प्रगतिशील संविधान बनाउनेवाला थिएन । त्यही पनि मधेसले अन्तिम समयसम्म त्यसको प्रतिरोध गरिरह्यो । तर, मधेसको प्रतिरोधलाई सजिलैसँग संस्थापनले किनारा लगाइदियो ।
एक त मधेसको प्रतिरोधमा भारत छिर्यो । भारत छिरेपछि मधेससँग ट्याकल नै गर्नुपर्ने भएन । सिधा भारतसँग संवाद गरेर कुरा मिलाएपछि मधेस त्यसै सल्टिने भयो । मधेस आन्दोलनको रणनीति गलत थियो । मधेश आन्दोलनको रणनीतिक गल्तीलाई उनीहरुले राजनीतिकरुपमा प्रयोग गरिदिए ।
यसरी दोस्रो संविधानसभाले जसरी संविधान बनायो त्यसले आधारभूतरुपमा परिवर्तनका एजेन्डाहरुलाई उल्ट्यायो । अन्तरिम संविधानभन्दा धेरै प्रतिगमनमा गयो । केही उपलब्धिहरु कागजमा जोगिए । जे होस् अवधारणाका रुपमा समावेशी राज्य बनाउने, राज्यको पुनर्संरचना गर्ने भन्ने कुराको सिद्धान्त चाहिँ त्यहाँ जोगिएको छ तर व्यवहारमा चाहिँ केही पनि कुरा गर्नु नपर्नेगरी त्यहीँ संविधानमा सबै व्यवस्था गरिएको छ ।
पञ्चायती विचारधारा र ओली नेतृत्व
अहिले प्रदेशहरुको नाम वाग्मती, गण्डकी र लुम्बिनी बन्ने लहर चलेको छ । पहिचानमा आधारित संघीयता भनेर हजारौंको सहादत गराउने नेताहरु तैपनि मौन छन् । यो किन भइरहेछ ? मलाई लाग्छ, यो उनीहरुकै चाहना हो । उनीहरु मौन रहेको होइन, उनीहरु यही चाहन्छन् । सुरुदेखि नै मैले ब्राम्हणवादबारे कुरा गरिरहेको छु । पछिल्लो समय त पञ्चायतले निर्माण गरेको विचारधारामा न राज्य चलाउन खोजिएको छ । नेतृत्व ओलीले गरिरहेका छन् ।
हामीले जहाँनेरबाट परिवर्तनको क्रमलाई उल्टाउने क्रम सुरु भएको देख्छौं, त्यहीबाट ओलीको उदय भएको देखिन्छ । किनभने ओली त दोस्रो जनआन्दोलनलाई गाली गरेर घरमा बसिरहेको मान्छे हो । एमाले पनि त्यो आन्दोलनमा छ । तर, एमालेको पनि ओली चाहिँ आन्दोलनमा छैनन् । उनी नेपथ्यबाट आन्दोलनको विरुद्धमा आवाज उठाइरहेका भेटिन्थे । उनी आन्दोलनकै विरुद्धमा थिए । आन्दोलनले राज्य पुनर्संरचना, नयाँ गणतन्त्रतिर देशलाई डोहोर्याएपछि उनको काम नहुनुपर्ने हो । त्यसकारण उनी गायब पनि भए बीचमा ।
दृश्य यस्तो अन्तरविरोधी देखिन्छ कि आन्दोलनको विरुद्धमा लाग्ने मानिस नै आन्दोलनका उपलब्धिहरु जोगाउने अभियानको नेतृत्व गर्न आइपुगेका छन् । धेरै मानिसहरुलाई लाग्न सक्छ केपी ओली संयोगवश अहिलेको राजनीतिको केन्द्रमा आइपुगे भन्ने लाग्छ । त्यो संयोग होइन । परिवर्तनको एजेन्डाको विरोधमा हुँदा र परिवर्तनको एजेन्डा मुलधारमा रहँदासम्म ओली कहीँपनि छैनन् । जब परिवर्तनको मुद्दा उल्ट्याउनका लागि सम्पूर्ण शक्ति सबैतिरबाट लागे, त्यसपछि उनीहरुलाई पात्र चाहियो । पात्र कहाँ चाहियो ? राजनीतिमा चाहियो । न बौद्धिक पात्रले हुन्छ न मिडियाको पात्रले हुन्छ, सेनाको पात्रले पनि हुँदैन । पात्र त राजनीतिमा चाहियो नि । त्यो पात्रको खोजी भइरहेको बेलामा निरन्तर माओवादीलाई गाली गरेर, समावेशिता समानुपातिकको मुद्दालाई गाली गरेर, आरक्षणलाई गाली गरेर कोही मानिस अघिल्तिर आयो भने केपी ओली आयो । र, यो सबै शक्ति जो परिवर्तनका मुद्दालाई उल्ट्याउन लागिरहेका थिए, उनीहरुले नेतृत्व पायो ।
प्रचण्डदेखि बाबुरामसम्मले नेता मानेका ओली
त्यसैले पछिल्लो समय, संविधानसभालाई पनि छाडिदिउँ, यो भन्दा अगाडिको संसदीय निर्वाचनको माहोलमा के भयो ? माओवादी त ठाउँ खोजिरहेको थियो । ऊ कतै न कतै जोडिएरै चुनाव लड्ने अवस्थामा थियो । कांग्रेससँग उसको स्थानीय निर्वाचनमा गठबन्धन भएको थियो । उसलाई अब ओलीसँग गठबन्धन गर्न इच्छा भयो । त्यो इच्छा पनि आफैं निर्माण भएको होइन । ओलीले जुन शक्ति आर्जन गरिरहेका थिए, परिवर्तनका एजेन्डालाई गाली गरेर आर्जन गरेको शक्ति थियो । त्यसकारण ओली ढाकाटोपी र दौरा सुरुवालवाला एजेन्डामा नै देश जान्छ भनेर बुझिसकेपछि प्रचण्डहरुले ओलीलाई सघाउने निष्कर्षमा पुगेका हुन् ।
किनभने पछिल्लो समय त प्रतिगमनको लहर उठिरहेको छ र यसको नेतृत्व केही ओलीले गरिरहेका छन् । केपी ओलीलाई त्यसकारण अन्तर्राष्ट्रियदेखि लिएर यहाँको कुलिन वर्गले पनि समातिरहेको छ । कांग्रेसमा बसेरमा कांग्रेसभित्रबाट चुनाव लडेर केपी ओलीलाई नेता मान्ने मानिस कांग्रेसमै छन् । केपी ओलीजस्ता नेता हामीकहाँ छैनन् भनेर कांग्रेसी नेताले चोकमा चौतारामा भनेपछि नेता त केपी ओली नै रहेछ भन्ने हुन्छ नि । भनेको परिवर्तनको विरुद्धमा जे जे भाष्य निर्माण गरियो त्यसमा तीनैवटा पार्टीका मानिसहरु थिए । तीनैवटा पार्टीका बौद्धिकहरु, पत्रकारहरु सबै थिए । उनीहरु सबैले साझारुपमा मनमनै मानेको नेता केपी ओली । त्यसकारण केपी ओलीभन्दा अर्को मानिस आउने सम्भावना नै हुँदैन नि ।
जब दुई पार्टीको गठबन्धन बनाएर चुनावमा जाने बेलामा अब राजनीतिक मुद्दा सकियो, अब मुद्दा समृद्धिको मात्रै हो भन्नुको अर्थ के हो ? प्रतिगमनलाई स्वीकार गरेको हो । प्रतिगमन भएको छैन भनेको हो । राजनीतिक लडाईं अहिलेलाई सकियो, अब समृद्धिको लडाई मात्रै बाँकी छ भनेर बाबुराम भट्टराईले बारम्बार भन्नुहुन्थ्यो । त्यो कुरा त केपी ओलीलाई नेता मानेको हो घुमाएर । उनले आफूले मान्ने भएनन् तर गाली गरिरहेका थिए । तर जनताले ‘भाइब्स’ बुझ्छन् नि । ‘इन्स्टिंक्ट’ भन्ने कुरा हुन्छ जनतामा । भनेपछि बाबुरामले पनि त घुमाएर केपी ओलीलाई मानिरहेको भन्ने कुरा त जनताले बुझ्छन् । बोल्न सक्दैनन्, व्याख्या गर्न नसक्लान् र बुझ्न त बुझिरहेका हुन्छन् नि मनमनै ।
स्थिर सरकारको गलत भाष्य
यदि समृद्धि नै एजेन्डा हो भने सबैभन्दा बलियो शक्तिलाई भोट दिने हो नि त जनताले । राजनीतिक मुद्दा सकिएको हो भने जो सबभन्दा बलियो छ उसलाई भोट दिँदा पो विकास हुन्छ त । समृद्धिका लागि दुई तिहाई बहुमत चाहिन्छ ।
समृद्धिका लागि बलियो र स्थिर सरकार चाहिन्छ भन्ने जुन भाष्य बनाइएको थियो । जुन विलकुल गलत कुरा हो । विकास र समृद्धि हाम्रो देशमा तथाकथित राजनीतिक स्थिरतासँग जोडिएको कुरा होइन । हुन्थ्यो भने ३० वर्षको पञ्चायतमा मनग्ये विकास भएर देश स्वर्ग हुन्थ्यो । स्वीट्जरल्याण्ड बनाउने त उनीहरुले पनि भनेका हुन् । १०४ वर्ष पनि स्थिर नै थियो मुलुक । त्यो विलकुल गलत भाष्य थियो । त्यो भाष्यलाई सबै राजनीतिक शक्तिले एउटै भाष्यलाई पछ्याएपछि नेता केपी ओली नभएर को हुन्छ ? प्रतिगमन संस्थागत नभएर के हुन्छ ?
जिल्लाले जिस्काइरहेको संघीयता
नेपाली राजनीतिमा ओलीको पुनर्जन्म प्रतिगमनको नेतृत्व गर्नको लागि थियो । उनी उपयुक्त पात्र बनेर राजनीतिक रंगमञ्चमा अगाडि आए । अहिले दूधको साक्षी बिरालो भइरहेका छन् । परिवर्तनका एजेन्डाहरु संस्थागत गर्ने ओलीको नेतृत्वमा । उनीहरुले पहिलेदेखि भनिरहेका थिए, संघीयता ठिक छैन । संघीयता भनेर जसरी ७ प्रदेश बनाइयो, त्यसको सीमांकन पहिलाको जिल्ला संरचनालाई कायम गर्ने खालको छ । जिल्लाको अवधारणालाई छाडिएकै छैन । जिल्लाप्रतिको लामो समयको आदत छाड्न सकिएको छैन । त्यो नक्सा बदल्नै चाहिएको छैन । त्यही कुरा संविधानले पनि गरिदिएपछि व्यवहारमा अब के हुन्छ ?
संविधानले नै प्रदेशलाई कुनै अधिकार नै नदिइकन एकैचोटी स्थानीय तहलाई धेरै अधिकार दिएको छ । संविधान भनेको त कागज मात्रै त होइन । पहिले नै माहौल बनाइसकिएको छ अहिलेको प्रदेशलाई पंगु बनाउने । अनि यो प्रदेशलाई पंगु बनाइएको कुरा सिडियोलाई लगेर थुपारिदिएर हुन्छ ? संविधानले तीन तहको संरचना परिकल्पना गर्छ । जिल्ला कहाँ छ ? कुन संविधानका आधारमा, कुन कानुनका आधारमा सिडियो पठाउनुहुन्छ ? संविधानले त सिडियो हटाइसक्यो । तर, कानुन बनाएर सिडियोलाई सेना समेत परिचालन गर्न सक्ने शक्तिशाली बनाउन विधेयक लगिएको छ संसदमा । भनेपछि उनीहरु संघीयताको आत्मा नष्ट गर्न लागिरहेका छन् । यसरी संघीयतालाई पंगु बनाएर पछि खारेज गर्ने तयारी भइरहेको छ ।
(लेखक तथा राजनीतिक विश्लेषक युग पाठकसँग साझापोस्टले गरेको कुराकानीलाई हामी क्रमशः प्रस्तुत गर्नेछौं- सं.)
यो पनि-
‘मार्क्सवादले पहिचानको मुद्दालाई सम्बोधन गर्न सक्दैन’
परिवर्तनका एजेन्डाहरू अहिले अभिभावकविहिन भएका छन्
The post ‘राज्य पञ्चायतले निर्माण गरेको विचारधारामा चलिरहेको छ, नेतृत्व ओलीले गरेका छन्’ appeared first on Sajha Post.