Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नयाँ दशकमा चीनको भविष्य

$
0
0

नयाँ बर्ष २०२० ले सबैको ढोकामा घण्टी बजाएको छ । यो बर्ष नयाँ बर्ष मात्र नभएर नयाँ दशकको शुरुवात पनि हो । नयाँ दशकबारे सबैको आआफ्ना अपेक्षाहरु होलान् । तर सन् २०१९ को उथलपुथलपूर्ण विश्व नियाल्दा आशावादी हुने ठाउँ कमै देखिन्छ । एकातिर अमेरिका र चीनबीचको व्यापार युद्धले सृजना गरेका अनिश्चितताहरु छन् । अर्कोतिर चिलीदेखि हङकङसम्म जताततै जनअसन्तुष्टि र विद्रोह चुलिदै गइरहेको छ ।

सन् २०२० को दशकमा चीनको भविष्यबारे अनुमान गर्नु मूर्खतापूर्ण प्रयासजस्तो लाग्दछ । यस विषयमा अनुमान गर्न सकिने कुरा कम र नसकिने कुरा धेरै छन् । यहाँ निश्चितताहरुको सीमा र अनिश्चितताहरुको गहिरो थुप्रो छ ।

उदाहरणका लागि विश्वको पहिलो ठूलो अर्थतन्त्र अमेरिका र दोस्रो ठूलो अर्थतन्त्र चीनबीचको प्रतिद्वन्द्विता झनै जटिल र सघन बन्न सक्दछ ।

यो द्वन्द्वलाई सहिष्णुताको विन्दूमा कायम राख्न आउँदो जनवरीको मध्यतिर वासिङगटन र बेइजिङले एक सम्झौता गर्दैछन् । यी दुईबीचको बाँकी पक्ष आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचन र त्यसको परिणाममा पनि निर्भर गर्दछ । उपेक्षित हुँदै गएको हङकङलाई चीनले कसरी सान्त्वना दिन्छ, त्यो अझै स्पष्ट छैन ।

हङकङमा गत अप्रिल यता निरन्तर प्रदर्शन हुँदै आएका छन् । नयाँ वर्षको पहिलो दिन भएको प्रदर्शन उल्लेख्यरुपमा ठूलो थियो । यी प्रदर्शनहरु हङकङ प्रशासन विरोधी मात्र हैन, चीनकै कतिपय नीति विरुद्धमा छन् । यी प्रदर्शनको भविष्यबारे अनुमान गर्ने कुनै प्रष्ट आधार छैन । अर्कोतिर आउँदो हप्ता ताइवानमा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनमा स्वतन्त्रता पक्षधर उम्मेद्वार ताई इङ इनको जित्ने सम्भावना निरन्तर बढ्दो छ । उनी विजयी भएमा चीनको लागि टाउको दुखाईको अर्को बिषय हुनेछ ।


चीन मूलभूमिमा भने यतिखेर आर्थिक मन्दी देखिन थालेको छ । सुस्त हुँदै गएको अर्थतन्त्रलाई गति दिनु बेइजिङ प्रशासनका लागि निक्कै भारी कुस्ती जित्नु सरह हुने देखिन्छ । जस्तो कि नयाँ वर्षको पहिलो दिन नै चिनियाँ केन्द्रीय बैंकले भनेको छ– सुस्त अर्थतन्त्रलाई गति दिन वाणिज्य बैंकहरुको जगेडा कोषको अनुपात ११५ विलियिन अमेरिकी डलर बराबरले कटौती गरिदैछ । आर्थिक सुस्तता चीनको मात्र हैन, विश्व बजारमै यस्ता अनिश्चितताहरु थुप्रिदै गएका छन् ।

यति हुँदाहुँदै पनि चीनमा केही निश्चितताहरु छन् । यसले बाँकी विश्वका लागि प्रष्ट सन्देश दिन र दीर्घकालीन प्रभाव पार्न सक्दछ । जस्तो कि– चीनको राजनीति यो दशक पनि स्थीर रहने छ । राष्ट्रपति सि जिङ पिङ जीवन पर्यान्त सत्तामा रहन सक्नेछन् । उनले चिनियाँ राजनीति र राज्यसत्तामा चुनौतिहीन प्राधिकार हासिल गरेका छन् ।

यसको संकेत विश्वले सन् २०१८ को मार्चमा नै पाइसकेको छ । त्यो बर्ष चीनको राष्ट्रिय कांग्रेसले राष्ट्रपतिको दुई कार्यकालको प्रावधान हटाएको थियो जुन सन् १९९० यता निर्वाध लागू हुँदै आएको थियो । सि जिङ पिङले ग्रहण गरेका बाँकी दुई पदहरु चिनियाँ कम्युनिष्ट पार्टीको प्रमुख र सैन्य आयोगको अध्यक्षमा कार्यकालको अवधिबारे कुनै प्रावधान छैन । यी घटनाले सिको मनसाय प्रष्ट पार्दिन्छन् ।

यदाकदा यस्तो अनुमान गरिन्छ कि राष्ट्रपति सीका लागि चिनियाँ कम्युनिष्ट पार्टीभित्रैबाट कुनै चुनौति सृजना हुन सक्दछन् । तर सन् २०१२ यताका घटनाक्रम हेर्दा यो कुरा पत्याउन सकिन्नँ । सन् १९४९ देखि सन् १९७६ सम्म चीनमा एकछत्त शासन गरेका माओत्से तुङले भन्दा बढी राजनीतिक शक्ति सिले आफूमा केन्द्रित गरेका छन् ।

वाङ सियाई बेई

कम्युनिष्ट पार्टीमा एउटा प्रचलन हुन्छ, आलोचना, आत्मआलोचना भन्ने । चिनियाँ कम्युनिष्ट पार्टीको २५ सदस्यीय उच्च कमिटीमा २४ जनाले यसक्रमा सि जिङ पिङको प्रसंशा गरेका थिए । कसैले कुनै आलोचना गर्ने साहस गरेन । यसले पार्टीको उपल्लो तहको उनीप्रति निष्ठा व्यक्त हुन्छ । लामो समय चलेको यो बैठकमा पार्टी नेताहरु प्रसंशा मात्र हैन, राष्ट्रपति सिको गुणगानमै उत्रिएका थिए । सिन्ह्वा समाचार समितिका अनुसार २४ जनाले नै ‘पार्टी र नेतृत्वप्रति आफूहरु बफादार रहेको’ बचनबद्धता गरेका थिए ।

जब विश्व समुदायले सिको सत्तामोहको आलोचना गरिरहेको हुन्छ, उनका समर्थक भने एक मुखले सिको प्रतिरक्षा गरिरहेका हुन्छन् । उनीहरुको विचारमा ‘समकालीन विश्व परिस्थितिमा चीनजस्तो राष्ट्रका लागि बलियो नेतृत्व र राजनीतिक स्थिरताको आवश्यता छ, त्यो आवश्यकतालाई सिले राम्ररी नै पुरा गरेका छन् ।’ यो राजनीतिक अनूकुलताले सिलाई भावी दुई दशकको योजना बनाउन प्रेरित गरेको छ । उनको योजना र रणनीति सन् २०३५ सम्मको छ । उनी आउँदा केही बर्षभित्र चिनलाई गरिबी मुक्त देश बनाएर विश्वलाई नयाँ प्रकारको समाजवादी राज्यको नमूना पेश गर्न चाहन्छन् ।

यस्तो स्थितिमा चीनको मुख्य चुनौति चाहिँ अर्थतन्त्रमा आएका मन्दी र अमेरिकासंगको व्यापार युद्ध नै हो । अमेरिका बाँकी विश्व विशेषतः युरोपसँग मिलेर चीनको उदयलाई रोक्न चाहन्छ । यसबारे चीनमा दुईवटा धारणा छन् । एकप्रकारका राष्ट्रवादीहरु अमेरिकासँग सिधा व्यापार भीडन्तमा जानुपर्ने धारणा राख्दछन् । तर, यस्तो धारणा राख्नेहरुको संख्या सानो छ । अधिकांश भने व्यापार र लगानीमा बिषयमा अमेरिकासँग कुनै न कुनै प्रकारको सम्झौता गर्नु नै उचित हुने धारणा राख्दछन् । यसो गर्नु अमेरिका वा पश्चिमाहरुसँग झुक्नु हैन, चीनको स्वार्थको रक्षा गर्नु हो भन्ने उनीहरुको बुझाई छ ।

यस सन्दर्भमा ताइवानको निर्वाचन र हङकङको प्रदर्शन चीनका लागि तगारो जस्तो बनेका छन् । अझ बढी राजनीतिक स्वतन्त्रता प्राप्त गर्ने हङकङको मागलाई चीनले स्वीकार गर्ने सम्भावना छैन भने हुन्छ । अर्कोतिर अमेरिकाले हङकङको प्रदर्शनप्रति सहानुभूति राखेको कुरा औपचारिकरुपमा नै प्रष्ट पारेको छ । यो घटनामा अमेरिकाको थप चाहना र चीनको नीतिबारे कुनै प्रष्टता छैन । ताइवानमा स्वतन्ता पक्षधरहरुले जितेमा त्यसले चीनका लागि चुनौति सृजना गर्ने छ तर यसबाट पार पाउने प्रष्ट उपाय पनि चीनसँग छैन ।

जनवरीको मध्यतिर हुने भनिएको वासिङ्टन बेइजिङ सम्झौतामा व्यापार र लगानीका शर्तबारे दुवैपक्षले लचतापूर्वक केही उपाय निकाल्लान् तर जटिल हुँदै गएको भूराजनीतिबारे सम्झौताका विन्दू फेला पार्न सजिलो छैन । त्यसो भए चीनका लागि एउटै बाटो बाँकी रहन्छ– लामो यात्राका लागि लामै रणनीति तय गर्नु । दीर्घकालीन राजनीतिक स्थिरताको खेलमा दीर्घकालीन चाल नै खेल्नु ।

(साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित बेईको विचारको साझापोस्टले गरेको भावानुवाद)

The post नयाँ दशकमा चीनको भविष्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles