Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

के मोदी दिल्लीमा गुजरात दोहोर्‍याउँदैछन् ?

$
0
0

जामिया विश्वविद्यालयमा पुलिसले हस्तक्षेप गरेको दिन म केरलामा थिए । मेरी आमा साह्रै बिरामी हुनुहुन्थ्यो । केरलामा रहन मलाई आवश्यक थियो । त्यो रात मैले सञ्चार माध्यमबाट जामियामा पुलिसको बर्बरता हेरेँ । मलाई लाग्यो– नरेन्द्र मोदी दिल्लीमा सन् २००२ को गुजरात दोहोर्‍याउँदैछन् ।

फेरि मैले प्रहरी मुख्यालयअगाडि विद्यार्थीको प्रदर्शन देखेँ । बिशेषगरी जेएनयुका छात्रछात्रा त्यहाँ थिए । फेरि मलाई लाग्यो– सन् २०१६ को आक्रोश जेएनयुमा छँदैछ । त्यो रिस अझै मरेको छैन । उत्तरप्रदेशको खबर थियो कि पुलिस घरघरमा पसेको छ । जथाभावी मान्छेलाई कुटिरहेको छ । मान्छेलाई कुटिरहेको छ तर मुस्लिमलाई कुटेको भन्दैछ । जबकी यो मुद्दामा हामीसँगै छौं । हामी मोदी नीतिको विरोधी हौं । मुस्लिम वा हिन्दू होइनौं ।

अरुन्धोती रोय

तर, पनि मलाई डर थियो । डर यसर्थ कि हामी विभाजित छौं । आरोपित छौं । यहाँ यस्तै छ । हामी लड्यौं भने ‘शहरी नक्सली’ भनिनेछौं । आदिबासी/जनजातिले संघर्ष गरे भने नक्सलवादी भनिन्छ । मुस्लिमले संघर्ष गरे आतंकवादी भनिन्छ । त्यसैले म डराएकी थिएँ ।

त्यहाँ के हुने हो ! जब मैले देखेँ कि भीमराज अम्बेडकरको जयजयकार थियो । बाबा साहेबको जयजयकार थियो । त्यसपछि म मज्जाले सुतेँ । आज यस्तो स्थिति छ कि हामीले एकअर्काको सुरक्षा गर्नुपरेको छ । मुस्लिमको घरमा पसेर पुलिसले ज्यादती गर्दा तपाई-हामी बीचमा उभिन सक्नुपर्दछ ।

दुई दिन पहिलेको कुरा । देशका प्रधामन्त्रीले रामलीला मैदानमा सबैको अगाडि झुठ बोले । बचकना झुठ । भने, ‘हामीले एनआरसी सम्बन्धि कुनै डिटेन्सन क्याप बनाएको छैनौं ।’

यो त सजिलै पक्रिन सकिने झुठ हो । गत चुनावमा उनले पश्चिम बंगालमा गएर गरेको भाषण अहिले पनि इन्टरनेटमा पाइएला । फेरि किन त्यो भने त ? किनकी त्यो भाषणा त्यस्ता ठाउँका जनतालाई ढाँट्न हो जहाँ इन्टरनेटको सुविधा छैन ।

अन्यत्रको भन्दा हाम्रो लोकतन्त्रमा ठीक उल्टो छ । अरु देशमा मिडियाले सरकारको निगरानी गर्छ । हामी कहाँ मिडियाले सरकारको रक्षा गर्दछ । बचाउ गर्दछ । मलाई यदाकदा यस्ता लाग्छ– यो सरकार मिडियाले बनाएको, मिडियाले जोगाएको सरकार हो । मिडियामा खराब कुरा गर्नु हुन्न भनिन्छ । सामाजिक सञ्जाल हेर्‍यो भने मुस्लिम समुदायको विरुद्ध सबैभन्दा धेरै विषबमन गरिएको पाइन्छ । र, त्यो काम तिनै मान्छे गर्दैछन्, जो मिडियाको निष्पक्षताको कुरा गर्दछन् ।

म राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) नागरिकता संशोधन विधेयक (सीबीए ) र राष्ट्रिय जनसंख्या पञ्जीकरण (एनपीआर) बारे केही कुरा गर्न चाहन्छु । केही समयअघि म असाम गएकी थिएँ । असामका स-साना गाउँहरुमा पुगेँ । त्यहाँ एनआरसीको हल्ला सन् १९७१ देखि नै छ । त्यहाँ मैले देखेँ- मान्छे आफ्ना कागजातलाई कति माया गर्दछन् । आफ्नो बच्चा, पालेको गाई वा खेतबारीलाई भन्दा ज्यादा माया कागजातलाई गर्दछन् ।

मान्छेको जीवन बेहाल छ । भोक छ । काम छैन । ब्रह्मपुत्र नदीमा बाढी आइरहन्छ । तर, मान्छेहरु यस्तो देखिन्छन् कि बरु बाढीले छोराछोरी बगाए बगाओस् तर कागजात नबगाओस् । हरेक प्लास्टिकको झोलामा आफ्ना प्रमाणहरु राखेका हुन्छन् ।

त्यतिगर्दा पनि करिब २० लाख मान्छेसंग प्रमाण हुँदैन । उनीहरु वकिल राख्न सक्दैनन् । विदेशी रजिष्ट्रेशन अफिस धाइराख्न सक्दैनन् । के ती सबै मुस्लिम हुन् ? हैनन् ? बरु मुस्लिमले अगाडि नै होसियार नभएर प्रमाण जम्मा गरेर राखेका छन् । ती मान्छे जोसँग प्रमाणको कागजात जोगाड छैन, ती अधिकांश गरिब हुन् । श्रमजिबी हुन् । आदिवासी हुन् । दलित हुन् । उनीहरुको भविष्य के हुने ? सरकार मौन छ ।

असाममा एक डिटेन्सन क्याम्प बन्दै छ । त्यसको क्षमता तीन हजारको हो । त्यसको लागत मात्र ४५ करोडको छ । यदि २० लाख मान्छेका लागि शिविर बनाउनु पर्‍यो भने कति पैसा लाग्ला ?

अझ म के सुन्दैछु भने यस्ता शिविर बनाउन निजी क्षेत्रलाई दिने रे । एक त यिनीहरुले हाम्रो अर्थतन्त्र खत्तम बनाएका छन् । विमुद्रीकरणले नै हाम्रो अर्थतन्त्र खत्तम भइसक्यो । अहिले उनको सरकार कै आर्थिक सल्लाहकार भन्दैछन् कि भारतको अर्थतन्त्र आइसियुमा छ ।

हामी सधै सरकारको विरोध गर्न सक्दैनौं । हाम्रा अरु पनि काम छन् । विरोध गर्ने, नारा जुलुस गर्ने फुर्सद अहिलेको समयमा कोसँग छ ? हामी लाठी, जुत्ता र गोली खान मात्र जन्मेका हैनौं । यिनीहरुले संसदबाट नागरिकता संशोधन विधेयक पारित त गरे । तर १० प्रदेशका मुख्यमन्त्रीले आफ्नो प्रदेशमा यो कानुन लागू नगर्ने, एनपीआर, एनआरसी लागू नगर्ने बताएका छन् । यो प्रतिवद्धता हो भने त्यसले निक्कै महत्व राख्छ ।

यिनीहरु कै तरिकाले चल्ने हो भने त यो देश नै रहँदैन । सामाजिकरुपमा देश सकिन्छ । आर्थिकरुपमा देश सकिन्छ । कानुनीरुपमा पनि देश बच्दैन । भारत कुनै देश मात्र हैन । यो आफ्नै प्रकारको संसार हो । यहाँ सात सयभन्दा बढी भाषा छन् । सयौं राष्ट्रियताहरु छन् । यो युरोपभन्दा धेरै बृहत्तर र विविध छ । युरोपका भन्दा धेरै समुदाय, धर्म छन् । यो विविधता संरक्षण हुनु पर्दछ ।

दुई महिनाअघि मैले आरएसएस र नाजीको तुलना गरेको थियो । नाजीहरुकै जस्तो सोच छ यिनीहरुको पनि । एक भाषा, एक जाति, एक राष्ट्रियता, एक धर्मको कुरा छ । यिनीहरुको दिमागमा हिन्दी, हिन्दू र हिन्दुस्तान बाहेकहरु अरु केही छैन । उनीहरुलाई यो पनि थाहा छैन कि यी कुनै हिन्दी शब्द हैनन्, फारसी शब्द हुन् ।

मैले सुन्दैछु । देशभरी संघर्ष हुँदैछ । उत्तर प्रदेशमा मात्र २४ जनाको मृत्यु भइसकेको छ । जामिया वा दिल्ली युनिभर्सिटीमा भएको बर्बरता हामीले भोगिसक्यौं । यो संघर्ष गर्नु नै छ । विद्यार्थी संगठनहरुले मिलेर अगाडि बढ्नुपर्दछ । अन्यथा बौद्धिक रुपमा समेत देश सकिन्छ ।

यो पनि-

दलबहादुरहरूलाई विष्णुमति पनि बास्ना आउँछ !

The post के मोदी दिल्लीमा गुजरात दोहोर्‍याउँदैछन् ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles