Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

भाजपा किन कमजोर भइरहेको छ ?

$
0
0

आउँदो हप्ता सन् २०१९ विदा हुँदैछ । विश्वभरी यो वर्षलाई सम्झिने कारण फरक/फरक हुनेछन् । भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) का लागि भने यो वर्ष उन्नतिको पराकाष्ठा र ओरालो यात्राको वर्ष हुनसक्छ ।

लोकसभा निर्वाचनमा भाजपाले प्रचण्ड बहुमत पाएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ पछि दोस्रो कार्यकालमा लागि सत्ताको बाघडोर सम्हाले । पहिलो कार्यकालमा उनले विमुद्रीकरणजस्तो जोखिमपूर्ण कदम उठाएका थिए ।

दोस्रो कार्यकालको प्रारम्भसँगै जम्मु-कश्मीरले प्राप्त गर्दै आएको विशेष प्रदेशको हैसियत अर्थात् संविधानको धारा ३७० खारेज गरिदिए । मोदीको उक्त कदमसँगै कुनै समयको एक सार्वभौम हिमाली राज्य कश्मीर प्रदेश समेत रहेन । उनले उक्त प्रदेशलाई जम्मु-कश्मीर र लद्दाखमा विभाजन गरी २ केन्द्र शासित क्षेत्र बनाई दिए । त्यसपछि राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) र नागरिकता संशोधन विधेयक (सिएबी) आयो । यसले जनताबीच तीव्र मनोवैज्ञानिक ध्रुवीकरण गरायो ।

यही पृष्ठभूमिका ३ वटा प्रदेशसभा निर्वाचन भए । पहिलो हरियाणा विधानसभा निर्वाचन थियो । हरियाणामा भाजपाले सरकार गुमाउनु परेन तर पहिलेको भन्दा कम लोकप्रिय मत र सीट पायो । अर्थात् हरियाणाबाट भाजपाको ओरालो यात्रा शुरुवात भयो ।

दोस्रो महाराष्ट्र विधानसभा निर्वाचन थियो । महाराष्ट्रमा भाजपाले सरकार मात्र गुमाएन । लामो समयदेखिको साझेदार दल शिव सेनाको साथ पनि गुमायो । साथै राज्यपाल भएर गएका भाजपा नेता भगतसिंह कोशियारीले बहुमतसिद्ध नभएका देवेन्द्र फडनबिसलाई मुख्यमन्त्रीको सपथ खुवाई दिए । चारदिने यो नाटकले भाजपा नैतिकरुपमा पनि कमजोर भयो । अन्ततः त्यहाँ शिव सेनाको नेतृत्वमा विपक्षी दलहरुले सरकार बनाए ।

त्यसपछि झारखण्ड आयो । झारखण्डको ५औं विधानसभा निर्वाचन मत परिणामले भाजपालाई झनै कमजोर देखाएको छ । ८१ सीटको झारखण्ड विधानसभामा २५ सीटमा झरेको छ, जबकी विपक्षी गठबन्धनले ४७ सीटको प्रचण्ड बहुमत प्राप्त गरेको छ । झारखण्ड भापजा प्रभावित प्रदेशमध्ये एक थियो । भाजपाले झारखण्डमा विगत ५ वर्षदेखि बहुमतको सरकार चलाइरहेको थियो ।

झारदखण्डमा नोभम्बर ३० देखि डिसेम्बर २० सम्म ५ चरणमा निर्वाचन भएको थियो । भाजपाले ७९ सीटमा उम्मेद्वारी दिएको थियो । बाँकी सीटमा उसले जनता दल युनाइटेड र लोक जनशक्ति पार्टीलाई सहयोग गरेको थियो ।


भारतीय राष्ट्रिय कांग्रेस भने झारखण्ड मुक्ति मोर्चा र राष्ट्रिय जनता दलसँगको घोषित गठबन्धनमा थियो । यी दलले क्रमशः ३१, ४३ र ७ सीट बाँडेर उम्मेद्वारी दिएका थिए । जसमध्ये झारखण्ड मुक्तिमोर्चाले ३०, कांग्रेसले १६ र राजदले १ सीट प्राप्त गरेका छन् । झारखण्ड मुक्ति मोर्चा ( झामुमो) एक्लै पनि प्रदेशको सबैभन्दा ठूलो पार्टी बनेका छ । यसका नेता हेमन्त सोरेन मुख्यमन्त्री हुनेछन् ।

झारखण्डमा अन्य साना दलहरुको आ-आफ्नै नियति छ । बाबुलाल मरान्डी पूर्व भाजपा नेता हुन् । सन् २००६ पछि भाजपा परित्याग गरी उनले झारखण्ड विकास मोर्चा गठन गरेका थिए । उनको दलले एक्लै ८१ स्थानमा उम्मेद्वारी दिएको थियो । तर उनको पार्टीले ३ सीट मात्र जितेको छ ।

झारखण्ड सन् २००० मा एकीकृत बिहारको दक्षिणी भू-भागलाई समेटेर बनाइएको प्रदेश हो । क्षेत्रफलमा यो भारतको १५ औं ठूलो र जनसंख्यामा १४ ठूलो प्रदेश हो । करिब ३ करोड ५० लाख जनसंख्या भएको झारखण्ड प्राकृतिक स्रोतसाधनले सम्पन्न भए पनि गरिब प्रदेशमध्ये एक मानिन्छ । प्रदेशको प्रतिव्यक्ति आय एक हजार डलरको आसपासमा छ ।

सन् १९७६ देखि झारखण्डमा बिहारबाट अलग भई नयाँ प्रदेश गठन गर्ने आन्दोलन चलेको थियो । झारखण्ड मूलतः मुण्डा, सन्थाल र झाँगडलगायतका आदिवासी/जनजातिहरुको ऐतिहासिक थाँतथलो हो । झारखण्ड आदिवासी/जनजाति आन्दोलनको मुख्य क्षेत्र रहँदै आएको छ । आदिवासी/जनजाति नेता शिबु सोरेन झारखण्ड मुक्ति मोर्चाका संस्थापक नेतामध्ये एक थिए । मोर्चाका अहिलेका नेता हेमन्त सोरेन उनका छोरा हुन् ।

करिब ६० वर्ष लामो संघर्षपछि झामुमो प्रदेशको प्रमुख पार्टी बन्न पुगेको छ । हेमन्त सोरेन यस अघि पनि छोटो समयका लागि मुख्यमन्त्री भएका थिए ।

झारखण्ड कम्युनिष्ट पार्टीहरुको पनि प्रभाव क्षेत्र हो । भूमिगत माओइष्ट कम्युनिष्ट सेन्टरले प्रदेशमा नक्सलवादी गतिविधि गर्ने गरेको छ । संसदीय राजनीतिमा भने भाकपा (माले) को केही प्रभाव छ । गत विधानसभा निर्वाचनमा भाकप (माले) को १ सीट थियो । यसपटक पनि त्यही १ सीट जितेको छ । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी ) ले झारखण्ड निर्वाचनमा भाग लिएको थियो तर कुनै सीट जित्न सकेन ।

झारखण्डको अर्को क्षेत्रीय दल अखिल झारखण्ड विद्यार्थी मोर्चा हो । अखिल आसाम विद्यार्थी युनियनले सन् १९८० को दशकमा आसाम आन्दोलन चलाएको थियो । पछि यो आसाम गण परिषद् नामक राजनीतिक दलमा परिणत भयो । यसले दुई कार्यकाल आसाम सरकार चलाएको थियो । आसामको यो सफलताबाट प्रभावित भएर झारखण्ड विद्यार्थी मोर्चा दल सन् १९८६ मा गठन भएको थियो । यसपटक यो दल २ सीटमा सीमित भएको छ ।

झारखण्ड निर्वाचनका मुख्य तीनवटा सन्देश छन् । पहिलो– बहुमत समुदायको बर्चश्वको कुरा गर्ने भाजपाको ओरालो यात्रा हरियाणादेखि झारखण्ड आईपुग्दा झनै तीव्र भएको छ । यस बीचका मुख्य राष्ट्रिय मुद्दाहरु कश्मीर प्रदेशको विघटन, एनआरसी र सिएबी सायद झारखण्डका जनताले मन पराएनन् ।

दोस्रो– भापजाको निर्वाचन सफलता प्रथम हुनेले जित्ने निर्वाचन प्रणालीको फाइदा पनि हो । यो निर्वाचन प्रणालीमा धेरै दलहरुमा मत बाँडिन्छ । भापजाले थोरै मत अन्तरले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने गरेको छ । विपक्षी दलहरुको बलियो गठबन्धन बन्ने हो भने भापजा जुनसुकै बेला नराम्ररी हार्न सक्दछ ।

तेस्रो– आदिवासी/जनजाति राजनीतिको युग फर्किंदैछ । पहिचान र अधिकारको आन्दोलन भारतमा अझै जीवित छ । मुन्डा, सन्थाल र झाँगडहरुको मूलभूमि झारखण्ड निरन्तर हिन्दीकरण र हिन्दूकरण हुँदै आएको थियो । भाजपा, कांग्रेस र कम्युनिष्टजस्ता राष्ट्रिय दलहरुको चपेटामा झामुमो निक्कै कमजोर भइसकेको थियो ।

झारखण्ड मुक्ति मोर्चाको लामो संघर्षले झारखण्ड निर्माण मात्र भएन, अब उसले ५ वर्ष शासन गर्ने सहजता प्राप्त गरेको छ ।

यो पनिः
झारखण्डमा भाजपाको लज्जास्पद हार, मोदीलाई चुनौती दिने सोरेन को हुन् ?

The post भाजपा किन कमजोर भइरहेको छ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles