Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

‘यो संविधानमा टेकेर समाजवाद ल्याउँछु भन्नु हास्यास्पद कुरा हो’

$
0
0

पहिलो कुरा, समाजवाद वर्गीय व्यवस्था हो । सबै वर्ग मिलेर समाजवाद ल्याउने भन्ने हुँदैन । शोषकहरु पनि मिल्ने, शोषितहरु पनि मिल्ने र समाजवाद ल्याउने भन्ने कुरा दुनियाँभरी कहीँ पनि हुने कुरा होइन । यो समाजवादको अवधारणा पनि होइन । भँडुवा-भँडुवा खालको कुरा गर्ने, हिटलरको जस्तो कुरा गर्ने, मुसोलिनीले गरेको जस्तो कुरा गर्ने, अरबियनहरुले अरब समाजवाद भनेजस्तो कुरा गर्ने, इन्दिरा गान्धीहरुले अर्को कुरा गर्ने, यस्ता कुराहरु मात्रै गर्ने हो भने चाहिँ हुन्छ । नत्र भने समाजवाद वर्गीय व्यवस्था हो ।

नेपालको संविधान कसरी बन्यो ? सबै डराएका पार्टीहरु मिलेर बनेको संविधान हो यो । माओवादीले अब जित्न नसकिने भयो, सेफ ल्याण्डिङ कसरी गर्ने भनेर बनाएको संविधान हो यो । कांग्रेसले पनि कति मार्ने हो, हामीलाई पनि मारिदिन्छ कि ? भनेजस्तो डरले बनाएको । एमालेले चाहिँ वामपन्थी भनेको माओवादी आइहाल्ने भयो, हामी के गर्ने होला अब भनेर ऊ पनि आतंकित बनेर बनाएको हो यो संविधान । यसर्थ, यो सबै हारेर आएका मानिसहरु मिलेर बनाएको संविधानले समाजवादतिर जाने भन्ने नै हुँदैन । किनकी समाजवादी संविधान त वर्गीय लडाई लडेर जितेपछि बनाउने व्यवस्था हो । खास वर्गको पक्षमा व्यवस्था बनाउने भनेको जितेर बनाउने हो । हारेका मानिसहरुले कसरी बनाउन सक्छन् ? बन्दैनथ्यो ।

अर्को कुरा, कतिपय मानिसहरुले अचम्मका कुरा सुनाउँछन् । अहिलेको स्तरको समाजवाद लागू गरौं भन्ने मानिसहरु पनि छन् । अहिले जति हुन्छ, त्यति समाजवाद लागू गरौं न । त्यसको निम्ति मन्त्री पनि बनिहालौं न भन्ने पनि छन् । हाम्रोमा यस्तो खाले समाजवादी पनि छन् । त्यो चाहिँ अलि फरक खालको समाजवादको कुरा भो ! यो चाहिं ‘प्राक्टिकल पोलिटिक्स’ गर्नेहरुको कुरा हो ।

अहिले एकजना मन्त्री हुनुभएको छ समाजवादी ! उहाँले मलाई भन्नुहुन्थ्यो एउटा गोप्य कोठामा- म त प्राक्टिकल पोलिटिक्स गर्ने हो । यो व्यवहारिक राजनीति भनेको के हो ? मैले सोधेँ ।

‘अहिले जे हुन्छ, त्यही गर्ने ।’

अहिले के हुन्छ त ?

केपी ओली प्रधानमन्त्री हुन्छन्, म मन्त्री हुन्छु ।

यो संविधान जसरी बन्यो, यो एकथान पुँजीवादी संविधान बनाएको कुरा हो । मजस्ता मानिसहरुलाई लागेको कुरा थियो- माओवादी उत्कर्षमा आएको बेला, उत्पीडित चेतनाहरु पनि अगाडि आएको बेला, दमन गरेर सिध्याउँछु भनेकाहरु पनि अलि थाकेको बेला संविधान बनायो भने, पुँजीवादी संविधान नै बन्ने हो बन्न चाहिँ । समाजवादी संविधान बन्ने चाहिँ होइन् । तर, अन्तको पुँजीवादीभन्दा अलि धेरै समावेशी बनाउन सकिन्छ कि भन्नेसम्म लागेको थियो । त्यति पनि भएन । यसर्थ, यो संविधानमा टेकेर समाजवाद ल्याउँछु भन्ने कुरा हास्यास्पद कुरा हो ।

आहुति

समाजवाद उन्मुत हुने कुरा त सधैं भइदिए भयो नि उन्मुख त ! यो बाटो कहाँ जान्छ भन्दा अमेरिका जान्छ भन्न मिलिहाल्छ नि । हिंडेर अमेरिका जान त मिलिहाल्छ नि ! समाजवाद उन्मुख भनेको नि यस्तै कुरा हो । उन्मुख भइराख्ने रे । यो त हावादारी कुरा हो । नेपालमा दलाल पुँजीवाद लागू गर्न यो चाहिन्छ भनेको हो ।

कस्तो दलाल पुँजीवाद ? भन्यो भने एनसेलजस्तो दलाल पुँजीवाद । कस्तो दलाल पुँजीवाद भन्यो भने गोकर्ण रिसोर्टजस्तो दलाल पुँजीवाद । सरल कुरा छ नि । त्यसैले यो संविधानको पक्षमा धेरै कुरा नगरौं भन्ने लाग्छ मलाई । यो बाटो हिंडेर समाजवाद पुग्ने कुरा होइन ।

अब नेपालमा केवल समाजवादको मात्रै कुरा नगरौं । कुन समाजवाद ? कम्युनिष्टहरुले भन्ने गरेको वैज्ञानिक समाजवाद । यसकाे बारेमा कुरा गर्ने भनेको कि समाजवादको मात्रै बारेमा कुरा गर्ने भनेको ? अब किटान गरेर कुरा गरौं । अमूर्त समाजवादबारे छलफल गरौं भन्नु पर्‍यो कि ? होइन भने कित्ताकाँट गरेर छलफल गरौं । समाजवाद भनेको कस्तो हुन्छ भनेर मात्र हुँदैन । कम्युनिष्ट पार्टीको घोषणापत्रमा एङ्गेल्सले १८७३ मा लेखेको भूमिका हेर्‍यौं भने उनले लेखेका छन्, ‘हामीले कम्युनिष्ट पार्टीको घोषणापत्र भनेर किन लेख्यौं भने समाजवादीहरु यति भ्रमपूर्ण भए हामी लेख्न चाहिँ समाजवादीहरुको घोषणापत्र लेख्न चाहन्थ्यौं तर यति भ्रम भयो, यति बदनाम भयो समाजवादको बारेमा कि त्यो लेख्यो भने झन बदनाम हुने भयो भनेर कम्युनिष्ट पार्टीको घोषणापत्र नाम राख्यौं ।’

भनेपछि त्यो बेला देखि बदनाम छ समाजवाद शब्द । बोल्सेभिक कम्युनिष्ट पार्टी भनेर रुसीहरुले किन नाम राखेका रहेछन् ? सन् १९१७ मा लेनिनले एउटा सानो लेख नै लेखेर स्पष्ट पारेका छन् । उहाँ भन्छन्, ‘यति भ्रम भयो समाजवाद जनवाद भनेको यति भ्रम भयो कि अब चाहिँ कम्युनिष्ट पार्टीको घोषणापत्रमा मार्क्स एंगेल्सले जे शब्द प्रयोग गरेका छन्, पार्टीको नाम त्यही राख्नुपर्ने भयो ।’

यति भ्रमपूर्ण र यति विवादित विषय बन्दै आएको छ यो । त्यसैले अब प्रष्ट छलफल गर्नुपर्‍यो । यो वैज्ञानिक समाजवादबारे छलफल हो कि होइन ? यो भ्रम दिइराख्न पाइने समाजवादको पक्षमा छलफल गरियो भने सधैंभरी हामी त्यतैतिर बगेर गईरहनुपर्ने भयो ।

अब म दुई तीनवटा सन्दर्भमा भनाई राख्न चाहन्छु ।

पहिलो- समाजवाद अथवा वैज्ञानिक समाजवाद वा पुँजीवादको विकल्पको कुरा गर्ने हो भने यो सम्पूर्ण पुँजीवाद, दास व्यवस्था वा वर्ण व्यवस्था सम्पूर्णको उत्पत्तिको मूल कारण के हो भन्नेमा जानु पर्‍यो । त्यो भनेको निजी सम्पत्तिको उत्पत्तिमा जानुपर्‍यो । समाजवादको प्राथमिक गोरेटो बनाउनुपर्‍यो । निजी सम्पत्तिको उन्मुलनतिर हामी कसरी जान्छौं ? अब यहाँ समाजवाद ल्याउने भनेको त निजी सम्पत्तिको उन्मुलनको कुरा छैन कि सम्पत्ति बेस्करी कसरी कमाउने ? भन्नेतिर छ । हाम्रोमा यस्तो अचम्म छ । सम्पत्ति बढी कसरी कमाउने र समाजवाद कसरी ल्याउने भन्ने कुरा भयो भनेपछि यो त पुँजीपतिहरुको समाजवाद भयो ।

पुँजीपतिहरुले ल्याउने समाजवाद सम्पत्ति धेरै कमाएर हो । धनी बन्ने भन्ने कुरा सम्पन्न बन्ने भन्ने कुरा एउटै होइन । धनी बन्नको लागि चाहिँ गरिबहरु चाहिन्छ । सम्पन्न बन्न अर्को गरिब चाहिँदैन । हाम्रोमा सम्पन्न बन्ने र गरिब बन्ने भनेको एउटै एउटै भएको छ । यसर्थ, निजी सम्पत्तिको उन्मुलनको दिशा यसले पक्रन्छ कि पक्रँदैन ? समाजवादको एउटा मुख्य कुरा यहाँ छ ।

दोस्रो- संगठनको क्षेत्रमा समाजवाद । राज्य व्यवस्था वा संगठन । अब कस्तो भइदियो भने संसारमा पार्टी कसले बनायो ? पुँजीपति वर्गले । पुँजीपति वर्गले पार्टी किन बनायो त ? सामन्त वर्गलाई हराउन । अब पुँजीपति पुँजीपति मिलेर बसौं, सानो पार्टी बन्छ । किनकी पुँजीपतिहरु थोरै छन् । त्यसर्थ, उनीहरुले मजदूर लगायत अन्य वर्ग पनि अट्न सक्ने गरेर नारा तय गरियो । तर, उसको आवश्यकता भने सामन्त वर्गलाई जितेपछि शासन त आफू थोरैले मात्रै गर्न परेको छ । धेरै मान्छे नभइकन सामन्तलाई जितिँदैन तर, आफूले मात्रै शासन गर्नुपरेको हुनाले थोरै मानिसले निर्णय गर्नुपरेको छ । यसर्थ, उसले तदनुरुपकै पार्टी बनायो । धेरै मानिस सहभागी हुने तर निर्णय गर्ने ठाउँमा निश्चित पुँजीपति वर्ग मात्रै पुग्ने । थोरै मानिस पुग्ने पार्टी बनायो ।

अब मार्क्सवादले भनेको के हो ? सत्ताको विलोपीकरणमा लैजाने । लेनिनको भाषामा भन्दा सम्पूर्ण सत्ता सोभियतहरुलाई दिने अथवा जनताको संस्थाहरुलाई दिने । पुँजीपति वर्गको संगठनको ठिक विपरित हुनेरहेछ समाजवादीहरुको संगठन ।

त्यो भनेको के हो ?

पुँजीपति वर्गलाई थोरै मानिसले शासन गर्नु परेको छ । त्यसैले उसले थोरै मानिसले निर्णय गर्ने पार्टी बनाउँछ । समाजवादीहरुले सिंगो समाजकै शासन व्यवस्था तय गर्नु पर्ने भएकोले उसले यस्तो पार्टी बनाउनुपर्ने हुन्छ कि बहुसंख्यक मानिसहरुले निर्णय गर्ने र प्रतिनिधिहरुले लागू गर्न सकून् ।

आजसम्मको व्यवस्थामा के भयो भन्दा प्रतिनिधिहरु अर्थात् थोरै मानिसहरुले निर्णय गर्ने र बहुसंख्यक मानिसमाथि लागू गर्ने । अब पार्टी बनाउने प्रणालीलाई नै उल्ट्याउनुपर्ने हुन्छ । किन पुँजीपति वर्गले पिरामिडजस्तो पार्टी बनायो ? उसलाई थोरै मानिसले निर्णय गर्ने अधिकार लिएर राख्नु परेको छ । बहुसंख्यकलाई त लुट्नु परेको छ उसलाई । बहुसंख्यकलाई लुट्नुपर्ने भएकोले पुँजीपति वर्गले प्रतिनिधिहरुले निर्णय गर्ने पार्टी बनायो । बहुसंख्यकले शासन गर्ने पार्टी बनाउन यसलाई उल्ट्याउनुपर्छ । यसको लागि बहुसंख्यकले निर्णय गर्ने र प्रतिनिधिहरुले लागू गर्ने हुनुपर्छ ।

यो प्रयत्न अलिअलि बोल्सेभिकहरुले गर्न खोजेका हुन् । सम्पूर्ण सत्ता सोभियतमा भनेर जनताले नै बनाएको संस्थाहरुमार्फत् निर्णय गर्ने भनेर तर, उनीहरु युद्धमा फसे, लेनिनको मृत्यू लगायत अनेक कारणले त्यहाँ पनि पुँजीपतिको जस्तै पार्टी बन्यो । पिरामिडजस्तो, जति माथि गयो त्यति थोरै मानिस हुने । त्यही थोरै मानिसले सबै निर्णय गरेर लाद्ने ।

हामीमा सबैभन्दा ठूला भ्रम छ । त्यो भनेको रुसीहरुले अभ्यास गरेको लगायतका पहिलाको समाजवादमा निजी सम्पत्तिको उन्मुलन गर्ने नाममा सम्पत्ति राष्ट्रियकरण गरियो अथवा राज्यकरण गरियो । बुझाई कस्तो रह्यो भने निजी सम्पत्तिको उल्टो राष्ट्रिय सम्पत्ति हो अर्थात् राज्यको सम्पत्ति हो भनेर बुझाइयो । जुन कुरा गलत थियो । किनकी राज्य कसरी जन्मियो मार्क्सवादको भाषामा ? राज्य भनेको त निजी सम्पत्तिको विस्तारित रुप हो । राज्य भनेको निजी सम्पत्तिको उल्टो होइन । बरु राज्य भनेको निजी सम्पत्तिको अझ ठूलो बिस्तारित रुप हो । संगठित रुप हो ।

अनि व्यक्तिको सम्पत्ति खोसेर झन सबैभन्दा ठूलो सम्पत्तिवाल संस्थालाई दिइयो । निजी सम्पत्तिको विपरित राष्ट्रिय सम्पत्ति वा राज्यको सम्पत्ति होइन । निजी सम्पत्तिको विपरित त समुदायको सम्पत्ति हो । समाजवादको मूल मर्म संगठनको सवालमा निजी सम्पत्तिको विपरित राष्ट्रियकरण वा राज्यको सम्पत्ति भन्ने जुन मान्यता ल्याइयो, त्यो कुरा गलत थियो । बरु निजी सम्पत्तिको विपरित चाहिँ समुदायको सम्पत्ति हो । यसरी हेर्दा समाजवाद निर्माण गर्ने भनेको निजी सम्पत्तिको ठाउँमा, राज्यको सम्पत्तिको ठाउँमा, राज्यको अधिकारको ठाउँमा, निजी अधिकारको ठाउँमा त्यसलाई सामुदायिक अधिकार, सामुदायिक सम्पत्ति र सामुदायिक निर्णयतिर लैजाने भनेको हो ।

त्यसो गर्ने हो भने हामीले बनाउने संगठन र राज्य व्यवस्थामा यो कुरा प्रकट हुनुपर्छ । त्यो कुरा कसरी प्रकट हुनुपर्छ त ? प्रतिनिधिहरुले निर्णय गर्ने होइन, प्रतिनिधिहरुले लागू गर्ने हो । सरोकारवाला वर्ग र समुदायले निर्णय गर्ने हो । यस्तो संगठन र राज्यव्यवस्था निर्माण गर्नुपर्छ । हिजोबाट सिकेर नयाँ बनाउने हो भने ।

समाजवाद भनेको एउटा विश्व व्यवस्था हो । अब लेनिनहरुले विश्वयुद्धबाट प्राप्त भएको अवसरलाई छोपेर एक देशमा पनि लागू गरौं र फैल्याउँदै जाउँ भनेर वहाँहरुले अवसर छोपेको कुरा हो । त्यो ठिक छ । तर, यो त विश्वव्यवस्था हो । यो भनेको कुनै नेता, कुनै जमातलाई इच्छा लागेर होइन कि अनिवार्यरुपमा उत्पादन शक्तिहरु र उत्पादन सम्बन्धमा आउने अनिवार्य फेरबदलको कारणले विश्वव्यापीरुपमा समाज त्यता जाने भनेको हो । क्रान्तिकारीहरुको काम त्यसलाई छिटो लैजानको निम्ति मेहनत गर्ने भनेको हो । जस्तो कि भेनिसमा जन्मे पनि जहाँ जन्मे पनि कसैले रोक्नु भने पनि पुँजीवाद त संसारभर फैलँदै आयो नि त ! कसैले ल्याउँछु भने पनि आयो, रोक्छु भने पनि आयो ।

किन आयो त ? त्यतिबेला विकसित भएको उत्पादन सम्बन्धले अनिवार्यरुपमा त्यतातिर धकेलेको हो । हाम्रो समाजवादको चाहिँ के भयो त ? गएको सय वर्षलाई दुई भाग लगाएर हेर्दा १९१७ बाट सुरु भएको समाजवादी क्रान्ति क्युबन क्रान्तिसम्म पुग्दा अथवा १९५९ सम्म पुग्दा संसारभरी क्रान्तिको लहर मात्रै छ । त्यो राष्ट्रिय मुक्ति संग्राम होला, साम्राज्यवाद विरोध आन्दोलन होला । जहाँ कम्युनिष्टहरुले क्रान्ति गरे, त्यहाँ कम्युनिष्ट क्रान्ति भयो जहाँ पुँजीवादीहरुले नेतृत्व गरे त्यहाँ राष्ट्रिय मुक्ति संग्राम मात्रै भयो ।

भएको त यति मात्रै हो । तर, यो बीचमा संसारभरी क्रान्ति नै क्रान्ति भयो । विश्वक्रान्तिको रुपमा, पुँजीवादको विकल्पको रुपमा, साम्राज्यवादको विकल्पको रुपमा । तर, १९५९ पछि अहिलेसम्म हेर्‍यो भने प्रतिक्रान्ति मात्रै छ मूल चरित्र । भएका, बनेका विभिन्न नाममा बनेका समाजवादी सत्ता सरकार पनि गिर्दै गिर्दै गए । र, क्रान्ति गर्न भनेर अगाडि बढेका आधारक्षेत्रसहित बसेका थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, बंगलादेश, पछिल्लो कालमा आउँदा टर्की र पेरु ती पनि क्रमशः ढल्दै ढल्दै गएर अन्तिम ढलान चाहिँ नेपालमा भयो ।

यो के भएको हो ? आधा सय वर्ष चाहिँ क्रान्ति मात्रै छ विश्वव्यापीरुपमा । १९५९ पछिको आधा सय वर्षपछि चाहिँ प्रतिक्रान्तिको लहर मात्रै छ । यस्तो किन भयो ? किनकी यो विश्वव्यवस्थाको कुरा हो । नेपालमा मात्र समाजवाद ल्याउने भन्ने कुरा होइन यो । नेपालमा समाजवाद आउने अवस्था छ भने र ल्याउन सकिने राजनीतिक लाइन छ भने त्यसले विश्वव्यापीरुपमा तरंगको रुपमा आउँदै आउँदै जाने हो । जसरी पुँजीवादलाई सामान्तवादले रोज्दारोज्दै पनि रोक्न सकेन । विश्वव्यापी भइछाड्यो, त्यसैगरी पुँजीवादको विकल्पको व्यवस्था हो भने त यो तरंगको रुपमा विश्वव्यापीरुपमा जानुपर्ने हुन्छ ।


यसर्थ, समाजवादको रुपमा छलफल गर्दा के छलफल मलाई उपयुक्त लागेन भने नेपालमा समाजवाद बनाउने मात्रै छलफल सैद्धान्तिक भएन । त्यस्तो होइन हो । यसले विश्व फेनोमेना कसरी लिन्छ ? विश्वव्यापीरुपमा समाजवादी चरणमा, समाजवादी क्रान्तिमा कसरी तरंग पैदा हुन्छ भनेर यो बहस सुरु गर्नुपर्ने हुन्छ । जसरी पुँजीवाद एक देशमा मात्रै बनाउने व्यवस्था होइन । पुँजीवादी क्रान्ति भनेर पुँजीवाद आएको होइन । पुँजीवादी क्रान्ति भएर पुँजीवाद जन्मिएको होइन । पुँजीवाद जन्मेको त त्यहाँको उत्पादक शक्तिको विकासको कारणले हो । मेसिन जन्मियो, मुद्रा जन्मियो, व्यापार जन्मियो इत्यादि उत्पादन सम्बन्धको विकासको कारणले पुँजीवाद जन्मिएको हो । पुँजीवादी क्रान्ति त्यो पुँजीवादलाई देशव्यापी, विश्वव्यापी सचेतरुपमा व्यवस्था बनाउनका लागि भएको हो ।

यसकारण, अहिले हामीले कहाँ छलफल गर्नुपर्छ त ? यदि समाजवादी विश्व बनाउने हो भने समाजवाद चाहिँ जन्मिसकेको छ कि छैन यहाँ ? हाम्रो त्यहाँ छलफल नहुने भयो । समाजवाद हामीले कतैबाट ल्याइदिने कुरामा मात्रै छलफल भइरहेको छ । कोही चाहिँ विकास गर्दै, समृद्धि गर्दै, पैसा कमाउँदै समाजवाद ल्याइदिन्छौं भन्छौं । कोही चाहिँ क्रान्ति गरेर समाजवाद ल्याइदिन्छौं भन्छन् । क्रान्ति गरेर समाजवादी व्यवस्था बनाउँला ठिकै छ । जसरी पुँजीवादी क्रान्ति गरेर पुँजीवादी व्यवस्था बनाइयो । तर, पुँजीवाद जन्मेको त पुँजीवादी क्रान्तिले होइन नि । यो जन्मिएको त त्यहाँको उत्पादक शक्तिमा आएको बदलावले हो नि ।

त्यसो हो भने अहिले यदि समाजवाद बनाउन समाजवादी क्रान्ति गर्छौं भने हाम्रो समाजमा अहिले समाजवादको भ्रुण जन्मिएको छ कि छैन ? समाजवाद हाम्रो जीवनमा जन्मन थालेको छ भने समाजवादी क्रान्ति हुन्छ । हामीले समाजवाद बनाउन मात्रै पर्ने छ भने समाजवादी क्रान्ति हुँदैन । किनभने सामाजिक व्यवस्था वा विश्वव्यवस्था मान्छेको सचेत प्रयत्नले बन्ने व्यवस्था होइन । सचेत प्रयत्नले त त्यो अगाडि बढ्ने हो । अझै व्यवस्थित हुने हो । हामीले चाहेर समाजवाद बन्ने होइन । समाजवाद बन्न थाल्नुपर्छ स्वतः । बल्ल हामीले त्यसलाई व्यवस्थित गर्ने हो । क्रान्ति गर्ने भनेको त्यसलाई तीव्र पार्नका निम्ति हो ।

यसर्थ, हाम्रो छलफल कहाँ हुनुपर्‍यो भने हाम्रो जीवनमा आज नै समाजवाद निर्माण हुन थालेको छ कि छैन ? आज समाजमा भएका औजारहरुका कारणले । पुँजीवाद बन्न थाल्यो के कारणले ? कारखानाले, मेसिनले, नगदले, पुँजीले पुँजीवाद बन्न थाल्यो । पुँजीवाद बन्न थालेपछि अब सबैतिर शासन गर्न पर्‍यो भनेर पुँजीवादी क्रान्ति गरेर शासन गरेको हो । अहिले हाम्रो जीवनमा समाजवाद आउन थालेको छ कि छैन ? हाम्रो समाजमा समाजवाद बन्न थालेको छ भने त्यसलाई क्रान्ति गरेर देशव्यापी, विश्वव्यापी बनाऔं । हाम्रो जीवनमा समाजवाद आउन थालेको छैन भने हामीले जति मेहनत गरे पनि समाजवाद आउँदैन ।

मलाई लाग्छ, हाम्रो जीवनमा समाजवाद सुरु भइसक्यो । वैज्ञानिक समाजवाद नै सुरु भइसक्यो । त्यो कति प्रतिशत सुरु भयो ? कसरी सुरु भयो ? त्यसमा चाहिँ छलफल गर्नुपर्छ । र, विश्वव्यापीरुपमा समाजवाद सुरु भइसक्यो । अब त्यसलाई क्रान्तिद्वारा, सचेत प्रयत्नद्वारा वर्गीय व्यवस्थाको रुपमा स्थापित गर्न चाहिँ बाँकी छ । तर, समाजवाद निर्माण चाहिँ सुरु भइसक्यो ।

(संवाद-कीर्तिपुरले शनिबार आयोजना गरेको ‘नेपालकाे संविधानले परिकल्पना गरेकाे समाजवाद’ विषयक छलफल कार्यक्रममा आहुतिले राखेको विचारको सम्पादित अंश)

The post ‘यो संविधानमा टेकेर समाजवाद ल्याउँछु भन्नु हास्यास्पद कुरा हो’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles