जब म सानो थिएँ, केटाकेटीलाई मलाई केही थाहा थिएन के यो जातभात भनेको कुरा । हुर्कँदै जाँदा चेतना भरिन थाल्यो । घरनजिकै दलित बस्ती थियो । म सधैं गएर खाइराख्थेँ उनीहरुकोमा । पछि कसैले भन्यो, यो सानो जात, छोएको खानु हुँदैन । खाएर के हुन्छ भनेर म गइरहन्थेँ । पछि थाहा पाएँ, उनीहरु समानता, सम्मान र अवसरबाट बञ्चित पारिएका समुदाय रहेछन् । उमेर बढ्दै गएपछि काठमाडौं आउँदा, जिल्लाका सरकारी कार्यालयहरुमा जाँदा ‘ऊ मधिसे आयो’ भनेर इङ्गित गर्दा थाहा पाएँ मधिसे के रहेछ भनेर । मधेसी भएकै कारण अपहेलित हुनुपर्ने अवस्था रहेछ ।
विद्यालय शिक्षापछि कजेल जान थालियो । त्यहाँ खासगरी मार्क्सवादी साहित्य पढेपछि थाहा भयो, गरिब भएकै कारण विपन्न वर्गले सारा सेवा सुविधाबाट वञ्चित हुनुपरेको रहेछ । शिक्षाबाट वञ्चित हुनुपरेको रहेछ भन्ने थाहा पाएँ । अहिले पनि स्वास्थ्य मन्त्रालयमा गरिबहरुकै बढी भिड हुन्छ । दुवै मृगौला फेल छ, पैसा छैन, खाना छैन । अपरेशन गर्नुपर्नेछ, बस्ने ठाउँ छैन । ‘कहाँ जाऊँ, बाँच्ने ठाउँ छैन, म यहीँ स्वास्थ्य मन्त्रालयमै सुत्छु, यहीँ मर्छु’ भन्नुहुन्छ ।
यसरी गरिब भएकै कारण पढ्न नपाउने, पढ्न नपाएपछि रोजगारी पनि नपाउने, विकासका अवसरहरु नपाउने । तर, साधन स्रोतमाथि आधिपत्य जमाउने वर्गले त त्यो पाइरहेको छ ।
मनमा प्रश्न उठ्यो, ‘यो असमानता कसरी हट्छ ?’ मार्क्सवादी साहित्यले भन्यो, ‘कम्युनिष्ट साम्यवाद लागू गर्नुपर्छ । समाजवाद हुँदै साम्यवादमा पुगेपछि असमानता अन्त्य हुन्छ ।’ यही कुरालाई पत्याएर कम्युनिष्ट आन्दोलनमा लागेँ । तर, अगाडि बढ्दै जाँदा त्यो पनि एउटा भ्रम जस्तै देखियो । कम्युनिष्टहरुले पनि वर्ग विभेदलाई अन्त्य गर्न सकेनन् । बरु कम्युनिष्टहरु नै नयाँ वर्गको रुपमा जन्मियो । राजनीतिमार्फत् सत्तामा पुगेर शक्तिको अभ्यास गर्ने नयाँ वर्ग बनेर जन्मिने, तलको वर्ग तलतिरै रहने अवस्था देखियो ।
अझै अगाडि बढेर हेर्दा महिलाले पनि समान अवसर र अधिकार पाएका छैनन् । मुस्लिमको त्यस्तै छ । कहिल्यै पनि मुस्लिमको मदरसा दर्ता हुँदैन । गर्न चाहे पनि दर्ता गर्न पाउँदैनन् । उनीहरुको भाषाको मान्यता छैन । नेपालको सरकारी कामकाजको एउटै मात्रै भाषा नेपाली बनाउँदा अरु भाषाभाषीहरु त भाष्यिक विभेदमा पारिए । यसरी महिला, मधेसी, दलित, मुस्लिम, अरु अल्पसंख्यकहरु सबै विभेदमा छन् । उता, ठूलो संख्या भएर पनि आदिवासी जनजातिहरुको प्रतिनिधित्व, भाषा र संस्कृतिलाई मान्यता र पहिचान छैन ।
अब यी र यस्ता सबै विभेदहरुलाई बोकेर हिंड्ने शासन व्यवस्था कसरी लोकतान्त्रिक हुनसक्छ ? समानता र स्वतन्त्रता लोकतन्त्रका दुईवटा महत्वपूर्ण पक्षहरु हुन् । फ्रान्सेली राज्य क्रान्तिले स्वतन्त्रता, समानता र भातृत्वलाई मुख्य कुरा भन्यो । समानता भनेको के हो ? संविधानमा कानुनका दृष्टिमा सबै समान छन् भनेर लेखिदिएर समानता हुँदैन । अधिकार र अवसरको दृष्टिबाट हेर्दा समानता छैन । अवसरको दृष्टिबाट हेर्दा, कर्मचारीतन्त्र नै हेरौं, त्यहाँ नेपालको दुईतिहाई जनसंख्या ओगट्ने समुदायको केवल तीन/चार प्रतिशत मात्रै सहभागिता छ । यहाँ समानता कसरी भयो ? महिला, मधेसी, दलित, जनजातिको उपस्थिति किन कमजोर छ ? कागजमा लेखेको अधिकारमा समानता छ, तर, अवसरमा समानता छैन । कागजमा मात्र लेखेर भातृत्व कसरी हुन्छ ? सम्पन्न र विपन्नबीचको भातृत्व भनेको धेरै कठिन कुरा हो । भातृत्वको लागि त अधिकार र अवसरमा समानता हुनुपर्छ ।
पश्चिमी समाजतिर हेर्दा केही फरकहरु छन् । त्यहाँ कार्ल मार्क्सले वर्ग संघर्षको कुरा गरे । वर्गविहिन समाजका कुरा गरे । तर नेपालमा वर्ग संघर्षसँगसँगै वर्ण संघर्ष पनि छ । एउटा दलित दरिद्रै होस्, एकजना उच्च जातिको भनिएको पनि दरिद्र छ, उनीहरुको वर्ग एउटै हो । तर, त्यो दलितको अवस्थामा नेपालमा के छ ? उसलाई समाजले कहाँ पुर्याएको छ ? सामाजिक, आर्थिक भूमिका कहाँ हुन्छ ?
महिलाको कुरा गरौं । नेपालका सबैभन्दा धनी घरमा जाँदा त्यहाँ बुहारीको स्ट्याटस धेरै तल हुन्छ । त्यहाँ समानता हुँदैन । यसको अर्थ यहाँ विभेद छ । खासगरी वर्णमा आधारित विभेद हाम्रोमा चर्को छ । ब्राम्हण, क्षत्री, वैश्य र शुद्र । यहाँ शुद्रहरुले भोग्ने विभेद र उत्पीडन पश्चिमी समाजमा पाइँदैन । पश्चिमी समाजमा जात र वर्णको संरचना नै छैन, उनीहरुले यस्तो विभेदको अनुभूति नै गर्न पाउँदैनन् । त्यो अनुभूति हाम्रो समाजमा छ । जाति र वर्णमा आधारित समाजले उत्पन्न गरेको विभेदमा सबैभन्दा प्रताडित दलित र महिला लगायतका भएका छन् । यो प्रथासँगसँगै वर्गले उत्पनन् गरेको हुँदा खाने र हुने खानेबीचको अन्तर पनि छँदैछ । यसरी वर्ण र वर्गले गर्दा उत्पन्न असमानता र विभेद अन्त्य नगरी समानता कहाँ आउँछ ? यसलाई अन्त्य नगरी समाजवाद पनि हुन सक्दैन ।
हाम्रो समाजमा विद्यमान यी वर्णीय, वर्गीय र लैंगिक शोषण र विभेदलाई अन्त्य गरेर समानता कायम गर्न आवश्यक छ । यसर्थ, समावेशी लोकतन्त्रको कुरा गरिएको हो । सबैकाे भागेदारी र साझेदारी भएको लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो । विभेदहरुलाई अन्त्य गर्ने समानता र समावेशी लोकतन्त्रसँगसँगै समृद्धि पनि चाहिन्छ । गरिबहरुबीको असमानताले समाजवाद हुँदैन । समाजवादमा समानता सँगसँगै सम्पन्नता पनि चाहिन्छ । जातिय, वर्गीय र लैंगिक असमानता र विभेद अन्त्य भएको समाज निर्माण गर्ने कुरा नै समाजवादी लोकतन्त्र वा सामाजिक लोकतन्त्र वा त्यो ठाउँमा पुग्दा समुन्नत लोकतन्त्र हुन्छ । यसरी समुन्नत समाजवादलाई विभिन्न ढंगले बहस गर्न सकिन्छ । हामी यो बहसलाई थप उचाईमा पुर्याउन चाहन्छौं ।
नेपालको संविधानले संघीयताको सुनिश्चितता त गरेको छ । तर यसले संघीयताका खास विशेषताहरु समेट्न सकेको छैन । उही पञ्चायती कालमा निर्दलीय प्रजातन्त्र भनेजस्तै भएको छ । निर्दलीय पनि भन्ने अनि प्रजातन्त्र पनि भन्ने । निर्दलीय व्यवस्थामा त एक दल मात्रै हुन्छ, त्यहाँ प्रजातन्त्र हुनै सक्दैन । अहिले त्यस्तै भएको छ । संघीयता भन्ने तर पहिचान, प्रादेशिक स्वायत्तता, स्वशासन र समानतालाई माइनस गरिएको छ । यसर्थ, संघीयतालाई समृद्ध बनाउन अहिलेको संविधानलाई संशोधन गर्नुपर्छ ।
हाम्रोजस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक विविधता भएको मुलुकमा यी सबैको भागेदारी, साझेदारी र प्रतिनिधित्वबिनाको राजनीतिक प्रणालीले यो मुलुकको भविष्य छैन । यी सबैको समावेशिता, पहिचान, उनीहरुको भाषा-संस्कृतिको मान्यता र सहभागिताबिनाको लोकतन्त्र नै समावेशी लोकतन्त्र हो । यसर्थ, विविधताको सम्बोधन गर्ने र उनीहरुको अधिकारको सुनिश्चितताको लागि पनि अहिलेको संविधान संशोधन अत्यावश्यक छ ।
अल्पसंख्यकहरुको भाषिक, धार्मिक र अन्य अधिकारहरुलाई सम्बोधन गर्ने कुराको सुनिश्चितता पनि अहिलेको संवैधानिक व्यवस्थामा समावेश हुन सकेको छैन । यी मान्यताहरुलाई अंगाल्दै बढेमा मात्रै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल वा हामीले भन्ने गरेको संघीय समाजवादी लोकतान्त्रिक गणतन्त्र नेपालको सफलतापूर्वक कार्यान्वयन गर्न सकिन्छ । यी समस्याहरुलाई हल नगरी लोकतन्त्र, समाजवाद सम्भव हुँदैन । विभेद र असमानतासहितको समाजवाद सम्भव छैन । विभेद र असमानतालाई बोकेर लोकतन्त्रको कुनै भविष्य हुँदैन । सामाजिक लोकतन्त्र बिना राजनीतिक लोकतन्त्रको कुनै अर्थ हुँदैन । लोकतन्त्रको सामाजिक स्वरुप समानता र विभेदरहित हुनुपर्छ र लोकतन्त्र आर्थिक न्यायसँग जोडिनुपर्छ । लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्नुपर्छ ।
आज नेपालमा अत्यन्त विपन्न वर्गले न्याय पाइरहेको छैन । न्यायलय हेर्नुस् त । काठमाडौंमा चिसो रातमा सडकमा सुतिरहेका साना बालबालिका भेट्नुहुन्छ । दिनभरी प्लास्टिक र बोत्तल उठाउने र राति बरण्डामा सुत्ने उनीहरुको जीवनशैली बनेको हुन्छ । ऊ पनि यही नागरिककै बच्चा होला । उनीहरुले शिक्षा, स्वास्थ्य र जीवनलाई अगाडि बढाउने अवसर पाउने कि नपाउने ? उसको हक हो कि होइन ? जसको कोही छैन, उसको अभिभावक राज्य हुनुपर्छ । न्याय सबैले पाउनुपर्छ, यो सामाजिक न्याय हो । यो आर्थिक न्यायसँग पनि जोडिएको हुन्छ । यी सवालहरुलाई सम्बोधन गरेर मात्रै नेपालमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक असमानता, विभेद र शोषणको अन्त्य गर्न सकिन्छ ।
प्राकृतिक, सांस्कृतिक लगायतका विविधता धनी नेपाल किन यति गरिब छ ? लगानी नआएर होइन, विदेशीले दिएको ऋण जोड्ने हो भने प्रतिव्यक्ति करोडौं पर्छ । दुई तिहाई भन्दा बढी जनसंख्यालाई बहिस्करणमा पारेर हो । अब सच्याउने कहाँ हो ? सच्याउने कुरा के हो भने विभेद र असमानतामा समृद्धि आउँदैन । एउटा घरभित्रै हेरौं न, एउटा छोराको पक्ष लिने, अर्को छोरालाई दबाउने । छोरीको पक्ष लिएर बुहारी दबाउने । यस्तो कलह विद्यमान घरमा शान्ति र समृद्धि आउँदैन । मुलुकमा पनि त्यस्तै हो ।
(उप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष यादव लिखित पुस्तक ‘नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र’को सार्वजनीकरण कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
The post विभेद र असमानतालाई बोक्ने लोकतन्त्रको कुनै भविष्य हुँदैन appeared first on Sajha Post.