सृष्टि नियमितता र आकस्मिकताको द्वन्द्व हो । प्रकृति र समाजमा कैयौं घटना यस्ता हुन्छन्- जो लामो प्रक्रियाबाट कुनै परिणाममा पुग्दछन् । कैयौं घटनाहरु यस्ता हुन्छन्- जो मान्छेले कल्पना नै गरेका हुँदैनन् तर घटित हुन्छन् । नियमितताको पाटोबाट हेर्दा ‘आकस्मिकता कहिल्यै आउँदैन’ जस्तो लाग्छ । आकस्मिकताको पाटोबाट हेर्दा ‘नियमितता बेकार हो’ जस्तो लाग्छ । तर सृष्टि यी दुबैको निरन्तर चक्र हो ।
मैले नेपालको राजनीति बुझ्न/भोग्न थालेको २०३६ साल पछि हो । विश्व राजनीतिमा पनि त्यतिखेरै देखि चासो राख्न र पाएसम्म सूचना लिन थालें । २०३६ को जनमत संग्रहमा जब निर्दलको विजय भयो । समाजका अधिकांश स्थापित माथवर, बुज्रुक मान्छेहरु हामीलाई भन्थे– ‘बुझ्यौ नानी हो, अब यो अखिल, नेबिसंघ तिर नलाग्नु है, पञ्चायत जनअनुमोदित भो, कम्तीमा यो ५० बर्ष टिक्छ । नागरिकता बनाउँदा पञ्चहरुको सिफारिस चाहिन्छ । जागिर खान पुलिस रिपोर्ट चाहिन्छ ।’
हो कि जस्तो लाग्थ्यो ।
२०४६ सालमा आन्दोलन शुरु नभै पक्राउ परेँ । ‘यो फुच्चे केटाको जिन्दगी खेर जाने भो’ भनेर परिवार, गाउँले र आफन्तजन निराश भए । नभन्दै फाल्गुन ७ गते आन्दोलन शुरुवात भो, चैत्र १० गतेसम्म कतै कुनै छेकछन्द देखिएन । थुनामा हामीले करिब १० बर्ष जेल बस्ने मानसिकता बनाइसकेका थियौं । बाँकी १० दिनमा यस्तो भनायक आँधी आयो, अरु ५० बर्ष टिक्छ भनेको पञ्चायत जनमत संग्रहको १० वर्ष नपुग्दै गर्लामगुर्लम ढल्यो ।
माले मेरो मातृ पार्टी थियो । पछि एमाले भयो । अधिकांश एमाले नेताहरु भन्थे – ‘नेपालमा करिब ५ दशक कांग्रेस–एमाले दुई पार्टी प्रणाली चल्छ । संसदीय राजतन्त्र चल्छ । २०४७ को संविधान संसारकै उत्कृष्ट संविधान हो । मदन भण्डारीको २७ बुँदे आलोचनात्मक समर्थन त फेस सेभ मात्र हो ।’ हो कि जस्तो लाग्थ्यो ।
केही बर्ष नवित्दै माओवादी जनयुद्ध शुरु भयो । करिब एक दशक त्यत्रो संघर्ष र बलिदान भयो । कांग्रेस–एमालेले त्यसो हुने कल्पनाको ‘क’ पनि गरेका थिएनन् । अझ रोचक आकस्मिकता त ‘मधेश आन्दोलन’ थियो । उपेन्द्र यादवको फोरम कत्रो न पार्टी थियो ? त्यत्रो मधेश आन्दोलन किन र कसरी सम्भव भयो होला ?
कांग्रेस–एमाले संविधानसभा चाहँदैनथे, भयो । कांग्रेस–एमाले माओवादीलाई दमन गरेरै सिध्याउन चाहन्थे, सकेनन् । गणतन्त्रको मुद्दामा बहस नहोस् भन्ने चाहन्थे, भयो, गणतन्त्र आयो । कांग्रेस–एमाले मधेश विद्रोह दमन गर्न चाहन्थे, सकेनन् । संघीयता, आधा भए पनि समानुपातिक निर्वाचन प्रणाली र आरक्षण आयो । हिजोको संस्थापनवादी विचारबाट यी सबै घटना आकस्मिक हुन्, नियमित हैनन् ।
विश्व राजनीतिमा पनि यसबीच त्यस्तै कैयौं घटनाहरु भए । सोभियत संघ ढल्छ भन्ने कसैले कल्पना पनि गर्दैनथ्यो । पूर्वी युरोपका घटना मानिसको कल्पनाभन्दा बाहिर थिए । रुमानियामा चाउचेस्कुलाई जनताले चोकमा ल्याएर गोली ठोके । अफगानिस्तानमा तालिवानको नाम कसैले सुनेका पनि थिएनन् । जुन दिन बिहान काबुलको सार्वनजिक चोकमा कम्युनिष्ट शासक नाजीबुल्लालाई तालिवानले गोली ठोकी मारेको समाचार आयो, संसार चकित भयो ।
इराकमा सदाम हुसेनले, लिवियामा कर्णेल गद्दाफीले जीवन पर्यन्त शासन गर्ने ठानिन्थ्यो । चीनमा देङ सियाओ पिङको उदय होला र माओ पत्नी चियाङ चिङले जेलभित्र आत्महत्या गर्लिन् भन्ने कसैले कल्पना गरेको थिएन । भारतमा डा. राममनोहर लोहिया र जयप्रकाश नारायणले कांग्रेस छोडेको मूल्यमा जनता पार्टी बन्छ, त्यो सत्तामा आउँछ, कांग्रेस–कम्युनिष्ट भन्दा फरक धारका शक्तिशाली पार्टी बन्छन् भन्ने कसैले सोचको थिएन । सबै भयो । भारतमा आज कम्युनिष्टहरु सकिए सरह भएका छन् । कांग्रेस नसकिए पनि धेरै कमजोर भएको छ ।
जब नियमितता प्रखर भएको बेला हुन्छ, मान्छे निराश हुन्छन । यथास्थितिवाद हावी हुन्छ । आमस्मिकता कहिल्यै आउँदैन जस्तो लाग्छ । इतिहासका यी सबै मोडमा मैले आशावादी भन्दा धेरै निराश मान्छेहरु नै सामना गरें । तर सृष्टि त्यति निर्दयी हुँदैन । निराशाकै बीचबाट भित्रभित्रै कुनै बिष्फोटको वातावरण बनिरहेको हुन्छ । आकस्मिकता फेरि फर्केर आउँछ । हामी नेपालीको मायाले मात्र हैन, हामी वैकल्पिक विचार र शक्ति बनाउन चाहनेहरुको रहर पूरा गर्दिन हैन, स्वयं सृष्टिले सृष्टिकै निरन्तरताका लागि पनि आकस्मिकताको खेल खेल्छ ।
भरखरै उपननिर्वाचन सकिएको छ । फेरि कांग्रेस–कम्युनिष्टहरु बलिया देखिएका छन् । निराशाको एउटा सानो उपअध्याय क्रियाशील छ यतिखेर । वरिपरिका निराशहरु भन्छन् – ‘दाई यो पार नलाग्ने काम तपाईंहरु किन गर्नु हुन्छ ? कतिन्जेल गर्नु हुन्छ ? आफ्ना मातृ पार्टीमा फर्किनुस, टन्टै साफ’ । परिवार र आफन्तजनहरु भन्छन – ‘तिमेर्को जीवन यसरी नै सिध्धिने भो ।’ कतिपय पुराना साथीहरु खुच्चिङ गर्छन – ‘कत्ति न विकल्प बनाउन हिँड्या थिस्, भेटिस् ।’
मलाई लाग्छ यी सबै २०३६–२०४६ बीचका पञ्चहरु, २०४६–२०५६ बीचका कांग्रेस–एमालेहरु कै जस्ता तर्क हुन्, जो नियमितताको मोतियाबिन्दूबाट ग्रसित छन् । उनीहरुको सोचमा सृष्टिको गति रोकिएको छ । क्रान्तिको अन्त्य भएको छ । नेपाली समाजको परिवर्तनको कार्यभार पूरा भएको छ । कांग्रेस–कम्युनिष्ट अजम्बरी भएका छन् ।
बिल्कुल झुठ । यस्तो हुनै सक्दैन । नेपाली क्रान्तिका केही कार्यभारहरु अधुरा छन् । त्यसले नेपालमा फेरि एउटा आकस्मिकता ल्याउँछ, ल्याउँछ । धेरै ढिलो गर्दैन । म दाबीका साथ भन्छु – आउँदो एक दशकभित्रै ल्याउँछ । त्यसपछि नेपालका कांग्रेस–कम्युनिष्टहरु पनि भारतका कांग्रेस–कम्युनिष्ट जस्तै इतिहासको सानो कोठामा आराम गर्न बाध्य हुनेछन् ।
भन्नु होला, त्यो भविष्यवाणीको आधार के ? कसरी हुन सक्छ, त्यस्तो ? पहिलो कुरा त यो कुनै भविष्यवाणी हैन, इतिहासको स्वयंसिद्ध तथ्य हो । नेपाल र विश्वका राजनीतिक घटनाक्रमले यो प्रक्रियालाई बारम्बार अनुमोदन गरेको छ ।
दोस्रो – हामी पनि यही समाजमा छौं । जनताको मनोदशा नबुझ्ने कुरै छैन । मान्छेले राजीखुशीले, हृदयदेखि प्रफुल्ल भएर कांग्रेस–कम्युनिष्टलाई भोट दिएका हैनन् । मातृपार्टी भावना र भरपर्दो विकल्पको अभाव अनुभूति गर्दै मन नपरी नपरी भोट दिएका हुन् ।
तेस्रो – वेलायतबाट भारत हुँदै नेपाल आएको संसदीय प्रणाली फेर्ने नेपाली जनताको तीव्र इच्छा छ । अहिलेको नक्कली संसदीय लोकतन्त्रप्रति मान्छेको हृदयमा पुरापुरा विश्वास छैन । प्रत्यक्ष, समावेशी, समानुपातिक र सहभागितामूलक लोकतान्त्रिक प्रणालीको खोज अवश्य हुन्छ ।
चौथो – संघीयताको अहिलेको मोडालिटीका कमजोरीहरु आउँदा केही बर्षमा झन् छताछुल्ल हुनेछन् । जनताले वास्तविक संघीयताको माग गर्नेछन् । क्षेत्रीय असन्तुलन, भाषिक, साँस्कृतिक बहिष्करणको अनुभूति तीव्र हुँदैछ ।
पाँचौं – भ्रष्टाचारले देशभित्रभित्रै आक्रान्त छ । कांग्रेस–कम्युनिष्टले सुशासन र सदाचारका लागि संस्थागत तथा संस्कृतिगत परिवर्तन गर्ने छैनन् । निर्वाचनहरु झनझन महंगा हुनेछन् । भ्रष्ट र अर्बपतिहरुले मात्र चुनाव जित्ने दिन संघारमा आउँदैछ । झनै ठूल्ठूला भ्रष्टाचारका घटना अनावृत हुनेछन् । दुरुचार र पापकर्महरुको घैंटो भरिँदै जानेछ ।
छ – अहिलेको आर्थिक नीति र ढाँचाबाट समाजवाद हावादारी गफ मात्र सिद्ध हुनेछ । पुँजीवादी र साम्यवादीहरुले चलाउने समाजवाद कस्तो हुन्छ, जनताले व्यवहारबाटै भोग्नेछन् । शिक्षा र स्वास्थ्यमा भएको निजीकरण र माफियाकरण रोकिने छैन । जमिनको सट्टेबाजी ब्यापारीकरणको कारण आवास सुविधा झनै महंगो हुनेछ । दलाल तथा क्रोनी पुँजीवाद झनै हावी हुनेछ । देशको व्यापार घाटा झनै बढ्नेछ । यी सबै कुराले जनताको जीवनमा भयंकर आर्थिक जटिलता ल्याउँदैछ ।
सात – सत्ताले कुटनीतिक सन्तुलन गुमाउनेछ । भूराजनीतिक जटिलता बढ्दै जाँदा विश्व जनमत पनि कांग्रेस–कम्युनिष्टको पक्षमा रहने छैन ।
अहिलेको स्थिति भनेको देश ठीक २०४६ पछिको स्थितिमा फर्किएको अवस्था हो । त्यतिखेर कांग्रेस–एमाले दुई पार्टी यथास्थितिवादका प्रतीक थिए । आज कांग्रेस–नेकपा यथास्थितिवादका प्रतिक छन् । आजको नेकपा सारतत्वका हिसाबले हिजोको एमाले नै हो ।
एमाले र माओवादीको एकतामा एमालेको संगठन राम्रो र माओवादीका एजेण्डा क्रान्तिकारी थिए । माओवादीको एजेण्डा र एमालेको संगठन भएको भए नेकपा यसरी यथास्थितिवादमा फस्ने थिएन । तर ठीक उल्टो भयो । माओवादीको जस्तो संगठन र एमालेको जस्तो एजेण्डा भयो । हिजोका माओवादी साथीहरु ती एजेण्डा अब नेकपामा उठाउन सक्दैनन्, जुन एजेण्डा बोके वापत उनीहरु गौरव गर्थे । हिजोको एमालेको जस्तो व्यवस्थित संगठन पनि अब नेकपासँग छैन, हिजोको माओवादीको जस्तो भद्रगोल भएको छ ।
अर्थात् क्रान्तिको चक्काले एक फन्को पूरा गरेको छ । यो चक्कालाई अर्को फन्को घुमाउने प्रयत्न हामी गर्दैछौं । उपरोक्त कारणले – आकस्मिकताको बिष्फोट अपरिहार्य हुनेछ । एक नयाँ क्रान्ति हुनेछ । क्रान्तिका अधुरा कार्यभारहरु पूरा हुनेछन् । अब भन्नु होला, त्यसको नेतृत्व कस्ले गर्छ ? तिमेरुका खुट्टी देखेकै हो, तिमेरुका नेता देखेकै हो ।
नेतृत्वको जन्म पनि नियमितता र आकस्मिकताको संयोग हो । राजनीतिमा व्यक्ति महत्वपूर्ण हुँदैन । इतिहासको आवश्यकताले व्यक्ति महत्वपूर्ण बन्न पुग्छ । राजनीतिमा एजेण्डा महत्वपूर्ण हुन्छ । जब एजेण्डाको प्रभाव समाजमा पर्छ, मन मष्तिष्कमा पर्छ, त्यसले पुरानै पनि, नयाँ पनि व्यक्तित्वलाई नयाँस्तरमा विकास गर्दछ ।
२०३६ सालमा वीपी, मनमोहनको व्यक्तित्व पुरानो थियो, तर कयौं नयाँ विद्यार्थी नेताहरु थिए । २०५६ सालमा गणेशमान, किशुनजीको व्यक्तित्व पुरानो थियो, मदन भण्डारी, आरके मैनालीजस्ता नयाँ पनि जन्मिसकेका थिए । गणतन्त्रको एजेण्डाले मोहन बैद्य पुराना र प्रचण्ड–बाबुराम जस्ता नयाँ व्यक्तित्वहरुको उपयोग गर्यो । संघीयता, समावेशिता र समानुपातिकताको सवालले महन्थ ठाकुरजस्ता पुराना र उपेन्द्र यादवजस्ता नयाँ नेताहरुको संयोजन गरायो ।
यी घटना मात्र हैनन्, इतिहास निर्माण हुने सार्वभौम प्रक्रिया हुन् । भोलि पनि त्यही हुन्छ– केही पुराना व्यक्तित्वहरुलाई एजेण्डाले, आवश्यकता र समयचक्रले नवीकरण गर्दछ र केही नयाँ नेताहरु जन्मिनेछन् ।
बहुदलीय व्यवस्थामा दुई पार्टी प्रणाली भयानक भ्रम मात्र हो । झट्ट हेर्दा त्यो अमेरिकामा भएजस्तो देखिन्छ । तर त्यसको कारण त्यहाँको बिशिष्ट निर्वाचन प्रणाली हो । संसारमा अन्यत्र कहिँ त्यस्तो छैन । वेलायतमा टोरी र ह्वीगलाई दुई पार्टी प्रणालीको उदाहरण बनाइन्थ्यो । लेवर र एसएनपी जन्मेको मात्र हैन, शक्तिशाली भए । माथि पनि चर्चा भयो भारतमा कांग्रेस र कम्युनिष्ट दुई पार्टीको अवधारणा कतै क्रियाशील नै भएन ।
जर्मन, इटली, फ्रान्सजस्ता देशमा समानान्तर ५/७ वटा पार्टीहरु बराबर शक्तिशाली छन् । इटलीमा फाइभस्टर र फ्रान्समा इन मार्के कस्ले कल्पना गरेको थियो ? पाकिस्तानमा त्यही भन्थे, पिपल्स पार्टी र मुस्लिम लिगको दुई पार्टी प्रणाली चल्छ, खै चल्यो ? दुई पार्टी प्रणाली बहुदलीय लोकतन्त्रलाई संकुचन गर्न चाहनेहरुको सेन्डिकेटवादी दुष्ट सोंच मात्र हो, त्यो नेपालमा किमार्थ लागू हुने छैन ।
प्रिय मित्रहरु ! यो उपचुनाव सृष्टिको अन्त्य हैन । नत कांग्रेस–कम्युनिष्ट अजम्बरी पार्टी नै हुन् । चिन्ता हैन, चिन्तन गरौं । फल पाइएन भन्ने पीर हैन, कर्म गरौं । हुनतः गीताले कर्म गर फलको आशा नगर भन्छ ।
मलाई लाग्छ – कर्म गरौं । असल नियत र पूर्ण समर्पणभावले कर्म गर्नेहरुले फल नपाएको संसारमा कुनै घटना छैन । फलको रुप फरक हुन सक्दछ । तर हरेक कर्म आफैमा फल हुन् । कर्म र फल अन्योन्याश्रित हुन्छन् । राजनीतिक कर्मको फल सत्ता मात्र हैन । मूख्य कुरा त समाज र इतिहासमा त्यसले छोड्ने स्थान हो ।
The post कांग्रेस–कम्युनिष्ट अजम्बरी पार्टी हैनन् appeared first on Sajha Post.