उपनिर्वाचनको चटारो सकिएको छ । यस निर्वाचनमा नेकपालाई नै प्रमुख रुपमा मतदाताले रुचाएको पाइयो । नेपाली काङ्ग्रेस, समाजवादी, राजपा लगायतका दलहरुले संसदमा रहेको आफ्नो दलको उपस्थिति अनुसारको मत प्राप्त गरे । समग्रमा भन्नुपर्दा अघिल्लो निर्वाचन र यस उपनिर्वाचनमा मतदाताले दलहरुलाई दिएको मत परिणाममा उल्लेखनीय फेरबदल भएन ।
नेकपा नेतृत्वको सरकारको अलोकप्रियताकै कारण जनमत आफ्नो पक्षमा आउला भन्ने नेपाली काङ्ग्रेसको अपेक्षामा पनि तुषारापात भयो ।
संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण भई बनेको समाजवादीले प्रदेश नम्बर २ बाहेक अन्य प्रदेशहरुमा अपेक्षाकृत परिणाम हासिल गर्न सकेन ।
लामो समयदेखि नेपाली राजनीतिमा नाम सुनिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, जनमुक्ति पार्टी लगायतका दल होउन या भर्खर भर्खर स्थापना भएका साझा पार्टी , विवेकशील नेपाली दल होउन् कसैले शिर ठाडो पार्न सकेनन् ।
२०७४ को निर्वाचन सम्पन्न भई नेकपाले प्रचण्ड बहुमत प्राप्त गर्यो । आफ्नो नेतृत्वमा सरकार गठन गर्यो । पहिलो पटक नेपाली राजनीतिमा एउटा राजनीतिक दलले प्राप्त गरेको स्पष्ट बहुमतबाट जनताका अनेकौँ अपेक्षा पूरा हुने अनुमान गरियो । यद्यपी सरकारले लामो समयसम्म सही गति पक्रन सकेन । जनतालाई नै खिन्न बनाउने ललिता निवास जग्गा खरिद विक्री प्रकरण, वाइडबडी विमान खरिद प्रकरण, निर्मला पन्तको बलात्कार र हत्या, सुन तस्करी, भ्रष्टाचारका अनेकौँ श्रृङ्खलाहरु बाहिरिए । नेकपाका नेता तथा प्रतिनिधिसभाका पूर्व सभामुख कृष्णबहादुर महराको बलात्कारको घटना र मोहम्मद अफताब आलमको इट्टा भट्टामा जिउँदै मान्छे जलाउने सम्मको पासविक र बर्बर घटनाहरु पनि यही समयमा बाहिर आए ।
लामो समय सरकारमा बसेका र सरकारमै हुँदा भएका विभिन्न घटनाक्रमले गर्दा नेपाली काङ्ग्रेस र नेकपालाई यसपालिको निर्वाचनले केही सबक सिकाउने, खासगरी आफूलाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गरेको दावी गर्ने दलहरुको, अनुमान र आशा थियो । तर ठीक विपरीत यिनै पुराना दलहरु नै उत्साहपूर्ण तवरले नेपाली राजनीतिको अग्र पंक्तिमा आएका छन् । मतदाताहरुको मत व्यवहार हेर्दा मुख्य रुपमा नेकपा र नेपाली काङ्ग्रेसलाई नै एक अर्कोको विकल्पको रुपमा छानेको पाइयो ।
जनताको स्तरमा रहेको सरकारप्रतिको चरम असन्तुष्टि मतदाता मार्फत व्यक्त भएन । ती घटनाक्रमहरुलाई मतदाताले व्यक्ति विशेषसँग सम्बन्धित घटनाका रुपमा लिएको देखियो । त्यसैले त यी पार्टीप्रतिको मतदाताको मोह र आकर्षण घटेन । सबै राजनीतिक दलहरु यस्तै यस्तै घटनाक्रमसंग कहिँ न कहिँ जोडिएको हुनाले कसैलाई कोही भन्दा फरक नदेखेको पनि हुनुपर्छ । सशक्त तेस्रो विकल्प प्रत्याभूति भइनसकेको कारणले लोकतन्त्रमा हरेक नागरिकले गर्नुपर्ने मताधिकारको प्रयोग मतदाताहरुले मुख्य रुपमा कम्युष्टि र काङ्ग्रेसमा गरेको हुनुपर्छ ।
सरकार चलाएका दलहरुदेखि सरकारमा रहँदा यिनीहरुले गरेको कामबाट जनताहरु दिक्क भएकै छन् । वैकल्पिक शक्ति निर्माणको अभियानमा लागेको दावी गर्ने दलका नेताहरु र तिनीहरुको तौर तरिकासँग मतदातालाई खासै वास्ता छैन । मतदातालाई लागेको छ, भन्ने सबैले फरक हो, गर्ने सबैले “उही” हो ।
हरेक पार्टी वैचारिक र सैद्धान्तिक रुपले अरुभन्दा फरक हुन्छ । सबै पार्टीले आफ्ना राजनीतिक नीति कार्यक्रम तय गरेकै हुन्छन् । हरेक पार्टीका आफ्ना निर्दिष्ट लक्ष्य र उद्देश्य हुन्छन् नै । यहाँ नेताहरु आफ्नो पार्टीलाई सबै हिसाबले वैकल्पिक शक्ति हो भन्ने देखाउने होडबाजीमा लागिरहँदा मतदाताले निर्वाचनको परिणामबाट नेपालका दलहरुलाई ठूला र साना दल, पुराना र नयाँ दलको रुपमा मात्र लिएको देखियो ।
हामीले अपनाएको निर्वाचन प्रणालीले उद्योगपति, भू–माफिया, तस्कर, गुण्डा नाइकेहरुलाई निर्वाचनका लागि उपयुक्त उम्मेदवार मान्दछ । अझ साना पार्टीहरुले त ठूला पार्टीबाट निश्कासन भएका, अनुशासनको कारबाहीमा परेका, आफ्नो पार्टीबाट टिकट नपाएका, सरकारी सेवाबाट अवकाश पाएका कर्मचारी, ठेकेदार, दलाल, टोले गुण्डाहरुलाई उम्मेदवार बनाउनुपर्ने स्थिति छ । यस अर्थमा एकाध घटना बाहेक जनप्रतिनिधिको भूमिका निर्वाह गर्न नेपाली राजनीतिको मैदानमा उत्रने अधिकांश उम्मेदवारहरु यस्तै पृष्ठभूमिका छन् ।
अर्थात नेपालको राजनीति नेता र कार्यकर्ताको पहुँचबाहिर गइरहेको छ । यही वर्तमान नेपालको लागि सबैभन्दा ठूलो पीडादायक बनेको छ । राजनीतिक दलका नेताहरुले आफ्नो पार्टीलाई जुनसुकै उपमा वा विशेषण दिए पनि मतदाताहरुले देखेका दल र तिनका उम्मेदवारहरुबीचको फरक नामको मात्र हो । यस अर्थमा निर्वाचन प्रणालीले योग्य बनाउने माथि उल्लेखित उम्मेदवारहरु र तिनै उम्मेदवारहरु मध्येबाट छानिने जनप्रतिनिधिहरुले मुलुक बन्ने त परै जाओस् मुलुक थप जर्जर र विकराल अवस्थामा पुग्ने देखिन्छ ।
वैकल्पिक शक्ति बनाउने अभियानमा लागेका दल र तिनका नेताहरुले नै पार्टीभित्रका योग्य र इमान्दार कार्यकर्ताहरुलाई जनप्रतिनिधिहरुको रुपमा अगाडि बढाउने र यिनै सच्चा कार्यकर्ताहरुको मूल्याङ्कन र योगदानका आधारमा पार्टी निर्माण गर्ने वैकल्पिक सोच बोक्न नसक्नु पनि ठूलो विडम्बना हो ।
राजनीतिक दलहरु सानो वा ठूलो, पुरानो वा नयाँ हुने प्रक्रिया चलिरहने नै छ । हरेक दलले आफूलाई सशक्त, वैकल्पिक शक्ति बनाउने रस्साकस्सी पनि चलि नै रहने छ ।
उपनिर्वाचन सम्पन्न भएसँगै धेरैजसो पार्टीका विभिन्न समितिहरुमा निर्वाचनको समिक्षा हुने नै गर्छ । ती समिक्षाको एजेण्डा दलका नेताहरुको कार्यशैली र विद्यमान निर्वाचन प्रणाली पनि बनोस् ।
The post उपनिर्वाचनको सन्देशः निर्वाचन प्रणाली नै गलत appeared first on Sajha Post.