पहिला देशकै कुरा गरौं । प्रधानमन्त्री बिरामी छन् । उनको पार्टी र सरकार सबै कुरा बोल्छन् । तर, प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा कम बोल्छन् वा मौन बस्छन् । देश कसरी चलिरहेको छ भन्ने बारेमा सामान्य मानिस अन्यौलमा छन् । अरु कसैले चलाईरहेका छन् वा अटो मोडमा चलिरहेको छ ? अत्तोपत्तो छैन । अनि सत्ताधारी दलका नेताहरु ढुकेर बसेका जस्तो देखिन्छन्, कुन बेला मौका आउँछ र सत्ता दौडमा एकले अर्कालाई पछार्ने मौका मिल्ला भनेर ।
यता शासकीय बेथिति चरमचुलीमा छ । कोही कसैको नियन्त्रणमा छजस्तो देखिंदैन । भ्रष्टाचार, कुशासन र मौकापरस्ती यो सरकारको पहिचान जस्तो बनिसकेको छ । यो सरकार र एउटा आम नेपाली परिवारको दशा दुर्दशा उस्तै देखिन्छ । हजुरबा बिरामी, बाउ रक्सी खाएर दिनदिनै स्वास्नी कुट्ने, बरालिएका छोराछोरी र विचरी आमा आँशु पुछ्दै २४ घण्टा घरधन्दामा !
यस्तैमा मंसिर १४ गते उपनिर्वाचन हुन्छ । घाघडानहरुको चुनाव पूर्व र पश्चात् विश्लेषण हुन्छ । आँकडाहरुको जोडघटाउ, तोडमरोड र भण्डाफोड हुन्छ । यस्तो भान पर्छ यो उपचुनावले साराको भविष्य कोरिदियो । अब केही हुनेवाला छैन । जनता जनार्दनले विधिविधान निर्धारण गरिदियो । काँग्रेस र कम्युनिष्ट तीनै लोकका देवाधिदेव महादेव हुन् । अब अरु विकल्पका कुरा सोंच्नु वा गर्नु व्यर्थ हो ।
यता ठूलो स्वरमा आफुलाई वैकल्पिक दाबी गरेका साझा पार्टीका नेताहरुको निन्याउरो अनुहार र असन्तुलित बोलीले पनि ठूलै विपत्ति गयो कि जस्तो वातावरण बनाईदियो । काँग्रेस एमाले (नेकपा नभनौं कि?)को त मानौं होली दिपावली आईदियो । दावी प्रतिदावी बीच दुवै पार्टीका निशानामा वैकल्पिक दावी गर्ने दलहरु पर्न गए । काँग्रेस र भाइ काँग्रेस एमाले दुवै निकटका बुद्धिजिवीले देश द्वि–दलीय पद्धतितिर उन्मुख भएको घोषणा गरिदिए । एकजना उपबुज्रुकले केसम्म लेखे भने नयाँ शक्ति हुने धोकोमा विश्राम त लाग्यो नै, तिनले राजनीति नै छोडे हुने सन्देश दियो ।
अब सिक्काको अर्को पाटोतिर पनि हेरौं । यो उपचुनावको सन्देश अहिलेलाई विकल्प “तिमी हामी नै रह्यौं” भन्ने खालको मुतको न्यानो वाहेक अरु केही देखिंदैन । खासमा यो उपचुनावको सन्देश नै केही देखिएन । देखियो त खाली जनताको आक्रोश । काँग्रेसले जितेका सात स्थानीय तहमा एमालेले जित्यो भने एमालेले जितेका छ ठाउँमा काँग्रेस । धरान, चितवन, दाङ्ग र भक्तपुरमा जनताले प्रतिशोध लिन कुन हदसम्म जानसक्छ भन्ने कुराको ट्रेलर देखायो । त्यस्तै काँग्रेसले जितेका १४ स्थानवाट १३ स्थानमा झर्नुलाई बहादुरीपूर्वक चित खाएको भन्ने कि ? महोत्तरीको पिपरा र सिरहाको कल्याणपुरमा एमाले जित्नुलाई मधेशवादी दलप्रति आक्रोश छैन भनेर कसरी भन्ने ?
कास्की अपवाद जस्तो देखिन्छ । तर कुरा त्यस्तो हैन । कास्कीमा एमालेलाई हैन, विधवालाई मत दिएको सहजै बुझ्न सकिन्छ । दाङ्गमा पनि विधवाले मत पायो । सारांशमा के भन्न सकिन्छ भने यो उपचुनावमा मुलरुपमा आक्रोशको अभिव्यक्ति भएको हो । र, आक्रोशको एउटै सन्देश हुन्छ । त्यो हो, जे पनि हुनसक्छ । बुझ्नेले समयमै बुझ्नु श्रेयस्कर ।
पिक्चर यस्तो छ । उता दाई काँग्रेस र भाइ काँग्रेस उफ्रिएको उफ्रियै छ । यो उपचुनावले के सावित गरिदिएको छ भने नेपालमा “फ्लोटिङ्ग भोटर” अत्यधिक छ र उनीहरु जे परिणाम निकाल्न पनि सक्षम छन् । एमालेले गर्ने गरेको दश लाख क्याडरको दाबी सब हावा कुरा हो । त्यस्तै काँग्रेसले गर्ने गरेको पुस्तैनी भोटर बैंकको दाबी पनि हावा हो । वैकल्पिक भनिने दलहरु यो जमातसम्म कुरा पुर्याउन सकेका छैनन् अथवा जनताले यी दलहरुलाई अझै परख गर्न चाहेका छन् । समाजवादी पार्टी र साझाले सबैतिर केही न केही मत प्राप्त गर्नुको केही संकेत पनि छ । त्यो के भने जनताको “विश लिस्ट”मा यिनीहरु छन् । जुन कुनैबेला पनि जनताको “च्वाईस” बन्नसक्ने सामर्थ्य राख्छन् यिनीहरु ।
अलि राजनीति शास्त्रको भाषामा पनि केही कुरा गरौं । उपचुनाव परिणाममा “एन्टी ईन्कम्बेन्सी” लहरको प्रष्ट छनक देखिन्छ । यस्तै लहर कायम रहिरहयो भने स्थानीय, प्रदेश र संघिय सत्तामा रहेकाहरु आवधिक चुनावमा जनआक्रोशको शिकार हुनसक्ने ठुलो सम्भावना छ । सत्ताधारीहरु एउटा निर्मम “पब्लिक अडिट” को सामना गर्न तयार भएर बस्नुपर्ने देखिन्छ । अब यहाँ “राम श्याम” वाला कथा भन्ने कथावाचक विद्वानहरुको कमी छैन । रामको सट्टामा श्याम र श्यामको सट्टामा राम । तर सीमित आयतनको उपचुनावको परिणामलाई सदा सर्वदाको लागि सामान्यीकरण गर्नु कत्तिको वैज्ञानिक कुरा हुनसक्छ ?
नियमित आकस्मिकताको सिद्धान्त नेपालमा हरेकचोटी प्रमाणित भएको छ । नेपालमा यथास्थितिवाद र अग्रगतिको बीचमा हमेशा एउटा पातलो तन्द्रा रहिआएकोछ, जो हरेक चोटी हल्का धक्काले च्यातिने गर्दछ ।
उपचुनाव परिणामलाई सरल रुपमा बुझ्नु राम्रो होला । फिल्म झुर भएपनि दर्शक हाफ टाईममा नै हल वाहिर आउन चाहेनन् । बस् त्यति हो । अब यसैलाई फिल्म सुपर हीट भयो भनेर डङ्का पिट्ने हो भने त्यो एमाले काँग्रेसको मर्जी । हावादारी गफास्टक फिल्मको अर्को शो मा कति दर्शक आउँछ, त्यो समयले बताउला । जनतालाई मेरै गोठका भेडाहरु नसम्झनु नै बुद्धिमानी होला ।
पुनः देशकै कुरामा फर्कौं । एमालेले राष्ट्रवादको नारा र हावा महल ठड्याउने गफ दिएर चुनाव २०७४ जितेको हो । राष्ट्रवादको सवालमा कालापानी लिपुलेकसम्म आईपुग्दा एमालेको धोती खुस्किसक्यो । अनि हावा महलको सपना जिनपिङ्ग भ्रमणपछि टुटिसक्यो । अब एजेण्डा के बाँकी छ र एमालेसँग । टास्क के बाँकी छ ? त्यै सत्तामा बसिरहने र भ्रष्टाचार गरिरहने न हो । चुनाव अघि केही पपुलिष्ट कामहरु गरेर बेतोड प्रचार गर्ने र अर्को चुनाव पनि जित्ने डिङ्ग हाँक्नु वाहेक अरु के छ त रचनात्मक योजना ? दुई वर्षमा डेलिभरी गर्न नसकेको एमाले सरकार अब डेलिभर गर्ला र दुई अंकको आर्थिक बृद्धिको छलाङ्ग हाल्ला भनेर त लाटोबुङ्गोले पनि विश्वास गर्दैन ।
काँग्रेसको के कुरा गर्नु । घाट घाटको पानी पिएर अघाईसकेको छ । थाकिसकेको पनि छ । उसँग राष्ट्रवादको नारा छैन । यहाँसम्म कि हावा महल ठड्याउने गफ पनि छैन । बस मछलीको ढढिया थापेर बसिरहेको छ । मछली आफैं ढढियामा जान्छ त के गरुन् विचरा ।
अब सवाल के छ भने प्रजनन् क्षमता गुमाईसकेका साँढेहरुलाई गाईले कतिञ्जेल कुरिबस्छ । नेपालको राजनीतिमा वैकल्पिक शक्ति निस्कन्छ भन्ने कुरोको चुरो यही हो । नपत्याए ३६, ४६, ६२, ६४, ७० र ७४ हेरे हुन्छ । जनताले हरेक चोटी “टेस्ट डिफिरेन्ट” गरेको देखिन्छ । अतः कसैले गुमान गर्नुपर्ने कुरा केही पनि छैन । मैदान खाली छ । जो जीता वही सिकन्दर हुन्छ । र जित्ने, जनताले पत्याएका जो पनि हुनसक्छ ।
The post बरालिएको देश र उपनिर्वाचन पछिको गन्थन appeared first on Sajha Post.