एमालेको मेची-महाकाली अभियानको क्रममा सप्तरीमा भएको दुःखद घटना र कञ्चनपुरको सिमानामा भारतीय सीमा सुरक्षा बलको गोली लागेर नेपाली युवक गोविन्द गौतमको मृत्यु भएको खबरले देश नै शोक र आक्रोशमा डुबेको छ । लगत्तै जाजरकोटमा २६ जनाको ज्यान जानेगरी भएको गाडी दुर्घटनाले नेपाली मन दिनहुँजसो विक्षिप्त बनिरहेको छ । यस्तो बेला आएको होली पर्वले पनि जनतामा खासै खुशी र उमंग ल्याउन सकेन । देशमा राजनीतिले थोपरिदिएको असिमित समस्या र प्रकृतिले दिने पिडाले नेपाली जनता चाडवाडमा समेत खुलेर रमाउन सकेका छैनन् ।
गत साता एमाले अभियानको क्रममा सप्तरीमा ५ जना गोली लागेर हत्या भएको घट्ना जति दुखद, अप्रिय र भत्र्सनायोग्य छ, यसले संकेत गरेको भोलिको भविष्य झन् डरलाग्दो र पिडादायी देखेर झस्कनुपर्ने अवस्था छ । एमाले अभियान बिथोल्न खोज्ने मधेसी मोर्चाको निषेधकारी राजनीतिको विरोध र भत्र्सना गरिरहँदा वा आइलाग्नेमाथि जाइलाग्नु त एक हदसम्म जायज र स्वभाविक मानिरहँदा गोली लागेर मर्ने युवकको टाउको फुटेर गिदी छरिएको शव आँखामा झल्झली आउँछ, जसको राजनीतिसँग कुनै साइनो नै छैन । न ऊ मोर्चाको कार्यकर्ता न उ एमाले कार्यकर्ता हो । उसलाई मोर्चाको निधेषकारी राजनीतिको मतलब छैन, एमालेको मेची–महाकाली यात्राको पनि मतलब छैन । यस्ता राजनीतिमा कुनै चासो र संलग्नता नै नभएका मान्छे अनेकथरी राजनीतिको नाममा मारिन्छन् भने को नेपालीले स्वभाविक परिणति मानेर चुप लाग्न सक्छ ?
कञ्चनपुरको सिमानामा नेपाली युवक गोविन्द गौतमको हत्या भारतीय सुरक्षा बलबाट हुन झन् संवेदनशील घटना हो । एउटा सार्वभौम र स्वतन्त्र मुलुकको नागरिक विदेशीको गोली लागेर मर्नु सामान्य घटना भने होइन । सिमानामा भारतीय पक्षको मिचाहा प्रवृत्ति र दादागिरी लामो समयदेखि जारी छ । यस्तो समस्या सिमानामा बस्ने नेपालीले दिनदिनै अनुभुति गरिरहेका छन् ।
काठमाडौँमा बसेर राष्ट्रवादी भैटोपल्न बक्तव्यवाजी गर्नु जति सजिलो छैन, सिमानामा बसेर देशभक्तिपूर्ण जीवन बाँच्न । भारतीय पक्षको निरन्तर हस्तक्षेप र दादागिरीको उत्कर्ष हो, गोविन्द गौतमको हत्या । यो विषयलाई नेपाल सरकारले जति गम्भीरताका साथ उठाउनु पर्थ्यो, त्यो भएको छैन । एउटा व्यक्ति मारिएको घटना मात्रै होइन यो । त्यो गोली गोविन्द गौतमलाई हानेको होइन नेपाललाई हानेको हो । त्यसकारण सारा नेपाली भारतीय पक्षको त्यो गोलीबाट मर्माहत बनेका छन् । नागरिक तहमा त्यति ठूलो विरोध र आक्रोश हुँदा समेत नेपाल सरकार गम्भीर नदेखिनु लाजमर्दो कुरा हो । भारतीय पक्षको बयानबाजी पत्याएर चुपलाग्ने होइन तत्काल माफी माग्न लगाउने र भविष्यमा कहिल्यै यस्तो नगर्ने प्रतिबद्धता आउनुपर्छ । नेपाल–भारत सिमानामा प्रायःसबैतिर सिमा विवाद छ । यसको स्थायी एवम् दिर्घकालिन र समाधानका लागि सरकारले छिटोभन्दा छिटो कुटनीतिक पहल थाल्नुपर्दछ । हामी आफ्नै देशभित्र कसैको निरंकुशता स्विकार्न नसकेर रैतीबाट नागरिक बनेका छौँ भने पराई देशको थिचोमिचो र हस्तक्षप कसरी सहन सक्छौँ ?
कञ्चनपुरको घटना हाम्रो राष्ट्रियता कमजोर हुनुको परिणाम हो भने सप्तरी घटना हाम्रो आन्तरिक राष्ट्रियता कमजोर हुनुको परिणाम हो । दुवै घटनाले हामी कमजोर छौँ भन्ने पुष्टि गर्दछ । आफ्नो देशको नागरिक सुरक्षाकर्मीबाट मारिँदा हामी केही गर्न सक्दैनौ, केही भन्न पनि सक्दैनौ । आफ्नो देशको भूभाग अर्को देशले मिच्दा हामी केही गर्न सक्दैनौँ केही बोल्न सक्दैनौ । सत्ता बाहिर रहँदा चर्को कुरा गर्नेपनि सत्तामा पुगेपछि लुरुक्क पर्ने परम्परा छ । नागरिक तहमा जति आक्रोश र पिडा छ सरकारलाई छैन । दलहरुका कुरा त सिर्फ सत्ता नपाउन्जेल सम्मका लागि हुन् । हिजो भारतसँग सुरुङ युद्ध गर्ने माओवादी आज कस्तो भयो ? कोशी सम्झौता गर्ने काँग्रेस र महाकालीमा सही धस्काउने एमालेका के कुरा भयो र ? बेलाबेलामा राष्ट्रवादी हुन सबै दलहरुले जानेका छन् नेपालमा । सधैँभरी राष्ट्रवादी हुने त नागरिक मात्र हुन्, जसको दलगत सत्ता स्वार्थ हुँदैन । केहीदिन अघिसम्म केपी शर्मा ओलीसँगसँगै यो सरकारको विरोध गर्दा कमल थापा राष्ट्रवादी लाग्थ्यो, अब त्यही सरकारमा सामेल भएपछि त्यस्तो लाग्दैन । यो मौसमी र ढोँगी राष्ट्रवादले हामी नागरिकहरुलाई पनि बेलाबेलामा कन्फ्युज्ड गराइदिन्छ ।
कञ्चनपुरको घटना जति संवेदनशिल खतरनाक छ, सप्तरीको घटना पनि कम छैन । सप्तरी घटना धेरै अनपेक्षित थिएन । एमालेले अभियान गरेरै छाड्ने , मोर्चाले पनि अवरोध गरेरै छाड्ने निषेधकारी अहंकार पहिले नै व्यक्त भएको थियो । दुवैथरी हठको चेपुवामा परेर ५ जना निर्दोष नागरिकले ज्यान गुमाउन बाध्य भए । मोर्चा र एमालेको हठ राजनीतिक थियो तर मर्नेहरु अराजनीतिक परे । धेरै लडाइँमा अक्सर यस्तो हुने गर्दछ । प्रत्यक्ष सरोकार नराख्नेहरुकै ज्यादा ज्यान जाने गरेको छ । त्यसकारण जिम्मेवार राजनीतिक दल वा सरकारले जनताको ज्यान नजाने उपायको खोजी गर्छन् । तर, हाम्रो देशमा त्यस्तो अपेक्षा राख्नु नै मुर्खता प्रदर्शन गर्नु जस्तो भएको छ ।
संविधान निर्माणमा आफ्नो अपनत्व नभेट्टाएका मधेस केन्द्रीत दलहरुले संविधान संशोधनमार्फत आफ्नो स्वामित्व प्राप्त गर्न खोज्नु अन्यथा थिएन । मोर्चाका सबै माग जायज छैनन् । संसदमा आफ्नो दुईतिहाई मत नभएपछि नचाहिने जिद्दी गर्नु मोर्चाको अनावश्यक हठ नै हुन्थ्यो । तर मधेसलाई सदाको लागि टाठा जान नदिन राजनीतिक दलहरुले केही छोडेर केही लिने गरी सहमतिमा संशोधन हुन सक्दथ्यो । संविधान संशोधन आफैँमा गैर संवैधानिक र राष्ट्रघात होइन । आवश्यक संशोधन गर्न संविधानले नै प्रष्ट छुट दिएको छ । तर नेकपा(एमाले) ले संविधान संशोधनको कुरा नै प्रवेश गर्न नदिएर संसदमा हठ प्रदर्शन गरिरहे । मधेसमा अभियान चल्न नदिएर मोर्चाले जसरी लोकतन्त्रको खिल्ली उडायो, एमालेले पनि संशोधन विधेयक संसदमा छलफल गर्न नदिएर त्यस्तै गर्यो । मधेसप्रति एमाले यति धेरै अनुदार हुनु आवश्यक थिएन । एउटा जिम्मेवार प्रमुख प्रतिपक्ष प्रतिरक्षारत सरकार पनि हो । सबै दलहरुलाई विश्वासमा लिएर अघि बढ्नु उसको पनि कर्तव्य पनि हो । आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबैको सहयोग अपेक्षित छ । निर्वाचनमा एउटा क्षेत्र वा समुदाय नै छुट्नु देशको शान्तिपूर्ण भविष्यको लागि शुभ संकेत हुँदैन । सिके राउत जस्ता अतिवादीहरुले सहानुभुति बटुलिरहेको वर्तमान परिवेशमा मधेसी जनतालाई आफुतर्फ आश्वस्त तुल्याउन सबै दलको साझा कर्तव्य हो । त्यसको लागि मधेस र मधेसी जनतालाई एकोहोरो गाली र नकारात्मक टिप्पणी गरेर मात्रै हुँदैन । भोलि बिस्तारै मधेस कश्मिर बन्न जाने खतरातर्फ विज्ञहरु सचेत गराउन थालिसकेका छन् । आफु जित्ने तर देश हार्ने चुनाव होइन । आफु र देश सँगसगैँ जित्ने चुनावको तयारी गरौँ ।
The post सप्तरी र कञ्चनपुर घटनाले गरेको संकेत appeared first on Sajha Post.