हिजो आज निकै चर्चित राजनीतिक घटनाक्रमको विषय बनेको छ, सप्तरी घटना । जसको कारक तत्व बनेको छ एमालेको मेची–महाकाली अभियान । जसका पात्रहरु छन् नेकपा एमाले, मधेसी मोर्चा र सरकारका सुरक्षा संयन्त्र ।
हामी सबैलाई थाहै छ, यस घटनाक्रममा पनि पाँच जना नेपालीले सहादत प्राप्त गरे, चाहे त्यो स्वतःस्फूर्त होस् प्रायोजित । परिवार गुमाउँदाको पीडा उनीहरुको आफन्तलाई नै थाहा होला । आखिर यो केका लागि वा कसका लागि ? यो प्रष्टको उत्तर खोज्नु जरुरी छ ।
अधिकारको लागि लडाईं हो भने ठिक छ । होइन, कतै कसैबाट प्रायोजित, कतै कसैको स्वार्थमा बेरिएको भए यसको जानकारी ती मृतकका आफन्तले थाहा पाउनु जरुरी छ ।
अब के बुझ्नु जरुरी छ भने, एमालेलाई मधेसी मोर्चाले मधेसविरोधी भनी प्रचारप्रसार गरिरहेको अवस्थामा, एमालेबाट विभिन्न किसिमका मधेसीहरुलाई चिढ्याउने र सस्तो लोकप्रियता कमाउने खालको अभिव्यकित आइरहेको बेला जुन किसिमको मेची-महाकाली अभियान सुरु भयो, यसबाट चिडिएर बसेको मधेसीहरुलाई एक्कासी आगोमा घिऊ थपेको आभास भयो ।
यहाँ दुवै पक्षको जुँगाको लडाईं जस्तै भयो । एमालेलाई मधेस प्रवेश गर्न पाए संसारै जितेझैं हुने भयो भने त्यस्तै मोर्चालाई एमाले अभियानलाई रोक्न सके आफ्नो जीत हुने ठान्यो । यसलाई मोर्चाको आफ्नो ‘प्रेष्टिज’को विषय बनायो । सबै पक्षलाई पहिले नै थाहा थियो, मधेसमा एमालेविरोधी क्रियाकलापहरु पहिलेदेखि नै हुँदै आइरहेको थियो । यहाँसम्मकी एमालेमुक्त अभियान नै चलाउँदै आइएका थिए । विशेषगरी केपी ओली र उनका अभिव्यक्तिहरुले चिडिएका थिए मधेसीहरु । उनीहरु कुनै पनि हालतमा एमालेको त्यो अभियानलाई सफल पार्न नदिने पक्षमा थिए ।
यता नेकपा एमाले भने चुनावी अभियानको नाममा मेची–महाकाली अभियान बनाई आफूलाई मधेसमा कुनै पनि हालतमा उतार्ने पक्षमा थियो, उसलाई आफ्नो विचार मधेसी जनतासामू राख्नु थियो र उसले त्यो अभियान सुरु पनि गर्यो । अन्य ठाउँमा ठूलो जनसहभागितासहित मधेस प्रवेश पनि गर्यो विभिन्न सुरक्षा घेरा तयार बनाउन लगाएर ।
एमालेले सोच्यो, हामीले जित्यौं, अब मधेसमा पनि एमालेलाई कसैले रोक्न सक्दैन । मधेसमा पनि एमाले पहिलो पार्टी बन्छ, आदि इत्यादि । त्यस्तै उत्तेजक र चिड्याउने किसिमको अभिव्यक्तिहरु पनि प्रशस्तै आउन थाल्यो । नेताहरु पनि हौसिँदै गए, भन्दै थिए दुई चारवटा कालो झण्डाले एमालेलाई केही फरक पर्दैन, आदि । अझै सानातिना एमाले कार्यकर्ताहरु पनि सामाजिक सञ्जालमार्फत बढो उत्सुकताका साथ तराईमा एमालेको प्रवेशलाई जितको रुपमा उल्लेख गर्दै थिए ।
उता मोर्चालाई भने असह्य भइसकेको थियो । विभिन्न स्थानमा उनीहरुको विरोध जारी थियो ।
हामीलाई थाहा छ कि प्रहरी प्रशासन लगाएर विरोधलाई दमन गरी कार्यक्रम सफल बनाएर आफूले जितेको सन्देश दिनु थियो, एमालेलाई । त्यसैको फलस्वरुप उक्त अदृश्य घटना हुन गयो । साथै पाँच जनाले ज्यान गुमाउनुको साथै थुप्रै जना घाइते हुन पुगे ।
हामीले यसलाई कसरी बुझ्नु जरुरी छ भने, यो सबै घटनाक्रम भनेको जनताको अधिकारको नाममा नेताहरुले गरेको हठ र नेताहरुले आफ्नो वा दलीय स्वार्थ पूरा गर्न खेलिएको खेल हो । जहाँ जहिले पनि निर्दोष जनतालाई गोटी बनाइन्छ ।
सबैलाई पहिले नै थाहा थियो यो परिस्थिति सृजना हुनसक्छ । स्वयम् एमाले नेताहरुले नै सजग थिए । विभिन्न निकायले पनि उक्त कार्यक्रम स्थगित गर्न वा बाटो परिवर्तन गर्न सल्लाह दिएकै हुन् तर, जे पर्छ त्यही टर्छ भनेझैं एमालेले अरुको कुरा सुनेन र आफ्नो हठ त्यागेन । फलस्वरुपः उक्त घटनापछि कार्यक्रम केही दिनका लागि भन्दै स्थगित गरी रातारात भागाभाग गर्नुपर्ने स्थिति सृजना भयो ।
यो एउटा, दुईटा पार्टी वा नेतासँग मात्रै जोडिएको विषय वा प्रतिष्ठाको कुरा नभई सामाजिक सद्भाव खल्बलिने विषय हो । यो मधेसी र पहाडीबीचको सम्बन्ध खल्बलिने विषय हो । यतिबेला तुरुन्तै आ-आफ्ना हठ त्यागेर गल्ती स्वीकार्दै परिस्थितिलाई सामान्यीकरण गरी एउटा निकास दिनु जरुरी छ । हाललाई एमालेले अभियान स्थगन नभई अभियान नै पूर्णरुपमा बन्द गर्नु जरुरी छ ।
याद गर्नुस्, अझै पनि यसलाई सुधार्ने वा सामान्यीकरण गर्ने समय छ । अन्यथा, मधेसमा यही विषयलाई लिएर आगो बल्ने सम्भावना छ । फेरि जनताले दुःख पाउनेछन्, फेरि थप जनता मारिनेछन् । लासको पहाड सिर्जना गरेर त्यही पहाडमा उभिएर अग्लो दावी गर्ने दुस्साहस कसैले गर्नुहुँदैन । अब जनताको रगतले राजनीति सिञ्चित गरेर सत्तामा पुग्ने तरिकाले काम गर्नेवाला पनि छैन । भोलि घटना घटेपछि विदेशी शक्ति केन्द्रहरुलाई गाली गरेर केही हुनेवाला छैन । आन्तरिक द्वन्द्व बढाएर सबैभन्दा बढी घाटा हुने देशलाई नै हो । यस्ता द्वन्द्व बढाउने क्रियाकलापले हाल घोषणा भइसकेको चुनावलाई असर पार्नेछ । यसर्थ, सजिलै अनुमान पनि गर्न सकिन्छ कि जसले द्वन्द्व न्यूनीकरण भन्दा बढाउन खोज्छ, उसले चुनाव चाहिरहेको छैन ।
वरिष्ट पत्रकार विजयकुमारका अनुसार उत्तेजित अवस्थामा विवेक गुमाउने नेता होइन । उनी भन्छन्, ‘नेता त्यो होइन,जो पेट्रोल भण्डारण भएको स्थानमा सलाईका काँटी बोकेर आफ्नो बहादुरी प्रदर्शन गर्छ । संयम र समझदारी नअपनाइए, स्थिति अकल्पनिय हुने ।’
त्यसैले, सबै नेताहरुको घैंटोमा घाम लागोस् । देशलाई द्वन्द्वमा नभई विकासको पथमा लैजाने चेत आओस् । शुभकामना ।
The post यसकारण तत्काल रोकिनुपर्छ एमालेको मेची-महाकाली अभियान appeared first on Sajha Post.