Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

युवा : भोलिका कर्णधार कि आजको हकदार ?

$
0
0

हाम्रो देशमा युवालाई ‘भोलिका कर्णधार’ भनेर सम्बोधन गर्ने गरिन्छ, यसरी गरिने सम्बोधन र दिने शिक्षा नै गलत छ । युवा भनेको भोलिको कर्णधार होइन, बरु आजको हकदार हो । युवाहरु सिर्जनशील हुनुपर्छ । देश, समाज र परिवारलाई दिशा निर्देश दिने हुनुपर्छ भनेर शिक्षा दिने हुनुपथ्र्यो । तर बिडम्बना यस्तो शिक्षा दिइएन । नेपाली समाजमा युवाहरुको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । अहिले युवाहरुमा राष्ट्रवादको हावा बुझ्नै नसकिने गरी चलेको छ । के हो राष्ट्रवाद ? को हो जनता ? राष्ट्रवाद जनताको व्यवस्था र नेपालको शैक्षिक प्रणाली अनुसार व्याख्या गरिनुपर्छ । राष्ट्रवादी र समृद्धिको कुराहरु अहिले ओभरडोज जस्तै भएको छ ।

वास्तवमा राष्ट्रवाद खोज्ने जनताको दैनिकीमा हो, जनताको गुजारामा हो उनीहरुको दालरोटी र दालभातमा हो । अहिलेको युवापुस्ता यहि राष्ट्रवाद मात्रै छिटो बुझ्ने अवस्थामा छन् । अनि यसो गर्न अहिले पनि सम्भव छ मात्र चाहिएको छ सरकारको इच्छाशक्ति । युवाहरुलाई अहिलेको अवस्थामा योग्यताअनुसार रोजगारको अवसरहरु सिर्जना गर्ने हो भने स्वदेशमै बस्ने परिस्थिति बन्छ । तर २१ औं शताब्दीको युवाहरुलाई चाहिने शिक्षा, स्वास्थ्य र यातायातको व्यवस्थापन सरकारले नै गर्न सकेको छैन । जसले गर्दा आम्दानी र खर्चको तालमेल नमिल्दा युवाहरु विदेशिन बाध्य छन् ।

हो पक्कै पनि माथि उल्लेखित सबै समस्याहरुको समाधान राजनीतिबाट नै सम्भव छ, तर त्यसो हुन सकिराखेको अवस्था छैन । राजनीतिमा बिडम्बना यो छ कि, शक्ति र पैसाको दुरुपयोग गरेर युवाहरुलाई भुलाउन सफल भएका नेताहरुले सदाचार र सुशासनलाई कुल्चिएर यसलाई भाषणमा मात्रै सीमित बनाइरहेका छन् । अनि दलाल पुँजीवादी समाजको निर्माण गर्न अग्रसर भएर लागिरहेको अवस्था छ । यदि हाम्रो समाज साँच्चै नै पुँजीवादी समाज हो भने किन लाखौं युवाहरु विदेशिएका छन् ? नेपालको युवा शक्ति किन बेलायत, अष्ट्रेलिया अथवा खाडी मुलुकका पुँजीलाई सुरक्षित गरिदिन बाध्य छन् ?

नेपाली समाजको संस्कारले पनि युवाहरुलाई धेरै पछाडि पारिरहेको अवस्था छ । उदाहरणका लागि विदेश गएको युवाहरु घरको मुलीको देहावसान भएपछि मात्र विदेश भासिने परिपाटी छ । कतिपय युवाहरु अब नेपालमै केही गरौं भनेर सोंच त बनाउँछन्, तर बिडम्बना किरिया सकिएपछि एक वर्ष नयाँ काम गर्न हुन्न भन्ने कथन छ । किन शुभ कार्य अर्थात् नयाँ भनिने कामहरु गर्न दिँइदैन वा डराउन लगाइन्छ ? त्यो समयमा आफुले भोगेका र सिकेका कुराहरु व्यवहारमा लागू गर्न सक्दैनन् । यथास्थितमा नै रहेर काम गर्नुपर्ने बाध्यता छ । संस्कार मान्नु राम्रो कुरा हो तर परिवार, समाज वा देश विकासमा बाधा पुग्छ भनि त्यस्तो संस्कार बदल्न आजका युवाहरु अग्रसर भएर लाग्नुपर्छ । जसले संस्कारलाई परिवर्तन गरी देशका लागि केही योगदान दिन सकियोस् ।

उता संस्कार परिवर्तनमा लागेका नेताहरु संसदीय व्यवस्थामा फसिसकेका छन् । संसदीय व्यवस्थाको राजनीति सिक्नका लागि पैसा मात्र भए पुग्छ भन्ने कुरा प्रमाणित भइसकेको छ । एजेण्डालाई स्थापित गरेर देशलाई समृद्ध बनाउन ध्यानाकर्षण नै हुँदैन । अझ आशा लाग्दा युवा नेताहरु नै आरोप प्रत्यारोपको राजनीतिमा फसिसकेका छन् । केही संभावनायुक्त युवा नेताहरुलाई भ्रष्ट्रचारको आरोप पनि लागिसकेको छ । त्यसकारण राजनीतिमा जसरी राणाशासन राजतन्त्र असफल भए, त्यसरी नै दास प्रथा, सामन्त समाज, अर्ध सामन्त समाज, औपनिवेशिक, अर्ध औपनिवेशिक, पूँजीवादी समाज असफल भएको प्रमाणित भइसकेको छ ।

लेखक : पंकज राई

आजको आवश्यकता राजनीतिमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक व्यवस्थासहितको व्यवस्थापिका संसदको एजेण्डालाई स्थापित गर्न हामी युवाहरु अग्रसर भएर लाग्नुपर्छ । त्यो अवसर अब हुने निर्वाचनमा युवाहरु आफ्नो मताधिकार प्रयोग गरी समावेशी समानुपातिक सहभागितामूलक लोकतन्त्र, स्वाधिनता, सदाचार सुशासन र समुन्नत समाजको एजेण्डालाई स्थापित गर्न सक्ने पार्टीलाई बहुमतले विजय गराउनुपर्छ ।

हामी यो देशका ऊर्जाशील युवा भएकोले अब युवाहरुको चिन्ता भन्दा पनि चिन्तन गरेर देशलाई दुर्घटनाबाट बचाउन र समृद्ध भविष्यतिरको यात्रामा हातेमालो गर्न जरुरी छ । यो आजको आवश्यकता हो र त्यो हामी युवाहरुबाटै सम्भव छ ।

The post युवा : भोलिका कर्णधार कि आजको हकदार ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles