Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

सुसूचित जनताले नै लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सक्छन्

$
0
0

हामीले अहिले अधिकारको लामो लडाईं लडेर विकास र समृद्धिको नयाँ युगमा प्रवेश गर्दैछौं । अधिकारकै जगमा नै विकास र समृद्धि हुने हो । सूचना र प्रविधिको यति धेरै विकास भएको युगमा अधिकारमध्येको एउटा अधिकार सूचनाको हक नै व्यवहारतः सबैभन्दा ठूलो अधिकार हो । मान्छे सुसूचित नभई र सत्य तथ्यसँग अवगत नभईकन उसले कुनै पनि नीति निर्माणको तय गर्न पनि सक्दैन र विकास समृद्धि लगायतका योजनाहरुको कार्यान्वयन गर्न पनि सक्दैन । यसर्थ, हामीले नागरिकलाई सुसूचित गर्ने कुरामा बढी जोड दिनुपर्छ ।

युद्धकाल अथवा लोकतान्त्रिक व्यवस्था प्राप्तिको लडाईंमा पनि मिसन पत्रकारिता र पेशागत पत्रकारिताको बहस हुने गर्दथ्यो । हामी पनि भन्ने गर्दथ्यौं, मिसन पनि हो, पेशागत मिसनरी पत्रकारिता हो पनि भन्ने गरिन्थ्यो । मिसन अथवा लक्ष्य त जहिले पनि हुनेनै भइहाल्यो । केवल समयअनुसार ती परिवर्तित भइरहन्छन् तर त्यसमा प्रोफेसनालिज्म र पेशाप्रतिको आस्था र निष्ठा भने चाहिन्छ । मेरो बुझाईमा यी सबै कुराको गुदी कुरा भनेको सूचनाको हकलाई ठीक ढंगले प्रवाहित गर्ने कुरा नै हो । सुसूचित गर्ने कुरा नै हो ।

तर, दुर्भाग्यपूर्वक मैले भन्नै पर्दछ, हाम्रो पिछडिएको संस्कार र संस्कृतिको कारणले गर्दा हामी सुसूचित गर्ने भन्दा पनि अलिकति भ्रमित गर्ने ढंगले हामी बग्छौं । मिडियाका साथीहरुले कतिपय सन्दर्भमा भन्ने गर्नुहुन्छ, नेगेटिभ न्यूज चाहिँ न्यूज हुनेगर्दछ । मेरो विनम्र आग्रह के छ भने, यहाँहरुले पोजेटिभ न्यूजहरुलाई न्यूज बनाउने ढंगले जानुपर्दछ । यसरी मात्रै नयाँ समाज बन्छ, सभ्यता बन्छ, विकास र समृद्धि सम्भव हुन्छ ।

हिजो कसैको विरुद्ध लड्दा प्रोपोगन्डा वार पनि गर्नुपर्दथ्यो । प्रोपोगन्डा वारको एउटा नियम भनेको विपक्षीलाई बेस्करी प्रहार गर्दै थला पारेर मात्र अरुले जित्ने जमानामा सायद सूचनाहरु पनि सेलेक्टिभ्ली छानेर आफूलाई उपयुक्त लाग्ने सूचना मात्रै प्रवाहित गर्ने अथवा थोरै बंग्याइदिएर अरुलाई लडाउने आवश्यकता पनि हुन्थ्यो युद्धको नियमअनुसार । आन्दोलन पनि एकप्रकारको युद्ध नै हो चाहे हिंसात्मक होस्, चाहे शान्तिपूर्ण । तर अब हामी देशलाई एकताबद्ध गरेर विकास र समृद्धिमा जाँदैछौं भने अब हामीले जोड्नुछ । हिजोजस्तो फाटो पार्नु छैन । त्यसैले सूचनाको प्रवाह गर्दा पत्रकार साथीहरुले तथ्यमा आधारित भएर नै एउटा पोजेटिभ माइन्ड सेटबाट नै प्रवाहित गर्नुभयो भने जनता सुसूचित हुन्छन् र सुसूचित जनताले नै लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सक्छन् । देशलाई विकास र समृद्धिको दिशामा लैजान सक्छन् । यसर्थ, यतातिर पनि नयाँ विमर्श चल्नु आवश्यक छ । नेपाल प्रेस सोसाइटीले पनि यसमा विशेष योगदान गर्न सकोस् र समग्र पत्रकार साथीहरुको पनि ध्यान जानुपर्दछ ।

(नेपाल प्रेस सोसाइटीको प्रथम स्थापना दिवसको अवसरमा डा.भट्टराईले व्यक्त गर्नुभएको शुभकामना मन्तव्यको सम्पादित अंश)

The post सुसूचित जनताले नै लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न सक्छन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles