डा. बाबुराम भट्टराईसँग काम गरेको बर्ष दिन भयो । आफ्नो पार्टी र देशलाई समृद्ध बनाउनुपर्छ भनी दिनहुँ १२-१५ घण्टा डा. बाबुराम भट्टराई खटेको देखेर म त छक्क पर्छु । साँच्चिकै भन्नु पर्दा म वहाँजस्तो खट्न सकिनँ । इज्जतदार र आरामदायक जीवन बिताएको म जब राजनीतिमा लागेँ, सुरुका दिनहरु निकै कठोर महसुस भयो ।
एउटा उदहारण- पहिलोपटक दिनभरीको एउटा कार्यक्रममा सहभागी हुँदा दुई कप कालो चिया र दुईवटा पुरी र एक प्लेट चना तरकारीमा बिताउनु परेको र सहभागिताको लागि पनि पाँच सय तिर्नुपर्यो । उक्त कार्यक्रममा सहभागी भएपछि मलाई अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा कार्यरत हुँदा यस्तै एक दिनभरीको कार्यक्रम तीन वा पाँच तारे होटेलमा बफेट लञ्च र बेलुकी ककटेल डिनरको याद आयो । तर, राष्ट्रको लागि केहि राम्रो काम गर्छु भनी राजनीतिमा लागेको म केही त्याग गर्नै पर्छ भन्ने अनुभूतिपछि मलाई दुईवटा पुरी र एक प्लेट चना तरकारी खाए पनि सन्तुष्टि मिल्यो ।
केहि दिनअघि रविन्द्र मिश्रजस्तो व्यक्ति पनि राजनीतिमा होमिनु भयो । यो हामी नेपालीहरुको लागि अत्यन्तै खुसी र गर्वको कुरो हो । भिजनरी, ईमान्दार र क्षमतावान व्यक्तिहरु राजनीतिमा नलागेको हुनाले नै अहिले हाम्रो देशको अवस्था अत्यन्तै नाजुक भएको हो । वहाँ भिजनरी, ईमान्दार र क्षमतावान व्यक्तिहरु मध्ये एक हुनुहुन्छ ।
तर, राजनीतिमा लागेपछि मेरा पनि विशिष्ट अनुभव अनुभूतिहरु छन् । म यो अवसरमा यसलाई बाँड्न चाहन्छु । म पनि जिन्दगीभर कुनै पेशामा आवद्ध भएर प्रतिष्ठित र सुविधाजनक जीवन बिताइरहेको थिएँ । जब नयाँ शक्ति पार्टी नेपालमा लागेँ, मैले के महसुस गरेँ भने नेपालमा पार्टी चलाउनु अत्यन्तै चुनौतिपूर्ण हुँदो रहेछ । तसर्थ, अहिलेको राजनैतिक तुफानमा रविन्द्रजी कसरी अगाडि बढ्नु हुन्छ, भविष्यले नै बताउँछ ।
केही कमी कमजोरीहरुको बाबजुद पनि मैले डा. बाबुराम भट्टराईलाई भिजनरी, ईमान्दार र अत्यन्तै क्षमतावान पाएँ । देशलाई समृद्ध बनाउन पर्छ भन्ने कुरामा वहाँ अत्यन्तै गम्भीर र प्रतिवद्ध भएको पाएँ । मलाई उहाँसँग काम गर्ने मौका पाएकोमा अति खुसी र गर्व लागेको छ ।
राजनीतिमा लागेर जब मैले गम्भिर भएर अध्ययन र विश्लेषण गर्न थालेँ, मैले के पाएँ भने सामन्ती व्यवस्था विरोधमा लडेर शीर्ष नेता बनेका हाम्रा नेताहरु आफैं सामन्ती बनेको अहिलेको नेपालको पीडादायी अवस्थाले देखाउँछ । भ्रष्टाचार, नातावाद र कृपावादले राष्ट्रको अर्थतन्त्र तहसनहस बनाएको छ । विकास निर्माणको कामहरु ठप्प छन् । शीर्ष नेताहरु अहंकारी छन् । मेरो गोरुको बाह्रै टक्का भनी सोच्द्छन् ।
एकताका सद्दाम हुसेन (इराक) र कर्नेल गद्दाफी (लिबिया) बहुतै शक्तिशाली शासकहरु थिए । दुईजना अति नै अहंकारी थिए । विरोधीहरुको कुरा पटक्कै सुन्दैनथे । विरोधीहरुलाई दबाएरै ठिक पार्न सकिन्छ भन्ने उनीहरुमा आत्मविश्वास थियो । विरोधीहरु लागि दबाउन सबै किसिमका अस्त्रहरु प्रयोग गर्थे । आफुहरुले जस्तो किसिमको अन्याय अत्याचार गरे पनि जिन्दगीभर जनताले सहेरै बस्छन् । उनी दुवैले सपनामा पनि सोचेका थिएनन् कि आफ्नो अन्त्य अत्यन्तै दर्दनाक र पीडादायी हुन्छ भनेर । अन्याय र अत्याचारको श्रृंखला नाघेपछि सद्दामले जमिनमूनि एउटा दूलो खनेर त्यहाँ लुकेर बसेर आफुलाई बचाउने कोसिस गर्यो । गद्दाफीले फोहोर बग्ने एउटा नालाभित्र लुकेर आफुलाई बचाउने कोसिस गर्यो । आफ्नै विश्वासपात्रहरुको सूचनामा दुवैलाई पक्राउ गर्यो । सद्दामलाई फाँसीमा लडकाए मार्यो भन्ने गद्दाफीलाई पक्राउ गर्दा नै गोली हानी हत्या गर्यो ।
तसर्थ, अहिलेको नेपालको परिस्थितिमा हाम्रा अहंकारी शिर्ष नेताहरुले माथिको घटनाहरुबाट पाठ सिक्न अति जरुरी छ । जनताले पाउने अधिकार समयमा दिँदा धेरै नराम्रो घटनाहरु रोकिन्छन् । राष्ट्र समृद्धिको बाटोमा लाग्छ । व्यवस्था बदले पनि हाम्रा नेताहरुको सोच परम्परागत र सामन्ती छ । वहाँहरुले आफ्नो सोचलाई बदल्नु आवश्यक छ। एक्काईसौं सतापद्धतिको परिवर्तन अनुरुप ‘केही लिने केही दिने’ गरी अहिलेको राजनीतिक अवरोधलाई अन्य गर्न जरुरी छ । ढिलो चाँडो जनताले आफूले पाउनुपर्ने अधिकार लिएर छाड्छन् । यसको साक्षी संसारकै ईतिहास नै छ । समयमै प्रत्येक नेपालीको अधिकार सुनिश्चित गरे मात्रै नेताहरुको नाउँ इतिहासमा सुनौला अक्षरमा लेखिने छ । अन्यथा अहिलेको जस्तो शिर्ष नेताहरुको अहंकारी भुमिकाबाट अकल्पनीय सङ्कट ल्याउन सक्छ ।
नेपालको मुख्य मुद्दा समृद्ध नेपाल निर्माण गर्नका लागि आवश्यक भिजन र कार्य दिशा दिनु हो । यही एजेण्डालाई लक्षित गरी नयाँ शक्ति पार्टीले उत्पादन तथा रोजगार /स्वरोजगार सम्बन्धी अभिमुखिकरण प्रशिक्षण देश भरी सन्चालन गर्दै छ । पहिलेझैँ राजनीतिक भाषण र प्रशिक्षक दिनुको सट्टा विज्ञहरुको टोलीले जिल्ला जिल्लामा युवा तथा पार्टी अभियन्ताहरुलाई उधमशील बन्न उत्प्रेरित गर्न उत्पादन तथा रोजगार /स्वरोजगार सम्बन्धी अभिमुखिकरण तालिम सञ्चालन गरिरहेको छ । यो कार्यक्रममा उत्साहजनक सहभागिता हुनुको साथै यसको माग अत्यधिक मात्रामा बढ्दै आएको छ । युवा साथीहरु तथा अभियन्ताहरुको उत्साहजनक सहभागिताले यो कार्यक्रमलाई थप ऊर्जा मिलेको छ । तसर्थ, आज नेपाल आमाको माग समृद्धि नै हो। यो समृद्धि नयाँ शक्ति पार्टी नेपालले मात्र सम्भव तुल्याउन सक्छ ।
संसारकै एक सबैभन्दा बढी सफल र धनी उद्यमीले दक्षिण अफ्रिकाको राष्ट्रपति नेल्सन मण्डलालाई एक उत्कृष्ट उद्यमी मान्छन् । किनकी वहाँ राष्ट्रपति हुँदा र त्यसपछि नहुँदा पनि देशमा युवाहरुको रोजगार/स्वरोजगार सम्बन्धमा अत्यन्तै चिन्तित हुनुहुन्थ्यो । आफ्नो देशमा रोजगार /स्वरोजगार सृजना गर्न संसारका धनीहरुसँग व्यक्तिगत समर्क गर्नका साथै उनीहरुलाई आफ्नो देशमा लगानी गर्न सधैं प्रोत्साहित गर्नु हुन्थ्यो । ‘सम्बृद्धिको लागि युवा उद्यमशिलता र स्वरोजगार’ किताब लेख्ने शिलशिलामा मैले संसार कै उत्कृष्ट किताबहरु अध्ययन र विश्लेषण गर्दा के ज्ञान पायौं भने- उद्यमशिलता भनेको एउटा विचार पनि हो र यो संसारले दिएको एउटा उत्कृष्टता पनि हो जसको सहि र बुद्धिमानीपूर्वक प्रयोगबाट मानव जीवनमा ठूलो सकरात्मक फरक ल्याउन सकिन्छ । तसर्थ, राजनीतिककर्मी पनि उद्यम बन्नु जरुरी छ ।
अन्त्यमा, यो आलेखको मुख्य आशय हो- राजनीतिक भाषणमा सर्वसाधारण जनताको मोह छैन । उनीहरु जीविकोपार्जनको लागि उद्यमी बन्न चाहन्छन् । त्यसका लागि सर्वसाधारण जनता उद्यमशीलताबारे ज्ञान, सीप र दक्षता हासिल गर्न चाहन्छन् । त्यसका लागि, यो राष्ट्रको माया छ भने योग्य, दक्ष, दुरदर्शी र ईमान्दार व्यक्तिहरु भएको नयाँ पार्टीहरुबीच आउने चुनावमा सहकार्य गरी पुराना पार्टीहरुलाई निष्क्रिय बनाउन सके मात्र नयाँ र समृद्ध नेपालको निर्माण गर्न सकिन्छ ।
(अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधी गरेका डा.तुलाचन नयाँ शक्ति पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी परिषद सदस्य तथा श्रम, सहकारी र स्वरोजगार विभाग प्रमुख हुन्)
The post राजनीतिमा रविन्द्र मिश्रको उदय र मेरा अनुभूतिहरु appeared first on Sajha Post.