कालका हिसाबले विश्व आज एक्काइसौँ शताब्दीमा गतिशील छ । यो युग ज्ञान, विज्ञान र विचारका हिसाबले विगतभन्दा उन्नत छ । विगतमा युग छुट्टिन शताब्दी चाहिन्थ्यो भने आज दशकमा नै नयाँ युगको प्रारम्भ हुन्छ । यो आजको विश्वको प्रमुख विशेषता हो । यसबाट के स्पष्ट हुन्छ भने परिवर्तनको रफ्तार विगतभन्दा द्रुत गतिमा भइरहेको छ । नेपाल समयको गतिलाई पछ्याउन नसकेर पछौटेको पगरी गुथ्न बाध्य छ । यसको प्रमुख दोष राजनीतिलाई जान्छ । अझ राजनीति गर्नेहरुलाई जान्छ । नेपाल आर्थिक रुपमा कमजोर छ । सामाजिक, सांस्कृतिक र मनोविज्ञानको हिसाबले पनि अन्धविश्वास र विकृतिग्रस्त छ । गहिरिएर हेर्दा नेपाली समाजभित्रका थुप्रै कुराहरुमा फेरबदल आवश्यक छ । राज्य संयन्त्र, सामाजिक जीवन र व्यक्तिगत शैलीमा रुपान्तरण आवश्यक छ ।
प्रायः मान्छेहरुले नेपालको दुरावस्थाको कारक राजनीतिजन्य गतिविधिलाई ठान्छन् । त्यसैका आधारमा राजनीतिकर्मीहरुप्रति कटाक्ष पनि गर्छन् । राजनीति ठीक नभएकाले धेरै कुरा बिग्रिएका छन् । यसमा दुईमत छैन । तर, यो बुझाइलाई सतप्रतिशत ठीक मान्न सकिँदैन । नेपाली समाजको दुरावस्थाको अर्को कारक तत्व भनेको नेपाली समाजमा व्याप्त अन्धविश्वासजन्य आस्था र मान्यता हो । नेपाली समाजको ठूलो हिस्साले विगतका राजा महाराजाले चलाएका प्रथा परम्पराको अन्ध नक्कल गरिरहेका छन् । ऊर्जाशील समय र धनराशीको अनुत्पादक खर्च गरिरहेका छन् । समाजको मनोविज्ञानका आधारमा देश कता जाने भन्ने दिशा निर्देश गर्छ । राजनीतिलाई प्रभावित गर्छ । समाजले राजनीतिलाई मार्गनिर्देश गर्छ । एक हिसाबले हेर्दा राजनीति भन्दा सामाजिक व्यवस्था शक्तिशाली हुन्छ । समाजका लागि राजनीति हुने भएकाले समाज राजनीतिभन्दा माथि नै हुन्छ ।
नेपाली समाजमा अन्तरनिहित गतिविधि सबै ठीक छन त ? बोक्सी प्रथा ! आजको समाजमा कसरी टिकिरहेको छ ? हजारौँको संख्यामा राँगा, बोकाको बली प्रथा किन हट्दैन ? प्रथा र परम्पराको नाममा ऊर्जाशील मान्छेहरुले अनुत्पादक श्रम किन गरिरहेका छन् ? उद्यमशीलतालाई पलायन प्रवृत्तिले किन उछिनिरहेको छ ? कठिन साधनाले प्राप्त हुने उच्च जीवन मूल्य निर्माणलाई क्षणिक श्रममार्फत प्राप्त हुने साधारण जीवनले किन पछाडि पारिरहेको छ ? जीवनको सार्थकता पैसाको जोरजाममा मात्रै किन नापिन्छ ? यी केही विषयहरु नेपाली समाजका क्रोनिक समस्या हुन । नेपाली समाजका अन्तरनिहित यी समस्याका कारण नेपाल पछाडि परेको हो भनेर स्वीकार्ने कि नस्वीकार्ने ? यस हिसाबले हेर्दा समाजिक रुपान्तरण आवश्यक छ । समाजको आमूल रुपान्तरणलाई आस्था र इगोले बाँधेको छ ।
व्यक्तिको जीवन एक हो तर भूमिकाको हिसाबले सम्पूर्ण पनि हो । आफ्नो गतिविधिले सम्पूर्ण समाज र देशलाई असर गर्छ । एक व्यक्तिले गरेको गलत कामले गलत कर्महरुलाई पूर्णता दिन बल पुग्छ । त्यसैले प्रत्येक व्यक्ति आफ्नो ठाउँमा ठीक हुनु पर्छ । व्यक्ति–व्यक्तिको कमजोरीले समाजनै गलत दिशामा उद्दत हुनपुग्छ । कुनै एक व्यक्तिले ठगी गर्यो भने त्यसको असर समाजलाई पर्छ । त्यसैले प्रत्येक व्यक्तिको जीवनलाई राम्रो बनाउनुपर्छ । सदगुण भएका मान्छेहरुको संख्या बढ्नुपर्छ । अबगुणीहरुलाई कमजोर बनाउँदै लैजानुपर्छ । व्यक्ति आफूचाहिँ गलत हुन्छ तर राजनीतिलाई दोष लगाइरहेको हुन्छ । यो ठीक तरिका होइन । आफू आफ्नो घर अगाडिको सडक सफा गर्न सक्दैन तर समाज र राजनीतिलाई गाली गर्छ । मान्छे ठूला, गफ ठूला तर काम साना भएकाहरु धेरै छन् ।
त्यसो भए निकास के भन्ने प्रश्न खडा हुन्छ । त्यसका लागि ज्ञान, विज्ञान र विचारमा निरन्तर विकास हुने कुरालाई स्वीकार्नु पर्छ । राजनीति, समाज र व्यक्तिको तहमा सँगै रुपान्तरण गर्नुृपर्छ । त्यसका लागि राजनीतिलाई सुधार्नु पर्छ । एक्काइसौँ शताब्दीको आवश्यकता र नेपालको विशिष्टताको आधारमा राजनीति गर्नुपर्छ । राज्यको दायित्व र व्यक्तिको निजत्वको सही संयोजन गरिने राजनीति हुनुपर्छ । समतामूलक समृद्धि सहितको समुन्नत समाजवादको बाटोमा नेपाली राजनीति डोलायमान हुनुपर्छ । नेपालमा भ्रष्टाचार महामारीको तहमा छ । भ्रष्टाचार नभएको ठाउँ पाउन कठिन भएको छ । राज्यका संयन्त्रहरु, राजनीतिक दलहरु, गैरसरकारी संस्थाहरु लगायत सबै क्षेत्र भ्रष्टाचारको दलदलमा फसेका छन् । सुशासन र सदाचारको बाटोमा सबैलाई लैजानुपर्छ । आर्थिक कारोबारमा पारदर्शिता र विधिको शासनमा जोड दिनुपर्छ ।
नेपाल राजनीतिक प्रणालीको हिसाबले लोकतान्त्रिक गणतन्त्र भएको छ । यसको अभ्यास भने हुन सकेको छैन । आजपनि कर्मकाण्डी लोकतन्त्रको अभ्यास भइरहेको छ । वास्तविक लोकतन्त्रको आवश्यकता छ । नेपाली समाजको विशेषता अनुसार समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रान्त्रिक अभ्यास गरिनुपर्छ । निर्णय प्रक्रियामा जनताको प्रत्यक्ष हस्तक्षेपका लागि प्रत्यक्ष लोकतन्त्र आवश्यक छ । पछाडि परेका वर्ग, क्षेत्र र समुदायका मानिसलाई सकारात्मक विभेदको नीति मार्फत आगाडि ल्याउनु पर्छ । विकासको प्रतिफल आम जनतामा पु¥याउनु पर्छ । नेपालको समृद्धिका लागि बहुआयामिक सुधार आवश्यक छ । सुधारको प्रारम्भ भने राजनीतिबाटै हुनुपर्छ । किनकि रुपान्तरणको बाहक राजनीति नै हो । त्यसैले असल राजनीतिको पक्षमा एक होऔँ ।
The post नेपाल समृद्ध बन्न किन सकेन ? appeared first on Sajha Post.