१. प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न
२०६२/६३ को जनआन्दोलन र १० बर्षे जनयुद्धबाट प्राप्त उपलब्धिहरुको धेरै हदसम्म नेपालको संबिधान २०७३ ले संस्थागत गरेसंगै नेपाल औपचारिक रुपमा विकास र समृद्धिको युगमा प्रवेश गरेको छ । दुनियाँभरीका अभ्यासहरुले के कुराको प्रमाणित गरेका छ्न भने राजनीतिक उपलब्धिहरु जत्तिसुकै अघि बढेपनि त्यस्कै अनुपातमा विकास र समृद्धि वा आर्थिक गतिविधिहरु अघि बढेनन् भने प्राप्त राजनीतिक उपलब्धिहरु गुमेका र राजनीतिक उपलब्धिहरु पुरानै ठाउँमा फर्किएका उदाहरणहरु छन् । त्यसैले विकास र समृद्धिको युगको नेतृत्व गर्न र प्राप्त राजनीतिक उपलब्धिहरुहरुको रक्षा गर्दै समुन्नत समाजवादको आधार तयार गर्न युद्ध र आन्दोलन गर्न तयार गरियका राजनीतिक पार्टीहरुको सांगठनिक संरचना प्रयाप्त नभएकाले नयाँ शक्ति पार्टीको जन्म ऐतिहासिक आवश्यकतामा भएको हो ।
२. खुल्ला समाजको नेतृत्व गर्न
२०४६ सालको जनआन्दोलनको उपलब्धिपछि नेपालमा सबैभन्दा धेरै र सशक्तरुपमा मिडिया क्षेत्र अघि बढ्यो । पहिलो चरणमा पत्रपत्रिका /रेडियो / टेलिभिजनको तिब्र विकासले नागरिकलाई गाउँ-गाउँसम्म राजनीतिकरुपले सचेत र जागरुप गरायो ।
दोस्रो चरणमा प्रविधि, वर्ल्डवाइड वेब र सामाजिक सञ्जालहरुको विश्वव्यापी विकासको प्रभावले नेपाललाई पनि छाडेन । यस्ता विकासले हाम्रो समाजलाई खुल्ला समाजतर्फ अग्रसर गरेका छन् । सूचना प्रविधिको विश्वव्यापी पहुँचले जनतालाई जागरुक र सार्वभौम बन्न मद्दत गरेको छ । यस्तो समाजको नेतृत्व एउटा खुल्ला र आन्तरिक लोकतन्त्र मजबुत भएका दलहरुले मात्र गर्न सक्छन् ।
नयाँ शक्ति पार्टी त्यही आन्तरिक लोकतन्त्र मजबुत भएको र खुल्ला समाजको नेतृत्व गर्न गठन भएको दल हो ।
३. समतामूलक आर्थिक वितरण
नेपाल बहुजातिय, बहुभाषिक र बहु-सांस्कृतिकरुपमा हेर्दा संसारकै ठूला मुलुकहरु मध्येमा पर्छ । यसरी हेर्दा आजसम्म भएका राजनीतिक उपलब्धिहरुको लाभ कुनै एउटा जातजाति भाषाभाषीहरुले उपभोग गरेको देखिन्छ । जस्तै- २००७ सालको उपलब्धिले एउटै भाषाको रुपमा नेपाली भाषा र एउटै जातिको रुपमा खस-आर्य समुदायले यस्को धेरै लाभ लिएको देखिन्छ । त्यस्तै २०४६ सालको उपलब्धि धेरै शहरिया पुँजीपति र मुलधारका राजनीतिक दलहरुले लिएको देखिन्छ ।
त्यसैले २००७ सालको उपलब्धिले नै २०४६ को जनआन्दोलनको आधार तयार गरेजस्तै २०४६ को आन्दोलन र त्यसपछिको असमान आर्थिक वितरणले जनयुद्धको आधार तयार गर्यो । बिशेषगरी जनयुद्धले २०४६ को राजनीतिक परिवर्तनले नछोएको भूगोल कर्णाली र त्यसमा पनि उत्पीडित जाति समुदायमा हलचल नै ल्याइदियो । त्यसैगरी २०६२/६३ को जनआन्दोलनले सम्बोधन गर्न बिर्सिएको समुदाय मधेस विद्रोहले संघियताको मुद्दालाई बहसमा ल्याइदियो । यसरीहेर्दा उपलब्धिहरु प्रमुख होइनन्। प्रमुख त त्यो उपलब्धिको वितरण समान भयो वा भएन भन्ने हो। नयाँ शक्ति पार्टीले तीन क्लस्टर आदिवासी-जनजाति, थारु-मधेसी, आर्य-खस र पछाडि छोडिँदै गरेको समुदाय महिला र दलितको अवधारणासहित समान आर्थिक विकासमा केन्द्रीकरण गरेको छ।
कसैकसैले यहि मुद्दालाई आधार बनाएर नयाँ शक्तिलाई जातिवादी पार्टी भएको आरोप लगाउने गरेका छन् । तर हाम्रो मुल मुद्दा आर्थिक विकास हो। नयाँ शक्तिको आर्थिक विकासमा असमान आर्थिक विकासले फेरि अर्को जाति वा समुदाय विद्रोहको लागि तयार नहोस् भन्ने कुरामा हामी सचेत भएको मात्र हो।
४. सन्तुलनमा आधारित राष्ट्रियता
दोस्रो विश्वयुद्धमा चिनका अधिकांश भू-गागमा जापानी सेनाले चिनियाँ जनतामाथि ज्यादती गरेका थिए । ईतिहास पढेको चिनियाँ नयाँ पुस्ता अहिले पनि जापानीहरुलाई घृणा गर्छन् । जापान र चीनबीच धेरै भू-भागहरुमा अहिले पनि विवाद कायम छ । तर, यी सबै तिक्तताहरुलाई थाती राखेर ८० को दशमा तत्कालीन चिनियाँ राष्ट्रिपति देङ स्याओ पिङले आफ्नो पहिलो विदेश भ्रमण जापानबाट सुरुवात गरे । विश्व बजारमा जापान प्रविधिमा निकै अघि थियो । देङ जान्दथे कि चिनियाँ अर्थतन्त्रमाथि उकास्ने प्रमुख अस्त्र प्रविधि हो । करिब ३ दशकमा चिनियाँ अर्थतन्त्रले जापानी अर्थतन्त्रलाई पछाडि छोडेको मात्र छैन, विश्व बजारमा जापानी समानलाई लगभग विस्थापित गरेको छ । आजको चिनियाँ पुस्ता सगर्व जापानलाई गाली गर्छ ।
तपाईंलाई अचम्म लाग्न सक्छ, दोस्रो विश्वयुद्धमा हिरोसिमा र नाकासाकीमा अणु बम प्रहार गर्ने अमेरिकी सेना अहिले पनि जापानमा छ । दोस्रो विश्वयुद्धपछि जापानीजहरु राष्ट्रियताको धङधङीबाट बाहिर आएर तिव्र आर्थिक विकासमा केन्द्रित भएको केही दशकमै जापानले आफूलाई दुनियाँकै दोस्रो अर्थतन्त्रको रुपमा उभ्याउन सफल भएको थियो । पछिल्लो दशकमा निकै कम समयमा उच्च आर्थिक विकास हासिल गर्न सफल दक्षिण कोरियामा अहिले पनि अमेरिकी सेना बसिरहेको छ ।
तपाईं भन्न सक्नुहुन्छ राष्ट्रियता मजबुत भएको मानिएको उत्तर कोरियाली जनता र दक्षिण कोरियाली जनतामा को धेरै सम्पन्न र सुखी होलान् ? यसो भनिरहँदा राष्ट्रियता केहि पनि होइन भन्न खोजिएको भने होइन । के जापान, चीन र दक्षिण कोरियाका राष्ट्रियता सम्बन्धि आ-आफ्ना मूल्यमान्यताहरु थिएनन् होला त ? त्यसैले हाम्रो मुख्य ध्यान कोरा राष्ट्रियतामा बहकिनुभन्दा दुवैतर्फ तिव्र आर्थिक विकास गरिरहेका मुलुकहरुसँग ब्यालेन्समा रहेर अधिकतम् लाभ कसरी उठाउने र केही दशक नेपालको वरीपरि केन्द्रित भैरहेको पुँजीबाट कसरी आर्थिक विकास गर्ने भन्नेतर्फ हाम्रो ध्यान केन्द्रित गरिनुपर्छ ।
नयाँ शक्ति नेपाल कुनै एउटा राष्ट्रको पक्षमा उभिएर र अर्को राष्ट्रलाई गाली गरेर राष्ट्रियता बलियो हुने भन्दा पनि आर्थिकरुपमा अन्तरनिर्भर र मजबुत अर्थतन्त्र भएको नेपाली राष्ट्रियताको पक्षमा छ ।
५. प्रत्यक्ष निर्वाचित कार्यकारी
२०१५ को आम निर्वाचनमा नेपाली काङ्ग्रेसले दुई तिहाइभन्दा धेरै मत ल्यायो तर त्यो संसदीय व्यवस्था संस्थागत नहुँदै राजा महेन्द्रले असफल बनाए । २०४६ सालपछि त संसदीय व्यवस्थाका निकै घिनलाग्दा पक्षहरु उजागर भए । २०५२ सालमा तत्कालीन माओवादीले जनयुद्ध सुरु गर्दा संसद खसीको टाउको झुन्ड्याएर बाख्राको मासु बेच्ने अखडा हो भन्ने निकर्ष माओवादीले निकाल्यो । २०५८ असोज १८ र २०६१ माघ १९ दुवै शाही कू गर्दा तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो सम्बोधनको अधिकांश समय संसदीय व्यवस्था र संसदीय पार्टीहरुलाई गाली गर्न खर्चिएका थिए । अब २०६२/६३ को आन्दोलनका उपलब्धिहरु तथा २०७३ को संविधानले संस्थागत गरेका मुख्य मुद्दाहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताको रक्षा पुरानो संसदीय व्यवस्थाले गर्न सक्दैन ।
नेपालमा संसदीय व्यवस्थाका सबै प्रयासहरु पटकपटक असफल भैसकेका छन् । त्यसैले प्रत्याह्वानसहितको जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र सबै क्षेत्र, जातजाति, भाषाभाषिको प्रतिनिधित्व सुनिश्चित भएको पूर्ण समानुपातिक संसदीय व्यवस्थाले नै अब नेपालका बाँकी कार्यभारहरु पूरा गर्नेछ ।
(रिमाल नयाँ शक्तिको प्रदेश नं. तीनको प्रशिक्षण विभाग संयोजक हुन्)
The post यसकारण नेपाली समाजले खोजेको छ राजनीतिक विकल्प appeared first on Sajha Post.