म अप्ठेरो अवस्था ठाउँबाट गुज्रिरहेको छु । स्थिति अप्ठेरो नै हो । मधेसलाई हामीले हरहालतमा बचाउनु नै पर्छ । मधेसबिनाको काठमाडौं हुन सक्दैन । किनकी काठमाडौंका पार्टी, पौवा, मठमन्दिर, त्यहाँका नाँचगान, नेवारीहरुले गर्ने पनि ती सबै मधेसबाट आएर, त्यहाँको जनता र हिजोका शासकहरुको योगदान छ । फेरि काठमाडौंबिना मधेस टिक्नै सक्दैन । किनकी मधेसमा फेरि काठमाडौं अथवा पहाडको पानी, रगत सबै घुलित छ । यसकारण यी दुईटालाई जोड्नु नै पर्छ ।
पक्कै पनि हिजोका शासकहरुले त्यतिबेलाको परिस्थिति अनुसार राष्ट्रलाई एकताबद्ध गरे या बिस्तार गरे, जे भन्नुहोस्, त्यो विवादमा म अहिले जान चाहन्नँ । तर आज एक्काइसौं शताब्दी हामी डेमोक्रेटिक ट्रान्फरमेशनको एउटा युगको कुरा गर्दैछौं भने आजको एक्काइसौं शताब्दीमा राष्ट्रिय एकता अलि नयाँ तरिकाले हुन्छ, पुरानो तरिकाले हुँदैन ।
डरलाग्दा डरलाग्दा खेलहरु भइरहेका छन्
हिजोका राजा महाराजाहरु अलि निरंकुश शासकहरुले जसरी राष्ट्रवादको परिभाषा गरे, त्यही परिभाषा पछ्याएर अबको राष्ट्र बच्दैन । त्यो राजा महाराजाको तरिकाले बच्दैन । आज राष्ट्र बचाउने भनेको मधेसले पनि आफ्नो स्वामित्व खोज्छन्, जनजातिले पनि खोज्छन्, थारुले पनि खोज्छन्, बाहुन क्षत्रीले पनि खोज्छन्, ती सबैको एकता फेरि नयाँ मान्यतामा, लोकतान्त्रिक मान्यताको आधारमा हुनुपर्छ । यो भित्र खेलहरु छन् । म यतापट्टि पनि धेरै गइनँ । डरालाग्दा डरलाग्दा खेलहरु छन् भन्ने कुराको मलाई ज्ञान छ । तपाईहरुले प्रधानमन्त्रीलाई ज्ञान छैन कि भनेर राख्नुभएको थियो, तर प्रधानमन्त्रीलाई ज्ञान छैन भन्ने तपाईहरुलाई नपरोस् । राम्रो ज्ञान छ ।
हाम्रा मधेसका, पहाडका या हिमालका जहाँका भए पनि, जुन जाति, भाषा, वर्ग, समुदायका भए पनि नेपाली जनता महान देशभक्त जनता नै हुन् । मधेसमा बसेर वैदेशिक हस्तक्षेपविरुद्ध पहरेदारीको काम सबैभन्दा बढी मधेसी जनताले नै गरेका छन् । तपाईले हेर्नुभयो भने अस्ति भर्खरै सप्तरीमा जे घटना देखियो, या विगतदेखि नै जे देखिएको छ, साँच्चै नेपालको अस्मिता र राष्ट्रिय स्वाधीनतालाई कमजोर पार्ने काम मधेसीहरुले होइन, पहाडीया शासकहरुले गर्दै आएका छन् । यो कुरा हामी कसैले बिर्सनु हुँदैन ।
मधेसी जनता होइन, पहाडिया शासक हुन् समस्या
भारतका ठूला ठूला हिजोका राजा महाराजाहरु, ग्वालिअर होस् या कश्मिरमा होस्, बैंग्लोरमा होस्, ठूला ठूला राजा महाराजाहरुसँग बिहाबारीको सम्बन्ध नेपालका, काठमाडौंका राजामहाराजाहरुसँग छ, नेपालको मधेसका गरिब जनतासँग होइन । यो कुरा हामीले बुझ्न जरुरी छ । त्यसकारण मधेसी जनतालाई भ्रमित पार्ने या आदिवासीलाई भ्रमित पार्ने या थारुलाई भ्रमित पार्ने कुनै पनि षड्यन्त्र हामी सफल हुन दिन चाहँदैनौं । राष्ट्रको निम्ति यो जरुरी छ । हाम्रो कोशिस त्यतैपट्टि हो, अरु केही होइन ।
मैले अलिकति यही कुरा भनेँ । तपाईहरुलाई यसो भन्दै गर्दा लाग्ला, नेपालका राजनीतिक पार्टीहरु यही विषयमा आन्तरिक झगडा गरेर बर्बाद पार्लान् कि ? यस्तो चिन्ता तपाईहरुलाई लागेको देखेँ मैले कतिपय साथीहरुमा । चिन्ता नगर्नुहोस् भन्न खोजेको छु मैले । निक्लिन्छ बाटो । निकालिन्छ बाटो । बाटो निकाल्नैपर्छ र त्यो मध्यमार्गी बाटो नै हुन्छ । अतिवादको बाटोले अब नेपालको हित हुँदेन । मध्यमार्गबाटै जानुपर्दछ हामीले । अतिवादबाट मुलुकलाई बचाएर लैजानुपर्छ ।
म यता आउँदैगर्दा नेपाली कांग्रेस, नेकपा एमाले, हाम्रो पार्टी (माओवादी), राप्रपा र अन्य पार्टीहरुसँग संवादको एउटा नयाँ परिस्थिति बनाएर आएको छु । मलाई विश्वास छ यहाँबाट फर्केर गएपछि हामीले र मधेसी मोर्चासँग र अरुअरुसँग पनि संवादको वातावरण बनेको छ । अहिले हेर्नुभयो भने मधेसी जनतामा सरकार चाहिँ हाम्रो विरोधी हो भन्ने मानसिकता अब बिस्तारै हट्दै गएको छ । सरकारले हामीलाई पनि ध्यान दियो भन्ने बनेको छ र यही परिस्थितिलाई हामीले सुदृढ बनाएर मधेसमा पनि निर्वाचनको माहोल बनाउन जरुरी छ । अनि मात्रै राष्ट्र बलियो हुन्छ ।
काठमाडौंका राजाले दुई/तीन सयसम्म श्रीमती राखे
अस्ति पृथ्वीनारायण शाहको जन्मजयन्तीको कुरा उठ्यो । बहस धेरै नै भयो । तपाईंहरुले पनि पक्कै सुन्नुभयो । अहिले त फेसबुक छँदैछ, अनलाइन छँदैछ, तपाईंहरुले हेर्नुभयो होला । यहाँ कुरा दुईवटा छन् । हामी पृथ्वीनारायण शाहले हिजो नेपालको राजनीतिमा, बाइसे चौबिसे राजाहरु थिए । गोर्खाबाट तनहुँ जानुपर्यो भने पनि कर तिर्नुपर्ने, अर्कै सरकार अर्कै राजा । त्यसलाई कर तिर्ने, गोर्खाबाट धादिङ जानुपर्यो भने अर्कै राजा । पाल्पा जाँदा अर्कै राजा, यता जाँदा अर्कै राजा, उता जाँदा अर्कै राजा भएपछि जनतालाई के चाहिएको थियो भने यस्तो राजैराजा । जतासुकै राजाभन्दा त बरु एउटै बलियो राजा भइदिए हुन्थ्यो जनतालाई लागेको बेलामा पृथ्वीनारायण शाहले म जनताको भलो गर्छु भनेर हो कि हैन भन्ने कुरा बहसकै विषय छ तर, म एउटा शक्तिशाली राजा बन्छु, र म एउटा बलियो र विशाल नेपालको सम्राट हुन्छु भन्ने चाहनाले अगाडि बढ्दै जाँदा इतिहासको भौतिकवादी व्याख्या अनुसार त्यो जनताको भावनासँग मेल खायो ।
यसरी टुक्रेटाक्रे राजाहरु हुनुभन्दा नहुनु नै जाती । कर तिर्नु नपर्ने आवश्यकताले गर्दा उनी सफल हुँदै गए । प्रतिवाद भए पनि त्यो भावना अगाडि बढ्दै गयो । त्यो अरुले पनि गर्न सक्थे । काठमाडौंका राजाले अझ राम्रो गर्नुपर्थ्यो भन्ने लाग्छ मलाई । म यतापट्टि लामो त जान चाहन्नँ तर, काठमाडौंका राजा आर्थिकरुपले अलि सम्पन्न थिए । बजार, बन्द व्यवसाय पनि ठूलो थियो । गर्नुपथ्र्यो काठमाडौंका राजाले पूरै नेपाललाई एक बनाएर जानुपर्ने । तर त्यहाँको राजा अलि सम्पत्ति बढी भएको हुनाले उनीहरु भोगविलास, ऐस आराममा लागे । दुई सय तीन सय श्रीमती राख्ने । अब लमलठ भएपछि तिनीहरुलाई जित्न पृथ्वीनारायण शाह त सानो राज्यको । अलि केही खास नभएको राज्यको तर, आकांक्षा ठूलो राखे उनले । त्यसकारण उनले जित्दै गए अरुले चाहिँ हार्दै गए ।
पृथ्वीको नाममा ज्ञानेन्द्र फर्काउने खेल !
जे होस्, एउटा परिस्थिति त्यो बन्यो । हामीले भौतिकवादी व्याख्या गर्दा पृथ्वीनारायण शाहले गरेको कामलाई, नेपाललाई बलियो बनाउने काम नै हो । उनको इन्टेन्सन (नियत) विशाल सम्राट बन्ने भए पनि । उनले जनताको नाक कान काटेर भने पनि गरे, बदला पनि लिए लिन त ठाउँठाउँमा । भए पनि त्यो अगाडि नै बढ्यो भनेर मान्छ इतिहासले । तर, अहिले फेरि कतिपयले ज्ञानेन्द्रलाई फर्काउन पृथ्वीनारायण शाहको प्रयोग गर्न खोजे भने त्यो मान्य हुँदैन । एउटा निरंकुश र एउटा यस्तो मान्छे र प्रवृत्तिलाई फर्काउनको लागि पृथ्वीनारायणको नाम लिए कसैले भने हामी सतर्क हुनुपर्छ । अहिले हामीलाई चाहिएको नयाँ राष्ट्रिय एकता नै हो ।
(आइतबार नेपाली जनप्रगतिशिल मञ्च युएईले आयोजना गरेको स्वागत कार्यक्रमलाई युएईमा सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री प्रचण्डले व्यक्त गरेको विचारको सम्पादित अंश)
The post प्रधानमन्त्रीलाई ज्ञान छैन भन्ने नपरोस्, राम्रो ज्ञान छ appeared first on Sajha Post.