गरीब र धनी भन्ने कुरालाई पनि सापेक्षतामै हेर्नुपर्छ । मानव जातिको उत्पत्तिदेखिको कुरा गर्ने हो भने नेपाल नाम गरेको जुन भूखण्डमा हामी बस्छौं, हामी सबै करीब ७० हजारदेखि एकलाख वर्ष पहिले अफ्रिकाबाट फैलिँदै गएको होमोस्यापियन्स जातिको नरवानरको सन्तान हौं । अहिले संसारमा भएका हामी सात अर्ब मान्छे (त्यतिबेला करीब १० हजारजति मात्रै नरवानरको रुपमा निस्किएका थिए अफ्रिकाबाट) त्यही नरवानरकै सन्तान हौं । हामी काला, गोरा, सेता, नाक चुच्चे, थेप्चे जेजस्ता मान्छे छौं, त्यो कालान्तरमा वातावरणीय असर र त्यही अनुसार जैविक डिएनएमा परेको प्रभाव मात्रै हो ।
त्यसैले नेपालमा पनि हामीले चार/पाँच हजार वर्ष यतादेखिको त लिखित र प्रमाणिक इतिहास नै पाउँछौं । तथापि पचासौं हजार वर्ष अगाडिदेखि मानवजातिको बसोबास भएको ठाउँ चाहिँ यो हो । करिब चार/पाँच हजार वर्षदेखिको नेपालको लिपिवद्ध इतिहास हेर्दा त्यसबीचमा नेपालले खासै गुणात्मक छलाङ्ग मारेको इतिहास हामी पाउँदैनौं ।
अंश-अंशमा हेर्ने हो भने काठमाडौं उपत्यका सापेक्षतामा अलि बढी विकासको तीव्रतामा गयो, खासखास सहरी क्षेत्रको विकास भयो होला । तर, समग्र नेपाली भूभागै हामीले हेर्यौं भने यो अवधिमा हामी खाली खेतीपाती प्रणालीमै रह्यौं । त्यसको मूल अंश अहिले पनि बाँकी छ । त्यसरी हेर्दा समग्रमा नै हामी उत्पातै धनी थियौं भन्ने होइन । त्यतिबेला अरु पनि गरीब थिए, हामी पनि गरीब थियौं । त्यसैले त्यतिधेरै चिन्ताको विषय त्यहाँ थिएन । तर यो बीचमा अरुले असाध्यै विकास गरेर धनी हुन पुगे । हामी गरीबीको गरीबीमै बसिरह्यौं । एउटा यो पक्ष रह्यो ।
अर्को हामी केही क्षेत्रका मान्छे विकासको दिशामा अगाडि बढेका पनि थियौं । जतिबेला काठमाडौं उपत्यका भारत र चीनबीचको व्यापारको एउटा केन्द्र थियो, त्यसको तुलनात्मक लाभ लिएर काठमाडौंले दुई देशको व्यापारमा एकप्रकारको एकाधिकार नै कायम गरेर व्यापारिक लाभ लिएकै हो । त्यसैले काठमाडौं उपत्यका आजभन्दा दुई हजार वर्ष पहिले नै सापेक्ष रुपले विकसित थियो, जसको उल्लेख चाणक्यको ‘अर्थशास्त्र’मा पनि पाइन्छ ।
कृषिकै मात्रै उत्पादनबाट कुनै पनि देश धनी हुँदैन । धनी हुनका लागि व्यापार हुँदै उद्योगतिर जानुपर्छ । हामी जतिबेला व्यापारिक युगतिर प्रवेश गरेका थियौं, त्यसलाई हामी मध्ययुग भन्छौं, करीब आठ सय वर्ष यता । हुन त लिच्छविकालमा पनि विकासतिर अग्रसर भएको हो, तर मुख्य रुपमा मल्लकालको समयमा नेपालको विकास उत्कर्षमा पुगेको देखिन्छ । त्यतिबेला भारत र चीनको व्यापारको मुख्य केन्द्र काठमाडौं हुनु र त्यसको नाका हाम्रो कोदारी र रसुवा हुनुले पनि हामीलाई सहयोग भएको हो । अनि भारत र चीनको बीचमा व्यापार हुनुले पनि त्यो बेलामा हामी सबैभन्दा माथि थियौं । त्यही बेला नै काठमाडौं उपत्यकामा सुनको गजुरहरुसहितका मठमन्दिर बनेका थिए, त्यसरी सुनको गजुरसहितको मन्दिरहरु बन्नुले आर्थिक विकासकै संकेत गर्दछ । अनि नेपाली सभ्यता उत्कर्षमा पुगेको बेला पनि त्यही हो ।
अठारौं र उन्नाइसौं शताब्दीमा भौगोलिक एकीकरणपछि वर्तमान नेपाल राज्य बन्यो । त्यही बेलामा नै अंग्रेजहरुसँग जुन सुगौली सन्धी (सन् १८१५–१६) भयो त्यसपछि भने परिस्थिति फरक हुन गयो । एकातिर अंग्रेजले च्याप्दै ल्याएकाले भूगोलको रक्षाको निम्ति पनि सुगौली सन्धि गर्नुपर्ने बाध्यता रह्यो । त्यसो नगर्दा सबै गुम्ने खतरा पनि थियो । तर सुगौली सन्धि गर्दाखेरि स्वाधीनताको रक्षा त भयो तर आर्थिक रुपमा हामी पूरै भारतीय परनिर्भरतातिर गयौं ।
त्यसो भएपछि चीनसँगको बन्द व्यापार पनि क्रमशः रोकियो । अब व्यापार त अंग्रेजहरु आफैंले गर्न थाले, कालिङपोङ र समुन्द्रको बाटो हुँदै । नेपालसँगको व्यापारको नाका कम भयो ।
दोस्रो कुरो, भारतमा औद्योगिक रुपमा उत्पादित वस्तुहरु जुन थिए, ती वस्तुहरुलाई आयात गरेर खाने ठाउँजस्तो मात्रै भयो नेपाल । नेपालका त्यतिबेलाका घरेलु उद्योगहरु विहार र बंगालका भन्दा राम्रा र प्रतिस्पर्धी नै थिए । अझ तिब्बतको भन्दा त हाम्रा उद्योगहरु धेरै अब्बल थिए । तर अंग्रेजसँग भएको सुगौली सन्धिपछि भारत र चीनबीचको व्यापारको केन्द्रको रुपमा नेपालको अन्त्य हुन पुग्यो र उल्टो नेपाल नै भारतीय वस्तु मगाएर उपभोग गर्ने थलोको रुपमा परिणत भयो ।
त्यसो भइसकेपछि हाम्रो विकासको गति अवरोध हुन पुग्यो । हामी त्यहीँबाट ठहरावमा पर्यौं । त्यसपछि बन्दव्यापार, उद्योगधन्दा, कलकारखानातिर लाग्नुभन्दा पनि मुख्यतः राणाकालमा वनजंगल फाँडेर बिर्ता बाँड्ने र खेतीपातीतिर फर्कियो । हाम्रा जो नेवार व्यापारीहरु थिए ती पनि विभिन्न ठाउँमा छरिएर व्यापारको साटो खेतीपाती गर्नेतिर लागे । र, यहाँका शासक वर्गले पनि व्यापारको मुनाफाबाट गुजारा चलाउने र लाभ लिनुभन्दा तराईका जंगल फाँडेर त्यहाँको जमीनको लाभ लिने ढंगले सोच्न थाले र जंगल फँडानीलाई नै तीव्रता दिए ।
त्यही बेलादेखि एक प्रकारले कृषिमा सामन्तवादीकरणको प्रक्रिया तीब्र भयो । राणाकाल त्यसैको एउटा चरम उत्कर्षको समय थियो । हामी औद्योगिकीकरणतिर जानुपर्नेमा उल्टो सामन्तवादतिर पो फर्कियौं । सुगौली सन्धीपछिको भारतसँगको सम्बन्धको कारणले गर्दा यसो हुन पुग्यो । आन्तरिक रुपमा राणाशासनपछि शाह शासनको सामन्तवादी निरंकुश प्रणाली र बाह्य रुपमा भारतसँगको आर्थिक परनिर्भरता बढेर गयो । यो नै नेपालको अल्पविकासको मुख्य कारण रह्यो ।
त्यसकारण अहिले हामी लोकतान्त्रिक गणतन्त्रमा गएपछि आन्तरिक रुपमा त सामन्तवादको अन्त्य गर्यौं । तर भारतसँगको आर्थिक रुपमा जुन पराश्रित सम्बन्ध छ त्यो चाहिँ अहिले पनि अन्त्य हुन सकेको छैन । त्यसैले अहिले हाम्रो निर्यातभन्दा आयात ११ गुणा बढी छ । जब कि सुगौली सन्धीभन्दा पहिले हाम्रो आयातभन्दा निर्यात ५ गुणा बढी थियो । यसले पनि के देखाउँछ भने यो खालको परनिर्भरता बढेर जानु नै हाम्रो पछौटेपनको मुख्य कारण बन्यो । यसैले आन्तरिक रुपमा जनतालाई आर्थिक गतिविधिमा प्रत्यक्ष संलग्न गराउने र निर्वाहमुखी कृषि अर्थतन्त्रबाट व्यापारिक र औद्योगिक अर्थतन्त्रतिर जाने एउटा नीति हामीले लिनुपर्छ भने बाह्य रुपमा भारतसँगको जुन परनिर्भरता छ, त्यसको अन्त्य गरेर भारत, चीन र विश्वका अन्य देशहरुसँग पनि अन्तरनिर्भर खालको अर्थतन्त्रको विकास गर्नुपर्छ । त्यो नै नेपालको विकासको मुख्य पाटो हुनेछ ।
(साभार : नयाँ शक्ति मासिकमा प्रकाशित अन्तर्वार्तांश)
The post नेपाली आर्थिक इतिहासको समिक्षा : हामी किन गरिब भयौं ? appeared first on Sajha Post.