१. श्रृजनशील चिन्तनः मानव निरन्तर प्रगति चाहन्छ । प्रगतिका लागि हिँडिरहन्छ । निरन्तर अगाडि बढ्नु अग्रगामी चरीत्र हो । अगाडि बढ्दा अवरोध आउछ । अवरोधको समाधान खोज्नु पर्छ । नयाँ समस्या देखिएमा पुरानै विधिले समाधान नहुन सक्छ । यतिबेला श्रृजनशीलताको आवश्यकता पर्छ । यसका लागि पुरानो सोचाई, चिन्तन्, घेरा वा पर्खालभन्दा बाहिर निस्कनु आवश्यक हुन्छ । श्रृजनशीलताको तात्पर्य पुरानो तरीका वा खाका (Frame) बाट बाहिर निस्किएर सोच्नु हो । यथास्थितिवादी चिन्तनले समस्याको समाधान हुन सक्तैन । यही विषयलाई प्रसिद्ध वैज्ञानिक आइन्सटाइनले भन्नुभएको छ- We cannot solve our problems with the same thinking we used when we created them. अर्थात् जुन चेतनामा समस्याको सृजना भयो त्यही चेतनाको प्रयोग गरेर समस्याको समाधान गर्न सकिन्नँ । तसर्थ, समस्या समाधानका लागि उन्नत चेतनाको विकास गर्नुपर्छ ।
माथिको चित्रमा हेरौँ । यसमा नौ वटा थोप्ला वर्गाकारमा छन् । यी नौ वटा थोप्लालाई चारवटा मात्र सरल रेखाले जोड्नु परेको छ । तर थोप्ला जोड्दा कलम उठाउन पाइन्न । यो समस्याको समाधान गर्न नौ थोप्लाको घेरा (Frame) भित्र बसेर गर्न सकिन्न । तसर्थ सबै भन्दा माथिको बायाँ बिन्दुबाट रेखा तान्न शुरू गर्ने र रेखालाई त्यसको दायाँ तर्फको थोप्लो भन्दा अगाडि बढाउने, त्यस पछि थोप्ला तिर फर्काउने र दुई वटा थोप्ला जोडेदै पुनः बाहिर निकाल्ने र पुनः फर्काएर शुरूको विन्दुमा पुर्याउने, यसपछि जोडिन बाँकी रहेका दुईवटा थोप्लालाई बीचबाट जोड्ने । यहाँ नौ वटा थोप्लाको अवस्थिति भन्दा बाहिर निस्केर समस्याको समाधान भएको छ । तसर्थ भन्न सकिन्छ कि समस्याको समाधान गर्नका लागि फ्रेम भन्दा बाहिर निस्कनु पर्छ । यसैलाई Out of the Box पनि भनिन्छ । यो श्रृजनशील चिन्तन हो ।
श्रृजनशील चिन्तनका लागि पनि लक्ष्य हुनु पर्छ । जब लक्ष्य सहितको चिन्तन गरिन्छ, त्यतिबेला श्रृजनशील विधिले काम गर्छ । तसर्थ लक्ष्य र चिन्तनको बीचमा नङ मासुको सम्बन्ध रहन्छ ।
श्रृजनशील दृष्टीकोण राख्ने मानिस अग्रगामी हुन्छन् वा अग्रगामी चिन्तन श्रृजनशील हुन्छ । पुराना विचार, मान्यता पाली राखेर अग्रगामी बन्न सकिन्न । पुराना बुझाई, विधि, विचार, सिद्धान्तबाट बाहिर निस्कनु पर्छ । वैकल्पिक राजनीति वा चिन्तन गर्ने व्यक्तिमा लक्ष्य, चिन्तन अग्रगामी र श्रृजनशील हुनु आवश्यक छ ।
२. तथ्य र तथ्याङ्कमा आधारित ज्ञानः वैकल्पिक राजनीति वा चिन्तनमा विश्वास गर्ने व्यक्तिले आफूलाई अद्यावधिक गराई राख्नु पर्छ । समय परिवर्तन भई रहेको हुन्छ । ज्ञान विज्ञानको क्षेत्रमा नयाँ आविष्कार दिनानुदिन भई रहेका छन् । पुराना मान्यता, विचारहरु विस्थापित र नयाँ स्थापित भई रहन्छन् भन्ने मर्मलाई आत्मसात् गर्नुपर्छ ।
मानिसको शक्ति मष्तिष्क (Brain) हो । ब्रेनले मानिस सबै प्राणी भन्दा शक्तिशाली छ । मानिससँग बाघ, भालु, गोहीको जस्तो न त दाह्रा, नङ्ग्रा छन्, न त हात्ती गैडा जस्तो बलवान छ, न त चरा जस्तै आकाशमा उड्न सक्छ, नत शत्रु दमन गर्ने सर्पको जस्तै विष छ, तर पनि सबै जलचर, स्थलचरलाई मानिसले आफ्नो बसमा राख्न सक्छ । यो ब्रेनको नतिजा हो । तसर्थ, मानिसले आफ्नो ब्रेनलाई ज्ञानका नयाँ नयाँ खुराक दिएर निरन्तर ताजा बनाई राख्नु पर्छ । सो गर्न सकेन भने परिवर्तित समय र परिस्थिति मुताविक चल्न समस्या हुन्छ । यसका लागि अध्ययनलाई निरन्तरता दिनु पर्छ अध्ययनको अर्थ औपचारिक वा अनौपचारिक दुवै हो ।
अध्ययनका सम्बन्धमा भिक्टर ह्यूगो भन्नुहुन्छ–To learn to read is to light a fire; every syllable that is spelled out is a spark. अर्थात् पढ्न थाल्नु भनेको आगो बाल्नु हो, प्रत्येक शब्द जुन पढिन्छ त्यो ज्वाला हो । यसरी वैकल्पिक राजनीति वा विचार राख्ने व्यक्तिले आफ्नो दिमागलाई फ्रेस बनाउन निरन्तर अध्ययनमा तल्लीन हुनु पर्छ । अध्ययनबाट आर्जित ज्ञान, तर्क, भन्दा पनि तथ्य र तथ्याङ्कमा आधारित हुनु पर्छ । व्याख्यात्मक र कुतर्कलाई महत्व दिनु हुन्न । सामान्यतया तथ्यलाई सत्य मानिन्छ तर तथ्य र सत्यका बीचमा पनि अन्तर छ । कहिले काँही तथ्य सत्य नहुन पनि सक्छ । हामीले समय समयमा विचार व्यक्त गरी रहनु पर्छ । हामीबाट व्यक्त विचार तथ्य र तथ्याङ्कमा आधारित हुनु पर्छ ।
३. समयको उचित व्यवस्थापनः कुनै खास क्रियाकलापमा कति समय खर्च गर्ने भन्नु नै समय व्यवस्थापन हो । समयको उचित व्यवस्थापन भएमा कार्य क्षमता, उत्पादकत्व, व्यवसायिक मर्यादा बढाउन, अझ उन्नत बन्न थप अवसर पाउन सकिन्छ । जसले गर्दा निर्धारित कार्य सफलतापूर्वक सम्पन्न हुन्छ । समय सीमा वा समयतालिका बमोजिम काम गर्न अभ्यस्त हुनु पर्छ । यदि सो गर्न नसकिएमा कार्यक्षमता प्रभावकारी हुँदैन, कामको गुणस्तर कमजोर हुन्छ, तनाव सृजना हुन्छ । समग्रमा असफल भइन्छ । यसरी वैकल्पिक राजनीति वा चिन्तनमा अग्रसर व्यक्तिले समयको व्यवस्थापनमा सजग रहनु पर्छ । यसका साथै वितेको समयमा पश्चाताप गरेर फाइदा छैन, भविष्यको पनि धेरै चिन्ता नगर्ने र वर्तमान समय नै अति महत्वपूर्ण हुन्छ यसको उचित उपयोग गर्नुपर्छ । यसको दुरुपयोग अरुको आलोचनामा गर्नु हुदैन भन्ने कुरा भुल्नु हुदैन ।
४. अनुकरणीय अगुवा बन्नेः वैकल्पिक राजनीतिमा संलग्न व्यक्तिको समाजमा अनुकरणीय भूमिका हुनु पर्छ । यसका लागि उसले परिवर्तन आँफैबाट शुरू गर्नु पर्छ । भनिन्छ– विश्व बदल्नु छ भने त्यस भन्दा अगाडि आफ्नो देश बदल, देश बदल्नु अगाडि समाज बदल, समाज बदल्नु अगाडि परिवार बदल, परिवार बदल्नु अगाडि आफूलाई बदल, आफूलाई बदल्न आफ्नो सोच बदल । जहाँ पुग्नु पर्ने भए पनि यात्रा आँफैबाट शुरू गर । तसर्थ राम्रो कामको थालनी पनि आफैबाट गर्नुपर्छ तब मात्र समाजमा अनुकरणीय व्यक्ति बन्न सकिन्छ । नर्मन भिन्सेन्ट पियलेले भनेका छन्- Change your thoughts and you change your world. अर्थात् आफ्ना विचार बदल, दुनियाँ परिवर्तन गर्न सक्छौ । यसरी समाजमा अनुकरणीय बन्नका लागि वैकल्पिक राजनीतिका अभियन्ताले राजनीतिलाई निःस्वार्थ सार्वजनिक सेवाका रुपमा लिन, सुशासनलाई आत्मसात् गर्न सक्नु पर्छ जसका लागि अरुलाई उपदेश दिनु भन्दा आफैं उदाहरण बन्नु आवश्यक छ ।
५. राजनीतिले समाधान दिन्छ भन्नेमा विश्वास गर्नेः समय समयमा सुन्ने गरिन्छ कि राजनीतिले सर्वनाश गर्यो । सबै कुरा बिगार्यो । तर वैकल्पिक राजनीतिका अभियन्ता ढुक्क हुनु पर्छ कि राजनीतिले समस्या सृजना गर्ने नभई समाधान गर्छ । समस्याको गाँठो फुकाउछ । राजनीतिको प्रयोग सही रुपमा हुनु पर्छ ।
६ सम्भवमा केन्द्रीतः वैकल्पिक राजनीतिका अभियन्ताले कार्यान्वयन गर्न नसकिने कार्यतालिका, कार्ययोजना बनाउन हुदैन । पुरा गर्न नसकिने खोक्रा भाषण गरी जनतालाई भ्रमित पनि बनाउनु हुँदैन । सम्भवमा केन्द्रीत हुनु पर्छ ।
७. सत्यका विषयमा कठोर नबन्नेः सत्य मान्यता बमोजिम फरक फरक हुन सक्छ । जब दृष्टिकोण फरक हुन्छ तब सत्यलाई पनि फरक किसिमले बुझिन्छ । जे देखिन्छ त्यो सत्य नहुन पनि सक्छ र जे सत्य हो त्यो नदेखिन पनि सक्छ । तसर्थ सत्यका विषयमा निरपेक्ष नभई सापेक्ष बन्ने । सत्यमाथि पनि शङ्का गर्ने । रुपमा नभई सारमा विश्वास गर्न अभ्यस्त हुने ।
८. एक समयमा एक मात्र काम गर्नेः प्रायः मानिसहरु एउटै समयमा एक भन्दा धेरै काम गरी रहेका हुन्छन् । मानिसले आफूलाई मल्टि फन्क्सनल डिभाइसका रुपमा प्रयोग गर्छन् । एउटा समयमा एउटा मात्र काममा निष्ठा पूर्वक लागेमा सफलता असम्भव छैन । हाम्रो दिमाग धेरै तिर छरियो भने एउटा काम पनि राम्रो बन्दैन । सूर्यको प्रकाशलाई लेन्समा, पानीलाई टर्वाइनमा केन्द्रीत गरी आगो र बिजुली उत्पादन गरिए जस्तै हाम्रो दिमाग र क्षमता पनि एउटै कार्यमा केन्द्रीत गराउनु पर्छ जसले गर्दा लेन्सबाट आगो, टर्वाइनबाट बिजुली निस्किए जस्तै दिमागबाट पनि आगो बर्साउन सकियोस् ।
९. साधनको परिवर्तनमा तत्पर रहनेः मूल कुरा लक्ष्य हो । एक प्रकारले वा एक प्रकारको साधनले लक्ष्य प्राप्ति भएन भने साधन वा बाटोको परिवर्तन गर्न सकिन्छ । यसको अर्थ लक्ष्य परिवर्तन होइन । लक्ष्य प्राथमिक र साधन गौण हो भन्ने कुरा मनन वैकल्पिक राजनीतिका अभियन्ताले गर्ने ।
१०. धेरै सुन्ने थोरै बोल्नेः बोल्न सक्ने वरदान मानिसले मात्र पयो । विचार, योजना, भावना संवेग भाषाबाटै व्यक्त गरिन्छ । धेरै बोलाइले नसोचिएको परिणाम तर्फ लैजान सक्छ । भनाई नै छ कि सबै चीज पोखिएको उठाउन सकिन्छ तर कुरा पोखिएको उठाउन सकिन्न । तसर्थ अनावश्यक शब्द जाल नफिँजाउनु नै ठीक हुन्छ । जतिधेरै बोल्यो त्यति धेरै बाक्लो कुहिरो बन्छ, त्यसले बुझाईमा समस्या सृजना गर्छ । विडम्बना यस्तो हुन्छ कि जति धेरै बोल्यो त्यति नै कम बुझाउन र जति थोरै अर्थ पूण कुरा बोल्यो त्यति नै बढी बुझाउन सकिन्छ । भनिन्छ– Silence is Golden, Talking is Silver.। अर्थात् मौन रहनु सुवर्ण हो भने बोल्नु चाँदी । हामीलाई प्रकृतिले दुई आँखा, दुई कान, नाकका दुईवटा प्वाल दिएको छ तर मुख एउटा मात्र दिएको छ । यसको अर्थ इनपुट डिभाइस धेरैवटा र आउटपुट डिभाइस एउटा मात्र (मुख) दिएको छ । तसर्थ सूचना धेरै ग्रहण गर्नु पर्छ र प्रोसेसिङ्ग गरेर थोरै मात्र सम्प्रेषण गर्नु पर्छ भन्ने हो । धेरै सुन्नु, हेर्नु, र थोरै बोल्नु उपयुक्त हुन्छ ।
११. पर्यावरण मैत्री बन्नेः पृथ्वी सबै प्राणीको साझा घर हो । यसको आयु मानव कै कारण घट्दैछ । यसको मूलकारण प्रदूषण हो । प्रदूषणका कारण धर्ती ध्वस्त हुदैछ, मानव लगायत सम्पूर्ण प्राणी सङ्कटमा छन् भन्ने रहस्य बुझ्ने । आफ्नो तर्फबाट हावा, पानी, माटो प्रदूषित हुने काम सकेसम्म नगर्ने ।
(लेखक नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद सदस्य हुनुहुन्)
The post यी हुन् वैकल्पिक राजनीतिकर्मीले आत्मसाथ गर्नैपर्ने आधारभूत मान्यताहरु appeared first on Sajha Post.