म एउटा आलोकाँचो युवा । उमेरले २०औं वसन्त अलिअघि पार गरेको, ३०औं वसन्त टेकेको छैन । धेरै दिनदेखि मनमा केही कुरा खेलिरहेको थियो । आज आएर सबैसँग बाँढ्न मन लाग्यो ।
यहीबीचमा आइतबार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई (नयाँ शक्ति नेपालका संयोजक) ले राजधानीमा युवा/विद्यार्थीमाझ भनेछन्, ‘तपाईंहरुले अब पुराना नेतालाई गाली मात्र गरेर बस्नु भएन । जसरी अहिले युवापुस्ताले विभिन्न माध्यमबाट स्वतन्त्ररुपमा आफ्नो विचार व्यक्त गरिरहेका छन्, त्यो स्वतन्त्रता अघिल्लो पुस्तालाई थिएन । आफूले बोलेको कुराले राजा, राणा तथा पञ्चहरुलाई थोरै मात्र छोयो भने पनि ठूलै यातना दिन्थे । भागिभागी हिड्नुपर्थ्यो । धेरै नेता १४/१५ वर्ष जेल बस्नु भएको छ । यही परिवर्तनका लागि भनेर पढ्नसमेत पाउनु भएन । त्यही संघर्षको बलमा आफूलाई लागेको कुरा बोल्न पाउने दिन आएको हो ।’
पुरानो पुस्ताले राजनीतिक परिवर्तनका लागि दिएको बलिदानीको कदर गर्दै अबको युवा पुस्ताले समृद्धिको नेतृत्व गर्नुपर्ने आशय उनको रहेछ ।
भट्टराईले नेतृत्व गरेको पार्टीमा नरहेपनि उनका गतिविधि र अभिव्यक्तिहरुलाई नजिकबाट नियाल्ने/सुन्ने गर्छु । उनले बोलेका धेरै कुराले प्रभावित बनाएका पनि छन् । यसैक्रममा भट्टराईको यो अभिव्यक्तिले पनि राम्रैसँग छोयो । मनमनै मेरा केही साथीभाइ सम्झिएँ । आउनुस्, तपाईंलाई पनि उनीहरुसँग साक्षात्कार गराउँछु ।
पहिलो साथी
मेरैतिरको एउटा भाइ छ । क्याम्पस पढ्न भनेर राजधानी बस्छ । बाबुआमाले दुःखजिलो गरेर पैसा पठाएकै छन् । कत्तिको पढ्छ, मलाई हेक्का छैन । नजिकको होइन, त्यसैले चासो दिइराख्ने कुरा पनि भएन । उमेर सायद १८/२० वर्ष कति पो भयो । राजधानीका गल्लीहरुमा मस्ती गर्दै हिँड्छ रे भन्ने सुन्छु, तर चासो दिन्न, उमेर नै त्यस्तै पर्यो । झनक्क रिस त तब उठ्छ, जब फेसबुक खोल्नेबित्तिकै उसको स्टाटस देखिन्छ, ‘आज फलानो नेता मर्यो, यसलाई जाँदा-जाँदै एक शब्द गाली दिनुस् त !’
फेरि केहीबेरमा फेसबुकमा नोटिफिकेशन देखिन्छ, ‘##### posted in #### group’ क्लिक गरेर हेर्छु, कुकुरको शरीरमा नेताको टाउको जोडिएको फोटो शेयर गरेको हुन्छ । एक-दुई पटक त सम्झाएँ पनि । ‘भाइ यसो नगर, यो कानुनीरुपमा अपराध हो । सामाजिक सञ्जालमा यसरी कसैको पनि चरित्र हत्या गर्न पाइँदैन । आफ्नो विचार राख्न पाइन्छ, तर त्यो सभ्य हुनुपर्छ ।’ तर एक कानले सुन्यो, अर्कोले उडाइदियो । उसको व्यवहार कहिल्यै सुध्रिएन । सोचेँ अनफ्रेण्ड गरिदिन्छु । तर उसको बुबाले भेटेको बेला भाइको यसो रेखदेख गर्नु, अल्लारे छ भनिराख्छन्, सोही साइनोले पनि सम्बन्ध पूरै तोडिहाल्न मन लागेन । त्यसैले उसको प्रोफाइलमा गएर अनफलो गरेँ । आजभोलि ढुक्क छ, धेरै दिन भयो केही देख्न परेको छैन ।
दोस्रो
अर्को एउटा अलि नजिकको भाइ छ । उमेरले सायद म भन्दा डेढ/दुई वर्ष कान्छो होला । विदेश गएको ३/४ वर्ष भयो । फेसबुकमा निकै सक्रिय छ । उसको पनि पारा उही । फेसबुकको गतिविधि देख्दा लाग्छ, ‘ऊ भन्दा जान्ने/सुन्ने कोही पनि छैन । सबैभन्दा ठूलो राष्ट्रवादी उही हो ।’ राजनीतिक दलहरु र तिनका नेता जसले यो परिवर्तन ल्याउनका लागि अनि आज यसरी फेसबुकमा जथाभावी बोल्न पाउने दिन ल्याउनका लागि वर्षौ जेल बसे, भूमिगत जीवन बिताए, उनीहरुलाई तथानाम गाली गर्छ ।
एक/दुई पटक सम्झाउने कोशिस गरेँ । ‘हो यार, नेताहरुले गलत पनि गरेका छन् । तर अब हामीले फेसबुकबाट यसरी तल्लोस्तरको गाली गर्ने होइन । सके त हामी आफैँ राजनीतिमा आउनुपर्छ । नसके कम्तिमा पनि राम्रो नेता चुन्नुपर्छ । चित्त नबुझेको कुरालाई पनि सभ्य तरिकाले भन्न सकिन्छ, जथाभावी लेख्न भएन नि सामाजिक सञ्जालमा ।’ आजभोलि अलिअलि पैसा कमाएको, हामीलाई मान्छे नै गन्न छाडेछ । ठूला–ठूला कुरा गर्न थाल्यो, अनफ्रेण्ड गरिदिएँ ।
र तेस्रो पनि
अर्का एकजना दाइ छन्, म भन्दा दुई/चार वर्ष जेठा । गाउँतिरै बस्छन् । एसएलसी पास गरेका हुन् क्यारे । वर्षदिन जति भयो फेसबुक चलाउन थालेका छन् । दिनभरी खेतबारीमा दुःख गर्छन् । यसो टहलिन मन लाग्दो हो, साँझ परेपछि फेसबुकमा झुल्किन्छन् । अनि सुरु हुन्छ भेटेजति सबै कुरा शेयर गर्ने शिलशिला । कुनै ब्लगमा ‘फलानु नेता मर्यो’ भनेर लेखेको देखे पनि शेयर गर्छन् । कुकुरको शरीरमा टाउको जोडेकादेखि जुत्ताको माला लगाएकासम्म नेताको फोटो उनको वालमा शेयर हुन्छ । विचारा उनी आफैँले यो सबै बनाएका भने होइनन्, फेसबुकतिरै कतै भेटेर शेयर गरेका हुन् । खासै च्याट गर्दा रहेनछन्, म्यासेज पठाएको धेरै दिनसम्म पनि ‘सिन’ भएन । उनलाई भेट्न पनि पाएको छैन । त्यसैले एक पटक नसम्झाइकन अनफ्रेण्ड वा अनफलो गर्न मन लागेन ।
यी तीनजना त प्रतिनिधि पात्र मात्र हुन् । आजभोलि १८ देखि ३५ वर्ष उमेर समूहका धेरै युवाको हालत यही छ । नेताले देश बिगारे भनेर फेसबुक, ट्वीटरमा जथाभावी लेख्छन् । कसैले सिमित स्वार्थका लागि तयार पारेको ‘फेक न्यूज लिंक’ शेयर गर्छन् । जानी/नजानी गलत कुराको प्रचार गरिरहेका छन् ।
पछिल्लो समय युवा/पुस्तामा मौलाएको गाली संस्कृति निकै चिन्ताजनक छ । गाउँ, समाज, जिल्ला, अञ्चल र देश कस्तो हुने भन्ने कुरा एक-एक व्यक्तिको गतिविधिले निर्धारण गर्छ । आचरणले हाम्रो सभ्यता झल्काउँछ । राजनीति फोहोरी खेल भयो भनेर त हामी सबैले भन्छौँ, यसलाई सुधार्न कसैले पनि भूमिका खेलेको पाइन्न । यो व्यवस्थालाई फोहोर हुन नदिन तपाईं हाम्रो योगदान पनि महत्वपूर्ण हुन्छ ।
हो देशमा धेरै समस्या छन् । जनजनमा नेता र राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि छ । म पनि सन्तुष्ट छैन । राजनीतिक परिवर्तनका लागि भनेर जनताले धेरै पटक सडक तताए । चुनावमार्फत आफ्नो प्रतिनिधि चुनेर माथि पठाए पनि । तर, ती प्रतिनिधिहरुले कहिल्यै वास्तविक जनभावनाको कदर गर्न सकेनन् । सिमित स्वार्थसमूह (आसेपासे) र कार्यकर्तामा सिमित भए । जनताका लागि कहिल्यै सहजरुपमा उपलब्ध भएनन् ।
यी तमाम असन्तुष्टिका बाबजुद् पनि हामीले संयम गुमाउनु हुँदैन । देश र व्यवस्था सपार्ने जिम्मा नेताको मात्र होइन, जनताको पनि हो । तपाईंको हो, मेरो पनि हो । सक्छौँ भने हामी आफैँ राजनीतिमा होमिएर यसलाई शुद्ध पारौँ, देशलाई जनताले चाहेजस्तो बनाउन भूमिका खेलौँ, सकिन्न भने कम्तिमा एजेण्डा र नेता हेरेर भोट दिन बानी बसालौँ, न कि पार्टी पुर्ख्यौली पार्टी हेरेर ।
हामीले धेरथोर पढे/लेखेका छौँ । कुनै पनि कुरामा चासो दियौँ भने राम्रो/नराम्रो छुट्याउन सक्छौँ । लोकतन्त्रमा आफूलाई लागेको कुरा व्यक्त गर्ने छुट सबैलाई छ । चित्त नबुझेका कुराको विरोध गर्न पनि पाइन्छ । गलत व्यक्तिको आलोचना गर्ने छुट पनि छ । तर, कुनै पनि कुराको विरोध वा आलोचना गर्दा जथाभावी बोलेर आफैँलाई तल पार्ने काम गर्नु हुँदैन । त्यसैले आउनुस्, परिवर्तनको सुरुवात हामी आफैँबाट गरौँ । विस्तारै सबै सुध्रिनेछन्, व्यवस्था सुध्रिने छ । अनि आज हामीले भोगेको फोहरी राजनीति पनि संग्लिने दिन आउनेछ ।
The post हामीले अति गर्यौँ, लौ न कसैले सद्-बुद्धि देओस् appeared first on Sajha Post.