Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नयाँ शक्ति र फोरमबीच एकताको चर्चाः कति भ्रम, कति यथार्थ ?

$
0
0

काठमाडौं, २१ मंसिर । नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकताको चर्चा पछिल्लो समय निकै जोडतोडका साथ चलिरहेको छ । चर्चा नचलोस् पनि किन, दुवै पार्टीले संविधान संशोधनका विषयमा संयुक्त विज्ञप्तिसमेत निकालिसकेका छन् ।

naya-shakti-banner

यसबीचमा आइतबार नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एकसाथ बालुवाटार पुगे । भट्टराई र यादव एकसाथ देखिन थालेपछि दुई पार्टीबीचको एकता प्रक्रिया निकै अघि बढिसकेको लख काट्न थालिएको छ ।

 

वास्तविकता कि हल्लामात्र ?
नयाँ शक्ति नेपालका केन्द्रीय कार्यसमिति सदस्य एवम् प्रदेश नम्बर तीनका संयोजक गंगा श्रेष्ठ संघीय समाजवादी फोरम नेपालसँग तत्कालका लागि मिल्ने विषयमा सहकार्य गर्ने र त्यसपछि राजनीतिक ध्रुवीकरण हुँदै एकतासम्म पुग्नेगरी छलफल चलिरहेको स्वीकार्छन् ।

हालै नयाँ शक्ति र फोरमद्वारा जारी संयुक्त विज्ञप्ति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठका अनुसार सहकार्यका लागि चार/पाँच चरणमा छलफल भइसकोको छ ।

‘कसरी सुरु भयो त एकताको पहल ?’ साझापोस्टको प्रश्नमा श्रेष्ठ भन्छन्, ‘हामी माओवादी पार्टीमा छँदा पनि अब मुलुकमा नयाँ राजनीतिक शक्तिको आवश्यकता छ, भनेर छलफल र अन्तरक्रिया गरेका हौँ । त्यसक्रममा नै उपेन्द्र (यादव)जीहरुसहित विभिन्न पक्षसँग छलफल भएको थियो । त्यतिबेलाबाटै सुरु भएको पहलको परिणाम हो यो ।’

‘उपेन्द्रसँग नै एकता किन त ?’ श्रेष्ठ भन्छन्, ‘हामीबीच मुख्यरुपमा दुई कुरामा समानता छ । पहिलो कुरा त मुलुकमा राजनीतिक परिवर्तनको युग समाप्त भयो, अब आर्थिक संवृद्धितर्फ केन्द्रित हुनुपर्छ भन्नेमा उहाँहरु पनि सहमत हुनुहुन्छ । दोस्रो संघीयताका सवालमा पनि हाम्रो धारणा समान छ । साथै हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा गरेका छौँ, उपेन्द्रजीहरु पनि त्यो आवश्यकता देख्नुहुन्छ । यिनै कुरा हुन्, जसले दुई पार्टीलाई निकट बनाएको छ ।’

यद्यपी तत्काल एकता भइहाल्छ भन्ने कुरा भने सत्य नभएको उनी बताउँछन् । ‘मिल्ने कुरामा सहकार्य गर्दै एकतासम्म पुग्ने भन्ने हो । अहिले तत्कालै एकता हुँदैछ भन्ने कुराचाहीँ सत्य होइन,’ उनले भने ।

यता संघीय समाजवादी फोरम नेपालका नेताहरु भने पार्टी एकताबारे छलफल नभएको बताउँछन् । फोरमको ध्यान अहिले मुख्यरुपमा मधेसका माग सम्बोधन गराउनेमा नै छ । हामीले सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग प्रतिक्रिया लिन खोजेका थियौँ, उनी व्यस्त रहेको भन्दै प्रतिक्रियाका लागि उपलब्ध भएनन् ।

केही दिनअघि नयाँ शक्ति र फोरमले स‌ंविधान संशोधनमा ध्यानाकर्षणसहित जारी गरेको स‌ंयुक्त विज्ञप्ति नयाँ शक्तिका तर्फबाट प्रवक्ता खिमलाल देवकोटा र नेता गंगा श्रेष्ठ तथा फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बसेर फाइनल गरेका थिए ।

 

बाबुराम–उपेन्द्र सम्बन्ध
एसएलसीमा बोर्डफर्स्ट हुँदै इञ्जिनियरिङ अध्ययन र पिएचडी सकेर कम्युनिष्ट राजनीतिमा होमिएका बाबुराम तथा २०३५ सालमा पुष्पलाल श्रेष्ठबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएर लामो समय कम्युनिष्ट आन्दोलनमा बिताएका उपेन्द्र अहिले आ–आफ्नो पार्टीको नेतृत्व गर्छन् । आफ्नो जीवनको उर्जाशील समय कम्युनिष्ट राजनीतिमा बिताएका यी दुवै नेता अहिले आफ्नो पार्टीलाई कम्युनिष्ट नभएर अग्रगामी राजनीतिक शक्ति भन्न रुचाउँछन् ।

बाबुराम र उपेन्द्रबीचको सम्बन्धमा खासै उत्तारचढाव देखिँदैन ।

upendra_baburamयद्यपी माओवादी भर्खरै शान्ति प्रक्रियामा आएको र मधेसी जनअधिकार फोरमले मधेस आन्दोलन सफल बनाएर राजनीतिक शक्ति आर्जन गरेका बेला २०६३ साल चैत ७ गते यी दुई पार्टी रौतहटको गौरमा आमने/सामने भए । स्थिति यतिसम्म अप्रिय बन्यो कि त्यहाँ माओवादीका २७ जना कार्यकर्ताले ज्यान गुमाए । जसलाई नेपाली राजनीतिक इतिहासमा ‘गौर हत्याकाण्ड’का नामले चिनिन्छ । त्यतिबेला फोरमको नेतृत्व उपेन्द्रकै काँधमा थियो । अर्कातर्फ भट्टराई माओवादीका शीर्ष नेतामध्ये एक थिए ।

यो घटनाले माओवादीका शीर्ष नेता र फोरमको नेतृत्वबीच दुस्मनीकै स्थिति पैदा गर्‍यो । त्यसपछि त सम्बन्ध पानी बाराबारकै स्थितिमा पुग्यो । त्यसको एक वर्षपछि २०६४ सालमा मुलुकमा संविधानसभाको पहिलो निर्वाचन भयो । सो निर्वाचनमा देशभरीबाट समग्रमा माओवादीले र तराई/मधेशबाट फोरमले अप्रत्यासित विजय हासिल गर्‍यो । आफूलाई राजनीतिको पुराना खेलाडी मान्ने काँग्रेस–एमाले नराम्ररी पछारिए ।

संविधानसभा निर्वाचनबाट पहिलो राजनीतिक शक्तिकोरुपमा उदाएको माओवादीका अध्यक्ष प्रचण्डले चुनावपछि भेटवार्ताका लागि उपेन्द्रलाई प्रस्ताव पठाए । प्रचण्डको सो प्रस्ताव उपेन्द्रले स्वीकारेपछि उनलाई भेट्न माओवादीका तर्फबाट बाबुराम र मोहन वैद्य किरण ठमेल पुगेका थिए ।

तर, एकअर्काप्रतिको अविश्वास यतिसम्म थियो कि दुवै पक्षले आवश्यक परे भिड्न सक्ने कार्यकर्तालाई ब्याकफोर्सका रुपमा राखेका थिए । सोही भेटमा गौर घटनालाई लिएर दुवै पक्ष आ–आफ्नो तर्फबाट भएका कमी/कमजोरीको आत्मसमिक्षा गरेर अघि बढ्न तयार भएपछि सम्बन्ध सुध्रियो ।

त्यसो त २०५३ सालमा एमाले परित्याग गरेपछि उपेन्द्रले माओवादी जनयुद्धलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सघाएका हुन् । यद्यपी उपेन्द्रले माओवादीको सदस्यता भने लिएनन् ।

संविधानसभाको पहिलो निर्वाचनबाट उदाएका यी दुवै शक्तिले त्यसपछि निकै हण्डर र सास्ती ब्योहोरे । उपेन्द्रको फोरम टुक्रा–टुक्रामा विभाजित भयो । प्रचण्ड–बाबुराम–वैद्यहरुको माओवादीको हालत पनि उही हुनपुग्यो । त्यसैक्रममा २०७२ सालमा आएर बाबुराम माओवादीबाट अलग भए । पार्टीबाट अलग हुनुअघि बाबुरामले विभिन्न पक्षसँग छलफल गरेका थिए । त्यतिबेला उपेन्द्र र बाबुरामबीच निकै सौहार्दपूर्ण छलफल भएको थियो ।

संविधान जारी भएपछि मधेसी समुदाय आन्दोलित बन्यो । आन्दोलन महिनौँसम्म चल्यो । नाकाबन्दीसहितको यो आन्दोलनले मधेसी र पहाडी समुदायबीच निकै ठूलो विभाजन ल्याउने खतरा पैदा हुनपुग्यो । राष्ट्रपति, प्रधानमन्त्रीसहित ठूला दलका कुनै पनि शीर्ष नेता तराई/मधेसमा पुग्ने अवस्था रहेन । त्यस्तो बेला पनि बाबुरामले मधेसमा पुगेर त्यहाँका जनताको जायज मागमा समर्थन जनाए । मधेसी र पहाडी समुदायबीच फाटो ल्याउन नदिन बाबुरामले त्यतिबेला खेलेको भूमिकालाई उपेन्द्र पनि सम्मान गर्छन् । यो कुराले बाबुराममाथि विश्वास गर्न उपेन्द्रलाई थप प्रेरित गर्‍यो । ‘बाबुरामजीले त्यतिबेला मधेस गएर जसरी पहाड र मधेसलाई जोड्ने काम गर्नुभयो, त्यसले मधेसी जनतामा पनि बाबुरामले पहाडमात्र होइन सिङ्गो देशको हित सोच्छ, मधेसलाई पनि माया गर्छ भन्ने धारणा बनेको छ,’ नेता श्रेष्ठ भन्छन् ।

यता बाबुरामको बुझाइमा पनि उपेन्द्र यादव हाल मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने सबैभन्दा उच्च कदका नेता हुन् । उपेन्द्रमा रहेको अग्रगामी सोच र तुलनात्मकरुपमा देशप्रेमी छवी पनि भट्टराईलाई मनपर्छ । राजनीतिमा खस/आर्य, आदिवासी/जनजाति र मधेसी/थारु गरी तीन क्लष्टरबीच समन्वय र समान प्रतिस्पर्धा हुनुपर्ने मान्यता राख्ने भट्टराईले उपेन्द्रसँग एकता गरेर मधेसी/थारु क्लष्टरमा बलियो पकड बनाउने सपना देखेका छन् । त्यसो त उपेन्द्रले पनि क्षेत्रीय राजनीतिमा मात्र सिमित नरहेर पुनः राष्ट्रिय राजनीतिमा आउन नचाहेका होइनन् । उनको यही चाहनामा नै अशोक राईको संघीय समाजवादी पार्टीसँग एकता भएको थियो ।

 

के का लागि एकता ?

मधेसमा आक्रामक संगठन विस्तार गरिरहेको नयाँ शक्तिले सोमबार मात्र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष दानबहादुर चौधरीसहित सयौँ नेता/कार्यकर्तालाई पार्टी प्रवेश गरायो ।

‘अब ढिलो–चाँडो मुलुकमा राजनीतिक ध्रुवीकरण सुरु हुन्छ । साना/साना टुक्रामा विभाजित यति धेरै दलको खाँचो मुलुकलाई छैन । अब विचार मिल्ने शक्तिहरु एक हुँदै जानुपर्छ,’ नेता श्रेष्ठ भन्छन्, ‘यो राजनीतिक ध्रुवीकरण प्रक्रियाको सुरुवात हो ।’

उनको बुझाईमा अब मुलुकको राजनीति मुख्यतया तीन ध्रुवमा ध्रुवीकृत हुँदैछ । ‘परिवर्तन नचाहने तथा पश्चगामी शक्तिहरु एक ध्रुवमा हुनेछन् । यो शक्ति मुलरुपमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको आसपास केन्द्रित रहनेछ । दोस्रो ध्रुवमा अहिलेसम्म प्राप्त भएको उपलब्धिमा चित्त बुझाउँदै यथास्थितिमा अघि बढ्न चाहने यथास्थितिवादी शक्ति हुनेछन् । जसको नेतृत्व अहिलेका काँग्रेस–एमाले गर्नेछन्, माओवादी केन्द्र पनि त्यही पेरिफेरीमा रहनेछ । तेस्रो ध्रुव वैकल्पिक राजनीतिक धारसहितको अग्रगामी शक्तिको हुनेछ । जो परिवर्तन चाहन्छ, देशमा आर्थिक संवृद्धि चाहन्छ, ती सबै नयाँ शक्तिको नेतृत्वमा एकसाथ ध्रुवीकृत हुनेछन्, श्रेष्ठ भन्छन् ।’

‘संवृद्धि सम्भव छ, हाम्रै पालामा’ भन्ने नारा लिएर अघि बढेको नयाँ शक्तिले त्यसका लागि शक्ति आर्जन गर्न पनि विचार मिल्ने सबैसँग एकता गर्दै अघि बढ्ने लक्ष्य लिएको छ । परिवर्तनकामी र अग्रगामी शक्ति एकजुट बन्न सके संवृद्धि टाढा नरहेको उसको बुझाई छ ।

यी सबै कुरालाई मनन गर्दै नेताहरुको पछिल्लो अभिव्यक्ति र बाक्लिएको उठबस नियाल्दा के भन्न सकिन्छ भने नयाँ शक्ति र फोरम नेपाल आगामी चुनावमा एउटै चुनाव चिन्ह लिएर वा गठबन्धन बनाएर एकसाथ होमिए अनौठो नमान्दा हुन्छ ।

The post नयाँ शक्ति र फोरमबीच एकताको चर्चाः कति भ्रम, कति यथार्थ ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles