Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नयाँ शक्तिले ब्रह्मास्त्र हान्न सक्ला ?

$
0
0

सन् २०३० को अन्त्यसम्ममा मंगल ग्रहमा मानव बस्ती बसाउने तयारीमा वैज्ञानिकहरु अहोरात्र क्रियाशील छन् । मंगल र पृथ्वीबीचको औसत दूरी २२ करोड किमी छ । पृथ्वीलाई ५,५०० फन्का लगाउनुभन्दा पनि यो दूरी बढी छ । नेपालमा भने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई चुस्त बनाईंदैछ । यसको अर्थ के हुन्छ ? हाम्रो प्राथमिकता जनशक्ति खेद्नुमा छ । यथास्थिति रहने हो भने हामीजस्तै मानवले मंगलमा मानव बस्ती बसाउँदै गर्दा हामी भने नेपाललाई वृद्धाश्रममा परिणत गर्न तल्लीन हुने छौं ।

भर्खरै अमेरिकी राष्ट्रपतिको चुनाव भयो । ट्रम्प विजयी भए । उनको भन्दा क्लिन्टनको दुईलाख भन्दा बढी पोपुलर भोट छ । लोकतन्त्रमा खोट देखियो । चुनावी प्रणाली परिवर्तन हुनुपर्छ भन्ने नारा लाग्यो । सोझै व्यक्ति छान्दा भई हाल्यो नि किन निर्वाचक मण्डल छान्नु पर्‍यो ? यस्तो भद्दा शैली किन चाहियो ? देखियो कि अमेरिकी पनि वास्तविक सार्वभौम छैनन् । यसअघि पनि एल गोर र जर्ज बुसबीचमा यस्तै भएको थियो । चुनाव कसले जित्छ भन्नु भन्दा पनि जनता वास्तविक सार्वभौम छन् वा छैनन् भन्ने कुरा गुदी हो । वास्तविक लोकतन्त्र नभएमा जनादेशभन्दा फरक व्यक्तिको शासन हुने भयो । अमेरिकीको भन्दा पनि कठोर नियति हामी भोग्दै छौं । जनताले पार्टी छान्छन्, तर छानिएको पार्टीले शासन गर्न पाउँदैन । केही व्यक्तिले शासनको चाँजोपाँजो मिलाउँछन् । शासनको जनादेश पाएका प्रतिपक्षमा र प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश पाएका शासनमा देखिन्छन् । यो सार्वभौमको आदेश विरुद्ध भयो । केही व्यक्ति संविधानभन्दा माथि रहेर शासन गरी राखेका छन् । यो ओलीगार्की हो । निरंकुश तन्त्रको अन्त्य भयो तर अलीगार्की उदय भयो । यो त झन खतरनाक हुन्छ । पाटनमा पाँच प्रधानको शासन जस्तो । यसको अन्त्य हुनुपर्छ । यसले देश र जनताको हित गर्दैन । जुन अहिले देखिँदै छ ।

एसके तिमल्सिना
एसके तिमल्सिना

केही परिवर्तन पनि भए । आंशिक सार्वभौम पनि भइयो । अवास्तविक लोकतन्त्र र जनलिखित अपूर्ण संविधान पनि छन् । व्यवस्था परिवर्तन भयो तर अर्थपूर्ण प्रगति भएन । हाम्रो लक्ष्य लोकतन्त्र, संविधान, सार्वभौम सत्ता मात्र हो कि अरु पनि केही छ । यसतर्फ सोचौं । हामी यत्तिमै फुरुङ्ग हुनुभन्दा, प्रगतिपथमा अगाडि हिडेकालाई हेरौं । कहाँ पुगेका छन् । हामी पनि त्यसतर्फ लाग्ने कि यात्रा यहीँ नै टुंग्याउने । परिवर्तनमा नै अल्झने कि प्रगतिको गुणात्मक फड्को मार्ने । प्रगतिमा जान जबर्जस्ती अगाडि बढ्नुपर्छ । हामीले निर्णय गर्ने बेला भएको छ । मान्छे दुई प्रकारका हुन्छन् । एकथरी परिवर्तन भएको हेर्ने, अर्काथरी परिवर्तन गर्ने । हामीले आफूलाई कहाँ उभ्याउने । परिवर्तन गर्ने कि रमिता हेर्ने । कोही मंगललाई गन्तव्य बनाउँदै छन् । कोही युवा जनशक्तिलाई विदेश लखेट्न व्यस्त छन् । मुक्तिका लागि लड्ने कि नलड्ने । अब लक्ष्य छानौं, अधिकार सम्पन्न भई यही देशलाई विकसित र समृद्ध बनाउने कि विदेशीको गुलाम बन्ने ?

हामी औपचारिक लोकतन्त्रको अभ्यास गर्दै छौं । वास्तविक लोकतन्त्र नभई जनता वास्तविक सार्वभौम हुँदैनन् । जनतालाई पूर्ण सार्वभौम नबनाएसम्म संविधान पूर्ण हुँदैन । लोकतन्त्र र सार्वभौमसत्तालाई वास्तविक र संविधानलाई पूर्ण बनाउने तीव्र गतिमा हामी लाग्नु पर्छ । वास्तविक लोकतन्त्रमा जनता सार्वभौम हुन्छन् । संविधानले पूर्णता पाउँछ । नागरिक वास्तविक सार्वभौम हुन सबै तहका प्रतिनिधि प्रत्यक्ष भोटले छनौट गर्न पाउनु पर्छ । ग्रीसलाई लोकतन्त्रको जननी मानिन्छ । इशा पूर्व छैठौं शताब्दीमा एथेन्समा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गरिन्थ्यो । राज्य ठूला भएपछि लोकतन्त्रको प्रत्यक्ष अभ्यास सम्भव भएन । अब विज्ञान र प्रविधिले सम्भव बनाएको छ । अमेरिकी जनता यही मागी रहेछन् । वास्तविक लोकतन्त्रले शासनमा स्थिरता दिन्छ । शासनमा स्थिरतापछि विकास र समृद्धिको ढोका खुल्छ । तीव्र गतिमा जान सकिन्छ । संविधान निर्माण गर्ने समयमा प्रत्यक्ष जननिर्वाचित कार्यकारीको ठूलो माग थियो । यथास्थितिवादीले हुन दिएनन् । वास्तविक लोकतन्त्रमा लुटतन्त्र चलाउन नसकिने डर भो उनीहरुलाई । अहिले पनि लुटतन्त्र चलाउँदै छन् । जनतालाई वास्तविक सार्वभौम बनाउनुपर्छ भन्ने राजनेता डा बाबुराम भट्टराई अहिले नयाँ शक्ति पार्टी गठन गरी यसको नेतृत्वमा छन् ।

यस पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु पर्ने दृष्टिकोण राखेको छ । यो सहजै पाउँने अवस्था देखिदैन । सशक्त संघर्षको आवश्यकता छ । संघर्षको शैलीमा परिवर्तन आवश्यक छ । अबको संघर्षमा जनधनको क्षति र जनताले दुःख पाउनु हुँदैन । भनाइमा मात्र नभई गराईमा पनि नयाँ देखाउन सक्नु पर्दछ । भन्ने मात्र होइन बन्ने पनि नयाँ हो भने संघर्षको मोडेलमा पनि नयाँको खोजी हुनुपर्छ । अधिकार प्राप्तिका लागि अनेकौं साधनको प्रयोग भयो । पूर्ण सफलता प्राप्त भएन । साधन र साध्यका विषयमा प्रष्ट भईएन । धेरै अलमल भई सक्यो । अब अचुक साधनको प्रयोग गर्नुपर्छ । जसले वास्तविक लोकतन्त्रको अभ्यास गराओस् । जनतालाई वास्तविक सार्वभौम बनाओस् । सबै प्रकारका विकृति र विसंगति समाप्त गरोस् । नेपाललाई विकास र समृद्धिको बाटोमा हिडाउन सकोस् । अब पनि बुद्धिको भाँडोको विर्को नखुल्ने हो भने हाम्रो नारकीय जीवनको अन्त्य हुँदैन । मन्त्री, प्रधानमन्त्री उत्पादक मौजुदा प्रणालीले नेपाललाई १०० वर्षमा पनि समृद्धि दिन सक्तैन । अब प्रगतिका लागि ब्रह्मास्त्रको प्रयोग गर्नुपर्छ । नयाँ शक्ति पार्टीले ब्रह्माश्त्र हान्न सक्नुपर्छ ।

विगतमा साध्यको एकिन गर्न सकिएन । लोकतन्त्रलाई नै साध्य मानियो । लोकतन्त्र पनि साधन हो तर यो बुझिएन । लोकतन्त्र साध्य होइन, तर मानियो र मानिदैछ । साध्य जनतालाई वास्तविक रुपमा सार्वभौमसत्ता सम्पन्न गराउँनु हो । यसका लागि लोकतन्त्र साधन हो । अर्को लक्ष्य समृद्धि हो । राजनीतिको लक्ष्य समृद्धि हुनु पथ्र्यो तर भएन । राजनीति विकाससँग जोडिएन । आर्थिक कार्यसूची ओझेलमा प¥यो । यसको कारण राजनीतिक संघर्ष लम्बिनु हो । राजनीति सँधै कुर्सी केन्द्रीत भएकोले यसो भयो । जंगबहादुरको निरंकुशताका विरुद्धमा वि.सं. १९०५ मा अछामका बाँकावीरले छेडेको विद्रोह देखि, लखन थापा, प्रजापरिषद हुँदै निरंकुशताका विरुद्धमा हामीले झण्डै १५० वर्षसम्म लड्नु परेछ । निरंकुशताले नेपालीको एकलाख लिटर भन्दा बढी रगतको भोग खाएछ । अधिकार प्राप्तिले नै धेरै समय लियो । ठूलो त्याग गर्नु पर्‍यो । अझै पनि हाम्रो बुद्धि फिरेन भने केही भ्रष्टहरुको नौटंकी हेर्दा हेर्दै हाम्रो जुनी बित्ने छ । अब नअलमलिऔं । हामीसँग धेरै समय छैन । अरुले २२ करोड किमीको यात्रा तय गर्दा हामीले हाम्रै पालामा समृद्धि सम्भव गराउँनु छ, विकसित र समृद्ध नेपाल आफ्नै आँखाले देख्नु छ । आफैंले भोग्नु छ । तसर्थ लक्ष्य प्राप्तिका लागि अन्तिम पटक लड्नुपर्छ । धेरै बुझ्नु आवश्यक छैन, यत्ति बुझौं कि यो प्रणालीले विकास र समृद्धि दिँदैन । अब प्रगति चाहने जति रमिते नबनौं, प्रगतिको संवाहक बनौं । प्रगति गरेर देखाऔं ।

अन्धकारलाई धिक्कार्ने कि दियो बाल्ने ? अन्धकार जतिसुकै पुरानो किन नहोस्, बत्ती बाले पछि समाप्त हुन्छ । बत्ती बाल्नु अनिवार्य छ । यसरी नै परिवर्तनका लागि संघर्षको विकल्प छैन । संघर्षका दुई विधि छन्ः शान्ति पूर्ण र हिंसात्मक । हिंसात्मक विधिको कुरा नगरौं । शान्तिपूर्ण संघर्षका विभिन्न स्वरुप छन्ः प्रार्थना, ज्ञापन पत्र, बत्ती बाल्नु वा ब्लाक आउट गर्नु, गाडीको हर्न बजाउनु, धर्ना, मौन जुलुस, विरोध प्रदर्शन, कालो झण्डा प्रदर्शन, मुखमा पट्टी बाध्नु, हातमा कालो पट्टी बाध्नु, भित्तेलेखन, पोष्टरिंग, पम्प्लेटिंग, सार्वजनिक यातायात बहिष्कार, सार्वजनिक यातायात चलाउँन स्थगन, पेन डाउन, कर तिर्न, पानी, बिजुलीको बिल तिर्न बन्द गर्नु, ब्यांक ब्यालेन्स फिर्ता लिनु, ब्याज वा ऋण तिर्न बन्द गर्नु, सरकारी सेवा बहिष्कार, कार्यालय बहिष्कार, विद्यालय, कलेज बहिष्कार, कक्षा बहिष्कार, सामानको उपभोग बहिष्कार, आफ्नै सम्पत्ति नष्ट गर्नु, आत्मदाह, आत्महत्या, सामूहिक आत्म हत्या, नग्न वा अर्ध नग्न प्रदर्शन, महिलाबाट यौन सम्बन्ध स्थगन, जग्गा कब्जा, चुनाव बहिष्कार, सामूहिक जेल यात्रा, सामूहिक गिरफ्तारी, भोक हडताल र आमरण अनसन वा सत्याग्रह ।

मागमा मागहरु मिसिनु हुँदैन । अन्य दल पनि मिसाउनु हुँदैन । सत्याग्रहका लागि नयाँ शक्ति पार्टी एक्लै सक्षम छ । विगतका मिश्रण हितकारी भएनन् । यसले जनतालाई भ्रमित मात्र बनायो । सीधा कुरा गरौं, जनतालाई सीधा कुरा बताऔं । रेखाहरुको बीचबाट नहिडौं । मागको स्ट्रेन्थ घट्छ । माग मिसिएमा जनता विभाजित हुन्छन् । आलोचना र बिरोधको बीचबाट गुज्रनु पर्ने हुन्छ । अन्य दल मिसाइएमा घुस पैठको संभावना रहन्छ ।

संघर्षमा नयाँपन चाहिन्छ । नयाँ हुनु पर्दछ । सामूहिक आमरण अनसन (सत्याग्रह) संघर्षको सशक्त माध्यम हो । यही नै ब्रह्माश्त्र हो । यसको विकल्प देखिदैन । माहात्मा गान्धी, भगत सिंह, विपि कोइरालाले पनि सत्याग्रहको प्रयोग गरेका थिए । अनसनमा जति धेरै संख्या भयो त्यति नै यसको बल (स्ट्रेन्थ) बढी हुन्छ । एकै पटक सयौंको आमरण अनसनको ज्वारभाटा क्षण भरमा नै संसार भर फैलिन्छ । आँफैले प्रत्यक्ष चुन्न पाउँने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मागमा करोडौं नागरिकको सहानुभुति र समर्थन रहन्छ । यथास्थिति वादी प्रति जनताको घृणा फैलिन्छ । त्यसको दबाब सरकार र संसदले थेग्न सक्तैन । युद्धमा हजारौंको शाहदात भन्दा एक जना अनसनकारीको मृत्यु महंगो हुन्छ । अनसनकारीले बुझ्नु पर्छ कि मृत्यु अवश्यंभावी छ । मृत्युको कारण नै जन्म हो । बरु, केका लागि मृत्यु वरण गर्ने भन्ने कुराले महत्व राख्छ । आफ्नो लागि मात्र बाँच्ने, परिवारका लागि मात्र बाँच्ने वा समाज र राष्ट्रका लागि बाँच्ने । मंगलमा जाने यात्रीले पनि जीवनको प्रवाह गर्दैन । सत्याग्रहीले पनि जीवनको प्रवाह गर्नु हुँदैन । उनीहरु नयाँ ग्रहमा मानव बस्ती बसाउँदै छन् भने हामी नयाँ नेपाल बनाउँदैछौं । उनीहरु मंगल तर्फ लाग्दा हामी पनि संसारभर छरिएर रहेका नेपालीलाई घर फर्काउन र संसार भरका मानिसलाई एक पटक धर्तीको स्वर्ग नेपाल जाऔं भन्ने सन्देश दिन सफल हुनु पर्छ ।

माग एक सूत्रीय माग हुनु पर्छ । वडाध्यक्ष देखि केन्द्रीय कार्यकारीसम्म जनताको प्रत्यक्ष मतबाट निर्वाचित हुनुपर्छ । सत्याग्रह भन्दा अगाडि जनताका घर घर र कोठा कोठामा गएर हस्ताक्षर संकलन गर्नु पर्दछ । विदेशमा भएका नेपालीको पनि हस्ताक्षर ल्याउनु पर्छ । एक करोड भन्दा बढी हस्ताक्षर संकलन गरी सभामुख समक्ष बुझाउनु पर्छ । सत्याग्रहीको नाम व्यवस्थित रुपमा संकलन गर्नुपर्छ (यो लेखकको नाम नछुटोस्)। सरकारलाई अल्टिमेटम दिनुपर्छ । मागमा मागहरु मिसिनु हुँदैन । अन्य दल पनि मिसाउनु हुँदैन । सत्याग्रहका लागि नयाँ शक्ति पार्टी एक्लै सक्षम छ । विगतका मिश्रण हितकारी भएनन् । यसले जनतालाई भ्रमित मात्र बनायो । सीधा कुरा गरौं, जनतालाई सीधा कुरा बताऔं । रेखाहरुको बीचबाट नहिडौं । मागको स्ट्रेन्थ घट्छ । माग मिसिएमा जनता बिभाजित हुन्छन् । आलोचना र बिरोधको बीचबाट गुज्रनु पर्ने हुन्छ । अन्य दल मिसाइएमा घुस पैठको संभावना रहन्छ । सार्वभौम बन्ने कुरामा कसैको असहमति र आलोचना रहँदैन । प्रत्यक्ष जननिर्वाचित कार्यकारीमा आम जनताको समर्थन र सहयोग प्राप्त हुन्छ । एकै धक्कामा जनतालाई सार्वभौम बनाउँन सकिन्छ । विकास र समृद्धिको ढोका खुल्छ । १५ दिनमा यो संभव हुन्छ । माग पुरा नभए जनताबाट विशाल विद्रोह हुन्छ । जनताको विजय कसैले रोक्न सक्तैन ।

प्रतिक्रियाका लागिः sktimilsina.com.np

The post नयाँ शक्तिले ब्रह्मास्त्र हान्न सक्ला ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles