पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको संयोजकत्वमा स्थापना भएको नयाँ शक्ति पार्टीमा विषय विज्ञहरुको भण्डार छ । यो भण्डारलाई पुराना मानिसको भीड भनिन्छ भन्ने पनि सुनिएको छ । मानिसका बीचमा नयाँ र पुरानोको भेद कसरी गर्ने ? मानिस नयाँ कसरी बन्छ ? कुन उमेरसम्म क्रियाशील रहन सक्छ ? यस विषयमा छलफल गरौं ।
नयाँ के हो भन्ने सम्बन्धमा यस भन्दा अगाडि चर्चा गरिएको छ । उल्लेख भएअनुसार पूर्व अवस्थाबाट रुपान्तरण भएर नयाँ बन्न सक्छ । भौतिक विज्ञानमा पदार्थको रुप परिवर्तन भएर नयाँ वस्तु वा पदार्थको निर्माण हुन्छ । पूर्ण रुपमा नयाँको अस्तित्व हुँदैन । माटोबाट गाग्रो, दानाबाट दाल, ढुंगाबाट मूर्ति, परालबाट गुन्द्री, खोसेलाबाट चकटी, काठबाट दराज, दुधबाट दही, दहीबाट घ्यू बनाउँदा यी वस्तु नयाँ बनेको देखिन्छ । पदार्थका बीचमा रासायनिक परिवर्तन गराएर पनि नयाँ पदार्थ बनाउन सकिन्छ । यो सबै वस्तु वा पदार्थको स्वरुपमा परिवर्तन र नयाँमा रुपान्तरण हो । यी भए पदार्थ नयाँ बन्ने कुरा।
मानिस नयाँ बन्न सक्ला कि नसक्ला ? पुरानो नै रहिरहन्छ कि उसमा पनि रुपान्तरण हुन सक्छ । हुन्छ भने कसरी र हुँदैन भने कसरी ? मानिसको स्वरुपमा परिवर्तन गर्न सकिँदैन । अन्य वस्तुमा नयाँ र पुरानोको भेद देखाउन सक्ने, पुरानोलाई नयाँ बनाउन सक्ने मानिस आफूचाहिँ नयाँ बन्न नसक्ने हो कि ? नयाँ बन्न सक्छ भने कसरी ? धर्तीमा रहेका वस्तुमा नयाँ बन्न सक्ने गुण मौजुदा रहेछ । मानिसमा नयाँ बन्न सक्ने गुण छ कि छैन त ? छ, मानिस पनि नयाँ बन्न सक्छ । बरु अन्य वस्तु नयाँ बन्न समय लाग्ला, मानिसले चाहेमा ऊ अति छिटो र सरल किसिमले रुपान्तरण हुन सक्छ ।
मानिस नयाँ हुनका लागि स्वयं अग्रसर हुनु पर्छ । मानिसलाई नयाँ र पुरानो बनाउने उसको विचार र व्यवहारले हो । उसको विचार, व्यवहार परिवर्तन भएमा ऊ नयाँ हुन सक्छ । आफूलाई विश्वमा विकास भई रहेका ज्ञान विज्ञानका नवीनतम् कुरासँग अद्यावधिक गराई राखियो र समय सापेक्ष विचार र व्यवहारमा परिवर्तन देखाउन सकियो भने सधैं नै नयाँ भई रहन सकिन्छ । मान्छे पुरानो हुँदैन, विचार मात्र पुरानो हुन्छ, व्यवहार मात्र पुरानो हुन्छ । विचार र व्यवहारमा परिष्करण छ भने नयाँ हुन्छ । यही विचार र व्यवहार परिवर्तनकै कारण सिद्धार्थ गौतम भगवान गौतम बुद्ध र क्रुर डाकु रत्नाकर महर्षि वाल्मिकि भए । यसरी विचार र व्यवहार परिवर्तनले मानिसलाई नयाँ बनाउँछ । मिश्रण, स्वरुप परिवर्तन वा प्रयोगशालाबाट मानिस नयाँ बन्ने होइन ।
राजनीति पनि गतिमा नै हुनुपर्दछ । समाजको गति अनुसार राजनीति र राजनीतिकर्मी रुपान्तरण भएनन् भने समाज र राजनीतिको बीचमा खाडल देखा पर्छ । गति मिलाउन सकिएन भने चिन्तन पुरानो हुन्छ, राजनीति पुरानो हुन्छ, नेतृत्व पुरानो हुन्छ र समाजको नेतृत्व गर्न सकिदैन ।
प्रश्न उठाइन्छ कि नयाँ शक्ति पार्टी त नयाँ छ तर कार्यकारीणीमा बस्ने मानिस त पुरानै छन् । पार्टी कसरी नयाँ हुन सक्ला ? नयाँको अर्थ गतिशीलता हो । हामी पृथ्वी निवासी हौं । पृथ्वी निरन्तर गतिमा छ । ग्रह उपग्रह गतिमा छन् । पृथ्वी दोहोरो गतिमा छ, अक्ष र कक्षमा । जसको कारण हरेक २४ घण्टामा नयाँ बिहानी आउँछ । यसको गति अवरुद्ध भयो भने घर्तीमा नयाँ दिन, नयाँ महिना, नयाँ वर्ष, नयाँ बिरुवा, नयाँ फूल, नयाँ शिशु, नयाँ कपडालगायत नयाँको सबै श्रृंखला बन्द हुन्छ । हाम्रोलागि पृथ्वीलगायत ग्रह उपग्रहहरु नै ज्ञानका मूल स्रोत हुन् । उनीहरु निरन्तर गतिमान् भएकोले धर्तीमा रात दिन, बिहान बेलुकी, तातो चिसो, जाडो गर्मी, हिउँद वर्षा, कहिले निष्पट्ट अध्यारो रात र कहिले उज्यालो रातको अनुभव गर्न पाइन्छ । यसरी नयाँ हुनका लागि गतिशीलता आवश्यक देखियो ।
समाज निरन्तर गतिमा छ । मानव पनि गतिशील हुनु पर्दछ । समाजको गतिलाई राजनीतिले बुझ्नु पर्छ । राजनीति पनि गतिमा नै हुनुपर्दछ । समाजको गति अनुसार राजनीति र राजनीतिकर्मी रुपान्तरण भएनन् भने समाज र राजनीतिको बीचमा खाडल देखा पर्छ । गति मिलाउन सकिएन भने चिन्तन पुरानो हुन्छ, राजनीति पुरानो हुन्छ, नेतृत्व पुरानो हुन्छ र समाजको नेतृत्व गर्न सकिँदैन । गतिमा भएको एक वस्तुको नेतृत्व स्थिर अवस्थामा भएको अर्को वस्तुले गर्न सक्तैन । समाजको नेतृत्व गर्न राजनीति पनि गतिशील हुनु पर्छ । समाजले नयाँ माग गर्छ । सँगै हिड्न सबैको चाल मिल्नु पर्छ, यसका लागि रुपान्तरण आवश्यक पर्छ । रुपान्तरित हुन नसक्ने विस्थापित हुन्छन्, छोडिन्छन् । यसरी नै राजनीतिको नेतृत्व गर्ने मानिस पनि नयाँ हुनका लागि निरन्तर गतिमा हुनु पर्छ । यो गति दोहोरो चाहिन्छ । पृथ्वीको जस्तै आन्तरिक र बाह्य । आन्तरिक गतिले विचार गतिशील बनाउँछ भने बाह्य गतिले व्यवहार । गतिको यो सामन्जस्यता भएमा निरन्तर नयाँ भई रहन सकिन्छ ।
नयाँको अर्थ युवा हो कि होइन ? नयाँ र युवा एकै कुरा हुन्, या फरक हुन् । नयाँ र युवा फरक कुरा हुन् । युवाको निर्धारण उमेरले गर्दछ भने नयाँको निर्धारण क्रियाशीलता र गतिशिलताले गर्दछ । बदलिँदो परिस्थिति अनुसार चल्न सक्ने जुनसुकै उमेरको पनि नयाँ हुन सक्छ तर समयानुकुल चल्दैन भने त्यो रुपान्तरण हुन सक्तैन, नयाँ हुन सक्तैन । युवा नै युवाको थुप्रो छ तर विचार र व्यवहारमा गतिशीलता छैन भने युवा पनि नयाँ हुन सक्तैन । नयाँ सापेक्षित हुन्छ । एक पटक नयाँ भए पछि सधै नयाँ भईरहने भन्ने पनि हुँदैन । नयाँको अर्थ निरन्तर गति, निरन्तर रुपान्तरण हो । नयाँ शक्ति पार्टी बनेको छ । समयानुकुल रुपान्तरित हुँदै जान सक्यो भने सँधै नयाँ रहन सक्छ । यथास्थितिमा नै रमाउन थाल्यो भने नाम मात्रको नयाँ हुन्छ । चित्र र चरित्रमा, रुप र सारमा एकरुपताका लागि निरन्तर गतिमा हुनु पर्दछ । नत्र बाहिर बोक्रो त देखिएला, भित्र खोक्रो हुन्छ । यही नै रुप र सार, चित्र र चरित्र, बोक्रो र गुदी, नयाँ र पुरानोबीचको अन्तर हो । नेपाल विकसित र समृद्ध हुन नसक्नुको मूल कारण नै नेपालमा क्रियाशील पार्टी र नेताहरुको रुप, चित्र, बोक्रोमा जस्तो देखियो सार, चरित्र र गुदीमा सोही अनुसार नहुनु हो । नेपाल र नेपालीका लागि सबैभन्दा दुर्भाग्यको कुरा नै यही हो ।
विश्वमा ७० देखि ९० वर्षसम्ममा राष्ट्रकै सफल नेतृत्व गर्नेहरु पनि छन् । गणेशमानले ७५ वर्षमा र गिरिजाले झण्डै ८० वर्षमा जनआन्दोलनको नेतृत्व गरे । तर ५० आसपासका नेताले उपचारको नाममा राज्यकोषबाट करोडौं दोहन गरिरहेका छन् । समस्या उमेर नै हो त ?
यसैगरी नयाँ शक्तिमा बुढाहरुको लर्को छ पनि भन्ने गरिन्छ । ६० वर्ष पार गरी सकेका मानिसहरु कसरी नयाँ हुन सक्छन् भन्ने प्रश्न पनि सुनिएका छन् । समस्या उमेर होइन क्रियाशीलता हो । को कति वर्षको भयो भन्ने कुरा महत्वपूर्ण होइन । उसमा क्रियाशीलता कति छ भन्ने विषयले महत्व राख्छ । देश र जनतालाई योगदान गर्न सक्ने संभावना उसमा कति छ भन्ने चाँहि मुख्य कुरा हो । २०४६ सालको जनआन्दोलनको नेतृत्व गर्दा गणेशमान सिंहको उमेर करीब ७५ वर्ष थियो । ०६२/६३ मा आन्दोलनको नेतृत्व गर्दा गिरिजाप्रसाद कोइराला करीब ८० वर्षका थिए । भर्खरै ७० वर्षे डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएका छन् । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए । रोवर्ट मुगावे ९० वर्षको उमेरमा अहिले जिम्बाबेको राष्ट्रपति छन् । यति मात्र होइन सन् १९९० ताका भियतनामका शासक ९९ वर्षको उमेरमा राष्ट्रको नेतृत्व गर्दै थिए । यस्ता दर्जनौं उदाहरण पाउन सकिन्छ जसमा ९५ वर्ष भन्दा बढी उमेरका शासकले देशको सफल नेतृत्व गरेका थिए । उमेर समस्या नभएर परिपक्कता हो । समस्या मानसिक र शारीरिक अतन्दुरुस्ती हो ।
नेपालका एक जना नेताको उपचारका लागि राज्यकोषबाट १७ करोड रुपयाँ भन्दा बढी खर्च भएछ । भर्खरै एक जना नेतृलाई उपचारका लागि राज्य कोषबाट ५० लाख दिने निर्णय गरिएको छ । यसै गरी पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, मन्त्रीहरुको उपचारमा पनि राज्य कोषको धेरै दोहन भएको छ । कम उमेरको नै भए पनि रोगी राजनीतकर्मीका कारण देश र जनताले दुःख पाउँछन् । उमेरलाई हावापानी, खानपान, कसरत, र वंशानुले पनि फरक पार्छ । उमेरलाई निरपेक्ष रुपमा लिनु उपयुक्त हुँदैन । तसर्थ बहस उमेरको भन्दा पनि क्रियाशीलता, इच्छाशक्ति, शारीरिक र मानसिक स्वास्थ्यको गर्नु उपयुक्त होला । राजनीतिमा उमेरको प्रमाण पत्र भन्दा निरोगिताको प्रमाणको बढी महत्व हुनुपर्दछ । उमेरलाई निरपेक्ष रुपमा नबुझौं ।
प्रतिक्रियाका लागिः sktimilsina.com.np
The post नयाँ शक्तिमा पुराना मान्छे ! appeared first on Sajha Post.