प्रारम्भः
अंगिकृत नागरिकता र राजनैतिक अधिकारको बहस
सिक्किमका लेन्डुप दोर्जे, कास्मिरका हरिहर सिंह, हैदरावादका ओस्मान अली खान, मैसुरका (कर्नाटक) जयचाम राजेन्द्र वादियार, त्राभामकोर (केरला र तामिलनाडु) का त्रिरुनाल बलराम बर्मा अनि पेरुको अर्वटो फुजीमोरीको चरित्र तथा क्रिमियाको जनमत संग्रह देखेका आम नेपालीहरु वर्तमान अंगिकृत नागरिकताको बसहबाट सतर्क हुनु कुनै अस्वाभाविक कुरा हैन । राष्ट्रिय राजनीतिमा हुने विदेशी प्रभाव तथा हस्तक्षेपका कारण मुलुकको सार्वभौमसत्तामा कसरी गम्भिर आघात पर्छ भन्ने कुरा विश्व मानचित्रले प्रस्ट्याएको कुरा हामीलाई थाहा छ । विश्व राजनीतिका यस्ता परिघटनाहरुबाट आज आम नेपालीहरु अनभिज्ञ छैनन् । यसका अलावा, विगतमा कयौं पटक भारतबाट असहिष्णु व्यवहार भोगेका नेपालीहरुले अंगिकृत नागरिकताका सम्बन्धमा बहस उठाउनु सान्दर्भिक नै देखिन्छ । मुलुकको वर्तमान राजनीतिक डिस्कोर्ष यस अर्थमा यस विषयले प्रभावित पार्नु कुनै नौलो कुरा हैन ।
यस आलेखमा नेपालमा अंगिकृत नागरिकता प्रकरण तथा यसले निम्त्याएका परिणाम अनि विश्व राजनीतिमा अंगिकृत नागरिकताका कारण सिर्जना भएका सन्दर्भहरुको उल्लेख गर्ने प्रयास गरिएको छ । तर यस आलेखका कारण नेपालको वर्तमान अवस्थामा अंगिकृत नेपाली नागरिकता लिएका र त्यसमध्ये पनि उक्त प्रकृतिको नागरिकता लिएर नेपालको कार्यकारी प्रमुख पद ताक्ने केहि नेपाली राजनीतिकर्मीहरुलाई भने निश्चय नै टाउको दुखाइको विषय हुनेछ भन्ने कुरामा म जानकार छु ।
नेपाल अधिराज्यको संविधानमा सरकार प्रमुख र नागरिकता सम्बन्धी प्रावधान
नेपाल अधिराज्यको संविधान २०७३ अनुसार मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रदेश प्रमुख, संवैधानिक अंगका प्रमुख तथा सुरक्षा निकायका प्रमुख हुन वंशजका आधारमा नेपाली नागरिक भएको हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।
विवादको प्रमुख कारण
संविधान संशोधनका निम्ति वर्तमान सरकारको प्रमुख घटक नेपाली काँग्रेस र सो पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने वर्तमान सरकारका उपप्रधानमन्त्री विमलेन्द्र निधि तथा अर्का प्रभावशाली मन्त्री रमेश लेखकको विषेश पहलमा तयार परिएको भनिएको संविधान संशोधनको ड्राफ्टअनुसार अंगिकृत नागरिकता लिएका जो कोही नेपाली नागरिक पनि नागरिकता लिएको १० वर्ष पछि ती पदहरुका लागि योग्य हुनेछ भन्ने सवालका कारण नेपालको वर्तमान राजनितिक डिस्कोर्स एकाएक तातिएको देखिन्छ ।
अंगिकृत नागरिकता र विश्व बहस
वंशजको आधारमा नागरिकता नलिएको, आफ्नै मुलुकमा नजन्मेको तथा अंगिकृत नागरिकता लिने मानिस राष्ट्रको प्रमुख पदमा पुग्न हुन्छ कि हुँदैन भन्ने सवाल विश्व राजनीतिक परिवृत्तमा वषौंदेखि बहसको विषय बन्दै आएकोे देखिन्छ । तसर्थ यस्तो बहस नेपालमा मात्र भयो कि भनेर अहिले हामीहरु आत्तिनु पर्ने भने कुनै कारण छैन । तर बहस केका लागि गरिन्छ, यसबाट कस्तो परिणाम निस्कन्छ अनि विश्व समुदायले अंगिकृत नागरिकता र यसको राजनैतिक अधिकारका सम्बन्धमा के कस्तो अभ्यास गर्दै आइराखेको छ भन्ने कुरा भने थाहा पाउनुपर्ने हुन्छ । यो नै बहसको प्रधान पक्ष हो । जबसम्म वर्तमान नेपाली पुस्ता यो सवालबाट सचेत भईरहन्छ, तबसम्म बहस कै लागि तर्सिनुपर्ने भने कुनै कारण देखिँदैन । तर कसैको उक्स्याहटमा गरिने बहस समयको अन्तरालसँगै कमजोर तथा छिन्न भिन्न हुने कुरामा भने कुनै द्विविधा छैन ।
अंगिकृत नागरिकता र यसको राजनैतिक अधिकारका सम्बन्धमा केहि मुलुकहरुमा भएका प्रतिनिधि घटनाहरु–
१. रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान अमेरिकी चुनावका सुरुवाती प्रतिस्पर्धी रहेका टेड क्रुज अमेरिकी राष्ट्रपति उम्मेद्वारीको प्रारम्भिक चरणबाट नै बाहिरिएका थिए । क्यानाडाको क्यालगरीमा क्युवाली बुबा तथा अमेरिकी आमाबाट सन् १९७० डिसेम्बर २२ मा जन्मेका उनीविरुद्घ डेमोक्राट पार्टीले सिनेटमा उनको योग्यताका सम्बन्धमा हंगामा नै मच्चाएको थियो । उक्त पार्टीले विज्ञप्ती नै निकालेर उनी क्यानाडाका प्रधानमन्त्री बन्न सक्ने तर अमेरिकी राष्ट्रपति बन्न नसक्ने भनी उनको प्रतिस्पर्धा गैरसंवैधानिक हुने निस्कर्ष निकालेको थियो ।
डेमोक्र्याटहरुको तर्क थियो क्यालगरी अमेरिकाको माटो हैन अनि जुन बेला उनी जन्मे उक्त समयमा क्यालगरी अमेरिकाको स्वामित्वमा थिएन । अमेरिकी संविधान तथा नागरिकता सम्बन्धी कानुन (पव्लिक ल, द्धज्ञद्ध, जुन २७ १९५२) अनुसार टेड क्रुजले आफ्नी आमाको तर्फबाट अमेरिकी नागरिकता लिने प्रावधान भए पनि उनी राष्ट्रपति बन्न नसक्ने कानुनी प्रावधान भएकै कारणले वर्तमान चुनावी प्रतिस्पर्धाबाट उनी बाहिरिएका थिए । अमेरिकामा वंशजको आधारमा हुने नागरिकलाई अमेरिकनहरु न्याचुरल बर्थ भनेर परिभाषित गर्छन् । टेड क्रुजको सम्बन्धमा उनी जन्मेको चार वर्षकै उमेरमा अमेरिका छिरे पनि अमेरिकी कानुनअनुसार न्याचुरल बर्थको परिभाषा भित्र परेनन् र वर्तमान रिपब्लिकन उमेद्वार डोनाल्ड ट्रम्प मात्र प्रमुख प्रतिस्पर्धीको रुपमा रहे ।
२. आफ्नी अमेरिकी आमा तथा केन्याली बाबुबाट जन्मेका वर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रपति हुनेबेलामा उनको जन्मलाई लिएर रिपब्लिकन पार्टीले धुम मच्चाएका थियो । रिपब्लिकनको मात्र नभै तथा आफ्नै पार्टीका सिनेटरहरुबाट समेत भएको विरोधका कारण ओबामाले आफु अमेरिका कै हवाई भन्ने प्रान्तको कपिओलानी मेडिकल सेन्टर फर विमन एण्ड चिल्ड्रेन, होनोलुलुमा सन् १९६१ अगष्ट १ तारिखमा जन्मेको हँु भन्दै जन्मदर्ता प्रमाणपत्रसमेत पेश गरेका थिए ।
३. राष्ट्रपतिको अप्रत्यासित मृत्यु भएपछि संयोगले १९१४ मा अन्तरिम एवं कार्यवाहक राष्ट्रपति बन्न पुगेका जाम्बियाका उपराष्ट्रपति गे स्कटले उनका बाबु आमा स्कटल्याण्डबाट जाम्बियामा बसाई सरेका र वंशजका आधारमा उनी जाम्बियन नागरिक नभएका कारण अधिकारसहितको राष्ट्रपति बन्नबाट बञ्चित भएका थिए । जाम्बियाको संविधानअनुसार राष्ट्रपतिमा उम्मेद्वार बन्ने व्यक्ति मात्र नभै उनका दुवै बाबुआमासमेत जाम्बिया कै भूमिमा जन्मेको हुनुपर्दछ ।
४. रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकाको क्यालिफोर्निया प्रान्तका गभर्नर बनेका आर्नोल्ड स्वेजनर अष्ट्रियामा जन्मेकै कारण विगतमा भएको अमेरिकी चुनावमा राष्ट्रपति पदको उमेद्वार बन्नबाट वञ्चित भएका थिए ।
५. नजिककै छिमेकमा हेरौं । अंगिकृत नागरिक (भारतमा यसलाई दर्तावाल भारतीय नागरिक भनिन्छ) भएकै कारणले गर्दा कंग्रेस आईकी वर्तमान अध्यक्ष सोनिया गान्धी (ईटालीयन नागरिक इड्भिग एन्टोनिया अल्बानयिा मैनो, जन्म डिसेम्बर ९, १९४६) प्रधानमन्त्री बन्नबाट वञ्चित भएकी थिइन् । उक्त अभियानको नेतृत्व वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा भाजपा नेतृ तथा वर्तमान विदेशमन्त्री सुष्मा स्वराज लगायतकाले गरेका थिए । १९८७ मै इटालियन नागरिकता त्याग गरिसकेकी सोनिया २००४ मा आएर पनि भारतको कार्यकारी प्रमुख बन्नबाट वञ्चित भएकी थिईन् ।
अंगिकृत नागरिकताको यसै घटनाको कारणस्वरुप तत्कालिन अर्थमन्त्री मनमोहन सिंह भारतीय प्रधानमन्त्री बन्न सफल भएका थिए । ज्ञात रहोस्, भारतीय प्रधानमन्त्री मनमोहन सिंह भारत पाकिस्तान छुट्टिनु पूर्व हालको पाकिस्तानी भूमिमा पर्ने पञ्जावको चाडवाल जिल्लामा सन् १९४७ मा जन्मेका थिए र सन् १९४७ मा भारत पाकिस्तान छुट्टिए पछि उनको परिवार भारततर्फ बसाई सरेको थियो ।
राष्ट्रपति बन्न वंशजको नागरिकताका अलावा निश्चित धर्म समेत मानेको हुनुपर्ने केही उदाहरणहरुः
संसारका अन्य त्यस्ता कतिपय यस्ता मुलुकहरु पनि छन् जहाँ राष्ट्रपति बन्नका लागि वंशजका आधारमा त्यहाँको नागरिक भएर मात्र पुग्दैन बरु यसका अतिरिक्त उक्त मुलुकको निश्चित धर्म समेत मानेको हुनुपर्दछ । ती मुलुकहरुको संवैधानिक प्रावधानअनुसार आफ्नै मुलुकमा जन्मेको तथा राज्यले अवलम्बन गरेको धर्मप्रति प्रतिबद्घ भएको व्यक्ति मात्र उक्त मुलुकको राष्ट्रप्रमुख बन्न सक्छ । हेरौं केही उदाहरणहरुः
१. मध्यपूर्वी एसियन मुलुक लेबनानमा राष्ट्रपति बन्न क्रिस्चियन धर्मावलम्बी बन्नु पर्दछ । उक्त व्यक्ति अझ क्रिस्चियन धर्म भित्रको पनि म्यारोनाइट सम्प्रदायबाटै आएको हुनु पर्दछ । त्यस्तै उक्त मुलुकको प्रधानमन्त्री बन्न भने सुन्नी समुदायको मानिस नै हुनु पर्दछ । यसरी एउटै मुलुक लेबनानमा राष्ट्रपति र प्रधानमन्त्री बन्न समेत फरक–फरक धर्म मानेको व्यक्ति हुनुपर्दछ । अन्यथा उनीहरु उक्त पदका लागि योग्य ठहर्दैनन् ।
२. ईरान, जोर्डन, मलेसिया, मोरक्को, पाकिस्तान, साउदी अरेबिया र सिरियाजस्ता मुलुकहरुमा उक्त देशको राष्ट्रप्रमुख हुन अनिवार्य रुपमा मुस्लिम धर्म अबलम्वन गरेको हुनु पर्दछ । उक्त देशको संवैधानिक प्रावधानअनुसार अन्य धर्म मान्ने व्यक्ति ती देशहरुको राष्ट्रप्रमुख बन्न सक्तैनन् ।
३. त्यस्तै ट्युनिसियामा राष्ट्रप्रमुख हुन त्यहाँको संविधानले प्रष्टरुपमा मुस्लिम धर्मावलम्बी तथा वंशजका आधारमा ट्युनिसियामै जन्मेको हुनुुपर्ने कुरा उल्लेख गरेको छ ।
४. डेनमार्क, नर्वे र स्विडेनजस्ता कतिपय मुलुकले पनि राष्ट्रप्रमुख हुन कुनै न कुनै रुपमा धार्मिक अनिवार्यता र आवद्घताको प्रमाण खोजेको हुन्छ ।
किन अंगिकृत नागरिकता लिएका व्यक्ति राष्ट्र प्रमुख बन्न हुँदैन ?
बाह्य मुलुकमा जन्मेको मानिस स्वभावैले आफ्नो कर्मभूमिप्रति जति मात्रामा लोयल हुनु पर्ने हो आफ्नो पृथक जन्मस्थानका कारण त्यति मात्रामा हुन सक्तैन । तथा उक्त व्यक्ति आफु जन्मेको मुलुकको स्वार्थबाट प्रभावित हुन्छ भन्ने अवधारणाबाट राष्ट्रको कार्यकारी तथा अन्य संवैधानिक निकायमा जन्मको आधारमा वंशज व्यक्ति मात्र योग्य हुन भन्ने प्रकारको संवैधानिक प्रावधान विश्वका अधिकांश मुलुकहरुले राखिएका हुन्छन् । उनीहरुले गर्ने राष्ट्रिय स्वाधिनता सम्बन्धी निर्णयहरु आफ्नो जन्मभूमिप्रति नरम र कर्मभूमिप्रति कठोर अझ भनौं कतिपय अवस्थामा त प्रतिगामी समेत नहोला भन्न सकिँदैन । हामी आफैंलाई हे¥यो भने पनि यो कुरा प्रष्टिन्छ । चाहे हामी विश्वका जुनसुकै मुलुकमा जाऔं, जतिसुकै वर्ष बसौं, त्यहाँको नागरिकता लिऔं वा नलिऔं जे सुकै गरौं तर हाम्रो मन र मस्तिष्कमा भने सदैव नेपालकै तस्विर घुमिरहेको हुन्छ न कि विदेशी माटोको । सवाल यहि हो । यो प्राकृत सत्य हो । यो यथार्थ हो । यही नै प्रकृतिको नियम हो ।
त्यस्तै राष्ट्रिय स्वाधिनता र सुरक्षाका दृष्टिले पनि अंगिकृत नागरिकलाई राष्ट्रको कार्यकारी वा आलंकारिक प्रमुख अनि संवैधानिक निकायको प्रमुख बन्नु गलत कुरा हो । व्यक्तिको द्वैध राजनीतिक चरित्र तथा दुई फरक मुलुकबीचको ‘कन्फ्लिक्ट अफ इन्टरेष्ट’को कारणले गर्दा यदि अंगिकृत नागरिकता भएको व्यक्ति कुनै देशको राष्ट्र प्रमुख भएमा त्यसले मुलुकमा भयाभव राजनैतिक तथा संवैधानिक संकट निम्त्याउँछ ।
मुलुकको वैदेशिक नीति तथा राष्ट्रिय सुरक्षाका दृष्टिले अंगिकृत नागरिकता लिएका व्यक्तिबाट अपेक्षा गर्न सक्ने, नागरिकहरु निश्चिन्त हुन सक्ने, तथा राष्ट्रको सर्वोपरी हित हुन सक्ने अवस्था रहँदैन ।
मानौं, यदि बाह्य मुलुकमा जन्मेको व्यक्ति अंगिकृत नागरिकता लिएकै आधारमा अर्को मुलुकको राष्ट्रप्रमुख हुने हो भने भोलिका दिनमा कुनै एक इराकी व्यक्ति अमेरिकाको राष्ट्रपति नबन्ला भन्न सकिँदैन । अब कल्पना गरौं कि उक्त व्यक्तिले लिने निर्णयहरु कस्ता होलान् र त्यसले अमेरिकाको राजनीति तथा राष्ट्रिय सुरक्षामा कस्तो असर पार्ला ? अंगिकृत नागरिकता लिएको व्यक्तिलाई मुलुकको प्रमुख पदमा आसिन गराउँदा भविष्यमा नेपाल पनि सोहि अवस्थामा नभोग्ला भन्ने कुनै आधार छैन ।
हाम्रो आफ्नै उदाहरण लिऔं । भारतले हाम्रो संविधानमा आफ्नो निहित स्वार्थ सम्मिलित नगराएको झ्वाँकमा नेपालमाथि अनाहकमा नाकाबन्दी गर्न सक्छ भने यदि भारतमा जन्मेको कुनै व्यक्ति संविधान निर्माणका बखत नेपालको कार्यकारी प्रमुख हुन्थ्यो भने नेपालको अवस्था कस्तो हुन्थ्यो त्यो बताईरहनु पर्ने कुरा होइन । त्यस्तै, भविष्यमा नेपालको राजनीतिमा अंगिकृतहरुको नै बोलबाला हुने हो भने र उनीहरुले आफ्नो एक पुस्ता पनि नेपालमा बिताउने साहस गर्दैनन् भने नेपाल सिक्किमीकरण नहोला भन्ने के आधार छ ?
भारतसँगको खुला सिमाना, नेपालको कमजोर सुरक्षा प्रणाली, निकम्मा इन्टेलीजेन्स ब्यूरो, तथा आपराधिक चरित्र बोकेका राजनीतिक पार्टीका कारण नेपाल फिजीकरण नहोला भन्न सकिदैन । त्यसैले यहाँ अहम् सवाल उठ्छ किन अंगिकृत नागरिकताधारीहरु राष्ट्रपति, उपराष्ट्रपति र अन्य संवैधानिक निकायका प्रमुख पद ताक्न उनीहरुका नेपालमै जन्मेका आफ्ना छोराछोरीहरुको समयसम्म पखर्ने धैर्यता गर्न सक्तैनन् ? के उनीहरुका नेपालमा जन्मने सन्तानलाई नेपालको वर्तमान संविधानले बन्देज गरेको छ ? छैन । त्यसो भए उनीहरु किन अंगिकृतको प्रावधानबाट तर्सिन्छन् त, किन ? के यसको उत्तर छ ? छैन । सोलोडोलो मधेशको मुद्दा भन्दै नेपालको स्वअस्तित्व समेत खतरामा पार्ने कुत्सित् मनसायबाट सिर्जित अंगिकृत नागरिकता सबाल आम नेपालीलाई पच्न सक्तैन । अनि मधेश मामिलाका सम्बन्धमा नेपाललाई दवाव दिने अधिकार अन्य कुनै देशलाई पनि छैन ? आफ्ना माग सम्बोधन नभए नेपाललाई नाकाबन्दी गर्छु भन्दै हिड्ने नेपाली राजनीतिकर्मी र बिनाकारण नाकाबन्दी गर्ने भारत मिले भने भोलि या देशको अस्तित्व खोज्न कहाँ जाने ? इतिहासमा ?
फेब्रुअरी १२, २०१२ मा प्रकाशित टाइम्स अफ ईण्डियाका अनुसार भारतको महाराजगञ्ज, महेन्द्रनगर, नैतुनवा र सुनवल आसपास मात्रै पनि कम्तिमा असी हजारभन्दा बढी भारतीय नागरिकहरुसँग नेपाली नागरिकता छ र उनीहरुले चुनावका बखत दुवैतर्फ मतदान गरिराखेका छन् भनेर उल्लेख गरिएको थियो । यो अवस्थाको सिर्जना कसले ग¥यो ? यो एउटा मननीय बिषय हो । आज दुनियाँलाई थाहा छ कि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको भारतीय सिमानासँग जोडिएका क्षेत्रमा रहेका लाखौं भारतीयहरुसँग निर्वाध नेपाली नागरिकता छ । यदि यहि अवस्था रहिरहने हो भने भोलिका दिनमा मधेशमा रहेका हाम्रा तमाम नेपाली दाजुभाइहरु जसको अनुहारको रंग भारतीयहरुसँग मिल्छ, भाषाका हिसाबले पनि दुवैका बीचमा समानता छ, साँस्कृतिक रहनसहन पनि समान छ भने के निकट भविष्यमा उनीहरु नै अल्पमतमा पर्दैनन् भन्ने केहि आधार छ ? छैन । हाम्रा आफ्नै नागरिक आफ्नै मुलुकमा अल्पमतमा पर्नु भनेको नेपाल राजनैतिक, भौगोलिक र भौतिक रुपले सकिनु हो जसको श्रीगणेश भैसकेको देखिन्छ ।
यसरी विगतमा भएको नेपालको घृणित दलीय राजनीतिका कारण लाखौं भारतीयले नेपाली नागरिकता बोकेका छन् । यस अवस्थामा फर्जि नागरिकताधारीहरुले समेत नेपालको राजनीतिमा निर्णायक भुमिका खेल्ने अवस्था सिर्जना भएको छ । जसको प्रतिवाद गर्नु तमान नेपालीहरुको कर्तव्य हुन आउँछ ।
जब–जब नेपालमा नागरिकताको बहस चल्छ तब–तब हाम्रा मधेशवादी दलहरु विभेद भयो, मधेशीले नागरिकता पाएन भनेर कोकोहोलो गर्नुहुन्छ । के त्यो यथार्थ हो । के नेपालको संविधानले पहाडमा बस्ने र मधेशमा बस्नेलाई नागरिकता लिने फरक–फरक प्रावधान राखेको छ ? अझ पनि उहाँहरु भन्नुहुन्छ, ‘मधेशमा नागरिकताका सम्वन्धमा विभेद भयो ।’ कसरी ? अब भन्नुहोस् यसले के संकेत गर्छ ? के यहि हो राष्ट्रियता, के यहि हा राष्ट्रपतिको प्रेम र बफादारिता ?
त्यसैले अंगिकृत नागरिकता भएका व्यक्तिहरुले जबसम्म आफ्ना सन्ततीहरुको समयसम्म पखर्ने साहस गर्दैनन्, तबसम्म हामीले हामीहरुले उनीहरुलाई अरुकै इसारामा चल्ने कठपुतलीहरु हुन् भनेर किन भन्न नपाउने ? के यसको जवाफ छ उनीहरुसँग ? छैन । त्यसैले हामी प्रष्ट रुपले भन्न सक्छौं कि संविधान संशोधनमा अंगिकृतवालाहरुको राजनैतिक स्थान सुरक्षित गर्ने जो वर्तमान बहस छ त्यो नै प्रायोजित छ । त्यसैले फिजीकरणका विरुद्घ स्वाभिमानको युद्घ लड्न हामीहरु फेरि पनि तयार हुनुपर्छ ।
References:
BBC News, Retrieved from http://www.bbc.com/news/magazine-35257609
The Globe and Mail Retrieved from http://www.theglobeandmail.com/opinion/fear-of-a-foreign-born-president-made-sense-in-1787-not-today/article28328601/
The times of India, Retrieved from http://timesofindia.indiatimes.com/india/Dual-citizenship-holders-vote-on-UP-Nepal-border/articleshow/11856263.cms
The Teachers. Retrieved from http://www.scholastic.com/teachers/article/should-naturalized-citizens-be-president
The European Financial Views. Retrieved from http://www.europeanfinancialreview.com/?p=2743
The post किन अंगिकृत नागरिकता लिएका व्यक्ति राष्ट्र प्रमुख बन्न हुँदैन ? appeared first on Sajha Post.