Quantcast
Viewing all articles
Browse latest Browse all 942

नयाँ शक्ति र अन्य पार्टीबीचका भिन्नता

१. संस्कृत साहित्यमा एउटा भनाई छ-

हंसः श्वेतो बकः श्वेतः को भेदो बकहंसयोः ।
काकः कृष्णः पिकः कृष्णः को भेदः पिककाकयो ।।

अर्थात, राजहाँस र बकुल्ला दुबै सेता, काग र कोइली दुबै काला भेद देखाउन कठिन । यी दुई थरी पंक्षीका बीचमा फरक देखाउन असजिलो भएजस्तै नेपाली राजनीतिक दलका बीचमा पनि फरक छुट्याउन जनतालाई गाह्रो भएको छ । यो ठीक वा त्यो ठीक भन्नेमा जनता दशकौंदेखि अलमलमा छन् । अझै पनि दोधारमै देखिन्छन् । यो वा त्यो प्रलोभनमा जनता पटक-पटक ठगिएका भएपनि ठग्ने ठगिने श्रृंखलाको अन्त्य अझै भएको छैन । हामी राम्रो, हाम्रो राम्रोे भनी डुक्रने क्रम पनि रोकिएको छैन । जनताले राजनीतिक दलसँग विश्वास महसूस गर्न पनि सकेका छैनन् । यसैबीच निर्वाचन आयोगमा १७९ औं नम्बरमा नयाँ शक्ति पार्टी, नेपाल दर्ता भएको छ । देश-विदेशमा रहेका नेपाली माझ यसको पक्ष-विपक्षमा बहस छ । अन्य १७८ भन्दा राम्रो हो भन्ने दावी यसको पक्षमा छ । कतिपय मौन छन् । केही भन्दछन्, ‘जुन जोगी आए पनि कानै चिरेको’ । नेपाली समाज इतिहासको तेश्रो चरणमा प्रवेश गरेको छ । नयाँ युगको नयाँ यात्राको थालनी गर्नु छ । यो यात्रामा ठीक मार्ग दर्शन गर्न सक्ने राजनीतिक दलको छनौट गर्नु अपरिहार्य छ ।

Image may be NSFW.
Clik here to view.
sk-timilsina
शान्ति तिमिल्सिना, अधिवक्ता

२. पार्टी विचारले निर्देशित हुनुपर्छ । नेपालका पार्टीहरु कति त विचार विहिन छन्, समानुपातिक प्रणालीबाट तत्काल फाइदा उठाउन खडा गरिए । धर्तीमा पूँजीवाद र समाजवाद असफल भई सक्दा पनि त्यसैको पसल थापेर बस्ने केही पार्टीछन् । एउटा मात्र खुट्टो त्यो पनि घाइतेले म्याराथुन दौड जित्न सकिन्छ कि भन्ने भ्रममा उनीहरु छन् । विश्व अर्थव्यवस्थाका दुई खुट्टा पूँजीवाद र समाजवाद भित्र रहेका केही राम्रा पक्षलाई मात्र संश्लेषण गरी, विशिष्ट भौगोलिक अवस्थिति, अघिबढेको राजनीति र पछाडि परेको अर्थव्यवस्था सुहाउँदो विचारकोे अपरिहार्यता महसुस गरी वाम-लोकतान्त्रिक ‘अग्रपन्थी’ विचार नयाँ शक्तिले आविष्कार गरेको छ । उसको भनाई छ, ‘हाल दुनियामा रहेका विचारहरु विज्ञान, प्रविधि, सूचना सञ्चारको क्षेत्रमा आश्चर्यकारी विकास हुनुभन्दा अगाडिका भएका हुनाले अहिलेको कम्प्यूटरकृत दुनियालाई यी विचारले मार्गदर्शन गर्न सक्दैनन्, मृत विचार बोकेर कहीँ पुग्न सकिँदैन ।’ यसरी, नयाँ शक्तिमा वैचारिक स्पष्टता देखिन्छ भने अन्यमा देखिएन ।

३. असोज-३, २०७२ पछि नेपाली इतिहास नयाँ युगमा प्रवेश गरेसँगै नयाँ युगको नयाँ यात्राका लागि नयाँ लक्ष्य हुनुपर्दछ । भकुण्डो छ, मैदान पनि छ तर गोलपोष्ट छैन । फुटबल खेल्दा कस्तो होला । नयाँ शक्ति भन्छ- गोल पोष्ट चाहिन्छ । अरु भन्छन्– फुटबल र मैदान भएपछि खेल सुरु गर्दा हुन्छ, खेल्न पाए भै हाल्यो नि, गोलपोष्ट किन चाहियो । यसरी दिशा विहिन भएर नयाँ यात्रा तय गर्न सकिएला कि नसकिएला । अहिलेको सत्ताको लुछाचुँडी हेर्दा गोल पोष्ट विनाको खेल भन्दा फरक देखिँदैन, सबै भकुण्डो खोस्न कुदेका कुदै छन्, फुर्सद कसैलाई छैन, उपलब्धि पनि छैन । एकछिन भकुण्डो खेलाउने आत्मरतिमा रमाइ रहेका छन् । नयाँ शक्तिले विकास र समृद्धिलाई गोलपोष्ट (लक्ष्य) बनाएको छ । यसरी लक्ष्यमा नयाँ शक्तिको स्पष्टता देखिन्छ भने अन्यमा देखिएन ।

४. वर्तमान शासकीय स्वरुप प्रधानमन्त्री, मन्त्री बनाउने उद्योग जस्तै भएको छ । २४ वर्षमा २२ प्रधानमन्त्री । मन्त्री त कति कति । एउटा सरकार शपथ ग्रहण गर्दैछ, ढाल्ने रणनीति बनाउँन थालिन्छ । सरकारमा रहनेहरु सरकार जोगाउने भन्दा अन्य विषयमा केन्द्रीत हुन पाउँदैनन् । विकास र समृद्धि कहिल्यै प्राथमिकतामा परेन । जहिल्यै ओझेलमा । नयाँ शक्तिले शासनमा स्थिरता, अविनाशी शान्ति स्थापना, प्रदुषित राजनीतिलाई विश्वसनीय, र जिम्मेवार बनाउँन शासकीय स्वरुपमा परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुनु पर्दछ भनेकोछ । यसरी शासकीय स्वरुपमा नयाँ शक्ति र अन्य पार्टी बीच भिन्नता देखिन्छ । नयाँ शक्ति देश विकासमा केन्द्रित छ भने अन्य पार्टी स्वविकासमा केन्द्रित भएका छन् ।

५. भनिएको छ- नीतिनां राज- राजनीति । सबै नीतिहरुमा राजनीति श्रेष्ठ । देशका सम्पूर्ण समस्याको समाधान राजनीतिबाट मात्र संभव छ । तर राजनीति वदनाम भएको छ । यसो हुनुको कारण यसलाई पेशा बनाइनु हो । राजनीतिक दल अर्थोपार्जनको शसक्त उद्योग र राजनीति पेशा भए । नयाँ शक्ति राजनीतिलाई पेशा होइन पवित्र जनसेवा ठान्दछ । नयाँ शक्तिको धारणा छ यो राजनीतिले अहिलेका समस्याको समाधान हुँन सक्तैन तसर्थ वैकल्पिक राजनीतिको आवश्यकता छ । राजनीतिकर्मी उत्पादनसँग जोडिनु पर्ने, निजको गुजाराको श्रोत स्पष्ट देखिनु पर्ने, नयाँ शक्तिको दृष्टिकोण देखिन्छ । अन्य भन्दछन्– पेशा नै त्यही भएपछि, त्यसैबाट कमाउनु पर्दछ । धमिलिएको राजनीतिबाट बढी फाइदा लिन सकिन्छ । पानी जति धमिलो भयो माछा मार्न त्यति नै सजिलो हुन्छ भन्ने अन्यहरु ठान्दछन् । राजनीतिलाई हेर्ने यो दृष्टिकोण नयाँ शक्ति र अन्य पार्टीका बीचको अर्को भिन्नता हो ।

६. विचार, सिद्धान्त, वाद, पार्टी सबै साधन हुन्, यिनको निर्माण, विकास र अनुशरण मानव हितका लागि हुनुपर्छ, यी कुनै कालमा निर्माण हुन्छन्, देश, काल र परिस्थिति अनुसार यिनको रुपान्तरण आवश्यक र स्वभाविक हुन्छ, यी सर्वकालिक हुँदैनन्, समय र परिस्थिति अनुसार साधनमा परिवर्तन गर्न सकिन्छ, तर अधिकार प्राप्ति, विकास र समृद्धि मूल लक्ष्य (साध्य) हुन् यिनमा परिवर्तन हुनुहुँदैन भन्ने नयाँ शक्तिको दृष्टिकोण देखिन्छ ।

अन्य पार्टीले कुनै विचार, सिद्धान्त, वाद मान्नु वा पार्टीमा आवद्ध हुनुुलाई नै साध्य मानेको देखियो । यिनमा आबद्ध भई सकेपछि तिनलाई छोड्न मिल्दैन । कुनै दलको सदस्यमा झुण्डिएर बस्नु वा एउटा विचार वा वादको रटान लगाउनु नै जीवनको लक्ष्य (साध्य) हो भन्ने बुझाइ उनीहरुमा देखिन्छ ।

उनीहरुलाई माछो समाइएको या भ्यागुतो समाइएको पत्तो छैन, यति मात्र जान्दछन्– आँखा चिम्लेर त्यसलाई समाई राख्नु पर्छ । यसरी साधन र साध्यको बुझाइमा नयाँ शक्ति र अन्य पार्टीका बीचमा अन्तर देखिन्छ ।

७. नयाँ शक्ति भविष्यको कोरा कल्पनामा विश्वास गर्दैन । साम्यवाद वा समाजवादका अमूर्त कुराहरुमा अनावश्यक बहस गरेर अलमलिन चाहँदैन । यो त वर्तमान सुधार्न चाहन्छ । ‘यावज्जीवेत्सुखंजीवेत’ भनिए जस्तै जेजस्तो अधिकार, विकास, सुख–समृद्धि, हासिल गर्नुछ, अहिले नै गरौं, हाम्रै पालामा गरौं । मरणोपरान्त स्वर्गको चाहना नगरौं । अहिले हामीलाई दुःख भएर के भो त नाति वा पनातिको पालामा त साम्यवाद आई हाल्छ नि भन्ने जस्ता अमूर्त कुरामा नयाँ शक्तिले विश्वास गर्दैन । नयाँ शक्ति प्रयोजनवादी देखिन्छ । अन्य दलहरु साम्यवाद र समाजवादको गुड्डी हाँकेर जनतालाई अमूर्त सपनामा दशकौं देखि भुल्याई आएका छन् । अहिले पनि सपनाको सो व्यापार कायमै छ । यसरी अनावश्यक सपना बाँड्ने् कि नबाड्ने, जनतालाई भ्रममा राख्ने वा व्यवहारिक भएर जाने भन्नेमा नयाँ शक्ति र अन्य पार्टीको बीचमा अन्तर देखिन्छ । नयाँ शक्ति भन्छ–जनतालाई भ्रममा राख्नुहुँदैन, नराखौं ।

८. कार्यक्रममा सडक अवरोध गरी जनतालाई दुःख नदिने, बन्द हडताल गरी विकासमा अवरोध नगरिने, भित्ते लेखन, पोष्टरिंग गरेर सहर कुरुप नपारिने, फूलमाला, अविर, खादाको भड्किलो र खर्चिलो शैली नअपनाइने, मञ्चमा बस्ने, लामो लामो भाषण गर्ने भद्दाशैलीको त्याग गरी नयाँ संस्कारको थालनी नयाँ शक्तिबाट भएको, गरिएको तर अन्य पार्टीबाट यस्तो नवीन अपेक्षा संभव देखिँदैन ।

९. यसरी झट्ट हेर्दा हाँस र बकुल्लामा, काग र कोइलीमा भिन्नता नदेखिए जस्तै नयाँ शक्ति र अन्य पार्टीमा भिन्नता नदेखिएको पनि हुनसक्ला । फरक देखिएको छैन भने चश्माले फरक पारेको पनि हुन सक्छ । चश्मा थोत्रिएका छन् भने परिवर्तन गर्नुपर्ने हुन्छ । चिम्पान्जी र मानवको डिएनएमा लगभग २ प्रतिशत मात्र भिन्नता छ भनी वैज्ञानिकहरु भन्दछन् । यो भिन्नता निकै साघुरो देखिन्छ । प्रथम हुने र नहुने, उतिर्ण हुने र नहुने, चुनाव जित्ने र हार्नेका बीचमा पनि झिनो अन्तर हुन्छ । तर यी झिनो अन्तरको पनि धेरै ठूलो महत्व हुन्छ । यसरी हेर्दा नयाँ शक्ति र अन्य पार्टीका बीचमा देखिने यी भिन्नताहरु सामान्य लागे पनि यसमा निकै फराकिलो गुणात्मक अन्तर लुकेको छ । यसलाई मिहिन किसिमले बुझ्ने प्रयास गरौं ।

प्रतिक्रियाका लागि: sktimilsina@gmail.com

The post नयाँ शक्ति र अन्य पार्टीबीचका भिन्नता appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles