Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

के हो नयाँ शक्ति र के नवीनता छ यसमा ?

$
0
0

२५ फागुन २०७० बाट सुरु भएको नयाँ शक्तिको बहस अहिले नेपाली राजनीतिको केन्द्रमा छ । डा. बाबुराम भट्टराईद्वारा लिखित ‘खाँचो नयाँ शक्तिको’ लेख नेपाल साप्ताहिकमा प्रकाशित भए पछि यो बहसको आरम्भ भएको हो । अहिले ‘नयाँ बन्ने’, ‘नयाँ शक्ति’ बन्ने, बनाउँने र बनौं भन्ने लहर चलेको छ । नेपाली राजनीति नयाँ शक्ति र अन्य पराम्परागत शक्तिमा ध्रुवीकृत हुँदैछ । आखिर के हो नयाँ, र नयाँ शक्ति ।

नयाँ शक्ति दुई नेपाली शब्द ‘नयाँ शक्ति’ वा ‘नयाँ र शक्ति’ को समासित रुप हो । कर्मधारय वा द्वन्द समासबाट नयाँ शक्ति नामक शब्दको निर्माण भएको छ । नयाँ र शक्तिको बीचमा ‘र’ संयोजकको प्रयोग नगर्ने हो भने यस शब्दको निर्माण कर्मधारय समासबाट हुन्छ । कर्मधारय समासमा विशेषण र नाम शब्दको समास हुन्छ । नयाँ शक्तिको बीचमा ‘र’ संयोजक प्रयोग गर्ने हो भने यस शब्दको निर्माण द्वन्द समासबाट हुन्छ । शब्दहरुका बीचमा संयोजक लोप भएर नयाँ शब्दको निर्माण हुनु द्वन्द समास हो । समासित शब्द नयाँ शक्तिलाई पदयोग गरी लेख्नु उपयुक्त हुन्छ ।

बसन्त शर्मा सम्पादित नेपाली शब्दसागरका अनुसार ‘नयाँ’ भन्नाले ‘भर्खरै देखिनमा आएको’ वा ‘प्रयोग हुन थालेको’ भन्ने हुन्छ ।
नयाँ शब्दको अङ्ग्रेजी रुपान्तरण न्यू हुन्छ । अक्सफोर्ड डिक्सनरीमा न्यू शब्दको अर्थ– यस भन्दा अगाडि अस्तित्वमा नरहेको, भर्खरै बनेको, आविष्कार भएको वा चिनारी भएको, आधुनिक वा सबभन्दा पछिको भन्ने हुन्छ ।

क्याम्ब्रिज डिक्सनरीका अनुसार न्यूको अर्थ– भर्खरै बनाइएको वा भर्खर अस्तित्वमा आएको तथा पहिला अस्तित्वमा नभएको वा अस्तित्वमा भएको भन्दा फरक भन्ने छ ।

ब्लाक्स ल डिक्सनरीका अनुसार न्यूको अर्थ– अस्तित्वमा भर्खर आएको, भर्खरै आविष्कार गरिएको वा पूर्व अवस्थाबाट रुपान्तरण भएको भन्ने हुन्छ । यसरी हेर्दा नयाँ शब्दको अर्थ भर्खरै अस्तित्वमा आएको वा अस्तित्वमा रहेको भन्दा फरक वा पहिले अस्तित्वमा नरहेको वा भर्खरै बनाइएको भन्ने हुन्छ ।

यसरी ‘नयाँ’ भन्नाले यस्तो बुझियो–
– यस भन्दा अगाडि नदेखिएको, प्रयोगमा नआएको, यस अगाडि अस्तित्वमा नभएको, यस अगाडि नबनेको, नदेखिएको वा आविष्कार नभएको, तर भर्खर देखिएको, प्रयोगमा वा अस्तित्वमा आएको वा बनेको वा आविष्कार भएको ।
– पूर्व अवस्थाबाट रुपान्तरण भएको ।

एसके तिमल्सिना
एसके तिमल्सिना

बहसको अर्को शब्द ‘शक्ति’ । वसन्त शम्र्मा सम्पादित नेपाली शब्दसागरका अनुसार शक्ति भन्नाले– ‘मनको अदम्य उत्साह’, ‘जोडबल’, ‘पराक्रम’ भन्ने हुन्छ ।

शक्तिको अङ्ग्रेजी रुपान्तरण पावर र फोर्स दुवै हुन्छ । राजनीतिक क्षेत्रमा फोर्स भन्दा पावरको प्रयोग उपयुक्त मानिन्छ ।
एकता कम्प्रिहेन्सिभ अङ्ग्रेजी–नेपाली डिक्सनरीका अनुसार पावर भन्नाले ‘काम गर्ने क्षमता, सामथ्र्य’ भन्ने हुन्छ ।
अक्सफोर्ड डिक्सनरीका अनुसार पावर भन्नाले मानिस वा वस्तुलाई नियन्त्रण गर्ने क्षमता वा कुनै कुरा नियन्त्रण गर्न सक्ने क्षमता वा देश वा क्षेत्रको राजनीतिक नियन्त्रण भन्ने हुन्छ ।

ब्लाक्स ल डिक्सनरीका अनुसार पावर भन्नाले कार्य गर्न सक्ने वा नसक्ने क्षमता भन्ने हुन्छ ।

यसरी शक्ति भन्नाले यस्तो बुझियो–
– मनको अदम्य उत्साह, जोडबल, पराक्रम ।
– मानिस वा वस्तुलाई नियन्त्रण गर्ने क्षमता वा देश वा क्षेत्रको राजनीतिक नियन्त्रण ।
– कार्य गर्न सक्ने वा नसक्ने क्षमता, सामर्थ्य ।

यसरी नयाँ शक्तिको अर्थ हुन्छ– नयाँ शक्ति राजनीतिक संगठन हो जुन यस भन्दा अगाडि देखिएको थिएन, अस्तित्वमा थिएन, बनेको थिएन तर भर्खर देखिएको, अस्तित्वमा आएको वा बनेको छ जसले देशको राजनीतिलाई नियन्त्रणमा राख्ने क्षमता राख्दछ ।

पार्टी विचारको आधारमा स्थापित हुन्छ । सामुद्रिक वा हवाई जहाजलाई लामो यात्रा तय गर्न कम्पास (दिशासूचक यन्त्र) को आवश्यकता भए जस्तै पार्टीलाई दिशा निर्देश गर्न विचार, सिद्धान्तको आवश्यकता पर्दछ । छोटो दूरीको हवाई वा सामुद्रिक यात्रामा कम्पासको जरुरत नपर्न पनि सक्छ । तत्कालको राजनीतिक व्यवस्थाबाट फाइदा उठाउन खोज्ने व्यक्ति, संगठन वा पार्टीले विचार, सिद्धान्त वा नैतिकताको ख्याल गर्दैनन् । तर राष्ट्रिय मुक्तिको दीर्घकालीन यात्रामा निस्किएका व्यक्ति, संगठन वा पार्टीलाई विचार, सिद्धान्त, नीति, नैतिकता अपरिहार्य तत्व हुन्, जसरी लामो यात्रामा कम्पासको आवश्यकता पर्दछ । नेपाललाई द्रुत गतिमा विकास र समृद्धिको पथमा हिँडाउँदै समृद्ध समाजवादको बाटोमा हिडाउँने लक्ष्य लिएको नयाँ शक्ति पार्टीले ‘अग्रपन्थी’ (फ्रन्टिन्स) विचार आविष्कार गरेको छ । यस्तो विचार यस अघि अस्तित्वमा देखिँदैन । यसरी विचारको दृष्टिकोणले नयाँ शक्ति पार्टीमा नवीनता देखिन्छ ।

हाम्रो समाजमा राजनीतिलाई पेशा, राजनीतिकर्मीलाई शासक, र जनतालाई शासितका रुपमा हेरिन्छ । नयाँ शक्ति पार्टीका दस्तावेजमा भनिएको छ– राजनीति पवित्र जनसेवा हो, राजनीतिकर्मी जनसेवक हुन्, राजनीति जनमुखी र जनसेवी हुनुपर्दछ, जनता सार्वभौम मालिक हुन्, राजनीति शोषणको साधन नभएर जनसेवा गर्ने माध्यम हो । यसरी राजनीतिलाई हेर्ने पराम्परागत दृष्टिकोणमा नयाँ शक्ति पार्टीले नवीनता ल्याएको छ ।

नयाँ शक्ति पार्टीले भनेको छ– समृद्धि संभव छ, हाम्रै पालामा । अबको निकास आर्थिक विकास । जनताले नयाँ शक्ति पार्टीलाई विश्वास गरेमा ७ वर्ष भित्रमा यो देशको निरपेक्ष गरीवि र बेरोजगारी समस्याको समाधान गर्ने, २५ वर्ष भित्रमा संसारका समृद्ध राष्ट्रको लहरमा नेपाललाई उभ्याउने लक्ष्य यसले लिएको र योजना बनाएको छ । नयाँ शक्ति पार्टीको अर्जुन दृष्टि नेपालको विकास र समृद्धिमा छ । यसरी नयाँ शक्ति पार्टीको लक्ष्यमा नवीनता छ ।

शासनमा स्थिरताको अभावले नेपाल भबिछिन्न भएको छ । भ्रष्टाचार, गरीबी, बेरोजगारी तस्करी, कालोबजारी लगायतका अनेकोैं विकृति विसंगति फस्टाएका छन् । नेपाल विकासमा पछौटे हुनुमा शासकीय स्वरुप पनि कारक भएको नयाँ शक्ति पार्टीको ठहर छ । तसर्थ शासनमा स्थिरता, विकास र समृद्धि, सुशासनका लागि नयाँ शक्ति पार्टीले जनताबाट प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको अवधारणा अगाडि सारेको छ । लगभग नौ नौ महिनाको अवधिमा परिवर्तन हुँने सरकारले समृद्धिको लक्ष्यलाई तीव्र गतिमा अगाडि लान सक्तैन भन्ने उसको ठहर छ ।

नेपालमा औपचारिक लोकतन्त्रको अभ्यास गरिदै आएको छ । अहिलेको लोकतन्त्र नेताले लुटतन्त्र मच्याउँने साधन भएको छ । जनता वास्तविक रुपमा सार्वभौम हुन सकेका छैनन् । जनता सार्वभौम भएका हुन् भने उनीहरुले दिएको जनादेश अनुसार देशको शासन चल्नु पर्दछ । यहाँ त जनताले चुनावमा अमुक पार्टीलाई सरकारको नेतृत्व गर्न भनी जनादेश दिएका हुन्छन तर सरकारको नेतृत्व दोश्रो अझ तेश्रो सिट संख्या हासिल गर्नेले गर्दछ, जुन सार्वभौम जनताको जनादेश विपरीत हो । ०५१ को मध्यावधि चुनाव पछि राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई व्यक्ति प्रधानमन्त्री भए । नेपाली काँगेस र एमालेको तुलनामा यस पार्टीको सीट संख्या प्रतिनिधि सभामा अत्यन्त्यै न्यून थियो । ०६४ को संविधान सभाको चुनावमा एकीकृत माओवादीले सबभन्दा बढी स्थान हासिल गरेको थियो तर तेश्रो स्थान प्राप्त गरेका एमालेका दुई व्यक्ति प्रधानमन्त्री भए । एक जना त प्रत्यक्ष निर्वाचनमा पराजित समेत भएका थिए । अहिले पनि संसदमा तेश्रो स्थान मात्र प्राप्त गरेको पार्टीले सरकारको नेतृत्व गरिरहेको छ । नेपालको संविधान (२०७२) ले गणतन्त्र, संघीयता, धर्म निरपेक्षतालाई संस्थागत गर्‍यो ।

संविधानको घोषणा भएलगत्तै यी उपलब्धिलाई मन मष्तिष्कले नरुचाउनेहरु सरकारको नेतृत्वमा पुगे । संविधान कार्यान्वयन गर्नुपर्ने अवस्थामा संविधानका मूलमर्मका विरोधीहरु नै सरकारको नेतृत्वमा रहँदाको पीडा नेपाली जनताले झेल्नु पर्‍यो । संसदमा १, २ सीट मात्र प्राप्त गर्नेहरु पनि मन्त्री भइरहेका छन् । सरकार, सत्ता टिकाई देश र जनतालाई लुट्दै कसैको निजी स्वार्थ पूरा गर्नका लागि जनचाहना विपरीत राज्यकोषको अनावश्यक दोहन हुने गरेको छ । सार्वभौम जनताको जनादेश विपरीत तथा विरोधासपूर्ण यी र यस्तै सबै प्रकारका असैद्धान्तिक, अवैचारिक, अवैज्ञानिक र अनैतिक हर्कत सदाका लागि बन्द गराइ, सार्वभौम जनताको जनादेश बमोजिम शासन सञ्चालन गरी, सबै प्रकारका विकृति र विसंगतिको अन्त्य गर्दै विकास र समृद्धि शीघ्र हासिल गर्नका लागि नयाँ शक्ति पार्टीले प्रत्यक्ष निर्वाचित सरकार प्रमुख हुनुपर्ने स्पष्ट दृष्टिकोण सार्वजनिक गरेको छ । यो नयाँ शक्ति पार्टीको अर्को नवीनता हो ।

देशको प्रगतिका लागि आन्तरिक राष्ट्रियता मजबुत हुनु अपरिहार्य छ । जब सम्म आन्तरिक रुपमा सबल हुन सकिदैन तब सम्म निर्बाध रुपमा अगाडि बढ्न समस्या रहन्छ । हामी बाह्य रुपमा कमजोर हुनु पनि आन्तरिक कारणले नै हो । आन्तरिक मजबुतीकरणका लागि नयाँ शक्ति पार्टीले तीन क्लष्टरको अवधारणा अगाडि सारेको छ । देशको शासनमा सबै भौगोलिक क्षेत्र, लिंग, जाति, धर्म, सम्प्रदायको समानुपातिक, समावेशी, सहभागिता हुनुपर्दछ भन्ने नयाँ शक्ति पार्टीको स्पष्ट दृष्टिकोण छ ।

नयाँ शक्ति पार्टीले छिमेकी लगायत सबै देशसँग पञ्चशीलका आधारमा सहिष्णु, सद्भावपूर्ण सम्बन्ध रहनु पर्छ भन्दछ । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले भन्नु भएको छ– नेपाल दुई अर्थतन्त्रबीचको जीवन्त पुल हो (चीन र भारतलाई व्यापक अर्थमा दुई विशाल अर्थतन्त्र र संकीर्ण अर्थमा चीन र भारत भन्न सकिन्छ) । दक्षिण एसियामा अंग्रेजको शासन र चीनमा शिंग शासक रहेको समयमा पृथ्वीनारायण शाहले अंगीकार गर्नु भएको नेपालको विदेश नीति (नेपाल दुई ढुंगा बीचको तरुल) को सान्दर्भिकता समाप्त भई सक्यो । समय धेरै बितिसकेको छ । परिवर्तन धेरै भएको छ । हाम्रा निकटतम् छिमेकी अहिले विश्वका भीमकाय अर्थतन्त्रका रुपमा उदाएका छन् । नेपाल झनझन गरीब हुँदैछ ।

नयाँ शक्ति पार्टीका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईको भनाई रहँदै आएको छ– यी अजंग अर्थतन्त्र र जनसंख्या बोकेका छिमेकीसँग मित्रवत् सम्बन्ध राख्दै, उनीहरुको अर्थ र प्रविधिको प्रयोग गर्दै र पृथ्वीको ४० प्रतिशत जनसंख्यालाई हाम्रो बजार बनाउँदै द्रुत गतिमा विकास र समृद्धिको पथमा नेपाललाई हिँडाउनु पर्दछ । अहिले विकसित पश्चिमी देश पनि यो जनसंख्यालाई आफ्नो बजार बनाउने रणनीतिमा छन् । फगत क्षणिक निजी स्वार्थ पुरा गर्नका लागि रचिँदै आएको खोक्रो, नक्कली राष्ट्रवादमा नयाँ शक्ति पार्टी विश्वास गर्दैन । उग्रराष्ट्रवादले छिमेकीसँगको सम्बन्धमात्र विगार्छ, सोझा नागरिकलाई भ्रममा राख्ने काम भन्दा बाहेक उग्रराष्ट्रवादले केही दिँदैन । नयाँ शक्ति पार्टी प्रगतिशील राष्ट्रवादमा विश्वास गर्दछ । राष्ट्रियतासँगै राष्ट्रभक्त/राष्ट्रभक्ति, देशभक्त/देशभक्ति भन्ने पदावली पनि प्रयोगमा आउँछन् । हेर्दा र सुन्दा उस्तै उस्तै लाग्ने यी पदावली बीचमा भेद छ । नयाँ शक्ति पाटी राष्ट्रभक्तिमा विश्वास गर्दछ । राष्ट्रभक्त आफ्नो देशको भौगोलिक अखण्डता, जनताको सार्वभौमिकताको रक्षामा केन्द्रित रहन्छ । नयाँ शक्ति पार्टीको यो अर्को नवीन पक्ष हो ।

नयाँ शक्ति पार्टीको नेतृत्व तहमा विभिन्न क्षेत्रका विज्ञहरुको समूह छ । भर्खरै स्थापित पार्टीमा अर्थव्यवस्था, कृषि, सुरक्षा लगायत दर्जनौं क्षेत्रका विज्ञहरुको उल्लेखनीय उपस्थिति हुनु नयाँ शक्ति पार्टीको अर्को नवीन पक्ष हो ।

नयाँ शक्ति पार्टीको विधान वास्तविक लोकतन्त्रमा आधारित छ । पार्टीका सबै सदस्यहरुलाई सार्वभौम बनाइएको छ । पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरु प्रत्यक्ष निर्वाचित हुने प्रावधान छ । यो निकै अग्रगामी वैधानिक व्यवस्था हो । नयाँ शक्ति पार्टीको यो अर्को नवीनता हो ।

नयाँ शक्ति पार्टीले २०७३ जेठ ३० गते एकलाख संस्थापक सदस्य पुर्‍याएर पार्टी घोषणा गर्‍यो । धर्तीमा एकलाख भन्दा बढी संस्थापक सदस्य भएको अर्को पार्टीको अस्तित्व छैन । साथै यस पार्टीको विधानमा एकै प्रकारका सदस्य रहने प्रावधान छ । यी पनि नयाँ शक्ति पार्टीमा भएका नवीनता हुन् ।

अहिले प्रचलनमा रहेको निर्वाचन प्रणाली भित्र रहँदा निर्वाचनमा मतदाताले कुनै न कुनै उम्मेदवारलाई मतदान गर्नुपर्ने बाध्यता छ । भएका मध्ये कुनै पनि उम्मेदवार चित्त नबुझेमा पनि खराब मध्ये कम खराबलाई मतदान गर्न मतदाता बाध्य हुन्छन् । सार्वभौम जनतालाई बाध्य बनाउँनु लोकतान्त्रिक संस्कृति होइन । नेपालको निर्वाचनको मौजुदा कानूनमा कुनैपनि उम्मेदवार ठीक छैनन् भनी असहमति जनाउँने प्रावधान छैन । कुनै पनि उम्मेदवार चित्त नबुझेमा मतदाताले अस्वीकार गर्न पाउँनु पर्दछ भन्ने लोकतन्त्रको नवीनतम् अवधारणा– अस्वीकारको अधिकार (राइट टु रिजेक्ट) लाई नयाँ शक्ति पार्टीले अपनाउने घोषणा गरेको छ । नयाँ शक्ति पार्टीमा देखिएको यो अर्को नवीनता हो ।

निर्वाचित भएपछि अधिकांश जनप्रतिनिधि जनउत्तरदायी भएका देखिँदैनन् । बरु, डामिएका साँढे जस्ता देखिन्छन् । जन प्रतिनिधि पूर्ण रुपमा जनता प्रति जवाफदेही हुनु पर्दछ भन्ने नयाँ शक्ति पार्टीको स्पष्ट दृष्टिकोण छ । यसको लागि निर्वाचित जन प्रतिनिधिलाई जनताले फिर्ता बोलाउँन सक्ने अधिकार (राइट टि रिकल) जनतामा सुरक्षित हुनुपर्छ भन्ने अवधारणा पनि नयाँ शक्ति पार्टीले अगाडि सारेको छ । नयाँ शक्ति पार्टीको यो अर्को नवीनता हो ।

नेपालमा भ्रष्टाचार फस्टाएको छ । भ्रष्टाचारले हामीलाई निल्न लागेकोछ । देशमा विकास र समृद्धि चाहने हो भने बढ्दो भ्रष्टाचारलाई नियन्त्रण गर्नु हाम्रो पहिलो लक्ष्य हुनु पर्दछ । भ्रष्टाचार नियन्त्रणका लागि पार्टी कार्यकर्ताले सदाचारको पालना गर्नु पर्दछ । सो को कार्यान्वयनका लागि स्वतन्त्र व्यक्तिहरुको नेतृत्वमा एमड्युसम्यान रहने व्यवस्था गर्ने घोषणा नयाँ शक्ति पार्टीले गरेको छ । सुशासन र सदाचारका लागि यो अनुपम कदम हो । नयाँ शक्ति पार्टीको यो अर्को नवीनता हो ।

विकासका अवरोधक बन्द, हडताल, चक्काजाम, सडक अवरोध जस्ता गतिविधि नगर्ने, भित्तेलेखन, पोष्टरिंग गरी शहर बजार, सार्वजनिक स्थलमा कुरुप बनाउँने साथै खर्चिलो परम्पराको अन्त्य, खादा, माला, ब्याचको भड्किलो र खर्चिलो प्रचलन, मञ्चमा अतिथि नै अतिथिको लर्को लाग्ने, लामा लामो भाषण गर्ने भद्दाशैलीको अन्त्य पनि नयाँ शक्ति पार्टीले गरेको छ । नेपालको राजनीतिमा यो अर्को ऐतिहासिक नवीनता हो । यसरी नविनता नै नविनताको श्रीगणेश गर्दै नयाँ शक्ति पार्टी, नेपालको उदय नेपाली राजनीतिमा भएको छ ।

The post के हो नयाँ शक्ति र के नवीनता छ यसमा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles