Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

नेपाल-भारत सम्बन्धका खाटाहरु र भारतीय राष्ट्रपतिको नेपाल भ्रमण

$
0
0

bidhya-bhandari_pranab-mukharjee

भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण बडो तामझाम र स्वस्तिगानसहित सम्पन्न भएको छ। उनको स्वागतका नाममा मुलुकमा जे-जे परिदृश्यहरु देखिए ती सबै निर्लज्जताको पराकाष्टा मात्र थिएन, आम नेपालीको आत्म सम्मानमा गहिरो ठेस पुर्‍याउने खालको पनि थियो । राष्ट्रय स्वाधिनताको वखान गरेर कहिल्यै नथाक्ने बर्तमान गठजोड सरकारले देखाएको प्रभुभक्ति एवं लाचारीपनबाट दुई देशबीच विद्यमान पृथक सार्वभौम पहिचानको बीचमा नै धक्का लागेको छ। छिमेकी राष्ट्रप्रमुख आउँदा नेपाली जनमानसमा देखिएको आक्रोश सायद यति विघ्न होला भनेर सायद कसैले अनुमान नै गरेको थिएन होला ।

आफुलाई विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भनेर राप अलाप्ने अन्धो भारत र त्यसका आसेपासेले विगतका आफ्नो नजिकको छिमेकी मुलुकमाथि गरेका केही क्षमा दिन नसकिने हर्कत र त्यसले सिर्जना गरेका असरहरु जिम्मेवार देखिन्छन् ।

भाषणमा सबैभन्दा नजिकको छिमेकी अनि अभुतपुर्व सम्बन्ध भएको दुई छिमेकी भनेर हाम्रा र उता तर्फका केहि चाटुकारहरुले स्तुतिगान गाए पनि भारतका कारण नेपाल भारत विद्यमान सम्बन्धमा धेरै खाटाहरु बसेका छन् । बाह्य स्वरुपमा ती खाटाहरु बिसेक भएका घाउका डोबहरुजस्ता दखिए पनि त्यसले पारेको चोट नेपाली मानसपटलमा अझै ताजा रहेका छन् । समय र सन्दर्भले ती खाटाहरु पुराना हुँदै गएका जस्ता देखिए पनि द्विपक्षीय सम्बन्धका विविध परिघटनामा ती डोबहरु कतिपय उप्कदै, पाप्रा निस्कँदै र फेरि नयाँ बन्दै गरेका छन् ।

जब-जब पुराना घटनाहरु विस्मृतिमा पुग्न खोज्छन् तब-तब भारत अकर्मण्य बन्दै जान्छ, ती खाटाहरु कोट्याउन थाल्छ र सारा घाउहरु फेरि आला बन्दै जान्छन् । यसरी नै नेपाल-भारत सम्बन्ध विगत दशकौंदेखि गुज्रँदै आएको छ । जबसम्म नेपाल भारत सम्बन्धमा लागेका यी र यस्ता खाटाहरु भारतले लगातार उप्काउने कार्य रोक्दैन तबसम्म पारस्परिक सम्बन्धका तमाम जुइनाहरु कमजोर मात्र बन्ने छैनन् यसले यी दुई राष्ट्रबीचको सम्बन्धलाई अझ बिपरित दिशा तर्फ धकेल्ने छ ।

जबसम्म हामीले अनुभुत गरेको भारतको ‘भारतीय चरित्र’ बदलिदैन तबसम्म नेपाल-भारत सम्बन्ध केवल ‘काचो पिडाँलु खाए’ समान हुनेछ जसले आम नेपालीहरुलाई चिरकाल पर्यन्त कोक्याई मात्र रहने छ ।

माधव दाहाल
माधव दाहाल

भारतसिर्जित कतिपय बिसेक भएका, खाटो बसेका तथा आलै रहेका केहि प्रतिनिधी घाउहरुलाई छोटकरीमा तल प्रस्तुत गरिएको छ-

खाटो नं १
शान्तिक्षेत्र प्रस्तावः सन् १९७८ मा सिक्किमको भारतमा विलय भएको दृष्टान्त देखेको नेपालले आफ्नो पृथक पहिचान, सार्वभौमसत्ताको रक्षा र असंलग्न परराष्ट्रनीतिको अवधारणा अनुरुप राखेको शान्ति क्षेत्र प्रस्तावलाई तात्कालिन सोभियत संघ, चीन र पाकिस्तानले समर्थन गरेकै कारण अन्तिम समयसम्म पनि भारतले समर्थन गरेन । उक्त प्रस्तावमा एक नजिको छिमेकी जो सँग नेपालको १४ सय किमी भन्दा लामो सिमाना जोडिएको छ उसले समर्थन गरेन । यसका पछाडि नेपाललाई स्वतन्त्र तथा सार्वभौम राष्ट्रको रुपमा स्वीकार गर्न नसक्ने भारतीय संकिर्ण स्वार्थ कारक रहेको थियो ।

खाटो नं. २
सन् १९८९ को नाकाबन्दीः चिनियाँ सामानहरुको नेपाल प्रवेशमा ४० प्रतिसत भन्सार छुट दिने तथा चीनबाट हतियार खरिद गर्ने नेपाल सरकारको निर्णयका अलावा तत्कालीन इटालियन नागरिक इडभिज एन्टोनिया (Edvige Antonia) (वर्तमान काँग्रेस आईकी अध्यक्ष एवं तात्कलीन भारतीय प्रधानमन्त्री राजिव गान्धिकी श्रीमती, वर्तमान नामः सोनिया गान्धी) लाई पशुपतिनाथको मन्दिर प्रवेश गर्न नदिएबाट क्रुद्ध तथा अपमानित महसुस गरेको भारतले नेपाल भारत पारवहन सन्धि नविकरण नगरी बिना कुनै राजनैतिक कारण १३ महिनासम्म नेपाललाई नाकाबन्दी गर्‍यो । जसका कारण नेपालको अर्थतन्त्रमा अरबौं डलरको क्षति पुग्न गयो ।

खाटो नं. ३ः
अतिक्रमणः सन् १९६२ को भारत चीन युद्धपछि भारतीय सेनाद्वारा नेपालको कालापानी तथा सुस्ता क्षेत्र अतिक्रमण गर्नु तथा हाल आएर अतिक्रमित उक्त क्षेत्र आफ्नो भन्दै हठात् एवम् बलपूर्वक हडपप्ने कार्य गर्नु । नेपाली भूमि अतिक्रमण गरी सो ठाउँबाट तिब्बतीय सिमानामा अतिक्रमण गर्ने दिर्घकालिन योजना अनुरुप कालापानी तथा सुस्तामा भारतीय सेना उपस्थिति गराउनु । भारतको लागि कालापानी अत्यन्त संवेदनशील तथा रणनीतिक महत्वको ठाउँ हो जहाँबाट चीनको तिब्बत केवल १७ किमीको मात्र दुरीमा अवस्थित रहेको छ ।

खाटो नं. ४
गैरन्यायिक हत्याः सन् १९८७ मा भारतले मेघालय, सिक्किम तथा उत्तर पूर्वी भारतका कैयन ठाउँहरुबाट हजारौं नेपालीहरुलाई बिना कारण निर्ममतापूर्वक लखेटियो, यातना दिईयो तथा निर्दोष नेपालीहरुको हत्या गरियो । यसको प्रमुख कारण ती लखेटिएका व्यक्तिका पुर्वजहरु नेपाली हुनु तथा उनीहरु नेपाली हुनु थियो । यसका अतिरिक्त बर्षेनी हजारौ हजारका संख्यामा भारतीयहरु नेपालीहरु जसको नेपालसँग रगतको साईनो रहेको छ उनीहरु राज्यबाट प्रताडित, पीडित,अवसरबाट बञ्चित तथा विभेदमा पारिने गरेका छन् ।

खाटो नं. ५ः
भ्रमको खेतीः ‘बुद्ध’ भारतीय भूमिमा जन्मेका हुन् भनेर बारम्बार विश्व समुदाय समक्ष झुठको खेती गर्नु । यसबाट पहिलो त बुद्ध भारतमा जन्मिएका हुन् भनेर तथ्य बङ्ग्याउने कार्य गरेको देखिन्छ भने दोस्रो दिर्घकालीन रुपले बुद्ध जन्मेको ठाँउ लुम्बिनी भारतमा पर्छ भनेर कुतर्कसहित तिरन्तर भ्रम फैलाउने कार्य गरेको देखिन्छ ।

खाटो नं. ६ः
तेस्रो पटकको नाकाबन्दी : नेपालको संविधानमा आफ्ना केहि निहित स्वार्थ सम्मिलित नगराएको प्रतिशोधस्वरुप नेपालका केहि राजनैतिक दलहरुलाई ढाल बनाई अमानवीय तवरले अघोषित नाकाबन्दी गर्नु । भुकम्पले थिलथिलो बनाएको नेपाललाई नाकाबन्दी जस्तो जघन्य अपराध गर्नु । नेपालीहरुलाई औषधीमुलो, खाद्यान्न तथा ईन्धनको चरम अभाब सिर्जना भोकभोकै मर्न बाध्य बनाउनु र यसैका आधारमा अनुचित दबाब दिने दुश्चेष्टा गर्नु । तर दुःखमा बरु हाँसीहाँसी मर्ने तर आत्म समर्पण नगर्ने नेपाली स्वाभिमानको स्पष्ट तस्विर देखे पछि तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरमहरुमा आलोचना भएपछि नाकाबन्दीको अमानवीय अपराधबाट पछि हट्नु ।

खाटो नं. ७ः
असमान सन्धिः नेपाल भारतका बिच भएको १९५० को असमान सन्धी तथा कोसी एवं महाकाली नदीमा भएको बिगतको सम्झौता असमान लाभको सिद्धान्तमा आधारित हुनु तथा उक्त सम्झौतामा नेपालमाथि धोका हुनु ।

खाटो नं. ८ः
सीमा आलड्ढः भारतबाट नेपाल फर्कने अधिकांश नेपालीहरु हरेक वर्ष सिमानामा रहेका भारतीय प्रहरीहरु तथा लुटेरा समूहको निसानामा पर्नु र धनमाल गुमाउनु । त्यस्तै भारतीय सीमा सुरक्षा दस्ताबाट सीमाका बस्तीहरुमा नियमित जस्तो हतियारसहित पसेर लुटपाट मच्चाउनु । जनजीवन आतंङ्कित बनाउनु ।

खाटो नं. ९ः
सीमा अतिक्रमण लगातार हुनु र आज पर्यन्त भैरहनु ।

खाटो नं. १०ः
नेपालको आन्तरिक राजनीतिमा कुटनैतिक मर्यादाको पालना समेत नगरी अत्यन्त धेरै र अनावश्यक हस्तक्षेप गर्नु । नेपालको बाह्य देश सँगको सम्बन्धलाई प्रत्येक चोटी संसयका नजरले हेर्नु ।

खाटो नं. ११ः
अन्तराष्ट्रिय सन्धि र सम्झौता विपरित नेपालका सिमा क्षेत्रमा ठुला बाँध निर्माण गरी सोका कारण वर्षेनी नेपालका हजारौं हजार हेक्टर जमिन डुबानमा पर्नु । लाखौं नागरिकहरु यसै डुबानका कारण विस्थापित तथा सुकुम्बासी बन्नु ।

माथि उल्लेख गरिएका यी घटनाहरु केहि प्रतिनिधि घटनाहरु मात्र हुन् । यी र यस्ता अनगिन्ति चोटहरुका कारण जसले जतिसुकै बखान गरे पनि नेपाल भारत सम्बन्ध सुमधुर बन्न सकेको छैन। यसका लागि भारतको बडप्पन, बडेभाइ प्रवृत्ति तथा अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुप्रथा नै प्रमुख रुपले जिम्मेवार देखिन्छन् ।

अन्त्यमा , आफ्नो भ्रमणका क्रममा भारतीय राष्ट्रपतिले नेपालमा जुन दृश्य देखे त्यो नै काफी छ अहिलेको यी दुई देशबीचको सम्बन्ध बुझ्नका लागि। जबसम्म आम नेपालीको रगत उमाल्ने काममा हामीले विगतमा गरेको हर्कत गलत थियो भनेर भारतले आत्म समीक्षा गर्दैन तबसम्म यो अवस्था चिरकाल पर्यन्त रहिरहने छ । भारतलाई यो दृश्यबाट पक्कै हेक्का हुनु पर्ने हो कि अब उप्रान्त आम नेपालीहरु आफ्ना घाउहरुमा कसैले नुनचुक दलिरहेको सहेर मात्र बसिरहने अवस्थामा छैनन् । सबैलाई थाहा छ आगोको सानो झिल्को नै काफी हुन्छ प्रलयको लागि ।

The post नेपाल-भारत सम्बन्धका खाटाहरु र भारतीय राष्ट्रपतिको नेपाल भ्रमण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles