नयाँ शक्ति नेपालको राजनीतिक कार्यदिशा वाम–लोकतन्त्र हुँदै समुन्नत समाजवादमा पुग्नुहो । नेपाल भर्खरै सामन्ती युगको अन्त्य भएर पूँजीवादी लोकतान्त्रिक युगको संक्रमणमा छ । नेपालमा शुरुको चरणमा समाजवाद–उन्मुख पूँजीवादको निर्माण गर्नु मुख्य कार्यभार हुनेछ भने पछिल्लो चरणमा समुन्नत समाजवादमा रुपान्तरण गर्नु प्रमुख कार्यभार हुनेछ ।
यो विषयलाई प्रष्ट पार्न केही सैद्धान्तिक छलफलको आवश्यकता पर्नेछ । यस क्रममा समाजवाद केहो ? समाजवादी चिन्तनको विकासक्रम कस्तो छ ? समाजवाद र पूँजीवादबीच के भिन्नता छ ? पूँजीवाद र साम्यवादको फ्यूजन वा तेस्रो बाटो भनिएको ‘प्रजातान्त्रिक समाजवाद’को अभ्यास र सम्भावना कस्तो देखियो ? समाजवादका शास्त्रीय सोच अबको दुनियाँमा क्रियाशील हुन सक्छन् कि सक्दैनन् ?पूँजीवाद, साम्यवाद र समाजवाद बीचको समानता वा भिन्नता केहो ? समाजवादको सामयिक चिन्तन, दर्शन र सिद्धान्त के हुन सक्छ ? आदि प्रश्नहरु आकर्षित हुनेछन् ।
सामान्यतया व्यक्तिवाद, खुल्ला बजार अर्थतन्त्र, निजत्व, मुनाफाको निर्वाध अधिकार, निजीकरण र निजी स्वामित्वको निर्वाध अधिकार भएको समाज व्यवस्थालाई पूँजीवाद भन्ने गरिएको छ भने त्यसको ठीक विपरित सामूहकिता, राज्यअर्थतन्त्र, सार्वजनिक स्वामित्व, मुनाफाविहीन अर्थतन्त्र, उत्पादन साधनहरुको राष्ट्रियकरण भएको समाज व्यवस्थालाई समाजवाद भन्ने गरिएको छ । अस्तित्वका दुई पक्षमध्ये नयाँ शक्ति नेपाल कुनै एक प्रणालीको पक्षपोषण गर्दैन । द्वन्द्ववादी विश्लेषण पद्धतिमा त्यो गलत कुरा हुनेछ ।
नयाँ शक्ति नेपालले व्यक्ति र समुदाय, निजत्व र सामूहिकता, सार्वजनिक स्वामित्व र निजी स्वामित्व, राष्ट्रियकरण र निजीकरण, राज्ययन्त्र र बजारतन्त्र, सेवा र मुनाफा, दुवै पक्षको सन्तुलित उपयोग गर्ने समाजवादको नयाँ मोडेल विकास गर्ने छ । यी दुई प्रवर्गमध्ये कुनै एक प्रवर्गको, एक पक्षको निरपेक्ष समर्थन वा विरोध गर्ने छैन । यस्तो समाजवादी ढाँचा आजसम्म भन्ने गरिएका समाजवादी ढाँचाहरु भन्दा फरक हुनेछ ।
समाजवादको पहिलो चिन्तनधारालाई ‘युटोपियन समाजवाद’ भन्ने गरिएको छ । पूर्वीया सभ्यताको ‘राम राज्य’ र पाश्चत्य जगतमा ‘प्लेटोनिक साम्यवाद’ को अवधारणाले यस्तो समाजवादी चिन्तनलाई प्रश्रय दिएको थियो । आधुनिक युरोपमा देखापरेको ‘फेबियन समाजवाद’ का कैयौं विशेषताहरु युटोपियन धारसँग मिल्दो जुल्दो थियो । काल्पनिक समाजवादीहरु ‘आध्यात्मिक कम्युन प्रणाली’मा समेत विश्वास गर्थे । बौद्ध गुम्बा, क्रिश्चियन चर्च र हिन्दू आश्रमहरुको उद्देश्य निजी सम्पतिविहीन जीवन प्रणालीको अभ्यास गर्नु थियो । युरोपेली पुनर्जागरण कालमा समाजवादी चिन्तनको यो भावधारा अझ बढी विकसित भयो । मीठा कल्पना, नैतिक उपदेश, भद्रता, आध्यात्मिक आदर्श, सादा जीवन पद्धति र गृहस्थ जीवनप्रतिको अविश्वासबाट यस्तो समाजवादी चिन्तन बनेको थियो । प्रुधो, सेन्ट साइमन, चार्ल्स फुरियर र रावर्ट ओवेनजस्ता थुप्रैयुरोपेली चिन्तकले समाजवादको योधारालाई अभ्यास गर्ने प्रयास गरेका थिए । तर त्यो सफल हुन सकेन । त्यो असफल हुनुका अनेक कारणहरु थिए, जसको चर्चा आज त्यति धेरै सान्दर्भिक छैन ।
समाजवादको दोस्रो भावधारालाई ‘राज्य नियन्त्रित समाजवाद’ भन्न सकिन्छ । उन्नाइसौं शताब्दीको धरातलीय यथार्थमा आधारित भएर माक्र्सवादी विचारको जन्म भयो । औद्योगिक क्रान्तिको युगको विपन्न सर्वहारा वर्गको दयनीयता र प्रारम्भिक पूँजीवादलाई आधार बनाएर माक्र्सले समाजवादको यो भावधारा विकास गरे । त्यसपछिका उनका अनुयायीहरुले यसलाई माक्र्सेली आदर्शअनुरुप अगाडि बढाउन सकेनन् । रुस, पूर्वी युरोपलगयात संसारका धेरै देशहरुमा यसको एक शताब्दी लामो अभ्यास भयो । तर समाजवादको यो भावधारामा पनि थुप्रै समस्याहरु देखिए ।
यसप्रकारको समाजवादका मुख्य तीनवटा कमजोरीहरु थिए । यस्ता समाजवादीसँग लोकतन्त्रको कुनै मूर्त र प्रष्ट ढाँचा थिएन । लोकतन्त्रका नाममा उनीहरुले जुन प्रकारको राजनीतिक प्रणालीको अभ्यास गर्न खोजे, त्यो ढाँचा लोकतन्त्र नै हो कि हैन भन्ने प्रश्न उठ्यो । अन्ततः उनीहरु एकदलीय अधिनायकवादको समस्यामा फसे । त्यसले सार्वभौम बालिक मताधिकार, विचार र संगठनको स्वतन्त्रताको प्रत्याभूति गर्दैनथ्यो । यस्तो समाजवादी अभ्यासबाट एकातिर पार्टी ब्यूरोक्रेसीको नयाँ सम्भ्रान्त शक्तिशाली वर्ग र अर्कातिर राज्यको कृपामा निर्भर रहनुपर्ने अधिकार विहिन तथा शक्ति र साधन विहिन वर्गउत्पन्न हुनपुग्यो ।
दोस्रो–उनीहरु निजी स्वामित्वविहीन, राज्यविहीन, मुनाफाविहीन, मुद्रा र अतिरिक्त मूल्यविहीन, वर्गविहीन समाजको कल्पना गर्थे । समाजवाद आफैमा एउटा वैचारिक आदर्श नभएर त्यस्तो समाज, जसलाई ‘साम्यवाद’ भनिन्थो, प्राप्त गर्ने माध्यमका रुपमा हेरिन्थ्यो ।
उनीहरु एकातिर समानतामा आधारित वर्गविहीन समाजकोकुरा गर्थे, अर्कोतिर पार्टीशक्ति र राज्य शक्तिकोदु रुपयोग गरी समाजमा नयाँ शोषक वर्गको विस्तार गरिरहेका हुन्थे । समाजमा नयाँ प्रकारको वर्गीय ध्रुवीकरण निम्त्याइरहेका हुन्थे । निजी स्वामित्वविहीन, राज्यविहीन, मुनाफाविहीन, मुद्रा र अतिरिक्त मूल्यविहीन, वर्गविहीन समाज निर्माण गर्नेकुनैप्रष्ट सोच र व्यवहार थिएन बरु त्यसको ठीक उल्टो मार्ग व्यवहारले समातेको थियो ।
तेस्रो–सम्पूर्ण उत्पादनका साधनको राष्ट्रियकरण गर्नु त्यसको मुख्य आर्थिक ढाँचा थियो । मूलतः निजी स्वामित्व र सार्वजनिक स्वामित्वबीचको गतिशील सन्तुलनलाई त्यसले कायम गर्न सक्दैनथ्यो । त्यहाँ मानिसलाई काम गर्न उत्प्रेरित गर्ने प्रतिफलहरु क्रियाशील हुन पाएनन् । पुँजीको पुनरुपात्दन हुन सकेन । फलतः उत्पादन घट्योर समाजवाद भनेको गरिबीको वितरण हो भन्ने स्थिति तयार भयो । सर्वहारा राज्यका नाममा गरीबीको गौरवीकरण गरियो। अन्ततः त्यसले काम गर्न सकेन ।
समाजवादको तेस्रो ढाँचा ‘प्रजातान्त्रिक समाजवाद’ लाई मान्न सकिन्छ । ‘प्रजातान्त्रिक समाजवाद’ संगै ‘सामाजिक लोकतन्त्र’ भन्ने शब्दावली पनि प्रयोग भएको पाइन्छ । यी दुई मान्यता बीच अन्तरकुन्तरका ससाना भिन्नता होलान् तर आधारभूत भिन्नता छैन ।
मूलतः लोकतन्त्रलाईस्वीकार गर्नेवामपन्थीहरु ‘सामाजिक लोकतन्त्र’ शब्द प्रयोग गर्न रुचाउँछन् भने समाजवादलाई स्वीकार गर्ने लोकतन्त्रवादीहरु ‘प्रजातान्त्रिक समाजवाद’ शब्दावली प्रयोग गर्न रुचाउँछन् । फरक बाटोबाट आए पनि यी दुबै मान्यताको मिलन भने एउटै विन्दूमा हुन्छ ।
युरोपेली समाजवादी आन्दोलनमा एडवर्ड बर्नस्टिनले यस्तो विचारधारालाई अनुप्रेरित गरेका थिए । रुसी अक्टोबर क्रान्तिको सेरोफेरोमा लेनिनसँग मतभेद गर्ने समाजवादीहरु विशेषतः कार्ल काउत्स्की र रोजा लक्जेम्बर्गले यो भावधारालाई प्रोत्साहित गर्न खोजे । दक्षिण एसियामा आचार्य नरेन्द्र देव, डा. राममनोहर लोहिया, जयप्रकास नारायण र वीपी कोइरालाजस्ता चिन्तकहरुको विचारको स्रोत पनि यही थियो ।
लेनिनको मृत्यु र स्टालिनको उदयपछि स्टालिनको शासन शैलीबाट विरक्तिएर युरोपेली लेनिनवादीहरुले एकदलीयताको विरोध र बहुदलीय व्यवस्थाको अबलम्बन गर्नथाले । विशेषतः पश्चिम युरोपमा यस्ता समाजवादीहरु थिए, जसले आफूलाई ‘युरो कम्युनिज्म’ भन्ने गर्दथे । उनीहरु र प्रजातान्त्रिक समाजवादीहरुका बीचमा खासैभिन्नता थिएन । फरक कति थियो भने युरो कम्युनिष्टहरु औपचारिक रुपमा आफूलाई ‘मार्क्सवादी–लेनिनवादी’ नै भन्थे तर प्रजातान्त्रिक समाजवादीहरु त्यसो भन्दैनथे ।
नेपालमा एमाले र उसको जनताको बहुदलीय जनवाद ‘युरोकम्युनिज्म’को राम्रो उदाहरण हो, कांग्रेस र एमालेको सैद्धान्तिक आधार फरक भएर पनि व्यवहार एउटै भएजस्तै स्थिति प्रजातान्त्रिक समाजवादी र युरो कम्युनिष्टहरुको थियो । प्रजातान्त्रिक समाजवादीहरु सोभियत अर्थनीतिहरुको सामान्यतया समर्थन गर्थे । उनीहरुले बुझेको समाजवादको अर्थनीति पनि मुख्य उत्पादन साधनहरुको राष्ट्रियकरण नै थियो । तर राजनीतिक प्रणालीमा उनीहरु संसदवाद, अर्थात् प्रतिनिधिमूलक लोकतन्त्रका समर्थक हुन्थे। नेपालमा नेपाली कांग्रेसले संसदीय प्रणालीलाई जड चिन्तनका रुपमा ग्रहण गरेजस्तै । लोकतन्त्रको निरन्तर समृद्धीकरणप्रति उनीहरुको खासै रुचि थिएन ।
प्रजातान्त्रिक समाजवादीहरुको दोस्रो समस्या समाजवाद र उदारवादको सीमारेखा प्रष्टसँग कोर्न नसक्नु थियो । कम्युनिष्टहरु शक्तिशाली हुँदा उनीहरु बढी समाजवादीजस्ता देखिन्थे । नवउदारवाद शक्तिशाली हुँदा उनीहरु पूँजीवादीजस्ता बन्न पुग्थे । सन् १९९० यता नेपालमा नेपाली कांग्रेसको दशा ठीक त्यस्तै छ । आफ्नो चिन्तन सुहाउँदो कुनै अर्थशास्त्रीय ढाँचा उनीहरुसँग कहिल्यै बनेन । तीव्र आर्थिक विकास,राज्य प्रणालीमा सुधार, स्वच्छ र पारदर्शी अर्थतन्त्र निर्माणको इच्छाशक्ति उनीहरुमा मुखरित हुन सकेन ।
प्रजातान्त्रिक समाजवादीहरुको अर्को समस्या आफ्नै सिद्धान्तहरु व्यवहारमा ल्याउँदा कैयौं व्यवहारवादी र रुढीवादी विचलन गर्नु थियो । संसारभरिकै प्रजातान्त्रिक समाजवादीहरु संवैधानिक राजतन्त्रलाई मान्दथे । भारतमा नेहरु, नेपालमा कोइरालाजस्ता अनेकन राजनीतिक वंशवादको जन्म प्रजातान्त्रिक समाजवादकै आवरणमा भयो । उदात्त र उन्मुक्त स्वतन्त्रताभन्दा बढी रुढीवाद प्रायोजित संकुचित लोकतन्त्रप्रति उनीहरुमा सम्झौतापरस्त दृष्टिकोण थियो ।
प्रजातान्त्रिक समाजवादीहरुको अर्को समस्या आफना विचारहरुको पुनरावलोकन गर्ने गतिशील दृष्टिकोण नहुनु हो । प्रारम्भमा सबै प्रजातान्त्रिक समाजवादीहरु आर्थिक समानता र राजनीतिक स्वतन्त्रतालाई अविभाज्यता वा एकत्वमा हैन, समिश्रण वा संविलयनमा हेर्दथे । साम्यवादमा आर्थिक न्याय हुन्छ, राजनीतिक स्वतन्त्रता हुँदैन, लोकतन्त्रमा राजनीतिक स्वतन्त्रता हुन्छ, आर्थिक न्याय हुँदैन, तसर्थ साम्यवादको आर्थिक न्याय लोकतन्त्रको राजनीतिक स्वतन्त्रतासँग मिसायो भने त्यो समाजवाद हुन्छ भन्ने नै आजसम्मका प्रजातान्त्रिक समाजवादीहरुको बुझाइ हो । यो धारणालाई शास्त्रीय रुपमा अहिले पनि उनीहरुले परिमार्जन गरेका छैनन् ।
नवउदारवाद र भूमण्डलीकरणको युगमा समन्यायिक अर्थतन्त्र पुनर्निमाणको कल्पना र योजना के हो भन्नेबारे विश्वभरि कै प्रजातान्त्रिक समाजवादीहरु मौन छन् । तसर्थ भूमण्डलीकरण, उत्तर औद्योगिकता र उत्तर आधुनिकताका चुनौतिलाई प्रजातान्त्रिक समाजवादले सामना गर्न सकिरहेको छैन । तीन प्रकारका समाजवादी अवधारणा विश्वमा क्रियाशील भइसकेका छन् । तिनीहरुको अभ्यास पनि भइसकेको छ । तिनीहरुका राम्रा नराम्रा थुप्रै पक्षहरु देखापरिसकेका छन् । तिनीहरुबाट हामी शिक्षा लिन सक्छौं तर ती कुनै पनि विचारधारालाई हामी जस्ताको त्यस्तै दोहोर्याउन सक्दैनौं । तसर्थ हामी समाजवादको कुनै पुरानो विरासतमा जोडिन वा अल्मलिन सक्दैनौं ।
हामी समाजवादको नयाँ र वैकल्पिक मोडेलको कुरा गर्दैछौं । त्यसका प्रमुख विशेषता यी हुनेछन्ः
पहिलो–हामी लोकतन्त्रबिनाको कुनै केन्द्रीकृत, नोकरशाही र अधिनायकवादी समाजवादको कल्पना गर्दैनौं । हामीले भनेको लोकतन्त्र प्रजातान्त्रिक समाजवादीहरुले भने जस्तो संसदवाद वा प्रतिनिधिमूलक लोकतन्त्र पनि हैन, त्यो सहभागितामूलक लोकतन्त्र हो भन्ने कुरा अघिल्लो भागमा नै प्रष्ट भइसकेको छ ।
दोस्रो– राज्यवादी, बजारवादी, सार्वजनिक स्वामित्ववादी वा व्यक्तिवादी, द्वन्द्ववादको कुनै एउटा भाग वा एउटा प्रवर्गलाई समातेर हामी त्यसको पक्षपोषण गरेर हिड्ने छैनौं । हामीले भनेको समाजवादमा व्यक्ति र समुदाय, राज्य र बजार, स्वतन्त्रता र नियन्त्रण, निजत्व र सामाजिकता, वैयक्तिकता र सामूहिकता, निजी स्वामित्व र सार्वजनिक स्वामित्व, श्रम र पूँजी आदि प्रवर्गले एकले अर्कालाई निषेध गर्ने छैनन्, ती दुईको गतिशील सन्तुलनमा समाज र अर्थतन्त्रको गति कायम हुनेछ ।
तेस्रो–समाजवादको उद्देश्यलाई हामी कुनै राज्यविहीन, वर्गविहीन, मुनाफाविहीन समाजको आर्दश कल्पनासँग जोड्न चाहँदैनौं । हाम्रो जीवनकालमा हामी त्यो गर्न सक्दैनौं । कुनै दिन गर्न सकिने, हुन सकिने सम्भावना देखिएछ भने त्यतिखेरैको पुस्ताले त्यो काम गर्नेछ । हामी जनतासामु झुठ बोल्न चाहँदैनौं । पूरा गर्न नसक्ने वाचा गर्न चाहँदैनौं । तसर्थ समुन्नत समाजवाद हाम्रा लागि मुख्य लक्ष्य हो । वर्गीय, जातीय, लैंगिक तथा क्षेत्रगत असमानता र सबैप्रकारका विभेदको अन्त्यसहितको सामाजिक सुरक्षा र न्यायको प्रत्याभुति दिनु नै यसको मुख्य अभिष्ट हुनेछ ।
चौथो– समुन्नत समाजवादमा श्रमसिद्ध निजी सम्पत्तिको पवित्रतालाई पूर्ण सम्मान गरिनेछ । व्यक्तिलाई निजी स्वामित्व राख्ने, पेशा व्यवसाय गर्ने, मुनाफा कमाउने पूर्ण स्वतन्त्रता हुनेछ । तर ती सबै अधिकारहरु नागरिक हित अधिनस्थ हुनेछन् । सबै नागरिकको समानता, न्याय, स्वतन्त्रता, स्वास्थ्य, सुविधा, खुशी, र जीवनस्तरलाई प्रतिकूल असर नपर्ने गरी व्यवसाय गर्न आवश्यक नियमन गरिनेछ ।
पाँचौं– केही महत्वपूर्ण सार्वजनिक क्षेत्रलाई राजकीय स्वामित्व वा बलियो राजकीय नियमन, रेखदेखमा ल्याइने छ । विशेषतः राष्ट्रिय सुरक्षा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई सार्वजनिक स्वामित्व र दायित्वभित्र राखिनेछ । बाँकी क्षेत्रलाई निजी स्वामित्वमा रहन दिइनेछ । उत्पादनका साधनको आम रुपमा राष्ट्रियकरण÷सामाजिकीकरण गरिने छैन, तर उत्पादनका लाभहरुको भने समन्यायिक वितरण गरिनेछ सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सन्तुलनको निरन्तर पुनरावलोकन गरिनेछ ।
छैठौं– समुन्नत समाजवाद उदात्त र उन्मुक्त मानवीय स्वतन्त्रतामा आधारित हुनेछ । कुनै किसिमको रुढीवाद, वंशवाद, संकुचन र सीमितीकरणलाई प्रोत्साहन गरिनेछैन । नागरिक आफू खुशी जीवनशैली रोज्न स्वतन्त्र हुनेछन् । मानिसको उन्नतिको आधार ज्ञान, सीप, क्षमता, मेहनत र विवेक हुनेछ । समानुपातिक समावेशिता र मेरिटोक्रेसीबीच गतिशील सन्तुलन कायम गर्ने प्रयास गरिनेछ । समुन्नत समाजवाद भनेको सुव्यवस्थित र समृद्ध साँस्कृतिक, वैचारिक तथा राजनीतिक बहुलता र गम्भीर विविधतामा प्रगाढ एकताको संयोजन र परिस्कृत संघीयता पनि हो ।
सातौं–समुन्नत समाजवादमा भूमि सुधारको परिभाषा परिमार्जित गरिनेछ । भूमि सुधारको अर्थ भूस्वामित्वको पुनर्वितरण मात्र नभएर समग्र भूव्यवस्थापन हो । भूस्वामित्व नीतिलाई प्रभावकारी अनुगमन गर्ने, प्रत्येक नागरिकको भूस्वामित्वलाई एउटै लालपूर्जामा ल्याउने, आधारभूत आवास सुविधालाई प्रत्याभूत गर्ने, वास्तविक सुकुम्बासीलाई एकपटक न्यूनतम् आवासीय जमिन उपलब्ध गराउने, कृषिको वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकीकरणका साथै भूमिको उत्पादकत्व र सामाजिक न्याय समेतका आधारमा समग्र भूमि नीति निर्धारण गर्ने कार्य गरिनेछ ।
आठौं– प्राकृतिक स्रोत साधनको दीगो उपयोग र उर्जा विकास कुनैपनि देशको अर्थतन्त्र निर्माणको मुख्य पक्ष हुन्छ । पूँजीवादी मुनाफाको लोभले प्राकृतिक स्रोत साधनको असन्तुलित शोषण र दोहन गर्दछ । तसर्थ ‘वातावरणवाद’ समाजवादको अभिन्न अंग सरह हो । साथै आधारभूत उर्जामा आत्मनिर्भर नभएको देशको अर्थतन्त्र कहिल्यैसन्तुलनमा आउन सक्दैन । त्यतिखेर समाजवाद एउटा फोस्रो नारा मात्र हुनेछ ।
नवौं–नयाँ शक्ति नेपालले समाजवादका नाममा गरिवीको वितरण गर्ने, दरिद्रतालाईगौरवीकरण गर्नेकाम गर्नेछैन । हामीलेअब ‘सर्वहाराकरण’ कोहैन, ‘समृद्धीकरण’लाई प्रोत्साहित गर्नु पर्दछ । हरेक व्यक्तिलाई जायज र वैधानिक विधिद्वारा धनी हुन प्रेरित गर्नुपर्दछ । समाजमा उपलब्ध अवसरहरुको वितरण र पहुँचलाई सहज बनाउने नीति र कार्यक्रम हुनुपर्दछ । मान्छे धनी, खुशी र सुखी हुने प्रक्रियालाई रोक्नु समाजवाद हैन । बरु धेरैभन्दा धेरै मानिसलाई धनी बनाउनु समाजवाद हो । समुन्नत समाजवादमा सबै नागरिकलाई जीवनका न्यूनतम आवश्यकता र सामाजिक सुरक्षाको सुनिश्चितता गरिनेछ ।
दशौं– हामी समाजवाद निर्माणको वैकल्पिक बाटो विकास गर्नेछौं । त्यो बाटो मूलतः तत्काल विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठोस परिस्थितिको ठोस विश्लेषणमा आधारित हुनेछ । सैद्धान्तिक रुपमा त्यो बाटो न त बर्नस्टीनले भनेजस्तो ‘क्रमिक विकास’ (Gradual Evoulution) न त लेनिनले भनेजस्तो ‘हिंसात्मक क्रान्ति’ (Vioelnt Revolution) को बाटो हुनेछ, बरु त्यो ‘आमूल रुपान्तरण’ (Radical Transformation) को बाटो हुनेछ । त्यसको तीनवटा मुख्य तत्व/अंग हुनेछन्ः पहिलो– विद्यमान प्रणालीका कतिपय अंगहरुको अग्रगामी रुपान्तरण, दोस्रो– नयाँ अंगहरुको निर्माण (जस्तै– सामुदायिक उत्पादन र व्यवस्थापन प्रणाली इत्यादि), र तेस्रो– पुरानो प्रणालीभित्रका बाधक र काम नलाग्ने अंगहरुको निषेध । सडक, सदन र सरकारका तीनवटै क्षेत्रका संयोजित गतिविधिमार्फत् समाजवादको निर्माण गरिनेछ ।
अन्तिम प्रश्न– यस्तो समाजवादलाई के नाम दिनु उचित हुन्छ त ? नाम मुख्य प्रश्न हैन, मुख्य प्रश्न अन्तर्वस्तु हो । अहिलेलाई यसलाई हामीले ‘समुन्नत समाजवाद’ भनेका छौं । यसका दुईवटा अर्थ हुन्छन् । पहिलो– यो आजसम्मका सबै पूर्ववर्ती समाजवादी विचारबाट शिक्षा लिएर अगाडि आएको समाजवादी चिन्तन हो । तसर्थ यो अहिलेसम्म कै समुन्नत समाजवादी चिन्तन हो ।
दोस्रो– यसले हरेक नागरिकलाई स्वतन्त्र, धनी, खुशी, सुखी र सम्पन्न बनाउने उद्देश्य राख्दछ । तसर्थ यो ‘समुन्नत समाजवाद’ हो ।
(नयाँ शक्ति नेपालको राजनीतिक दस्तावेजबाट)
The post अब यस्तो हुनुपर्छ वैकल्पिक राज्य व्यवस्था appeared first on Sajha Post.