Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

‘नेताको आलोचना गरौं, चाकरीवाज वा पिछलग्गु नबनौं’

$
0
0

Narayankaji_Shrestha

नेपाली समाजको लोकतान्त्रीकरण एवम् रुपान्तरणको पछिल्लो प्रक्रियालाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको आजको यो विन्दूसम्म पुर्‍याउने कार्यमा नेपालका राजनैतिक नेताहरुमा हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री क. प्रचण्डको योगदान सबभन्दा महत्वपूर्ण रहेको छ भन्ने यथार्थलाई कसैले नकार्न सक्दैन ।

हामी अध्यक्ष क. प्रचण्डको नेतृत्वमा नै पार्टी,आन्दोलन र देशलाई अझ अघि बढाउन चाहन्छौं । यो नै हाम्रा लागि सबैभन्दा राम्रो विकल्प हुन सक्छ भनेर नै यस दिशामा प्रयत्न गरिराखेका छौं ।

तर यस सम्बन्धमा तत्कालिकरुपमा दुईटा कुरामा स्पष्ट हुनु आवश्यक छ ।

एक, नेतृत्वसँगको सम्बन्ध द्वन्द्वात्मक हुनुपर्छ । नेतृत्वको सकारात्मक पक्षको समर्थनसहित दृढतापूर्वक रक्षा र नकारात्मक, कमजोर एवं गलत पक्षहरुको सच्च्याउने उद्देश्यद्वारा आलोचना, विरोध र संघर्ष । जसले यो दृष्‍टिविन्दू लागू गर्दैन ऊ या त यान्त्रिक चिन्तनमा आधारित पिछलग्गु वा निजी स्वार्थ प्रेरित चाकरीवाज हो या आदर्शवादी शुद्धतावादमा आधारित निरपेक्ष आलोचक वा व्यक्तिवादको अर्को कोणमा आधारित निषेधक । यी दुवै प्रवृत्ति गलत हुन् । जसले नेता, पार्टी, आन्दोलन र देशलाई समेत नोक्सान पुर्‍याउँछ।

हाम्रो एउटा समस्या नेतृत्वलाई मान्नु भनेको सधैं सबै कुराको समर्थन गर्नुपर्छ भन्नु हो । आफ्नो निजी स्वार्थपूर्तिको लागि नेतृत्वलाई गलत भन्दा गलत काम गर्न लगाउनु वा नेतृत्वले आफू स्वयं, पार्टी, आन्दोलन र देशलाई नै नोक्सान पुग्ने जस्तोसुकै गलत काम गरे पनि अन्ध समर्थन गर्नु र उक्साउनु आज देखा परेको ज्यादै घातक प्रवृत्ति हो । आफ्नो तत्कालिक निजी स्वार्थबाहेक केही नदेख्ने यो प्रवृत्तिले नेतृत्व र पार्टी पातलमा पुगे पनि केही मतलब गर्दैन । नेतृत्वको अन्धसमर्थन र चाकरीमा प्रस्तुत हुने यसले वास्तवमा नेतृत्व र पार्टीलाई अन्तत: समाप्त गर्ने भूमिका खेल्दछ।

सच्चा क्रान्तिकारीहरुले सहीलाई सही र गलतलाई गलत भन्नुपर्छ र नेतृत्वलाई गल्ती कम्जोरीबाट समयमै बचाउँदै रुपान्तरणमा सहयोग गर्नुपर्छ। यसरी मात्र नेतृत्व, पार्टी एवं आन्दोलनको रक्षा एवं विकास गर्न सकिन्छ। निजी स्वार्थ लम्पटहरुले जे-जे भनेर अहिले कराए पनि नेतृत्व, पार्टी, क्रान्तिकारी आन्दोलन र देशको निम्ति यसरी अगाडि बढ्नैपर्छ । अन्यथा पश्चात्तापबाहेक केही बाँकी हुनेछैन ।

दुई, परम्परागत संसदवादी पार्टीहरुले समेत संसदीय व्यवस्थामा आफ्नो सरकारको सम्पूर्ण कुराको समर्थन गर्दैन । मुलभुतरुपमा समर्थन गर्दै कतिपय कुरामा आलोचना गर्छ । गठबन्धन सरकारको हकमा त झन् कुनै पार्टीले पनि आफू रहेको सरकारको हरेक कुराको समर्थन गर्दैन, गर्न सक्दैन। मुलभुतरुपमा समर्थन गर्दै गलत कार्यको विरोध गर्दछ र सरकारसँग कतिपय माग राख्दछ।

हाम्रो पार्टी एक क्रान्तिकारी पार्टी हो र अहिलेको परिवर्तन महत्त्वपूर्ण परिवर्तन भएपनि राज्य संयन्त्र र संरचनाको पूर्ण क्रान्तिकारीकरण भईसकेको ठान्दैन । यस स्थितिमा हाम्रो पार्टीले सरकारको निर्णय एवं काममा नै पार्टीको सम्पूर्ण नीति, कार्यक्रम र योजना घुलन भईसकेको ठान्दैन । त्यसमाथि अहिलेको गठबन्धन सरकारको सन्दर्भमा त यो कुरा कल्पना पनि गर्न सकिन्नँ । त्यसैले सरकारबाट भएगरेका गल्ती कम्जोरीको आलोचना वा विरोध गर्नु पार्टी तथा नेताहरुको जिम्मेवारी हुन्छ । हो, सरकारको सञ्चालन पार्टीको संस्थागत निर्णयबाट हुन सकेको अवस्थामा यो स्थिति स्वत: केही कम हुन जान्थ्यो ।

त्यसैले सरकारको राष्ट्रिय महत्वका कार्यभार पूरा गर्न र सरकारलाई प्रभावकारी एवम् परिणाममुखी बनाउन सम्पूर्ण पार्टी एक ढिक्को होऔं । संस्थागत संचालन एवं निर्णय प्रकृयाद्वारा गल्ती-कमजोरीलाई कम भन्दा कम बनाउने प्रयत्न गरौं र गल्ती-कमजोरी भए आलोचना गरौं र पार्टीलाई सरकारसंग विलय गराउने गल्तीबाट बचौं । पार्टीले आफ्नो एेतिहासिक क्रान्तिकारी कार्यभार पूरा गर्न लामो समयसम्म संघर्ष गरी राख्नु पर्दछ भन्ने तथ्यलाई नबिर्सौं ।

The post ‘नेताको आलोचना गरौं, चाकरीवाज वा पिछलग्गु नबनौं’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles