भारतीय राष्ट्रपति प्रणव मुखर्जी भाइटिकाको भोलिपल्ट नेपाल भ्रमणमा आउँदैछन् । करीब अठार वर्षपछि भारतका राष्ट्र प्रमुखबाट हुन लागेको यो भ्रमणको ऐतिहासिक र कुटनीतिक महत्व छ । यो भ्रमणले नेपाल भारत सम्बन्धमा निकट अतितमा उत्पन्न तिक्तता र वैमनस्य हटाउने र हार्दिकता थप्ने विश्वास गरिएको छ । भारतबाट विगतमा थोपरिएको अघोषित नाकाबन्दीका कारण रुष्ट नेपाली जनमतलाई शान्त पार्ने मात्र हैन, अविश्वास र शंका मेटाई पारस्परिक हितमा जुट्ने अवसरका रुपमा यो भ्रमणको भरपुर उपयोग गर्न सकिन्छ ।
राष्ट्रपति मुखर्जी भारतीय राजनीतिका परिपक्व व्यक्तित्व भएकाले नेपाल र नेपालीको मर्मलाई उनी बुझ्न सक्छन् । नेपाली भाषीहरुप्रति उनको विशेष स्नेह रहेको देखिन्छ । गएको असार महिनामा नेपाली भाषीहरुको बाहुल्य रहेको भारतको पहाडी शहर दार्जीलिङमा आयोजित २ सय २ औं भानु जयन्ती समारोहमा राष्ट्रपति मुखर्जी सहभागी भएका थिए । केन्द्रीय कृषिमन्त्री एसएस अहलुवालिया र पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीका साथ उनले भानु जयन्ती मनाएका थिए । राष्ट्रपति नै सहभागी भएर भानु जयन्ती मनाइएको त्यो पहिलो घटना थियो, जसबाट नेपाली भाषीप्रति मुखर्जीको सद्भाव आंकलन गर्न सकिन्छ ।
विगतमा सात संसदवादी र माओवादीबीच दिल्लीमा बाह्र बुँदे समझदारी हुँदा मुखर्जी भारतका विदेशमन्त्री र काँग्रेसका वरिष्ठ नेता थिए । नेपालमा शान्ति प्रक्रिया प्रारम्भ गराउनमा उनको पनि विशेष भूमिका रहेको थियो । नेपालमा शान्ति प्रक्रिया सुरु भएपछि २०६५ मंसिर ९ देखि ११ सम्म विदेशमन्त्रीका रुपमा मुखर्जीले नेपाल भ्रमण गरेका थिए । त्यसबेला उनले विवादास्पद १९५० को सन्धी, कोसी तटबन्ध पुननिर्माण, सीमा, सुरक्षा, व्यापार र लगानीलगायतका आपसी सम्बन्धका विषयमा कुराकानी गरेका थिए । यसबाट के स्पष्ट हुन्छ भने द्विपक्षीय विषयहरुका बारेमा मुखर्जी गहिरो दख्खल राख्छन् ।
२०७३ सालमा नेपालमा नयाँ संविधान जारी भएपछि भारतको संस्थापन पक्षबाट असन्तुष्टिका स्वर आइरहेको बेला राष्ट्रपति मुखर्जी नै थिए, जसले नेपालको संविधानप्रति खुलेर समर्थन जनाएका थिए । सत्तारुढ दल र अन्य भारतीय पक्षको बोलीभन्दा ठिकविपरित उनले नेपालको संविधानको विरोध गर्नुको कुनै तुक नरहेको बताएका थिए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला राष्ट्रपति मुखर्जीले ओलीसँगको भेटवार्ताका क्रममा भनेका थिए, ‘नेपालको संविधान त्यहाँको आन्तरिक दस्तावेज भएकाले यसमा भारतले असन्तुष्टी जनाउनुपर्ने या समर्थन नगर्नुपर्ने कुनै कारण छैन । नेपालप्रति भारतीय जनता र नेतृत्वको सद्भाव कायमै छ ।’
विगतमा सात संसदवादी र माओवादीबीच दिल्लीमा बाह्र बुँदे समझदारी हुँदा मुखर्जी भारतका विदेशमन्त्री र काँग्रेसका वरिष्ठ नेता थिए । नेपालमा शान्ति प्रक्रिया प्रारम्भ गराउनमा उनको पनि विशेष भूमिका रहेको थियो । २०६५ मंसिर ९ देखि ११ सम्म विदेशमन्त्रीका रुपमा मुखर्जीले नेपाल भ्रमण गरेका थिए ।
पश्चिम बंगालमा ११ दिसम्बर १९३५ मा जन्मिएका मुखर्जी भारती राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता भइसकेका छन् । आफ्ना पिता स्वतन्त्रता सेनानी कामदा किँकर मुखर्जीकै पथ पछयाउँदै उनी काँग्रेसको राजनीतिमा लागेका थिए । कलकत्ता विश्वविद्यालयबाट इतिहास र राजनीतिक विज्ञानमा स्नातकोत्तरका साथै कानूनको डिग्री हासिल गरेका मुखर्जी कुनैबेला वकिल र कलेजको प्राध्यापकको भूमिका निर्वाह गर्थे । पछि उनी पत्रकार पनि भए र बँगला प्रकाशन ‘मातृभूमिको पुकार’ नामक पत्रिकामा काम पनि गरे । साहित्यको पनि सेवा गरे ।
उनको संसदीय अनुभव पाँच दशक लामो छ । पहिलो पटक १९६९ मा काँग्रेस पार्टीको राज्यसभा सदस्यका रुपमा उनले संसदमा प्रवेश गरेका थिए । सन् १९८४ मा उनी भारतको अर्थमन्त्री बने । सोही साल प्रकाशित युरोमनी नामक पत्रिकाले गरेको एक सर्वेक्षणमा मुखर्जीलाई ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ घोषित गरिएको थियो । उनी अर्थमन्त्री हुँदा डा. मनमोहन सिंह भारतीय रिजर्भ बैंकको गर्भनर थिए, जो कालान्तरमा भारतको प्रधानमन्त्री बने ।
इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धी समर्थकहरुले मुखर्जीलाई केही समय काँग्रेसबाटै निकालिदिएका थिए । त्यसबेला उनले ‘राष्ट्रिय समाजवादी काँग्रेस’ नामक आफनै बेग्लै दल खोलेका थिए । सन् १९८९ मा राजीव गान्धीसँग सम्झौता भएपछि मुखर्जीले आफ्नो दललाई काँग्रेसमा विलय गराइदिए । पिवी नरसिंह रावको पालामा उनलाई योजना आयोगको उपाध्यक्ष बनाइयो । पछि उनलाई क्याबिनेट मन्त्री बनाइयो । रावको मन्त्रीमण्डलमा उनले सन् १९९५ मा पहिलो पटक विदेशमन्त्रीको रुपमा काम गरेका थिए । सन् १९९७ मा उनी उत्कृष्ट सांसद घोषित भएका थिए ।
सन् २००४ मा काँग्रेसको गठबन्धन सरकार हुँदा प्रधानमन्त्री मनमोहन सिंह केवल राज्यसभा सांसद मात्र थिए । अतः लोकसभा सदस्य मुखर्जीलाई नै संसदीय दलको नेता बनाइएको थियो । सोही कालखण्डमा उनलाई रक्षा, वित्त, विदेश, राजस्व, नौवहन, परिवहन, संचार, आर्थिक मामला, वाणिज्य र उद्योग मन्त्री बन्ने अवसर प्राप्त भयो । सन् २००८ मा भारतको नागरिक सम्मान पद्यभुषणबाट उनी सम्मानित भएका थिए ।
नेपाल बुझेका, नेपाललाई माया गर्ने अनि राजनीतिक र आर्थिक ज्ञानले धनी राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आउँदा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उनको भव्य स्वागत हुँदैछ । भण्डारी र प्रचण्ड दुवै वाम आन्दोलनबाट उदाएका नेताहरु हुन् । हुन त लामो समयसम्म नेपालका कम्युनिष्ट र भारतको सम्बन्ध त्यति सुमधुर रहन सकेन । तर अहिले आएर परिस्थिति बदलिएको छ । भारतसँग भिडेर हैन, मिलेर नै नेपालको हित हुनसक्छ भन्नेमा नेपालका कम्युनिष्टहरु पनि सहमत भइसकेका छन् ।
उता, नेपाललाई हेपेर र पेलेर मात्र हैन, स्नेहको सिंचन गरेर मात्र विश्वास जित्न सकिन्छ भन्नेमा भारतीय पक्षको पनि सोच विकास भएको देखिन्छ । नाकाबन्दीको कटुतापूर्ण अवस्थामा गुणात्मक सुधार आएर अहिले नेपाल र भारतबीच मित्रताको नयाँ परिवेश बन्दैछ । कुटनीतिक सम्बन्धमा मुखर्जीको भ्रमणले हार्दिकता झन थप्ने र सौहार्दता बढाउने विश्वास गरिएको छ । भारत र चीनबीचको सन्तुलित सम्बन्ध नै नेपालको हितमा हुने कुरामा करीब–करीब राष्ट्रिय सहमति कायम भइसकेको छ ।
मुखर्जी आफै पनि परिपक्व नेता भएकाले पक्कै पनि यो भ्रमणमा भारतका तर्फबाट नेपालका लागि केही ‘सरप्राइज प्याकेज’ त आउने नै छ । साथमा दुई देशको युगौंदेखिको मैत्रीपूर्ण सम्बन्धमा ‘चार चाँद’ लाग्ने छ ।
भारतीय राष्ट्रपतिको भ्रमणमा कुनै दुरगामी सम्झौता पक्कै हुने छैनन् । हुने कुरा पनि आएन । यो मित्रताको जग अझ बलियो बनाउन भइरहेको भ्रमण हो, सद्भावना भ्रमण हो । अतः यो भ्रमणका क्रममा दुवै पक्षले एक–अर्कालाई अझ निकट ल्याउने कोशिस गर्ने हो । विगतमा लागेको घाउमा मल्हम दल्ने कोशिस गर्ने मात्र हो । विश्वासको वातावरण बनाउन हर सम्भव कोशिस गर्ने हो ।
मुखर्जी आफै पनि परिपक्व नेता भएकाले पक्कै पनि यो भ्रमणमा भारतका तर्फबाट नेपालका लागि केही ‘सरप्राइज प्याकेज’ त आउने नै छ । साथमा दुई देशको युगौंदेखिको मैत्रीपूर्ण सम्बन्धमा ‘चार चाँद’ लाग्ने छ । अतः मुखर्जीको भ्रमणबाट सद्भावनाबाहेक हामीले अर्थोकको आशा पनि गर्नु हुँदैन । किनकी, अहिले सबैभन्दा जरुरी चिज भनेकै सद्भावना, विश्वास र पारस्परिक सहयोगको वातावरण हो । मुखर्जीको भ्रमणबाट त्यो आशा पूरा हुने र दुई देशको सम्बन्धमा मिठास घोलिने चाँहि पक्का छ ।
The post के होला राष्ट्रपति मुखर्जीको ‘सरप्राइज प्याकेज’ ? appeared first on Sajha Post.