Quantcast
Channel: विचार – Sajha Post
Viewing all articles
Browse latest Browse all 942

सार्क स्थगन : साँढेको जुधाई, बाच्छाको मिचाई

$
0
0

काठमाडौं । भारत र पाकिस्तानको आपसी खिचातानीका कारण दक्षिण एसियाली सहयोग संगठन सार्ककै भविष्य अन्यौलमा परेको छ । यही नोभेम्बरमा पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्कको १९ औं शिखर सम्मेलन स्थगित भएपछि क्षेत्रिय शान्ति खल्बलिने हो कि भन्ने सन्त्रास कुटनीतिक क्षेत्रमा व्याप्त छ । भारत र पाकिस्तान भने सिमामा भिड्न थालेका छन् ।

गत १८ सेप्टेम्बरमा जम्मू–कश्मीरको उरीमा भारतीय सेनाको क्याम्पमा भएको आतंकवादी हमलामा १८ जना भारतीय सैनिकको मृत्यु भए यता दक्षिण एसियामा अशान्तिको नयाँ सिलसिला सुरु भएको हो । भारतले त्यस हमलामा संलग्न आतंकवादीलाई पाकिस्तानले संरक्षण प्रदान गरेको दावी गर्‍यो । हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभामा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै कडा शब्दमा विरोध जनाइन् । भारतले अहिले सीमा क्षेत्रमा आतंकवादविरोधी सर्जिकल अपरेशन सुरु गरेको दावी गर्दै आएको छ । केही मानिसहरु मारिएका छन् । तर, संयुक्त राष्ट्रसंघले भने भारतको सो कदमप्रति प्रश्न खडा गरेको छ ।

modi-and-nawaf-sarifउरीमा भएको आतंकवादी हमलापछि भारतले सार्क अध्यक्ष नेपाललाई पत्र पठाउँदै सम्मेलनमा आफु सहभागी नहुने जानकारी दिएको थियो । भारतले सम्मेलनमा सहभागी नहुने अडान लिएपछि बंगलादेश, भुटान र अफगानिस्तानले पनि सम्मेलन बहिष्कार गर्ने निर्णय गरे । सन् १९८५ मा सार्क संगठन स्थापनापछि पहिलो पटक भारतले सम्मेलन बहिष्कार गर्ने निर्णय गरेको हो । भारतलगायत सार्क मुलुकहरुले पनि पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएकोमा विरोध जनाउँदै सम्मेलनमा सहभागी नहुने निर्णय गरेपछि सम्मेलन स्थगित भएको हो । सार्क विधानअनुसार कुनै एक सदस्य मुलुकले सहभागी नहुने निर्णय गरेमा सम्मेलन स्वतः स्थगित हुन्छ । नेपालको परराष्ट्र मन्त्रालयले भने विज्ञप्ति जारी गर्र्दै नेपालले सम्मेलन स्थगित नगर्ने निर्णय गरेको थियो । विज्ञप्तिमा भनिएको थियो, ‘सार्क राष्ट्रको अध्यक्ष भएको नाताले नेपाल सरकार तत्काल सार्क शिखर सम्मेलन गर्नका लागि सबै राष्ट्र सहभागी हुने वातावरण मिलाइयोस् भन्ने आग्रह गर्दछ ।’

दुवै मुलुकलाई मिलाएर सार्कलाई अघि बढाउने सम्भावना करीब करीब देखिँदैन । किनकी, भारत र पाकिस्तानबीच कश्मीरको विवाद हल हुनु र भ्यागुताको धार्नी पुग्नु उस्तै–उस्तै हो ।

भारत र पाकिस्तानबीचको आपसी खिचातानी यस क्षेत्रको एउटा ‘क्रोनिक रोग’ भइसकेको छ । यो तत्काल निको हुने लक्षण छैन । यस्तोमा सार्कलाई अहिलेकै ढर्राबाट सञ्चालन गरीरहने कि यसको अन्य विकल्प खोज्ने भन्ने प्रश्न कुटनीतिक क्षेत्रमा खडा भएको छ । या त भारत र पाकिस्तानले आपसी खिचातानीलाई सार्कमा ल्याउन नहुने या यी दुई मुलुकमध्ये एउटाले सार्क छोड्ने । यी दुई विकल्प मात्र छन् । दुवै मुलुकलाई मिलाएर सार्कलाई अघि बढाउने सम्भावना करीब करीब देखिँदैन । किनकी, भारत र पाकिस्तानबीच कश्मीरको विवाद हल हुनु र भ्यागुताको धार्नी पुग्नु उस्तै–उस्तै हो ।

किनकी यो आजको समस्या हैन । सन् १९६५ मा जम्मू र कश्मीरमा आफ्नो आधिपत्य जमाउने विषयलाई लिएर त्यो वर्षको अप्रील महिनादेखि सेप्टेम्बरसम्म भारत र पाकिस्तानबीच युद्ध भएको थियो । पाँच महिनासम्म चलेको युद्धमा दुवैतर्फ हजारौं मानिस मारिएका थिए । त्यो युद्ध अधिकांश थल सेनाले लडेका थिए । भारत र पाकिस्तानमा १९४७ मा विभाजनताका नै कश्मीरको विषयमा विवाद चल्दै आएको थियो र त्यसैबेला पनि पहिलो युद्ध भइसकेको थियो ।

दुवै मुलुकबीच एउटा बन्जर क्षेत्र ‘कच्छ रण’का विषयमा बढी विवाद थियो । १९६५ को २० मार्चमा कच्छ रण क्षेत्रमा दुवै मुलुकबीच झडप हुन थाल्यो । हुन त झडप सुरु भइसकेपछि १ जूनमा तत्कालीन ब्रिटिश प्रधानमन्त्री ह्यारोल्ड विल्सनले दुवै पक्षबीच युद्धविराम गराएर विवाद समाधान गर्न एक निष्पक्ष न्यायालय खडा गरिदिएका थिए । त्यो न्यायालयले कच्छ रण क्षेत्रको करीब ९ सय वर्ग किलोमिटर जमीन पाकिस्तानलाई उपलब्ध गराइदिएको थियो । तर पाकिस्तानको दावी भने ३५ सय वर्ग किलोमिटर जमीनमा थियो ।

पाकिस्तानका तत्कालीन विदेशमन्त्री जुल्फिकर अली भुट्टो (बेनजीर भुट्टोका पिता)ले राष्ट्रपती तथा सेनाअध्यक्ष जनरल अयूब खानलाई युद्ध नछाड्न र कश्मीरमा हमला गर्न दबाब दिए । नभन्दै पाकिस्तानले गुप्त सैनिक अभियान ‘अपरेशन जिब्राल्टर’ कश्मीरमा परिचालन गर्‍यो । अमेरीकाले एउटा खुफिया जानकारीमार्फत भारतलाई के सूचना दियो भने विवादास्पद क्षेत्रमा पाकिस्तानी सेना घुसेका छन् । अनि त झडप सुरु भइहाल्यो । अगस्ट महिनासम्म आइपुग्दा नियन्त्रण रेखा पार गर्र्दै दुवै मुलुकका सेनाहरु अघि बढ्न थाले । दुवै पक्षका थल सेनाहरुबीच भीषण युद्ध भयो । सेप्टेम्बरसम्म आइपुग्दा युद्धमा भारतीय सेनाका ३ हजार र पाकिस्तानी सेनाका ३८ सय जवान मारिइसकेका थिए ।

सवाल सार्कको मात्र हैन, अबको युगको आर्थिक बागडोर एसियाले हाँक्ने कि नहाँक्ने भन्ने प्रश्न पनि हो । भारत र चीन, अनि भारत र पाकिस्तानबीच कटुता बढदै गएमा क्षेत्रीय अशान्ति बढ्नेमा दुईमत नहोला । यस्तोमा खेल्ने भनेको ‘फिरंगी’हरुले मात्र हो ।

भारतले सियालकोट, लाहौर र कश्मीरका खेतीयोग्य भूमिसहित ७ सय १० वर्ग किलोमिटर क्षेत्रमा र पाकिस्तानले सिन्ध र छम्बसहित २ सय १० किलोमिटर क्षेत्रमा कब्जा जमाइसकेका थिए । विभिन्न सूचना स्रोतका अनुसार त्यही युद्धमा स्वतन्त्रतापछि पहिलो पटक भारतीय वायु सेना (आइएएफ) र पाकिस्तानी वायु सेना (पिएएफ)का विमानहरुबीच मुकाबला भएको थियो । भारत र पाकिस्तानबीच यति भिषण युद्ध भयो की त्यसले विश्वमै त्रास सिर्जना गरिरदियो । पाँच महिनापछि संयुक्त राष्ट्रसंघको पहलमा सेप्टेम्बरमा भारतका लालबहादुर शास्त्री र पाकिस्तानका अयुब खानबीच उज्वेस्कीस्तानको ताशकन्दमा सम्झौता भयो र युद्ध रोकियो ।

तैपनि त्यसयता भारत र पाकिस्तानबीच कश्मीरको मुद्दामा रस्साकस्सी चल्दै आएको छ । भारतले आतंकवादी संगठनलाई पाकिस्तानले प्रश्रय दिँदै आएको दावी गरेको छ, जसलाई पाकिस्तानले नकार्दै आएको छ । एउटाले आरोप लगाउने र अर्कोले नकार्ने । यो विवादमा पश्चिमा मुलुक र हाम्रो उत्तरी छिमेकी चीनको पनि उत्तिकै चासो रहेको देखिन्छ । भारत र पाकिस्तानबीचको विवादको आडमा अमेरीका र चीनले पनि चलखेल गर्ने नै भए ।india-pakistan-tension-war

पछिल्ला दिनहरुमा भारत, अमेरीका र जापानले समुद्रमा संयुक्त युद्ध अभ्यास गर्दै आएका छन् । अमेरीकाले भारतलाई र चीनले पाकिस्तानलाई काखी च्याप्दै आएको देखिन्छ । भारत र चीनबीचको कटुता बढ्दैछ । एसियाका दुई उदाउँदा महाशक्ति चीन र भारतलाई जुधाएर फाइदा लुट्न पश्चिमाहरुले दाउ हेरिरहेका छन् । यस्तोबेला भारत र पाकिस्तानबीच कटुता झन बढाइदिन अनेक उत्प्रेरक शक्तिहरु लागिरहेकै छन् । यसो हुनु सार्क मात्र हैन, एसिया क्षेत्रकै शान्ति र विकासका दृष्टिले खतरा हो । सवाल सार्कको मात्र हैन, अबको युगको आर्थिक बागडोर एसियाले हाँक्ने कि नहाँक्ने भन्ने प्रश्न पनि हो । भारत र चीन, अनि भारत र पाकिस्तानबीच कटुता बढदै गएमा क्षेत्रीय अशान्ति बढ्नेमा दुईमत नहोला । यस्तोमा खेल्ने भनेको ‘फिरंगी’हरुले मात्र हो ।

अतः सार्क मुलुक र एसियाली मुलुकहरुबीचको एकता र मिलापमै यस क्षेत्रको शान्ति सम्भव छ । त्यसका लागि ठूला साँढे मुलुकहरु चीन, भारत र पाकिस्तानले सुझबुझ देखाउनु जरुरी छ । यस क्षेत्रमा शान्ति कायम होस् भनेर रुसले पनि चिन्ता व्यक्त गरिसकेको छ । रुसी विदेश मन्त्रालयले तनाव बढ्न नदिन र राजनीतिक तरीकाले वार्ताबाट समस्या समाधान गर्न दुवै पक्षलाई आग्रह गरेको छ ।

The post सार्क स्थगन : साँढेको जुधाई, बाच्छाको मिचाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 942

Trending Articles